दुईखुट्टे हुन् वा चारखुट्टे, प्रकृतिको सिर्जनामा खुट्टाधारी प्राणीको पनि अत्यन्तै ठूलो महत्व छ । त्यसमा पनि सबैभन्दा बुद्धिमान र सिर्जनशील मानवजाति पनि दुईखुट्टे जीव भएकोले मानिसको जीवनमा खुट्टाको के–कस्तो महत्व छ भन्ने कुरा व्याख्या गरिरहनुपर्ने विषय होइन ।
खुट्टाको मुख्य भूमिका एक ठाउँमा रहेको मानिसको शरीरलाई उसको चाहना अनुसार अर्को ठाउँमा सकुशल पु¥याउनु हो । विज्ञान र प्रविधिले यातायातका साधनहरु जति आविष्कार गरे पनि खुट्टाको महत्व घट्दैन । यद्यपि खुट्टाविहीन भएर जीवन जिउनेहरु पनि संसारमा प्रशस्त छन् । खुट्टाको धार्मिक, सांस्कृतिक पक्ष पनि उल्लेखनीय छन्, तर यहाँ स्वास्थ्य पक्षको मात्र चर्चा गरिनेछ ।
राति राम्रो निद्रा नपर्ने मानिसले सुत्नुअघि पैतालामा तेल मालिस गरेमा राम्रो निद्रा पर्दछ ।
शरीरको एक अति नै महत्वपूर्ण अंग भएर पनि खुट्टालाई जति माया–स्याहारसुसार गर्नुपर्ने हो, त्यो भने हुने गरेको पाइन्न । हामी बिहानदेखि बेलुकीसम्म एकै दिनमा पटक–पटक हात धुन्छौं तर खुट्टा कतिपटक धुन्छौं ? खुट्टा हाम्रो शरीरको एक अंग मात्र नभएर विभिन्न रोग वा शारीरिक समस्याहरुसँग पनि यसको गहिरो सम्बन्ध रहेको हुन्छ ।
कतिपय शारीरिक समस्याको प्रारम्भिक लक्षण खुट्टाले नै देखाउँछ भने गम्भीर रोगमा खुट्टा वा औंला काटेरै फाल्नुपर्ने ९ब्mउगतबतष्यल० बाध्यतासमेत आइपर्छ । त्यसैले हामीले खुट्टालाई पनि विशेष माया गरी स्याहार गर्ने बानी गर्नुपर्दछ भने परिवारमा केटाकेटी अवस्थादेखि नै खुट्टाको स्याहार गर्ने आदत बसालिदिनुपर्छ । खुट्टा भन्नाले शरीरको मुख्यतः घुँडादेखि पैतालासम्मको भाग बुझिन्छ । घुँडामाथिको भाग जसलाई तिघ्रा भनिन्छ, त्यो पनि खुट्टाकै भाग हो । तर यहाँ घुँडादेखि मुनिको खुट्टाको स्याहारबारे चर्चा गरिनेछ ।
खुट्टाले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा लाने काम मात्र हैन अझ त्योभन्दा महत्वपूर्ण शरीरको पूरै बोझ थाम्ने काम गर्दछ । तर खुट्टाको बोझ थाम्ने यो अहम् भूमिकाप्रति मानिसहरुले त्यति ध्यान दिएको पाइँदैन । बस्दा शरीरको बोझ नितम्बले थाम्छ भने सुत्दा ढाड र कम्मरले । उभिँदा र हिँड्दा भने शरीरको पूरै बोझ खुट्टाले थाम्नुपर्दछ ।
घुँडाको स्याहार
दुवै खुट्टाका घुँडा महत्वपूर्ण र संवेदनशील जोर्नी हुन् । खुट्टालाई चलायमान बनाउन र शरीरको बोझ थाम्नमा यसको महत्वपूर्ण भूमिका रहन्छ । घुँडामा पाङ्ग्राजस्ता अंग हुन्छन्, जसले खुट्टाको जोर्नीलाई चलायमान बनाउँछन् । घुँडाको स्याहार गर्ने प्रारम्भिक तरिका घुँडालाई पर्याप्त आराम दिनु हो । धेरै लामो समयसम्म उभिने, हिँड्ने, दौडने, उकालो–ओरालो गर्ने मानिसको घुँडाले पर्याप्त आराम पाउँदैन । त्यसैले यस्ता मानिसलाई घुँडा दुख्ने समस्याले छिटो सताउँछ । पातलो वा शरीरको वजन कम भएका मानिसभन्दा मोटो शरीर भएका मानिसलाई घुँडा दुख्ने समस्या बढी हुन्छ । घुँडाले धेरै बोझ थाम्नुपरेको कारणले यसो भएको हो ।
