स्खलनपछिको शारीरिक सम्पर्क



डा. राजेन्द्र भद्रा

म २० वर्षकी युवती हुँ । मेरो केटा साथीसँग यौनसम्पर्क भएको थियो । शुरुमा हामीले कन्डम प्रयोग गर्यौं । वीर्य स्खनलन भएपछि हामीले कन्डमविना फेरि सम्पर्क गर्यौं । यसपल्ट भने उसको वीर्य स्खलन भएन । तर मेरो अहिले महिनावारी हुनुपर्ने समय भए पनि भएको छैन । डेट काटिसक्यो । मलाई डर लागिरहेको छ । कतै मेरो गर्भ त बसेन ? स्पर्म निकालिसकेपछि यौनसम्पर्क गर्दा पनि गर्भ बस्छ ?
– विनिता, दोलखा

शारीरिक सम्पर्क र गर्भवती हुने सम्भावना

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ । तर सधैँ यस्तो हुँदैन । गर्भ रहनलाई धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुन जरुरी छ । महिलामा डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्दछ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी शुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकोले यस समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदम धेरै हुन्छ । डिम्ब निस्केको यस्तै २४ देखि ४८ घन्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घन्टा वा त्यो भन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारण हुन सक्ने समयको रूपमा लिइन्छ । तर महिनावारी ठीक २८ दिनमा नभइ ढिलो–चाँडो हुने गर्दछ भने यसरी गरिएको हिसाबको बारेमा केही सोच्नुपर्ने हुन्छ ।

स्खलनपछि सम्पर्क गर्दा पनि गर्भ रहन्छ र ?
तपाईंलाई थाहै होला, कन्डम एक प्रभावकारी गर्भनिरोधको साधन हो तर यसको प्रयोग सही तथा नियमित तरिकाले गर्नुपर्दछ । सामान्यरूपमा कन्डमको प्रयोग गर्दा यसको प्रभावकारिता यस्तै ८२ प्रतिशत हुने गर्दछ । प्रभावकारिता भनेको १०० जना महिलाले यसलाई प्रयोग गर्दा एक वर्षमा सालाखाला यस्तै १८ जना महिला गर्भवती हुन सक्छन् भनेको हो । यसको अर्थ के पनि हो भने, कन्डम नै प्रयोग गर्दा पनि केही महिला गर्भवती हुन सक्छन् ।

अब तपाईंको मूल प्रश्नमा आऔं । तपाईंले शुक्रकीटको कुरा गर्नुभएको छ । पुरुष प्रजनन अङ्गबाट निस्कने सेतो पदार्थ वीर्य हो । त्यसैले यसलाई वीर्य स्खलन भनिन्छ । यही वीर्यमा नै शुक्रकीट हुन्छन् । तपाईंले वीर्य स्खलन भइसकेपछि कन्डम फुकाल्नासाथ सम्पर्क गरेको हो कि के हो ? पुरुष प्रजनन अङ्ग पानीले पखालियो वा पखालिएन ? पछिको यौनसम्पर्क तुरुन्तै भएको हो कि केही घन्टापछि भएको हो ? अनि वीर्य स्खलनपछि फेरि यौनसम्पर्क गर्नुअघि पिसाब फेरियो कि फेरिएन ? आदि कुराका आधारमा गर्भ रहने वा नरहने सम्भावना बढी वा कम हुन सक्छ ।

वीर्य स्खलनपछि पिसाब फेर्दा भने मूत्रनलीमा भएका शुक्रकीट पखालिने भएकाले गर्भको सम्भावनालाई कम गराउँछ । कुरा जे भए पनि वीर्य स्खलन भइसकेपछि मूत्रनलीमा शुक्रकीट रहेका हुन सक्छन् र त्यसले गर्भ गराउन सक्ने सम्भावना भने रहन्छ । तपाईंहरूले यौनसम्पर्कलाई निरन्तरता दिनुको अर्थ तपाईंको केटा साथीमा यौन उत्तेजना थियो भन्ने नै बुझिन्छ र वीर्य स्खलनअघि आउने रसमा पनि शुक्रकीट हुन सक्छन् भन्ने कुरा पनि बिर्सनुहुँदैन ।

अर्को कुरा, तपाईंले यसरी यौनसम्पर्क हुँदा तपाईंको महिनावारी चक्रको कुन बेलामा हुनुहुन्थ्यो भन्ने पनि कुनै जानकारी दिनुभएको छैन । यदि यो घटना डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना बढी हुन्छ भने महिनावारी हुने वा भएको बेलातिर भए न्यून हुन्छ ।

महिनावारी रोकिनुको अर्थ के होला ?

