कुपोषण हटाउने सरकारी प्रयास, स्थानीय खानेकुरामा बेवास्ता



स्वास्थ्य मन्त्रालय केवल बालभिटाजस्ता पदार्थ बाँडेर बालबालिकाको कुपोषण कम गर्न चाहन्छ । यसले समस्या हटाउनुको साटो झन् बढाउँछ । म जुनसुकै गाउँमा जाँदा पनि महिला स्वयंसेविकासँग भेट्दा भन्ने गर्छु, ‘तपाईंहरू बालभिटाको प्याकेट होइन, वरिपरिको स्थानीय खाना खान समुदायलाई सिकाउनुस् ।’
डा. अरुणा उप्रेती

स्वास्थ्य मन्त्रालयले अहिले पोषणसम्बन्धी विभिन्न कार्यक्रम बनाएर बालबालिका एवं किशोरीहरुलाई पोषण दिन निकै मेहनत गरिरहेको छ । यसै क्रममा कुपोषित बालबालिकाका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न ठाउँका सरकारी अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र स्थापना गरेको छ । ती केन्द्रमा अति कुपोषित बच्चालाई पोषण दिएर हृष्टपुष्ट पारेको सरकारी प्रतिवेदनले नै औंल्याएको छ ।

विश्व स्वास्थ्य संघको सहायताबाट केही वर्षअघि केही साथीहरुसँग मिलेर हामीले गरेको अनुसन्धानमा त्यस्ता पोषण पुनस्र्थापनाबाट उपचार गरिएका बच्चाहरुको अनुगमन गरी उनीहरुका आमाहरुसँग अन्तर्वार्ता पनि लिएका थियौं । त्यस्ता पुनस्र्थापना केन्द्रमा बसेर सिकेका आमाले भनेका थिए, ‘हाम्रा बच्चाहरु कुपोषित भएको कारण त हाम्रो कमजोरी पो रहेछ । यहाँ आएर पो हामीले सिक्यौं– बच्चाहरुलाई स्वस्थ बनाउन घरकै दाल, भात, तरकारी, आलु, दुध, रोटी, चिउरा, चना दिनुपर्ने रहेछ ।’

कैलालीमा एउटी महिला स्वयंसेविकाले भनेको सुन्दा म उनको व्यावहारिक विचार देखेर निकै प्रभावित भएकी थिएँ । यो स्वास्थ्य मन्त्रालयले उनलाई दिएको जानकारी थियो । स्वास्थ्य मन्त्रालयले गरेको यो कामलाई तारिफ गर्नै पर्छ । मैले समेत यस्ता पोषण पुनस्र्थापना केन्द्रबाट धेरै कुरा सिक्ने मौका पाएकी छु । नेपालगन्ज, वीरगन्ज, राजविराज, ललितपुर, कञ्चनपुर आदि ठाउँको पोषण पुनस्र्थापना केन्द्रमा गएर अनुगमन गर्दा कहीँ पनि भिटामिनका सिसी र पोषणको नाममा पाउडर दिएको पाइएन ।

पोषणका लागि रु. १०० लगानी गरेमा त्यसले रु. १६०० को प्रतिफल दिन्छ भनेर बालबचाउ कोषले पनि भन्दै आएको छ । बालबालिकालाई कुपोषण भएन भने उनीहरुको रोगसँग लड्ने शक्ति बढ्छ । साथै उनीहरुलाई दादुरा–ठेउला आउँदा, पखाला लाग्दा जटिलता कम हुन्छ । यसले गर्दा उनीहरुको उपचारमा धेरै खर्च नभएर स्रोतको बचत हुन्छ ।

पोषणबारे कति राम्रो जानकारी
पाइछन् यी आमाले
वीरगन्जको पोषण पुनस्र्थापना केन्द्रमा छलफल गरिरहँदा त्यहाँकी प्रबन्धक सरिता यादवले भनेकी थिइन्, ‘हाम्रो पोषण पुनस्र्थापना केन्द्रमा हामी आमाहरुलाई पनि घरका खानेकुरा नै पकाउन सिकाउँछौं ।’ यादवले ‘यी यो जाउलो खानुस् त’ भनेर दिएकी थिइन् । हामीले सो जाउलो स्वाद मानेर खाएका थियौं ।