तसर्थ घुँडाको समस्याबाट बच्न पनि युवा अवस्थादेखि नै शरीरको वजन धेरै बढ्न नदिनु बुद्धिमानी हुन्छ । प्रौढ अवस्थामा प्रवेश नगर्दै कतिपय महिलाहरुमा घुँडा दुख्ने समस्या आउँछ । त्यसको मुख्य कारण हाम्रो दक्षिण एसियाली समाजमा भान्सामा खाना पकाउने काम मुख्यतः महिलाहरुले गर्ने गर्दछन् । बीसौं, तीसौं वर्षसम्म बिहान–बेलुकै घण्टौं उभिएर भान्साको काममा खटिँदा घुँडा र पूरै खुट्टालाई कति बोझ पर्ला, सहजै अनुमान गर्न सकिन्छ । अझ शरीर मोटो भएका महिलाका खुट्टाले त साह्रै सास्ती खप्नुपर्ने हुन्छ ।
पहिला–पहिला दाउरा, कोइला, स्टोभ आदिमा खाना पकाउने चलन हुँदा बसेर काम गरिने भएकोले खुट्टालाई धेरै बोझ पर्दैनथ्यो । तर पछि ग्यास चुल्होको चलन आएपछि उभिएर खाना पकाउने चलन आयो, जसले खुट्टालाई धेरै बोझ बोकाउने गरेको छ । यसबाट बच्न गर्न सकिने एउटा उपाय भान्सामा काम गर्दा पूरै समय नउभिईकन बेलाबेलामा मेचमा बस्दै काम गर्ने बानी बसाल्नु हो । तर उमेर छउन्जेल महिलाहरु जोशिलो बनी उभिएरै भान्साको काम गर्न अग्रसर हुन्छन्, पछि उमेर ढल्किँदै गएपछि घुँडा दुख्न थालेको कारण बल्ल बुझ्छन् ।
घुँडाको स्याहार गर्ने सबैभन्दा राम्रो तरिका नियमित मालिस हो । जसरी मोटर, मोटरसाइकल, साइकल, मेसिन आदिको जोर्नी र बढी चलायमान पार्टपूर्जालाई चिप्लो बनाइराख्न बेलाबेलामा लुब्रिकेसन (मोबिल, ग्रिज, तेल आदि) गर्नु जरुरी हुन्छ, त्यसै गरी शरीरको जोर्नी र चलायमान अंगलाई पनि तेल मालिसको माध्यमबाट लुब्रिकेसन गर्नु अत्यावश्यक हुन्छ । प्रायः दुख्न थालेपछि मात्र घुँडामा मालिस गरिन्छ । तर लामो समय उभिने, हिँड्ने, दौडनेहरुले नदुखे पनि घुँडा वा पूरै खुट्टा बेलाबेलामा मालिस गर्नु जरुरी छ ।
हिउँद याममा पारिलो घाममा बसेर सके पूरै शरीर, नसके हात–खुट्टामा राम्ररी मालिस गर्नु आवश्यक छ । आजभोलि मालिस (मसाज) व्यवसाय संसारभर फस्टाइरहेको छ । त्यसरी मालिस गराउँदा रमाइलोको लागिभन्दा शरीरको स्वस्थ्यताको लागि गराउनु बुद्धिमानी हो । मालिस गराउँदा घुँडासहित पूरै खुट्टामा अलि विशेष मालिस गराउनुपर्दछ । खुट्टाको मालिस आफैं गर्न सकिन्छ ।
पिँडुलाको स्याहार
