स्वस्थताका लागि उचित जीवनशैली



डा. क्षितिज बराकोटी पाकृतिक चिकित्सक

जीवनशैली के हो ?

मानिस जहिले पनि रमाइलोमा रम्न र खुशीमा टिकिरहन चाहन्छ । सुखपूर्वक एवं आनन्ददायी जीवन व्यतीत गर्न चाहन्छ । यसै क्रममा मानिसले गाउँलाई शहरमा परिणत गरिरहेको छ । तर जुन आनन्दका लागि ऊ खटिरहेको हुन्छ, त्यही बेला ऊ रोगी भैदियो भने के उसको  जीवनमा आनन्द आउला त ?

जीवनलाई सुचारु बनाइराख्न र नमरुन्जेल आनन्दित बनाइराख्न कला चाहिन्छ । त्यही कर्मकलालाई सम्पन्न गर्ने विधि नै शैली हो । त्यसैले जीवनमा गरिने हरेक कर्महरु जीवनशैलीका अंगहरु हुन् । जीवनशैली समग्र व्यक्तिगत कामहरुको प्याकेज हो । काम लथालिंग भयो भने त्यसको परिणाम पनि बिग्रन्छ । सही किसिमले काम गरिएमा सकारात्मक परिणाम निस्कन्छ । यस्तो कला जसले व्यक्तिगत जीवनका हरेक कर्महरुलाई व्यवस्थित किसिमले पूरा गर्दछ र कर्मका साथ तन–मनलाई पनि सही ढंगले व्यवस्थापन गर्दछ, त्यसलाई स्वस्थ जीवनशैली भनिन्छ ।

शहरमा बसोबास गर्नेहरुको जीवनशैली प्रायः अव्यवस्थित देखिन्छ । यही नै धेरै रोगको कारण बनिरहेको छ । शहरको सिकाइ गाउँ–गाउँसम्म प्रवेश गरेको छ । थोरै समय छुट्याएर स्वस्थ जीवनशैली अपनाउन सके रोगमुक्त जीवन जिउन सकिन्छ । अहिले नसर्ने रोगहरुको वृद्धि तीव्र देखिन्छ । यस्ता रोगका कारण विशेषतः जीवनशैलीको गडबडी नै हो । जीवनशैलीमा सुधार ल्याउन सके रोगहरुबाट बच्न र रोग नबिग्रँदै यसको व्यवस्थापन गर्न सकिन्छ ।

जीवनशैलीभित्र के–के पर्छन् ?

जीवनमा के–कस्ता कामहरु आइपर्छन् ? ती सबै जीवनशैलीका पक्षहरु हुन् । तपाईंसँग सम्बन्धित कामका हरेक पक्ष जीवनशैलीसँग जोडिएका हुन्छन् । यस हिसाबले हरेक कामहरु जीवनशैलीका भाग हुन् । उदाहरणको लागि खाने, बस्ने, सुत्ने, हिँड्ने, नुहाउने, धुने, शौच गर्ने, मैथुन गर्ने, कुरा गर्ने, खेल्ने, नाच्ने, हिँड्ने, दौडिने, बस्ने, उभिने, हेर्ने, सम्झने, विचार गर्ने आदि सबै जीवनशैलीसँग प्रत्यक्ष जोडिएका हुन्छन् । यस्ता कामहरुमा ढंग (शैली) ठीक भएन भने त्यसले शारीरिक मानसिक गडबडी र रोगहरु उत्पन्न गर्छन्, जो दीर्घकालीन रुपले पनि असर परी सहज जीवनयापनमा समेत बाधक बन्दछन् ।

यस्ता कार्यशैलीहरुलाई आफ्नो स्वास्थ्य अनुकूल बनाएर गरियो भने मात्र ती कार्यहरु स्वस्थ कार्यशैलीमा रुपान्तरित हुन्छन् । त्यसैले हरेक दिनचर्या एवं रात्रिचर्यालाई सही ढंगले सम्पन्न गर्ने तरिका जान्नुपर्छ र अभ्यास गर्नुपर्छ ।