मैले पोषण पुनस्र्थापना केन्द्रमा साना नानीलाई जाउलो ख्वाइरहेकी एक आमालाई सोधेँ, ‘तपाईंले यसै गरी घरमा बच्चालाई जाउलो पकाएर खान दिन सक्नुहुन्छ ?’ उनले भनिन्, ‘किन नसक्नु, अब त हामीले जाउलोको महत्व बुभ्mयौं ।’

ती आमाले विगत सुनाइन्, ‘हाम्रो घरतिर बच्चाले आपैंm टिपेर खाना खान नसकुन्जेल अन्य खानेकुरा दिने चलन नै छैन । एक–दुई वर्षसम्म त आमाको दुध मात्र खान्छ । आमा कतै बाहिर काम गर्न गइन् भने त बच्चाले केही खानै पाउँदैन । मेरो बच्चा पनि यस्तै भएर दुब्लाएको रहेछ ।’ उनका अनुसार आफू खेतबारीमा काम गर्न जानुपर्ने हुँदा बच्चाले आमाको दुध पनि खान पाएन, बच्चा ८–९ महिना हुँदासम्म अन्य खानेकुरा पनि दिइएन । अनि बिरामी भएपछि वीरगन्ज अस्पतालमा ल्याउँदा पो थाहा भयो, बच्चा सानो रहेछ । चार सन्तानकी आमा हरिदेवीले भनेकी थिइन्, ‘खानेकुराको अभाव भएर होइन, खानेकुरा दिन नजान्दा छोरालाई कुपोषण भएको रहेछ ।’ हेर्नुस् त पोषणबारे कति राम्रो जानकारी पाइछन् यी आमाले ।

‘सोमालिया वार्ड’ भनेर पनि जिस्क्याइयो
वीरगन्जको पोषण पुनस्र्थापना केन्द्रलाई वीरगन्ज अस्पतालभित्र राख्न ठूलो भूमिका खेल्ने डा. श्याम शरणबाट सुनिएको थियो– ‘वीरगन्ज अस्पतालमा यो पोषण पुनस्र्थापना केन्द्र स्थापना गरेपछि व्यापारीहरुले समेत बच्चा ल्याउने गरेका छन् । उनीहरुलाई यही पुनस्र्थापना केन्द्रमा पोषणबारेमा सिकाउँछु । यहाँ ल्याइएको बच्चा हृष्टपुष्ट भएको देखेर उनीहरु सन्तुष्ट भएका छन् ।

यो पोषण पुनस्र्थापना केन्द्रको नाम लिएर पहिले केही साथीहरुले जिस्क्याउने पनि गरेका थिए । उनीहरु सोमालियाका कुपोषित बच्चाको अवस्था सम्झिएर यस केन्द्रलाई ‘सोमालिया वार्ड’ पनि भन्थे । तर अहिले यो केन्द्रबाट १५ सय बालबालिका उपचार गरेर घर फर्कनु निकै ठूलो कुरा हो । यहाँ घरेलु खानाबाट नै कुपोषण हटाउन सकिन्छ भन्ने तथ्यलाई व्यावहारिकरुपमा प्रयोग गरिएको छ ।

बालभिटाजस्ता खानेकुरा बाँड्ने स्वास्थ्य मन्त्रालयको गलत सोच

सुनाकोठी पोषण पुनस्र्थापना केन्द्र, ललितपुरजस्ता संस्थाले घरेलु खानेकुरालाई महत्व दिएका छन् । बाहिरका खानेकुरा र अन्तर्राष्ट्रिय संस्थाहरुले दिएका प्लम्पी नट, बालभिटाजस्ता खानेकुरा बालबालिकालाई नख्वाई उनीहरुलाई कुपोषणको फन्दाबाट निकालिरहेका छन् । आमा र घरपरिवारका सदस्यलाई जाउलो, खिर, रोटी, आलु, हरियो तरकारी, क्वाँटी, टुसा उमारेका अन्य खानेकुराको माध्यमबाट नै सन्तानलाई स्वस्थ राख्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन् । त्यस्ता सन्देश केवल त्यहाँ आएका अभिभावकले मात्र पाउने होइनन्, कुपोषित बच्चा ठीक भएर घर पुगेपछि गाउँघरका अन्य अभिभावकले पनि पोषणबारे थाहा पाउँछन् ।