घुँडा र कुर्कुच्चाबीचको सोझो भाग पिँडुला हो । यसमा सोझो हड्डी, मांसपेशी र नसाहरु हुन्छन् । पिँडुला दुख्दा कतिपयलाई हड्डी दुख्छ भने कतिपयलाई मांसपेशी दुख्छ । हड्डी दुख्ने विभिन्न कारण हुन्छन् । खुट्टामा ठक्कर वा चोट लागेमा, शरीरमा क्याल्सियमको मात्रा कम भएमा, हड्डीभित्रको रक्तमासी (Bone Marrow) मा समस्या आएमा, ओस्टोपोरोसिस ९इकतभयउयचयकष्क० भएमा वा अन्य विभिन्न कारणले पिँडुलाको हड्डी दुख्न सक्छ । पिँडुलाको मांसपेशी पनि विभिन्न कारणले दुख्छ । प्रायः शरीरमा पानीको मात्रा कम भयो भने पनि पिँडुला बाउँडिने, दुख्ने समस्या हुन्छ ।
औंलाको स्याहार
सरसफाइका दृष्टिले खुट्टाका औंलाहरु अक्सर उपेक्षित अवस्थामा रहेका हुन्छन् । हातका औंला जति सहजै सफा गरिन्छ त्यति सहजै खुट्टाका औंला सफा गरिँदंन । खुट्टाका औंलाका कापहरु फोहोर जम्ने प्रमुख स्थान हुन् । खुट्टा धुँदा औंलाका कापमा हातका औंलाले रगडेर त्यहाँ जमेको कालो फोहोर हटाउनुपर्दछ । लामो समयसम्म त्यो फोहोर औंलाको कापमै जमेर रह्यो भने त्यसैबाट त्यहाँ संक्रमण हुने, चिलाउने, घाउ हुने आदि समस्या हुन्छ । खुट्टामा मालिस वा क्रिम लगाउँदा औंलाको कापमा लगाउनुहुँदैन । किनकि कापमा चिल्लो बसेमा त्यहाँ बढी फोहोर जम्मा हुन्छ । खुट्टाका औंलाका नङ पनि नियमितरुपमा काट्ने गर्नुपर्छ । खुट्टाको नङ काट्दा औंलाको कुनामा घाउ हुने सम्भावना बढी हुन्छ ।
पैतालाको स्याहार
पैताला मानव शरीरको सबैभन्दा तल्लो सतह हो । पैतालाको छाला नरम हुन्छ । हिँड्दा पैतालामा बढी भार पर्दछ । साथै काँडा, काँच वा कुनै पनि तिखा वस्तुले घोचेर पैतालामा गम्भीर चोट पुग्न सक्छ । यही जोखिमबाट बच्न जुत्ता लगाउनुपर्ने हो । मालिस गर्दा पैतालामा पनि मालिस गर्नुपर्दछ । राति राम्रो निद्रा नपर्ने मानिसले सुत्नुअघि पैतालामा तेल मालिस गरेमा राम्रो निद्रा पर्दछ ।
आजभोलि शहरीकरणले गर्दा जताततै पिच, कंक्रिट ढलान, ब्लक आदि राख्ने चलन आएको छ । यसले गर्दा पैताला प्राकृतिक माटोको स्पर्श पाउनबाट वञ्चित भएको छ । प्राकृतिक चिकित्सा विज्ञानले सफा माटो वा घाँसमा बिहान केहीबेर खाली खुट्टा हिँड्दा उच्च रक्तचापलगायतका समस्यामा फाइदा हुने बताएको छ, जो सही कुरा हो । कतिपय मानिसको जाडो याम वा अन्य मौसममा कुर्कुच्चा फुट्ने समस्या हुन्छ । लामो समयसम्म कुर्कुच्चा फुट्न दिनुहुँदैन ।
यसका लागि राति सुत्ने बेलामा नियमितरुपमा भ्यासलिन, गाईको शुद्ध घिउ वा यही समस्याका लागि बनेका गुणस्तरीय क्रिम दल्ने गर्नुपर्दछ । कतिपयलाई प्राकृतिक जलकुण्ड वा नदीमा केहीबेर खुट्टा डुबाएर बस्ने गर्दा पनि खुट्टा फुट्ने समस्या समाधान हुन्छ । त्यस्ता जलस्रोतमा प्राकृतिक खनिज तत्व पाइने हुनाले त्यसबाट फाइदा हुन्छ । पैतालाको सोझो सम्बन्ध मस्तिष्क र मुटुसँग हुन्छ भनिन्छ । त्यसैले यसलाई धेरै तातो वा धेरै चिसो गराउनुहुन्न । राति सुत्दा ऊनबाट बनेको बाक्लो मोजा लगाएर सुत्नुहुँदैन । जाडोका कारण मोजा लगाउनै परे सुतीको पातलो मोजा मात्र लगाउनु उचित हुन्छ । जाडोको कारण आगो वा हिटर ताप्नुपर्दा पैतालामा धेरैबेरसम्म सोझै तातो पर्ने गरी ताप्नुहुँदैन ।
