के डाइटरी सप्लिमेन्ट लिन जरुरी छ ?



डा. जया प्रधान
महिनावारी रोक्ने वा रोकिसकेको अवस्थामा क्याल्सियम तथा भिटामिन ‘डी’को खाद्यस्रोत भोजनमा समावेश गरिनुको साथै सिफारिस गरिएको मात्रामा यी तत्वहरुको सप्लिमेन्ट लिँदा उपयुक्त हुन्छ, जसले हाड कमजोर हुनबाट बचाउँछ ।
खाना एउटा यस्तो माध्यम हो जसबाट शरीरले आवश्यक सबै प्रकारका पौष्टिक तत्वहरु प्राप्त गर्न सक्छ । यदि दैनिक खाना सन्तुलित भएमा अर्थात् व्यक्तिको उमेर, लिंग, कार्यस्तर, अवस्थाअनुरुप व्यवस्थित र सन्तुलित भोजन खान सकेमा शरीरका सम्पूर्ण क्रियाकलापहरु सुचारुरुपले सञ्चालन हुनुको साथै शरीर स्वस्थ राख्न मद्दत पुर्याउँछ । व्यक्ति स्वस्थ रहन तथा पौष्टिक स्तर सुदृढ गर्नमा सन्तुलित भोजनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । व्यक्ति स्वस्थ छ भने उसलाई कुनै पनि प्रकारको औषधि सेवन गर्न तथा उसको पौष्टिक आवश्यकता पूरा गर्न खाद्यपदार्थको पूरक (डाइटरी सप्लिमेन्ट)
को जरुरी हुँदैन ।

महिनावारी रोक्ने वा रोकिसकेको अवस्थामा क्याल्सियम तथा भिटामिन ‘डी’को खाद्यस्रोत भोजनमा समावेश गरिनुको साथै सिफारिस गरिएको मात्रामा यी तत्वहरुको सप्लिमेन्ट लिँदा उपयुक्त हुन्छ, जसले हाड कमजोर हुनबाट बचाउँछ । यस्तै पूरै शाकाहारी व्यक्तिमा विशेषतः भिटामिन ‘बी१२’ को कमी हुन सक्ने भएकाले यसको सप्लिमेन्ट लिन आवश्यक हुन्छ ।
विशेषतः आजकाल आधुनिक जीवनशैली, विभिन्न उत्पादनको विज्ञापनको प्रभाव, शारीरिकरुपले सुन्दर एवम् आकर्षित बनाउने अभिप्रायले कतिपय व्यक्ति दैनिक जीवनमा विभिन्न प्रकारका खाद्यपदार्थ पूरक प्रयोगप्रति बढी आकर्षित भएको देखिन्छ । खाद्यपदार्थको पूरकप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा यसबारे जान्न नितान्त आवश्यक हुन्छ । खाद्यपदार्थको पूरक (डाइटरी सप्लिमेन्ट) भनेको के हो ? यो किन लिइन्छ ? यो लिइनाले के फाइदा हुन्छ अथवा के बेफाइदा हुन्छ ? के साँच्चै नै दैनिक जीवनमा खाद्यपदार्थको पूरकको आवश्यक छ त ? आदिबारे जान्न जरुरी हुन्छ ।

खाद्यपदार्थको पूरक अर्थात् डाइटरी सप्लिमेन्ट भन्नाले न त यो खाद्यपदार्थ हो न त औषधि नै हो । खाद्यपदार्थ पूरक भन्नाले यो एउटा उत्पादन हो, जसमा खाद्यपदार्थमा पाइने तत्व रहेको हुन्छ र यसले दैनिक खाने खानामा पूरकको रुपमा मात्र सहयोग गर्दछ । यो कुनै स्वस्थकर खाद्यपदार्थ भने होइन ।बजारमा सैयौं प्रकारका खाद्यपदार्थ–पूरक उत्पादनहरु ट्याबलेट, क्याप्सुल, जेल, झोल, पाउडर आदि रुपमा पाइन्छन् । जस्तै– मल्टी भिटामिन ‘सी’, ‘ई’ विटा क्यारोटिन, क्याल्सियम, आइरन सप्लिमेन्टको रुपमा तथा विभिन्न प्रकारका हर्बल पनि सप्लिमेन्टको रुपमा प्रयोग गरिएको पाइन्छ ।

यस प्रकारका खाद्यपदार्थ–पूरक कसलाई कस्तो अवस्थामा आवश्यक पर्दछ भन्ने कुरा जान्न जरुरी हुन्छ । साधारणतया जसले दैनिक सन्तुलित भोजन खान्छ, जसको भोजनमा विविध प्रकारका खाद्यपदार्थ ठीक मात्रामा समावेश गरी उपभोग गरिन्छ । त्यस्तो अवस्थामा सबै प्रकारका पौष्टिक तत्वहरु खानाबाटै प्राप्त हुने भएकाले खाद्य–पूरक आवश्यक पर्दैन । तर विशेष अवस्थामा, चिकित्सकको निर्देशन तथा सिफारिसमा यस प्रकारका खाद्य–पूरक लिन जरुरी हुन्छ ।
डाइटरी सप्लिमेन्ट बढी भएमा पर्ने असर
एकातिर खाद्य–पूरकले शरीरमा कमी भएको पौष्टिक तत्वको परिमाण ठीक राख्न मद्दत पुर्याउँछ भने अर्कोतिर यस प्रकारको सप्लिमेन्ट बढी प्रयोग गर्नाले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । जस्तै– बढी थाक्ने, दिसा–पखाला लाग्ने, केश झर्ने, मृगौलामा पत्थरी हुने, कलेजो तथा नसाहरुमा खराब असर पर्ने हुनसक्छ । केही यस्ता तत्वहरु छन्, जुन शरीरको लागि आवश्यकताभन्दा बढी भएमा शरीरमा नै जम्मा भएर रहने र पछि यसले शरीरमा हानि पुर्याउने हुनसक्छ । जस्तै– शरीरमा भिटामिन ‘डी’को मात्रा बढी भएमा मृगौलामा असर पार्नुको साथै हाडको घनत्वमा पनि प्रतिकूल असर पार्न सक्छ ।