दाल, भात, तरकारीमा राखेर दिइने बालभिटाबारेमा स्वास्थ्य विज्ञ डा. खेम कार्कीले केही वर्षअघि भन्नुभएको थियो, ‘यस्तो प्याकेटका खानेकुराले हाम्रा बालबालिकालाई स्वस्थ बनाउँदैन ।’ तर अहिले स्वास्थ्य मन्त्रालयले आफैंले स्थापित गरेका पुनस्र्थापना केन्द्रको कामलाई बेवास्ता गरेर बालभिटा वा प्लम्पी नटजस्ता प्याकेटका खानेकुरा बाँड्ने विचार गरेको छ । यस्तो पोकामा दिएको पोषक तत्वले बालबालिकालाई साँच्ची नै स्वस्थ राख्छ कि राख्दैन भनेर बालरोग विशेषज्ञहरुसँग छलफल गराउनुपर्छ । उहाँहरुले अस्पतालमा बहिरंग विभागमा आउने ५ वर्षमुनिका बालबालिकालाई यस्तो प्याकेटका खानेकुरा औषधिको रुपमा लेख्नुहुन्छ कि हुन्न ?

पोषणविद् डा. तीर्थ रानासँग कुराकानी गर्दा उहाँले पनि यस्तो किसिमको सूक्ष्म पोषण तत्वका प्याकेट चाहिँदैनन् भन्नुभएको छ । बालरोग विशेषज्ञले चाहिँदैन भन्ने, पोषणविद्ले चाहिँदैन भन्ने, पोषण पुनस्र्थापना केन्द्रका व्यक्तिहरुले त्यो चाहिँदैन भन्ने, अनि किन केही संस्थाहरुले यसरी सूक्ष्म पोषण प्याकेट चाहिन्छ भनेर वकालत गरिरहेको हो ? विभिन्न ठाउँका स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरुलाई मेरो प्रश्न छ– के तपाईं आफ्ना छोराछोरीलाई यस्तो प्याकेटको खानेकुरा दिनुहुन्छ ? कि आलु, दाल, रोटी, भात, बदाम दिनुहुन्छ ? कुपोषणबाट बच्न सरकारको मात्रै मुख ताक्ने बानी छोडौं । दिगो विकासका लागि आफ्नै घरबाट स्वस्थ रहने उपाय सिकौं ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश श्रेष्ठले मलाई भन्नुभएको थियो, ‘हामी बालरोग विशेषज्ञहरुले धेरै अगाडिदेखि नै सरकारलाई नेपालमा प्लम्पी नट र बच्चाको कुपोषण हटाउन दिइने बालभिटा चाहिँदैन भनेका थियौं । हामीले विभिन्न ठाउँमा तपाईंले जस्तो लेख्नचाहिँ सकेनौं तर तपाईंको कुरासँग हामी एकदम सहमत छौं ।’

एकजना वरिष्ठ बालरोग विशेषज्ञले भनेको कुरा सुनेपछि के लाग्यो भने, स्वास्थ्य मन्त्रालयले कार्यक्रम बनाउँदा र नीति नियम ल्याउँदा त्यससम्बन्धी विज्ञहरुसँग छलफल नगरेको हो कि ? भिटामीन ‘ए’को कमीले गर्दा बालबालिकाको रोगसँग लड्ने क्षमता कम भएर जान्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडापखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्दछ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई झन् खान मन नलाग्ने र कुपोषण बढ्दै जाने अनि मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा सरकारले औषधि बाँडेर समस्या समाधान हुन्छ भन्ने ठान्छ । सरकारले दिगो विकासको जति भाषण गरे पनि बालबालिकाको कुपोषण कम गर्न दिगो विकासलाई ध्यानमा राखेको छैन, घरबाट नै कुपोषण हुन नदिन भनेर छलफल गरेको छैन ।

