के रजोवती महिला अपवित्र नै हुन् ?



आचार्य पवित्र । रजोवती भएको समयमा महिलालाई ‘अपवित्र’ मानिने परम्पराले जरो गाडेको छ हाम्रो समाजमा । यतिसम्म कि कतिपय शिक्षित महिलाहरुले समेत यो परम्परालाई छोड्न सकेका छैनन् । आखिर ‘अपवित्र’ मानिनुको कारण के त ? यसको जवाफ पनि कसैले चित्त बुझ्दो तरिकाले दिन सकेका छैनन् । आफ्नो प्राकृतिक नियमअनुसार भएको मासिक रक्तश्राव, जुन गोप्य राख्नुपर्ने कुरालाई पनि ‘छुई–छुई’ भन्दै आफँ पर सरेको भनी अरुलाई थाहा दिनुपर्ने यो कस्तो परम्परा हो ? फेरि भाँडावर्तन, पानी, भान्सासहित अन्य व्यक्तिलाई पनि रजोवती महिलाले छुनु नहुने रे ! यो पनि एक किसिमको महिला हिंसा नै हो ।

राज्यले कानुनीरुपमा छाउपडी प्रथा हटाइसकेको छ । तर पुरानो मानसिकताकै कारण आज गाउँ–शहर सबैतिर महिनावारी बार्ने चलन हटेको छैन । अझ भन्ने हो नेपालीहरु विशेष गरी खस–आर्यहरु जहाँ–जहाँ पुगेका छन् त्यहाँ–त्यहाँ सरुवा रोगजस्तै बनेर फैलिएको छ महिनावारी बार्ने चलन । जानेर होस् वा नजानेर, अथवा मन नै परिवर्तन गर्न नसकेर वा बाध्यताले नै किन नहोस्, यो प्रथाले जरो गाडेर बसेको छ । त्यसैले यस विषयमा राज्यसहित सरोकारवालाहरुको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।

विदेशमा बस्दा पनि बारियो

काठमाडौंको बानेश्वरमा जन्मे–हुर्केकी र पढाइमा एमबीबीएस गरिसकेकी २८ वर्षीया अनुजा शर्मा पनि महिनावारी बार्ने गर्छिन् । यस्तो बेलामा उनलाई पँजाआजा गर्न, मठ–मन्दिर जान मन लाग्दैन अरे । ‘महिनावारी भएको बेलामा मन नै चङ्गा हुन्न,’ उनले सुनाइन्, ‘आफँलाई असहज लाग्ने भएरै बार्ने गरेकी छु ।’ अनुजा १० वर्ष अस्ट्रेलियामा बिताएर केही समयअघि मात्रै नेपाल आएकी हुन् । उनले नेपालमा मात्र नभएर विदेशमा हुँदा पनि महिनावारी बार्ने गरेको रहस्य सुनाइन् । काठमाडौं शहरमै जन्मिएकी उनलाई महिनावारी भएको समयमा भान्सामा पस्न अप्ठेरो लाग्छ अरे ।

समाजमा शिक्षित ठान्नेहरु नै यसरी महिनावारी भएको बेला घरको कुनामा बस्छन् । उनीहरु खुलेर मठ–मन्दिर वा भान्सामा पस्न आफैं मान्दैनन् । अनुजा एउटा उदाहरण मात्रै हुन् । प्रवासिएका धेरै नेपाली दिदी–बहिनीले महिनावारी बार्ने गरेको उनै अनुजा बताउँछिन् । शहर–बजार, बाहिरफेर निस्कँदा त्यति वास्ता नगरे पनि आफ्नो घरभित्र यो संस्कार नछोड्नेहरु प्रशस्त छन् ।

मैले त बार्ने गरेकी छैन

 

हामी अन्जानमा बेथितिलाई प्रवद्र्धन गरिरहेको छौं ।
सरु जोशी

अक्सर धार्मिक कार्यक्रममा महिनावारी भएकाहरु जाँदैनन् । लैंगिक समानता र विकास विज्ञ सरु जोशी श्रेष्ठ भन्छिन्– ‘म पनि जान्नथे तर मलाई यो जान नहुने कुरा सही भने लाग्दैनथ्यो । यद्यपि, मैले यसको समाधान के हुन सक्छ भनेर पहिले कहिल्यै सोचिनँ तर जब महिला समानताका विषयमा मास्टर्स गरें अनि पो बुझ्दै गएँ कि हामी गल्तीको विश्लेषण नै नगरी अन्जानमा बेथितिलाई प्रवद्र्धन गरिरहेका रहेछौं ।’

