थाइराइड भयो भन्दैमा डराउनु पर्दैन



हिजोआज थाइराइडको समस्या लिएर स्वास्थ्यकर्मीकहाँ धाउनेहरुको संख्या बढिरहेको छ । आफँलाई थाइराइड भएको थाहा पाएपछि कतिपय बिरामी निकै आत्तिने गरेको पनि पाइन्छ । तर थाइराइडको समस्या देखिनासाथ आत्तिनु नपर्ने विशेषज्ञहरु बताउँछन् । थाइराइड भइहाल्यो भने पनि यसलाई सामान्यरुपमा लिएर विशेषज्ञको सम्पर्कमा जानुपर्ने चिकित्सकको सल्लाह छ । काठमाडौं मोडेल कलेज, सिनामंगलका उपप्राध्यापक तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपक रेग्मी थाइराइडको विषयमा के भन्नुहुन्छ त ? थाइराइड हुनुको कारण र नेपालमा यसको उपचार पद्धतिलगायतका विषयमा डा. रेग्मीसँग साधनाका प्रतिनिधि प्रशान्त वलीले गरेको कुराकानीका प्रमुख अंशहरु :

कम काम गर्यो भने शारीरिक तौल बढ्ने, खान मन नलाग्ने, महिनावारी समयमा नहुने, आलस्य हुने, खुट्टाहरु सुन्निने, कपाल झर्ने हुन्छ । यसको सट्टा हर्मोनको लेभल धेरै भयो भने खान मन धेरै गर्ने तर तौल घट्ने हुन्छ । त्यसै गरी मुटको गति बढ्ने, डर लागेजस्तो हुने, आँखा ठँलो–ठँलो हुने हुन्छ ।

उप प्रा.डा. दीपक रेग्मी

थाइराइड भन्नेबित्तिकै यो कस्तो समस्या होला भनेर यसका बिरामीहरु अलमलिने गर्छन् । आखिर के हो त थाइराइड ?

थाइराइड शरीरमा हुने एक ग्रन्थि हो, जुन घाँटीमा हुन्छ । यसले हर्मोनहरु निकाल्छ । हाम्रो शरीर करोडौं कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड ग्रन्थिबाट निस्कने हर्मोन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ ।

यसकारण थाइराइड हुनु समस्या होइन तर थाइराइडमा आउने उतारचढावचाहिँ समस्या हुन सक्छ । शरीरलाई आवश्यकताभन्दा बढी (हाइपर) वा कम (हाइपो) थाइराइड हर्मोन उत्पादन हुनु वा थाइराइड हर्मोनको असामान्यरुपमा उत्पादन हुनु समस्या हो । मानिसको शरीरका लागि अत्यावश्यक थाइराइड हर्माेनको उत्पादन थाइराइड ग्रन्थिले नै गर्छ र यो ग्रन्थि घाँटीमा हुन्छ । यो ग्रन्थिले उत्पादन गर्ने हर्मोनको लेभल तल–माथि भयो भने समस्या पैदा हुन सक्छ । मुख्यतया २० देखि ५० वर्ष उमेर समँहका व्यक्तिमा यो समस्या देखा पर्ने गरेको छ । पछिल्लो समय थाइराइडका बारेमा चेतना वृद्धि भइरहेको छ । रोग पत्ता लगाउने प्रविधि पनि नेपालमा प्रशस्त छ ।

तर पनि थाइराइडका बिरामी धेरै भेटिने गरेका छन् । यद्यपि, थाइराइड भइसकेपछि कुनै पनि बिरामी आत्तिनुपर्दैन ।

थाइराइडका बिरामी दिन–प्रतिदिन किन बढ्दै छन् त ?

थाइराइड ग्रन्थिले कि बढी काम गर्नुपर्यो, कि थाइराइडमा स्पेसिफिक रोग हुनुपर्यो । थाइराइडका बिरामी बढ्नुका मुख्य कारण यिनै हुन् । थाइराइडको समस्या महिलामा बढी हुने गरेको देखिन्छ । पुरुषमा थाइराइडको समस्या देखियो भने थाइराइडको क्यान्सर हुने समस्या बढी हुन्छ ।

यसको प्रारम्भिक लक्षणका बारेमा बताइदिनुस् न ?

थाइराइड हर्मोनले कम काम ग¥यो भने शारीरिक तौल बढ्ने, खान मन नलाग्ने, महिनावारी समयमा नहुने, आलस्य हुने, खुट्टाहरु सुन्निने, कपाल झर्ने हुन्छ । यसको सट्टा हर्मोनको लेभल धेरै भयो भने खान मन धेरै गर्ने तर तौल घट्ने हुन्छ । त्यसै गरी मुटको गति बढ्ने, डर लागेजस्तो हुने, आँखा ठँलो–ठँलो हुने हुन्छ । यसबाहेक कुनै लक्षण नदेखिएर थाइराइडको क्यान्सर हुने सम्भावनासमेत रहन्छ । पुरुषको हकमा घाँटीको रुद्रघण्टीभन्दा हल्का तल्लो भागमा थाइराइड ग्रन्थि हुन्छ । सो ठाउँमा डल्लाडल्ली आयो भने ट्युमर पनि हुन सक्छ । त्यसैले तुरुन्तै उपचारमा लाग्नुपर्ने हुन्छ ।

थाइराइड पहिचानका लागि कहाँ सम्पर्क राख्ने ?