अस्वस्थ जीवनशैली

अस्वस्थ जीवनशैलीको परिणाम घातक हुन्छ । ठीक किसिमले जीवन चलाउन सबै काममा उत्तिकै सचेत हुनुपर्दछ । एउटा मात्र सानो लापरबाहीले जीवन संकटमा पर्न सक्छ । उदाहरणको लागि खाने शैली ।

एकदिन मात्र चिल्लोचाप्लो, अप्राकृतिक खाँदैमा त्यसले उच्च रक्तचाप वा मुटुको रोग हुँदैन । तर नियमित रुपले यसरी खाएमा त्यस्ता रोगहरु लाग्ने निश्चित छ । त्यस्तै एकदिन मात्र बढी चिल्लो, गुलियो खाँदा मधुमेह हुने हैन । तर नियमित खानपान र व्यायामका बीच असन्तुलन भएमा वा मधुमेह भैसकेपछि पनि बढी चिल्लो, गुलियो आदि खाएमा समस्या बढ्न सक्छ ।

जीवनशैलीको गडबडीका कारण सर्ने र नसर्ने दुवैखालका रोग लाग्न सक्ने भए पनि खासगरी नसर्ने खालका रोग बढी लाग्ने गर्दछ । यस्ता रोगहरुमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, मुटुुका रोगहरु, क्यान्सर, दम, थाइराइड रोग, ग्यास्टिक, कब्जियत, पाइल्स, नसा च्यापिने, ढाड, घुडाँलगायत अन्य जोर्नी दुख्ने, हाड खिइने, बाथरोग, टाउको दुखाइ, पिनास, माइग्रेन, तनाव, चिन्ता, डिप्रेसन प्रमुख समस्या हुन् ।

आलस्य त्यागौं

अब सुत्ने बेला हैन, जाग्ने अवस्था हो । सोच्ने बेला हैन, गर्ने समय हो । सपना देखौं–स्वस्थ शरीर, तन्दुरुस्त शरीर, आकर्षक व्यक्तित्व, सुखी र आनन्दमय जीवनका बारेमा । अनि सपनालाई साकार पार्न सही परिश्रम गरौं । आफ्नै शरीरको लागि उचित मेहनतले स्वस्थ बनाउन सम्भव छ । सोचमा परिवर्तन गरौं । सुख र आनन्दपूर्वक जीवन कटाउने सोचका साथ स्वास्थ्यलाई पनि ध्यान नदिँदै काम गरिरहनुहुन्छ भने उमेर नढल्किँदै तपाईं रोग र अशक्तताले थला पर्ने निश्चित छ । त्यसैले जीवनशैलीमा समयमै सकारात्मक परिवर्तन ल्याउनु जरुरी छ । यसको लागि सोच र संकल्पका साथ समयमै स्वस्थकर जीवनशैलीका नियमहरुको पालना गर्न जरुरी छ ।

शहरमा समस्या

जीवनशैलीका दृष्टिकोणले शहरतिर बस्ने व्यक्तिहरुको अवस्था नाजुक छ । आम्दानीमा आएको परिवर्तन, बढ्दो जनसम्पर्क, भोज–संस्कृति, जमघट र पार्टीमा चिसो पेय र मद्यपानलगायत बहुखानपानको प्रचलन, तनाव, व्यायामको अभाव, रेस्टुरेन्ट संस्कृति, सवारीसाधनको अत्यधिक प्रयोग, दुव्र्यसनको व्यापकता, प्राकृतिक खानपानको अभाव, असन्तुलित खानपान, कुपोषण आदि कारणले शहरका बासिन्दाको जीवनशैली प्रभावित बनेको छ ।

शहरमा स्थायी बासिन्दाहरुमा मात्र हैन, गाउँबाट शहरमा पसेका वा अस्थायी बसोवास गरेकाहरुमा पनि शहरतिर छिरेपछि खानपान, काम, आनिबानीमा परिवर्तन आई स्वास्थ्य समस्या बढ्ने गरेको देखिन्छ । यसमा शहरी प्रदूषण पनि कारणको रुपमा रहेको छ । गाउँतिर स्वच्छ हावा, स्वस्थ खानपान र काममा शारीरिक कार्यमा तल्लीन हुने जीवनशैली छोडेर शहरतिर छिरेपछि अकस्मात् परिवर्तन आउँदा व्यक्ति रोगी बनेका थुप्रै उदाहरण भेटिएका छन् ।

