गर्भमा बच्चा उल्टो बसेमा ज्यानकै खतरा



डा. सुमनराज ताम्राकार
स्त्रीरोग विशेषज्ञ
आधुनिक प्रसूति विज्ञानमा पहिलोपटकको गर्भेशिशुको बसाइ उल्टो छ भने सिजेरियन अप्रेसन गरेर बच्चा जन्माएको खण्डमा शिशुको बाँच्ने सम्भावना निकै बढी हुन्छ । यो जानकारीको अभावमा वा यस्तो सल्लाहलाई बेवास्ता गर्दाको नतिजा पीडादायी हुन्छ ।

पहिलोपटक गर्भवती भएकी रेश्मा नेपालीले गाउँमै एकाधपटक गर्भजाँच गराएको भए पनि अन्तिम पटकको गर्भजाँचमा डाक्टरबाट बच्चा उल्टो बसेको छ भनिएको रहेछ । यो कुरालाई न उनले ध्यान दिइन्, न उनका परिवारले गम्भीरतापूर्वक लिए । केही दिनपछि घरमा छँदै सुत्केरी व्यथा लागेछ । घरका परिवारजनले घरमै भइहाल्छ नि भनेछन् । आखिर बच्चाको जीउ जन्मिए पनि टाउकोचाहिँ जन्मिन सकेन । शिशु निस्सासिनाले उसको गिदीमा धेरै बेर अक्सिजनको अभाव हुन पग्यो । यसले गर्दा अस्पताल नपुर्याउँदै शिशुको मृत्यु भैसकेको थियो । डाक्टरले मृत बच्चा निकालिदिए । रेश्मा दम्पतीले रित्तैघर फर्किनुपर्यो ।

गर्भावस्थाको २८ हप्तामा करिब २० प्रतिशत गर्भवती महिलामा बच्चा उल्टो हुन्छ भने ३४ हप्तासम्म आइपुग्दा ५ प्रतिशतमा मात्र बच्चा उल्टै रहन्छ अर्थात् तीन चौथाइमा यो समस्या आपैंm सुल्टिन्छ । गर्भावस्थाको शुरुतिर गर्भेशिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भेशिशुको आकार पनि सानो हुने कारण बच्चाको स्थिति (बसाइ) परिवर्तन भइरहन्छ । गर्भावस्थाको ३७ हप्ता पूरा हुँदा करिब ३ प्रतिशतमा मात्र बच्चा उल्टो तरिकाले बस्ने समस्या बाँकी रहन्छ ।

प्रसूति विज्ञानमा गर्भवती महिलाको गर्भेशिशुको टाउको माथि हुनुलाई बच्चा उल्टो छ भनिन्छ । यसलाई मेडिकल भाषामा ‘ब्रीच’ भनिन्छ । यो समस्याका क्रममा गर्भेशिशुको तल्लो अंग वा खुट्टा वा घुँडा पाठेघरको तल्लो भागतिर रहेको आधारमा बच्चाको उल्टो बसाइलाई पूर्ण
वा अपूर्ण मानिन्छ ।

बच्चा किन उल्टो बस्छ ?
करिब ३ प्रतिशतमा मात्र बच्चा पछिसम्म गर्भमा उल्टो तरिकाले बसेको पाइन्छ । यसको सबै कारण थाहा नभए पनि महिना नपुग्दै सुत्केरी व्यथा लाग्दा तुलनात्मकरूपमा बच्चा सानो हुनुचाहिँ प्रमुख कारण हो । यसका साथै यदि बच्चा सानो छ, बच्चाको वरिपरि पानी धेरै वा निकै कम छ, पुठ्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ, पटक–पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै नै खुकुलो छ भने बच्चा उल्टो बस्ने समस्या आउन सक्छ ।

योनिद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायुमा दखल पुग्ने, कलेजो, मृगौलाजस्ता भित्री अंगहरूमा चोट पुग्ने कारणले नवजात शिशुको मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने योनिद्धारबाट सुत्केरी गराउनुभन्दा सिजेरियनलाई तुलनात्मकरूपमा बढी सुरक्षित मानिन्छ ।

यसै गरी गर्भवती महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा बच्चामा जन्मजात केही शारीरिक खराबी जस्तै– गर्भेशिशुको टाउकोमा पानी भरिने हाइड्रोकेफालस समस्या छ, गर्भे बच्चामा वंशाणुगत खराबी (ट्राइजोमी वा मांसपेशी शिथिल हुने समस्या) छ, जुम्ल्याहा बच्चा छ भने पनि बच्चा उल्टो बस्नेजस्तो असामान्य परिस्थिति उब्जिन्छ । कुनै–कुनै महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा फेरि–फेरि साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिने समस्या हुन्छ भने पटक–पटक बच्चा उल्टो बस्ने समस्या दोहोरिन्छ ।

गर्भवती जाँचका क्रममा पेटको माथिल्लो भागतिर टाउको छामिएमा, गर्भेशिशुको मुटुको धड्कन अलि माथि सुनिएमा बच्चा उल्टो बसेको आशंका हुन्छ । आजकल अल्ट्रासाउन्डको मद्दतले यसको निश्चितता गरिन्छ ।