अधिकांश ग्रामीण तहमा ल्याब टेस्टको समस्या छ । थाइराइड टेस्टका लागि थाइराइड फङ्कसन टेस्ट अपरिहार्य छ । यो जिल्ला तहका अस्पतालमा समेत छैन । अल्ट्रा साउन्डबाट पनि थाइराइड भए/नभएको थाहा पाउन सकिन्छ । त्यो पनि पर्याप्त छैन ग्रामीण तहमा । यस्तै एफएनएसी टेस्टबाट समेत थाइराइड भएको पत्ता लगाउन सकिन्छ । यो हर्मोनका लागि बेसिक स्क्रिनिङ टेस्ट हो । त्यो समेत पर्याप्त छैन । त्यसैले यो समस्या पहिचान गर्न सुविधा सम्पन्न स्वास्थ्य संस्था वा नजिकको ल्याब केन्द्रमा नै पुग्नुपर्ने हुन्छ ।

यसको प्रारम्भिक उपचार विधि के हुन सक्छ ?

प्रारम्भिक उपचारभन्दा पनि यसको डाइग्नोसिस हुनु महत्वपँर्ण कुरा हो । त्यसैले घाँटीमा डल्लाडल्ली आयो, अगाडि नै बताइएअनुसार हाइपो अथवा हाइपर थाइराइडको लक्षण देखियो भने स्क्रिनिङ स्ट्याटेजी अपनाउनुपर्छ । त्यसैले यसका लागि सुविधा सम्पन्न अस्पताल वा ल्यब टेस्ट केन्द्रमा आएर थाइराइड फङ्क्सन टेस्ट गर्नै पर्छ । थाइराइडको समस्या भएको एकिन भएपछि मात्र उपचारका कुरा आउँछन् । यसको प्रारम्भिक उपचार भनेको नै हाइपो र हाइपर थाइराइडिज्म कुन हो एकिन भएपछि विशेषज्ञको सल्लाहअनुसार औषधि उपचार शुरु गर्नु हो ।

के यो समस्या नियन्त्रण गर्न सकिन्छ ?

थाइराइडको समस्यामा सबैभन्दा बढी देखिने समस्या हाइपो थाइराइडिज्म हो । यो भनेको हर्मोनको उत्पादन कम भएर हुने समस्या हो । हाइपो थाइराइड भएका बिरामीमा मोटोपनको समस्या बढी हुने भएकाले मोटोपन घटाउन ध्यान दिनुपर्ने देखिन्छ । पुरुषको तुलनामा यो समस्या महिलामा बढी देखिन्छ । हाइपर थाइराइड हाइपोजस्तो धेरैलाई हुँदैन । हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । उपयुक्त तवरबाट उपचार नभएमा यसले ज्यान नै जोखिममा पार्न सक्छ । लक्षण देखा पर्नासाथ समयमै नजिकको सुविधा सम्पन्न स्वास्थ्य संस्थामा जानुपर्छ । औषधिको सेवनबाट नै यो समस्या नियन्त्रण हुन्छ ।

थाइराइडको क्यान्सर पनि हुन्छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?

थाइराइडको क्यान्सर हुन्छ तर यसको क्यान्सर भयो भन्दैमा मर्नुपर्दैन । सकभर क्यान्सर नहोस्, भए पनि थाइराइडको क्यान्सर होस् भन्ने गरिन्छ । मज्जाले हाम्रो सर्जन टिमले थाइराइड क्यान्सरको उपचार
गरिरहेको छ ।

थाइराइडको समस्या कुन उमेर समँहलाई हुने सम्भावना हुन्छ ?

थाइराइड जुनसुकै उमेर समुहमा हुन्छ । आमाको गर्भमा रहेको बच्चालाई पनि थाइराइडको समस्या देखिने गर्छ । यदि त्यस्तो वच्चा जन्मियो भने सुस्त मनिस्थितिको जन्मिन सक्छ । जन्मिएको बच्चामा पनि थाइराइडको क्यान्सर हुन सक्छ । पाँच वर्षको बच्चामा थाइराइडको क्यान्सर देखिएकाले हाम्रो टिमले अप्रेसन गरी निको बनाएको छ । बच्चामा मात्र नभएर वृद्धवृद्धामा पनि यसको लक्षण देखा पर्न सक्छ । त्यसै गरी २० देखि ५० वर्ष उमेर समँहका प्रजनन उमेरका महिलालाई पनि यसले सताउन सक्छ ।

उपचारका लागि नेपालमा पर्याप्त पूर्वाधार छ त ?
नेपालमा थाइराइड उपचार पद्धतिका लागि वल्र्ड क्लास टेक्नोलोजी उपलब्ध छ । थाइराइडको अप्रेसनका लागि आवश्यक पर्ने सबै पँर्वाधार हामीसँग छ । हामीकहाँ पुरानो टेक्नोलोजी पनि छ । हर्मोनको लेभल टेस्टका लागि विदेश जानै पर्ने बाध्यात्मक अवस्था छैन । अझ भन्नुपर्दा अप्रेसन गर्नुपर्ने कुनै पनि केस अप्रेसन गर्न नसकेर विदेश जानुपर्दैन ।

कत्तिको खर्चिलो र जटिलता छ ?

खर्चिलोको कुरा गर्दा रकममा ठ्याक्कै यत्ति नभनौं । सामान्य समस्या भएकाहरुलाई औषधि प्रेस्क्राइब गरिन्छ । त्यसैले यसलाई खर्चिलो भन्न मिल्दैन । यदि थाइराइडको क्यान्सर भएको छ भने अन्य क्यान्सरको उपचारभन्दा सस्तो छ । कम्तीमा तीन दिन जनरल्ली राख्छौं । जटिल प्रकृतिको अप्रेसन गर्नुपर्ने भए १० दिनमा अप्रेसन गरेर घर पठाउन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्