जीवनशैली समग्र व्यक्तिगत कामहरुको प्याकेज हो । काम लथालिंग भयो भने त्यसको परिणाम पनि बिग्रन्छ । सही किसिमले काम गरिएमा सकारात्मक परिणाम निस्कन्छ ।

उचित व्यायाम

स्वस्थ जीवनशैलीका लागि उचित व्यायामको प्रयोग अपरिहार्य छ । व्यायामले शारीरिक अंगप्रत्यंगलाई स्वस्थ, चलायमान, लचिलो, बलियो, विकारविहीन, रोगमुक्त र स्वस्थ बनाउन सहयोग गर्दछ । ठीक व्यायामले बढी खानपान र अरु गलत कार्यशैलीबाट उत्पन्न समस्याहरुलाई समाधान गर्न मद्दत गर्छ ।

आफ्नो शरीरको प्रकृति, अवस्था, उमेर, रोग र मौसम एवं समयअनुसारका व्यायामहरु सिकेर त्यसलाई प्रयोग गर्नुपर्छ । कतिपय व्यक्तिहरुले यी कुनै पनि कुरामा पूरा जानकार नभईकन व्यायाम गर्दा उचित लाभ नपाउने वा झन् समस्या थपिने हुन्छ । व्यायाम पनि श्रमदायक, विश्रामदायक, शरीरमा गर्मी उत्पन्न गर्ने, शीथिलता ल्याउने, बल वृद्धि गर्ने, लचिलो पार्ने, मांसपेशी कडा पार्ने वा खुकुलो पार्ने आदि अनेक प्रकारका हुन्छन् । ती सबैको बारेमा बुझेर विज्ञसँग सिकी अभ्यास गर्नुपर्दछ ।

स्वस्थ जीवनशैली

जीवनशैलीको सुधारका लागि पाँच महत्वपूर्ण आधारहरु छन् । ती हुन्– आहार, व्यवहार, व्यायाम, विश्राम र विचार । आहारले स्वस्थ खानपान, विहारले स्वस्थ कार्यशैली र व्यवहार एवं विचारले सकारात्मक सोचलाई निर्दिष्ट गर्दछ ।

 

स्वस्थ आहार :

शरीरको अवस्था, आवश्यकता र विशेषताअनुरुप खानपान गर्नुपर्दछ । शरीरको शोधन गर्न र निर्विषीकरणका लागि उचित आहारको भूमिका महत्वपूर्ण छ । जीवनशैली गडबडी हुने प्रमुख कारण पनि खानपानमा संयमित हुन नसक्नु नै हो । आफ्नो शरीरको लागि के–कति खानुपर्छ, प्रयोग गरिएको खानपानबाट आफ्नो शरीर, मन, रोग आदिमा के–कति प्रभाव पर्छ, शरीरलाई शोधन गर्ने खानपान के–के हुन्, पोषणको अभावजन्य अवस्था के हो, टन्न खाएर पनि कुपोषण किन हुन्छ ? भन्ने कुराहरु सबैले जान्नु जरुरी छ ।

यसरी नै बलवद्र्धक भोजन, शोधक भोजन, निर्विषीकरणमा सघाउने खानपान, प्राकृतिक तथा अमृत भोजन, शरीरको प्रतिरोधी क्षमता घटाउने वा सुधार्ने भोजन, रोगमा के खाने के नखाने ? कुन समय, मौसम आदिमा के–कस्तो खाने ? आदि अनेक भोजनसम्बन्धी प्रश्नको उत्तर जानेर जीवनमा लागू गर्न सके स्वस्थ आहारशैलीको प्रयोग हुन्थ्यो र जीवनशैली पनि स्वस्थकर हुने हुन्छ ।

स्वस्थ व्यवहार :