जाडो महिनामा मनतातो पानीमा र गर्मी महिनामा सामान्य पानीमा खुट्टा डुबाएर राम्ररी सफा गर्नुपर्दछ । मोजा लगाउँदा सुतीको लगाउने, कसिलो इलास्टिक भएको मोजा नलगाउने, लगाउनै परे इलास्टिक दोबारेर वा अलिकति काटेर लगाउन सकिन्छ । कसिलो इलास्टिकले खुट्टामा रक्तसञ्चार अवरुद्ध पारिदिन्छ । मधुमेहीहरुका लागि विकसित मुलुकहरुमा इलास्टिकरहित सुतीको विशेष किसिमको मोजा (डाइबेटिक सक्स) पाइन्छ । कतिपय मानिसको मोजा नलगाईकन जुत्ता लगाउने बानी हुन्छ ।
खुट्टाको स्वास्थ्यको लागि यो राम्रो बानी होइन । छालाको बुट वा बन्द जुत्ता लगाउँदा त मोजालाई अनिवार्य मानिन्छ । नधोएर गन्हाउने भएको, कुर्कुच्चा वा औंलामा प्वाल परेको मोजाबाट खुट्टालाई हानि मात्र पुग्छ । जुत्ता लगाउँदा ठीक साइजको मात्र लगाउनुपर्छ, सानो वा ठूलो जुत्ताले खुट्टामा घाउ बनाउने सम्भावना बढी हुन्छ । मधुमेहीहरुले छालाको भन्दा कपडाको वा नरम स्पोर्टस सुज लगाउनु बेस हो । मधुमेहीहरुका लागि छाला नरम राख्न विशेष किसिमको क्रिम पाइन्छ । नुहाएपछि वा खुट्टा सफा गरेपछि उक्त क्रिम दल्नु उचित हुन्छ ।
मधुमेही, नसाको समस्या भएका र उमेर ५० नाघेका मानिसले लामो समयसम्म पलेँटी कसेर नबस्ने र मेचमा बस्दा धेरै बेरसम्म खुट्टामाथि खुट्टा चढाएर नबस्ने बानी गर्नुपर्दछ । मुख्य कुरा हिँड्दा वा सिँढीमा तल–माथि गर्दा विशेष होस पु¥याउनुपर्दछ । खुट्टाको सन्तुलन अलिकति मात्र बिग्रियो भने पनि नराम्ररी लडिने, खुट्टा मर्किने, फ्याक्चर हुने आदि जोखिम हुन्छ । मुटु वा नाडीको जस्तै खुट्टाको नसाको पनि घड्कन हुन्छ । गोलीगाँठोनजिकको नसा ध्यान दिएर छामेमा त्यो घड्कन सजिलै अनुभव गर्न सकिन्छ । त्यो घड्कनलाई पनि बराबर याद गर्नु बेस हुन्छ । खुट्टाकै स्वस्थताका लागि विभिन्न व्यायाम, योग, थेरापी आदि पनि प्रचलित छन् ।
मधुमेह र खुट्टा
अरु सामान्य अवस्थाका मानिसले भन्दा मधुमेहीहरुले खुट्टाको विशेष स्याहार गर्नु अत्यन्त जरुरी छ । मधुमेहीहरुको रगतमा चिनीको मात्रा अधिक हुनाले त्यसले घाउलाई निको हुन दिँदैन । शरीरका अन्य भागमा लागेका घाउ, चोटपटक पनि मधुमेहीका लागि जोखिमयुक्त हुन्छन् भने खुट्टा वा औंलामा लागेको घाउका कारण त्यो भाग नै काटेर फाल्नुपर्नेसम्मको अवस्था आउन सक्छ । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ, तर हाल संसारमा औसतरुपमा हरेक आधा मिनेटमा एकजना मधुमेहीले खुट्टा वा औंला गुमाउने गरेको तीतो यथार्थको तथ्याङ्क विश्व स्वास्थ्य संस्थाहरुसँग छ ।