केवल औषधिले मात्र कुपोषणको समस्या समाधान हुँदैन भन्ने कुरा स्वास्थ्यकर्मीले समुदायलाई बुझाउनुपर्छ । सरसफाइका साथै हाम्रै वरिपरि पाइने अन्न, तरकारी, फलफूल प्रयोग गरी कसरी कुपोषण हटाउन सकिन्छ भन्ने कुरा समुदायलाई सिकाउने हो भने बालबालिकामा हुने कुपोषण कम हुँदै जान्छ । तर स्वास्थ्य मन्त्रालय केवल बालभिटाजस्ता पदार्थ बाँडेर बालबालिकाको कुपोषण कम गर्न चाहन्छ । यसले समस्या हटाउनुको साटो झन् बढाउँछ । म जुनसुकै गाउँमा जाँदा पनि महिला स्वयंसेविकासँग भेट्दा भन्ने गर्छु, ‘तपाईंहरु बालभिटाको प्याकेट होइन, वरिपरिको स्थानीय खाना खान समुदायलाई सिकाउनुस् ।

सित्तै बाँडिने खानेकुराले बच्चा झनै समस्यामा

म त विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले दिने प्लम्पी नटजस्ता खानेकुराहरुको विरोधी हुँ । त्यस्ता खानेकुरा ख्वाउने अन्तर्राष्ट्रिय संस्थाले पहिले त बच्चाहरुलाई महँगा खानेकुरा सित्तैमा बाँड्छन् । जब त्यस खानेकुरामा बच्चाको बानी पर्छ अनि ती संस्थाहरुले खानेकुरा बाँड्न छोड्छन् । अब त्यसपछि भने बच्चाहरुले घरका खानेकुरा खाँदैनन् । अनि समस्या परेन त ? त्यसैले सित्तै पाइने बाहिरका खानेकुरामा निर्भर हुनुहुँदैन ।
हामीले त यहीँ करेसाबारी पनि बनाएका छौं । सबैलाई घरेलु खानेकुरा नै बनाएर ख्वाउँछौं । आमाहरुलाई सिकाउँछौं । कुपोषित भएर आएका बालबालिकालाई एक–दुई हप्ता घरेलु खानेकुरा दिएपछि उनीहरुको शारीरिक बनावटमा मात्र होइन, मानसिक स्थिति पनि बदलिएको पाउँछौं ।
(कुराकानीमा आधारित)
सुनिता रिमाल
व्यवस्थापक
ललितपुर सुनाकोठी पोषण पुनस्र्थापना केन्द्र

 

करी पत्ताबारे सरकार नै बेखबर
मिटामिन ‘ए’को क्याप्सुल सरकारले बाँड्न थालेको कैयौं वर्ष भैसक्यो । भिटामिन ‘ए’ पाइने खानेकुराहरु पनि खानु भन्ने प्रचारप्रसारमा जोड गरेको कतै सुनिदैन । भिटामिन ‘ए’ पाइने राम्रो स्रोत करी पत्ता वा मीठा नीम तराईतिर जताततै पाइन्छ । तर मीठा नीम भएका घरहरुमा पनि त्यसको प्रयोग हुँदैन । किनभने यसको महत्व नै थाहा छैन । ‘नजिकको तीर्थ हेला’ भनेको यही हो ।

यदि करी पत्तालाई राम्रो क्याप्सुलमा हालेर औषधि बनाइएको भए शायद यो क्याप्सुल किनेर खान सबै लालायित हुन्थे होलान् । तर आँगनमा नै लटरम्म फलेका करी पत्तालाई कसैले वस्ता गर्दैनन् । कुपोषण कम गर्ने सजिलो र व्यावहारिक उपाय के होला भन्ने बारेमा छलफल नै हुँदैन । स्वास्थ्यकर्मीले पनि यसको प्रयोग गर्नुपर्छ र यसले शरीरमा भिटामिन ए दिन सक्छ भनेर भन्दैनन् ।

किनभने भिटामिन करी पत्तामा ‘ए’ पाइन्छ भन्ने प्रायः हामी स्वास्थ्यकर्मीलाई थाहा नै हुँदैन । मलाई पनि यसको बारेमा थाहा भएको १० वर्षअघि मात्र हो । त्यसैले सरकारी तवरबाट नै अनुसन्धान गरी यस्ता लुकेका कुरालाई जनमानसमा ल्याइदिनुपर्छ । तर विडम्बना ! यसबारे हाम्रो सरकार नै बेखबर छ ।

प्रतिक्रिया दिनुहोस्