यसै गरी शरीरमा भिटामिन ‘ए’ बढी भएमा हाड तथा कलेजोमा नराम्रो असर पार्नुको साथै टाउको दुख्ने, दिसा–पखाला लाग्ने आदि समस्या सृजित हुनसक्छ । यस्तै आजकाल बढ्दो उमेरका बालबालिकालाई हाड बलियो पार्ने तथा उचाइ बढाउने अभिप्रायाले दूध खुवाउनुभन्दा पनि क्याल्सियम चक्की खुवाउने गरिन्छ । जसले गर्दा उनीहरु अन्य आवश्यक पौष्टिक तत्वहरु प्राप्त हुनबाट वञ्चित हुन्छन् ।

यसबाहेक एउटा तत्वको सप्लिमेन्टले आर्को पौष्टिक तत्वको शोषण तथा उपयोगमा प्रभाव पार्न सक्छ । जस्तै– बढी क्याल्सियम लिइनाले आइरको शोषण कार्यमा बाधा पुर्याउन सक्छ । यसै गरी आवश्यकताभन्दा बढी जिंक सप्लिमेन्ट लिँदा राम्रो कोलेस्टेरोलको परिमाण घट्ने तथा रोगप्रतिरोधात्मक शक्ति र कपर तत्वको मात्रा पनि कम हुन सक्छ ।

यस प्रकार दैनिक जीवनमा खाद्यपदार्थको पूरकको प्रयोग दिनानुदिन बढ्दै गएको अवस्थामा यसको प्रयोगलाई भन्दा पनि दैनिक खानाबाट कमी भएका तत्वहरुको परिपूर्ति गर्नमा विशेष प्राथमिकता दिनुपर्दछ । यस्ता सप्लिमेन्ट लिनुपर्ने अवस्थामा चिकित्सकको सल्लाहअनुसार कति परिमाणमा, कति समय लिने आदिबारे पूरा जानकारी लिन भने जरुरी हुन्छ ।
Composition with dietary supplement capsules and drug pills

डाइटरी सप्लिमेन्ट कस्तालाई आवश्यक छ ?

पूरक उत्पादन लिँदा कसरी र कति मात्रामा लिने भन्नेबारे पूर्णरुपमा जानकारी हुनु आवश्यक छ । विशेष गरी निम्न आवस्थाहरुमा विभिन्न प्रकारका खाद्य–पूरक लिनुपर्ने हुन्छ, तर कुनै पनि प्रकारको पूरक लिँदा चिकित्सक एवं सम्बन्धित डाइटिसियनको निर्देशनमा लिनुपर्ने हुन्छ ।

जो महिलाको महिनावारी हुँदा बढी मात्रामा रगत बग्ने हुन्छ, उनलाई आइरन सप्लिमेन्ट आवश्यक पर्दछ । शरीरमा आइरनको शोषण राम्ररी हुनको लागि खालि पेटमा पानी वा फलफूलको जुससँग लिँदा उपयुक्त हुन्छ । यदि वाकवाक लाग्ने तथा कब्जियत हुने समस्या छ भने खानाको साथमा लिन सकिन्छ तर यसरी लिँँदा यसको शोषण ५० प्रतिशतले घट्ने हुन्छ ।

यस्तै गर्भवती तथा सुत्केरी महिलाहरुका लागि विशेष गरी आइरन, फोलेट र कहिलेकाहीँ क्याल्सियम सप्लिमेन्ट दिनुपर्ने हुन्छ । दैनिक भोजनमा ताजा फलफूल, हरियो सागसब्जी, दाल–गेडागुडी तथा दूध र दूधबाट बनेका खाद्यपदार्थबाट आवश्यक मात्रामा समावेश नभएको अवस्थामा यी माथि उल्लिखित तत्वहरुको सप्लिमेन्ट दिनुपर्ने हुन्छ ।
यदि व्यक्तिको दैनिक भोजनमा दूधजन्य खाद्यपदार्थको समावेश न्यून छ, सूर्यको प्रकाश पाउँदैन, ल्याक्टोज पदार्थ पचाउन सक्दैन, दूधको एलर्जी छ भने त्यस्तो अवस्थामा क्याल्सियमको साथसाथै भिटामिन ‘डी’को सप्लिमेन्ट दिनुपर्ने हुन्छ, जसले हाड स्वस्थ राख्न मद्दत पुर्याउँछ । यसै गरी विशेष अवस्थाहरु जस्तै– खानाप्रतिको रुचि कम हुँदा, शोषण–पाचनमा गडबडी हुँदा, अप्रेसन तथा ठूलो चोटपटक लागेको अवस्थामा, केही विशेष औषधि सेवन गरेको अवस्थामा पनि खाद्य–पूरक अर्थात् डाइटरी सप्लिमेन्ट लिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्