तपाईं दिन वा रात कसरी कटाउनुहुन्छ, दैनिक गरिने विविध क्रियाकलाप कसरी सम्पन्न गर्नुहुन्छ भन्ने कुरा व्यवहारअन्तर्गत पर्दछ । आफूले आफैंलाई वा अरुप्रति गर्ने शारीरिक तथा मानसिक व्यवहार सही भयो भने त्यसबाट स्वास्थ्य पनि राम्रो हुन्छ । आफूले गर्ने कार्यशैली ठीक ढंगले पूरा नगर्दा त्यसैबाट रोग जन्मिन्छ भने त्यसैलाई सुधारेर गर्दा जोखिम कम हुन्छ र त्यही नै स्वस्थ कार्यशैली बन्दछ । घर होस् वा कार्यस्थल, जहाँ पनि आफ्ना हरेक क्रियाकलापलाई व्यवस्थित पार्नुपर्दछ । अझ कार्यस्थलको जोखिमलाई न्यूनीकरण गर्दै काम गर्नुपर्छ । दैनिक व्यवहारहरु जस्तैः बस्ने, सुत्ने, व्यायाम गर्ने, हिँड्ने आदिमा पनि शारीरिक–मानसिक समस्या नहुने गरी गर्नुपर्दछ । कसरी कति किन कहाँ दैनिक व्यवहारहरु गर्ने हो, सबैले जानेर कर्म वा व्यवहारको शैलीलाई स्वस्थ बनाउनुपर्दछ ।

उचित विश्राम

शरीरलाई पनि ठीक मात्रामा विश्राम चाहिन्छ । यसरी नै मनलाई पनि उचित विश्राम अनिवार्य हुन्छ । शारीरिक तथा मानसिक थकान निरन्तर भैरहेमा त्यसबाट अनेक शारीरिक, मानसिक तथा मनोशारीरिक समस्याहरु जन्मन सक्छ । त्यसैले यस्ता समस्या जन्मनै नदिन र भैहाले पनि तिनमा सुधार ल्याउनको लागि विश्रामको उचित प्रयोग गर्नुपर्छ । सही विश्रामशैलीले अनेक कार्यशैलीलाई सुधार्न र मनोशारीरिक लाभ पाउन सघाउँछ । विश्रामका विधिहरु के–के हुन्, कति विश्राम आवश्यक छ, कति विश्राम घातक हुन्छ ? शारीरिक विश्राम र मानसिक विश्राम कति प्रकारका छन् आदि जानेर स्वस्थ विश्रामशैलीको अभ्यास गर्नुपर्छ ।

सकारात्मक विचार

विचारको प्रभाव शरीर तथा मन दुवैमा पर्छ । सकारात्मक विचार हुने व्यक्तिको दिनचर्या र चिन्तनशैली पनि सकारात्मक बन्दछ । तर नकारात्मक विचारले भरिएको मनबाट निस्कने व्यवहार व्यक्ति स्वयं र अरुका लागि पनि हानिकारक हुन्छ ।

विचारले स्नायु, हर्मोन, पाचन, रक्तसञ्चार, नसा, शोधन प्रणाली आदिमा असर पर्दछ र त्यससम्बन्धी समस्याहरु जन्मिने हुन्छ । तनाव, चिन्ता, रिस, इश्र्या, अनावश्यक सोच, महत्वाकांक्षा आदि यस्ता विचारप्रधान समस्याहरु हुन्, जसले अनेक शारीरिक, मानसिक, सामाजिकलगायत व्यक्तित्व र बौद्धिक विकासमा समेत प्रभाव पर्ने हुन्छ ।

(यस स्तम्भमा जीवनशैलीका विभिन्न पक्षहरुलाई सहज किसिमले अपनाउन सकिने अभ्यासका साथै विभिन्न पेसागत व्यक्तिहरुले कस्तो जीवनशैली अपनाउनुपर्छ भन्ने बारेमा समेत चर्चा गर्दै लगिनेछ । यसले पाठकवर्गमा कुनै न कुनै रुपमा फाइदा पुग्नेछ । प्रबुद्ध पाठकहरुको आवश्यकता र सुझावहरुलाई पनि मनन गरेर कलम चलाइनेछ ।)

प्रतिक्रिया दिनुहोस्