बच्चा उल्टो बस्दाको जोखिम

बच्चाको टाउको तल हुँदा सुत्केरी व्यथाको क्रममा पहिले गुदद्वारको भाग, त्यसपछि जीउ र अन्तिममा टाउको जन्मिन्छ । यस क्रममा जीउ जन्मिएलगत्तै पाठेघरको मुख एक्कासी खुम्चिन्छ भने पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जीउको अन्य भागले निरन्तर चाप दिन सक्दैन । जीउ सहजरूपमा जन्मिए पनि टाउको निक्लिने बेला धेरैजसो समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने गर्दछ ।

यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनिद्वारमा बच्चा अड्काएर अस्पताल ल्याइपुर्याउनेहरूको संख्या उल्लेख्य छ । जीउ जन्मेपछि टाउको निक्लिन धेरै समय (५ मिनेटभन्दा बढी) लगाउनुहुँदैन, नत्र निस्सासिएर बच्चाको मृत्यु हुन्छ । कथंकदाचित जिउँदो बच्चा जन्मिहाल्यो भने पनि गिदीमा धेरै बेर अक्सिजनको अभावमा त्यस्तो बच्चा पछि गएर सुस्त खालको हुन्छ अर्थात् बच्चाको वृद्धि विकास राम्रो हुँदैन ।

यस्तो प्रकारको सुत्केरीको क्रममा औजारको प्रयोग गर्नुपर्ने, जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन (अप्रेसन) को आवश्यक हुने, बेहोस पार्ने विधि (एनेस्थेसिया) को कारणले सुत्केरी आमालाई
पनि जोखिम हुन्छ ।

योनिद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायुसा मा दखल पुग्ने, कलेजो, मृगौलाजस्ता भित्री अंगहरूमा चोट पुग्ने कारणले नवजात शिशुको मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने योनिद्धारबाट सुत्केरी गराउनुभन्दा सिजेरियनलाई तुलनात्मकरूपमा बढी सुरक्षित मानिन्छ । नवजात शिशुमा पर्न जाने जोखिमहरू विशेषज्ञ डाक्टरको दक्षता, शिशुको तौल, उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ ।
विश्वभर नै यस्ता खाले सुत्केरी योनिद्वारबाट हुने क्रममा प्रतिहजार ५ देखि ३५ जना बच्चाको ज्यान जाने गर्दछ । दक्ष स्वास्थ्यकर्मी वा प्रसूति सेवाप्रदायकको अभाव, रगत तथा यथाशीघ्र अप्रेसन (सिजेरियन)को सुविधा नभएको ठाउँमा यो संख्या अझ बढ्न जान्छ ।

रोकथामका उपाय
बच्चा उल्टो तरिकाले बस्नाको कतिपय कारणहरू गर्भावस्थामा पत्ता लाग्ने हुनाले तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ गर्भवती जाँच गराउनुपर्दछ । पहिले–पहिले यसको निश्चितताका लागि एक्सरेको सहायता लिइन्थ्यो । तर आजकल अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरेको प्रादुर्भावले धेरै सजिलो बनाइदिएको छ ।

अल्ट्रासाउन्डले एक्सरेको जस्तो विकिरणको समस्या हुँदैन भने अल्ट्रासाउन्डले ब्रीच (बच्चाको उल्टो बसाइ) को निश्चितता गर्न, गर्भेशिशु वा महिलाको पाठेघरमा भएको कुनै जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति कहाँ छ थाहा पाउन, बच्चावरिपरिको पानीको मात्रा तथा गर्भेबच्चाको तौल पत्ता लगाउन मद्दत गर्दछ ।

३६ हप्तासम्ममा धेरै गर्भवती महिलामा बच्चाको बसाइमा स्थिरता आइसक्छ । पहिलोपटकको गर्भमा त्यस बेलासम्म पनि बच्चा उल्टै बसेको कारणले स्वास्थ्यकर्मीले सिजेरियन (अप्रेसन) गरेर मात्र बच्चा पाउनुपर्ने जनाउ दिएमा अप्रेसन गराउनु श्रेयष्कर हुन्छ ।

यदि दोस्रो, तेस्रोपल्टको गर्भमा बच्चा उल्टो बसेको छ भने दक्ष विशेषज्ञ डाक्टरले अल्ट्रासाउन्ड मेसिन र बच्चाको मुटुको तथा स्वस्थता थाहा पाउने सीटीजी मेसिनको सहायता लिई पेटबाहिरैबाट बच्चा सुल्ट्याउने विधि सावधानीपूर्वक अपनाउन सकिन्छ । यस्तो परिस्थितिमा तालिमप्राप्त सुँडेनी वा स्वास्थ्यकर्मी नै भए पनि गाउँघरमै बच्चा पाउनतर्र्फ लाग्नुहुँदैन । नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । यी अधिकांश परिस्थितिमा सिजेरियन गरेर मात्र बच्चा निकाल्नुपर्ने हुनाले अस्पतालमा लान
ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्