यौनसम्पर्क राख्ने युवतीमा महिनावारी रोकिनुको मूख्य कारण गर्भ रहनु हो भन्ने कुरा त तपाईंलाई पनि थाहा भएको नै देखिन्छ । तपाईंलाई थाहै होला कि गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तनहरू आउँछन् । यी कुराको पहिचान गरेर गर्भ रहे/नरहेको छुट्याउने गरिन्छ । छोटकरीमा भन्ने हो भने महिनावारी नहुने, स्तन छाम्दा हल्कारूपमा दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मनोदशामा परिवर्तन हुने, थकाइ लागेको जस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ ।

त्यसै गरी पछि स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुने, साथै बच्चा चल्नेजस्ता लक्षणहरू देखिन्छन् । यस्ता लक्षणहरूमध्ये धेरैजसो भेटिएमा गर्भ रहेको भन्न सकिने स्थिति रहन्छ । तर पनि कतिपय परिस्थितिमा शारीरिक जाँच गरेर मात्र गर्भ रहे÷नरहेको कुरा स्पष्टरूपमा निर्धारण गर्ने गरिन्छ । यस्ता लक्षणको आधारमा आफैंले यी कुराको निक्र्योल गर्न बढी समय पर्खनुपर्ने हुन्छ, जुन कुरा तपाईंको लागि अहिले त्यति उपयुक्त नहोला ।

यदि गर्भ रहेको स्थिति छ भने, यसको व्यवस्थापन एकदमै महत्वपूर्ण हुन आउँछ । अब कुरा आउँछ यस गर्भलाई निरन्तरता दिने कि नदिने ? यसलाई निरन्तरता दिने हो भने तपाईं र तपाईंका साथीले विवाह गर्न सक्नुहुन्छ । यसको लागि घर–परिवारको सल्लाह तथा सहयोग लिनु बेस हुन्छ ।

के गर्नुपर्ला ?

वीर्य स्खलनपछि समेत थोरै नै भए पनि गर्भ रहन सक्ने स्थिति भएको कुरा त राम्ररी बुझ्नुभयो होला । यस प्रकारको यौनक्रियाकलापप्रति सजग हुनुपर्छ । तपाईंले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको गर्भ रहे/नरहेको पत्ता लगाउने हो । पिसाबको परीक्षण गरेर अचेल सजिलैसँग गर्भ रहे÷नरहेको कुरा पत्ता लगाउन सकिन्छ । यस किसिमको परीक्षण विधि सजिलो भएको हुनाले धेरैजसो ठाउँमा उपलब्ध छ । तपाईं आफैंले पिसाब जाँच्न सक्नुहुने ‘किट’ पनि पाइन्छ ।

यदि गर्भ रहेको रहेनछ भने अहिले नै समस्या पर्ने देखिएन । तर पनि यौनसम्पर्क राखे पनि कसरी गर्भ रहन नदिने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । यदि नियमितरूपमा यौनसम्पर्क हुने स्थिति छ भने तपाईंहरूले एक–आपसमा सल्लाह गरेरै कुनै परिवार नियोजन केन्द्रबाट परामर्श लिई आफूलाई उचित लाग्ने गर्भनिरोधको साधन नियमितरूपमा प्रयोग गर्नु उचित हुन्छ । तपाईंले खाने चक्की, इम्प्लान्ट, कपर–टीमध्ये आफूलाई सुहाउँदो जुनसुकै एक साधन प्रयोग गर्न सक्नुहुन्छ । कन्डमको प्रयोग गर्दा पनि यसलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक छ भन्ने त बुझी नै
सक्नुभएको होला ।

यदि गर्भ रहेको स्थिति छ भने, यसको व्यवस्थापन एकदमै महत्वपूर्ण हुन आउँछ । अब कुरा आउँछ यस गर्भलाई निरन्तरता दिने कि नदिने ? यसलाई निरन्तरता दिने हो भने तपाईं र तपाईंका साथीले विवाह गर्न सक्नुहुन्छ । यसको लागि घर–परिवारको सल्लाह तथा सहयोग लिनु बेस हुन्छ । गर्भ रहेको स्थितिमा पनि निरन्तरता नदिने हो भने यसका लागि पनि उपायहरू छन् । औषधि खाएर वा औजारको प्रयोगबाट गर्भपतन गराउन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त व्यक्ति तथा सेवा केन्द्रमा गएर यो सेवा लिन सकिन्छ । जे हुनु भइसक्यो, अबका लागि भने सतर्कता अपनाउनुहोला ।

प्रतिक्रिया दिनुहोस्