तपाईं महिनावारी हुँदा मन्दिर जाने, भान्सामा जाने गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा उनको उत्तर थियो– ‘म एउटा महिलाकर्मीका नाताले मात्र बोलेकी होइन । महिनावारी हुँदा म मन्दिर पनि गएको छु र भान्छामा पनि जाने गरेकी छु ।’ हुन त आजकल महिलाहरुमा केही परिवर्तन भएको पाइन्छ । घरमा बारे पनि अन्यत्र जाँदा आफँलाई महिनावारी भएको कुरा कसैलाई थाहा नै नदिई नबार्नेहरु पनि छन्, तर नगन्य मात्रामा । स्त्रीरोग विषेशज्ञ डा. लता वज्राचार्य भने अन्य अवस्थामा जस्तै रजश्वला भएको समयमा भान्साको कार्य गर्ने गरेको बताउँछिन् । उनी भन्छिन्– ‘म महिनावारी भएको समयमा मन्दिर नगए पनि बाँकी कार्य अन्य दिनको जस्तै गर्ने गरेकी छु ।’

 

 

खकार–सिँगान आउनुजस्तै हो

लैंगिक समानता र विकास विज्ञ सरु जोशी महिनावारीलाई मासिक प्रक्रियाको रुपमा लिन्छिन् । उनी भन्छिन्– ‘यो भनेको नाकबाट सिँगान, आँखाबाट आँसु, मुखबाट थुक आउनुजस्तै हो । यदि यो प्रक्रिया भएन भने मानव–सृष्टिको अन्त्य हुन्छ ।’ प्राकृतिक प्रक्रियालाई पर सर्नु भन्ने शब्द प्रयोग गर्नु नै गलत भएको उनको भनाइ छ । उनका अनुसार यस अवस्थामा छुन हुने र नहुने भनेर छुट्याउनु नै गलत हो । चुल्हो, देउतास्थान, बगैंचातिर छुन नहुने मान्यता गलत छ । गुरुकुल पशुपति राममन्दिरका प्रधानाध्यापक अशोक पौडेलले पनि महिनावारी प्राकृतिक प्रक्रिया रहेको स्वीकार गरे । उनी यसमा कुनै घिन, लाज वा अप्ठेरो मान्न नहुने बताउँछन् । भन्छन्– ‘यो प्राकृतिक नियम भएकाले कुनै पाप होइन, यस्तो बेलामा सजायँ दिएइजस्तो गरी छाउगोठमा राख्नु र नराम्रो व्यवहार देखाउनुहुँदैन ।’

यता महिनावारीलाई पर सर्ने र नछुने शब्दले परिभाषित गर्नु गलत भएकोले यसको विरुद्ध आवाज उठाउनुपर्ने बताउँछिन् स्त्रीरोग विशेषज्ञ डा. लता वज्राचार्य । उनी भन्छिन्– ‘महिनावारीविना प्रजनन नै सम्भव छैन, एउटा प्राकृतिक कुरालाई धर्मसँग जोड्नु र त्यसलाई सत्य मानेर हामी त्यसैका पछि लाग्नु अविवेकी कुरा हो ।’

महिनावारीको समयमा के गर्ने, के नगर्ने ?

महिनावारीको
समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
डा. लता बज्राचार्य

महिनावारी भएको अवस्थामा अन्य समयमा भन्दा महिलाको बढी केयर गर्नुपर्ने हुन्छ । स्त्रीरोग विषेशज्ञ डा. लता वज्राचार्यका अनुसार महिनावारी भएको समयमा शरीर शिथिल हुने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन् । यस्तो बेलामा सामान्य अवस्थामा भन्दा आराम, पोषिलो खाना र सरसफाइको आवश्यक पर्छ । उनले भनिन्– ‘महिनावारी हुँदा यौनसम्र्पक भने गर्नुहुँदैन, यौनांग सफा राख्नुपर्छ । यसमा धार्मिक कुराले प्रतिबन्ध लगाएकोमा भने म पँर्णरुपमा सहमत छु ।’ यौनसम्पर्क राख्नै पर्ने अवस्था आएमा कन्डमको प्रयोग गर्नुपर्ने उनको सल्लाह छ ।

यस अवस्थामा कसैले पनि महिलालाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ तर त्यसो भने गर्नुहुँदैन भनेर इच्छा विपरीत कार्य गर्न बाध्य पार्नुहुँदैन । अघिपछिको जस्तै नर्मल लाइफ बिताइरहेको अनुभँति भयो भने मानसिकरुपमा स्वस्थ हुन मद्दत पुग्छ ।

 

अब के गर्ने त ?