यसै गरी खुट्टा काट्नुपर्ने अवस्था ४० देखि ७० प्रतिशतसम्म मधुमेहकै कारण हुने गरेको पाइन्छ भने ८५ प्रतिशत खुट्टाको घाउ निको नभएको कारण खुट्टा काट्नुपर्ने हुन्छ । अरुभन्दा मधुमेहमा खुट्टासम्बन्धी समस्या २५ प्रतिशतले बढी हुन्छ । तर समयमै उचित हेरविचार गर्न सके त्यो जोखिमलाई ८५ प्रतिशतसम्म घटाउन सकिन्छ भन्ने मधुमेहका विशेषज्ञहरुको विश्वास छ ।
जचाउनै पर्ने अवस्था
मधुमेही मात्र हैन, अन्यले पनि आफ्नो खुट्टामा तल उल्लेख भएकामध्ये कुनै लक्षण देखिएमा अविलम्ब चिकित्सकसँग जँचाइहाल्नुपर्छ । किनकि अधिक युरिक एसिड, बाथ, प्यारालाइसिस, मिर्गौलामा खराबी, बोनम्यारो आदि कैयौं रोगका लक्षण खुट्टाबाट देखिन्छन् । तसर्थ जँचाउन ढिलासुस्ती गरेमा पछि पछुताउनुपर्ने स्थिति आउन सक्छ–
खुट्टाको कुनै पनि भागमा निरन्तर दुखिरहेमा, पिनले घोचेजस्तो गरी बेलाबेलामा घोचेको अनुभव भएमा, खुट्टाको छालाले तातो, चिसो, घोचेको अनुभव गर्न नसकेमा, पैतालामा काउकुती लगाउँदा काउकुती नलागेमा, पिँडुलामा चिमोट्दा वा घोच्दा नदुखेमा, खुट्टाको छालाको रंग बिस्तारै फेरिएर कालो हुँदै आएमा, पिँडुलामा माछाको कत्लाजस्तो देखिन थालेमा, खुट्टा सुन्निन थालेमा, खुट्टाको आकार परिवर्तन भएमा अर्थात् खुट्टा बाङ्गिँदै गएमा, सुक्दै गएमा, दुख्ने वा नदुख्ने गाँठागुठी आएमा, दिनमै दुई–तीनपटक बाउँडिन थालेमा, पैताला चिसो भइरहेमा, पिँडुला वा औंलाका रौंहरु झर्न थालेमा, खुट्टाको ठाउँ–ठाउँमा रातो डाबर आएमा, रगत जमेमा, नङ बाक्लो भएमा, नङ छिटो–छिटो झर्न थालेमा, नङ गाँसिएको मासुमा घाउ भएमा, खुट्टाको नसामा धड्कन नभएमा, कुनै आसनमा बस्दा खुट्टा दुख्ने भएमा, केहीबेर उभिएपछि उभिन नसक्ने भएमा, बारम्बार खुट्टा झम्झमाएमा, हिँड्दाहिँडदै वा बसेको बेलामा पनि खुट्टा अनायास लुलो भई टेक्न नसक्ने भएमा आदि ।
खुट्टाको सरसफाइलाई परम्परादेखि नै महत्व दिइँदै आएको पाइन्छ । विगतमा विशेष गरी महिलाहरुमा खुट्टाको सरसफाइ गरी रातो माउर लगाउने चलन थियो । त्यो माउर सङ्क्रमण निरोधक जडीबुटीबाट बनेको हुन्थ्यो । घर–घरमा गएर यो सेवा दिने न्यून आय वर्गका महिला नै हुन्थे, जसलाई ‘नइनी’भनिन्थ्यो । आधुनिक युगमा यो प्रथा हराउँदै गएको छ । यद्यपि ब्युटी पार्लरहरुको बढ्दो लोकप्रियताबीच आजकल खुट्टाको स्याहारका लागि ‘पेडिकेयर’प्रचलित छ । स्वस्थ जीवनका लागि शरीरका अरु अंगहरुजस्तै हरेक दिन खुट्टाको पनि राम्रो हेरचाह गर्ने जीवन शैली अपनाउन आवश्यक छ ।
(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)