समाज परिवर्तन नभएसम्म यस्ता कुराले प्रश्रय पाइरहन्छन् । त्यसैले स्कुल तहदेखि नै महिनावारी भनेको प्राकृतिक नियम हो, यस बेलामा कसरी सफा रहन सकिन्छ भनेर शिक्षा दिइनुपर्छ । यस्तो शिक्षा छात्रा मात्र नभएर छात्रलाई पनि अनिवार्य गरिनुपर्छ । लैंगिक समानता र विकास विज्ञ सरु जोशी भन्छिन्– ‘सर्वप्रथम त नाममै स्पष्टता चाहिन्छ, यसलाई नछुनेको साटो महिनावारी भनेर बुझनु उचित हुन्छ ।’ नछुने शब्द नै नाजायज भएकाले यस्ता शब्द नै प्रयोग गर्न नहुने उनी बताउँछिन् । भन्छिन्– ‘मासिक चक्रलाई धर्म र संस्कृतिसँग जोडेर हेरिन्छ, जुन गलत कुरा हो । सामान्य शरीरको काम गर्ने प्रक्रियालाई जुठो र चोखो मान्नु अविकेकी कुरा हो ।’

कुन परिस्थितिमा ४ दिन कामको चटारोबाट आराम गर्ने सदासयताबाट यो अभ्यास गरिएको थियो होला तर यो छुन हुने÷नहुने र जुठ्याइ/चोख्याइतिर मोडिएको उनको अनुमान छ । उनी भन्छिन्– ‘अहिले यसलाई समयसापेक्ष परिवर्तन गर्ने प्रयास भएको छ, तर अझै अपुग छ ।’

आज पनि सारा महिलाको मनोविज्ञानबाट यसको नकारात्मक असर हट्न सकेको छैन । यो छाउपडी प्रथाले कति महिलाको ज्यान गएको समाचार यत्रतत्र सुनिन्छ । यसले पनि हामी कति पछौटे समाजमा छौं भन्ने प्रदर्शन गरेको छ । यस्ता कुरीति अन्त्य गर्न प्रोजेक्ट ल्याई काम गरे पनि प्रभावकारी हुन नसकेको अवस्था छ । यस्ता रुढिवादी कुराले अर्को धर्मको चलखेल बढ्न सक्छ । त्यसैले यस विषयमा धर्मगुरु र धर्मशास्त्रीको ध्यान जानु अति आवश्यक भइसकेको कुरामा जोड दिन्छिन् सरु ।

रजश्वला भनेको एउटा स्त्रीमा हुने प्राकृतिक गुण हो र यो सबैमा हुन्छ । रजश्वला भएको बेलामा योनिबाट रगत प्रवाहित हुन्छ । सो रगत बाहिर आएपछि सफा गरिएन भने दँषित भई छिटो संक्रमण हुन सक्छ । यसैले पनि एकान्तमा बस्नु, कसैसँग पनि स्पर्श नगर्नु भनिएको हुन सक्छ । हाम्रा धार्मिक ग्रन्थहरुले पनि यिनै विविध कारणले गर्दा रजश्वला भएको बेलामा छुनुहुँदैन भनेको हुन सक्छ । यसमा केही वैज्ञानिकता पनि छ । तर अब समय परिवर्तन भइसक्यो ।

विभिन्न आधुनिक तरिका प्रयोग गरी रगत शरीर र कपडामा लतपतिनबाट जोगाइन्छ । समय–समयमा सफा गरिन्छ । सो रगतको व्यवस्थापन गरिन्छ र संक्रमण नै हुन दिइँदैन भने केको अपवित्र ? रजोवती महिलालाई अपवित्र मानेर छाउगोठमा राख्नु, कुनै वस्तु छुन नदिनु, बन्धनमा बाँधेजस्तो गरी स्वतन्त्ररुपमा विचरण गर्न नदिनु महिला हिंसा गर्नु समान हो ।

धर्मशास्त्रमा के छ त ?

प्र.अ. पौडेल गुरुकुल

गुरुकुल पशुपति राममन्दिरका प्रधानाध्यापक अशोक पौडेलका अनुसार गरुडपुराणको १५ औँ अध्यायको ७ देखि २२ श्लोकसम्म रजश्वलाबारे उल्लेख गरिएको छ । उनी भन्छन्– ‘स्त्रीहरु ऋतुकालका समयमा चार दिनसम्म अपवित्र मानिन्छन् । किनकि उनीहरुको शरीरबाट विकारयुक्त खराब रज बगिरहेको हुन्छ र यसले संक्रमण हुने डर हुन्छ ।’ तर चारौं दिनमा स्नान गरेपछि शुद्ध हुने उनको भनाइ छ । हिन्दँ धर्मको जुन मान्यता र विधान छ, त्यो सत्य भएको कुरामा उनी जोड दिन्छन् । तर पनि छाउगोठमै राख्ने गरेकोमा भने उनी विरोध गर्छन् ।

प्रतिक्रिया दिनुहोस्