पाठेघरमा मासु पलायो । के गर्ने ?



डा. सुमनराज ताम्राकार  स्त्रीरोग विशेषज्ञ

एकचालीस वर्षीया पल्लवी थापा (नाम परिवर्तन) हरेक पटकको महिनावारीमा निकै दिनसम्म रगत जाने तथा सानो पेट पनि अचाक्ली दुख्ने गुनासो लिई एकदिन स्त्रीरोग ओपिडीमा आइन् । आन्तरिक जाँचको क्रममा तथा तल्लोे पेट जाँच्ने क्रममा पाठेघरमा मासु पलाउने समस्याको आशंका गरियो । निक्र्यौल गर्नका लागि भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्न पठाउँदा पाठेघरमा मासु पलाएको देखियो । बालबच्चा पुगिसकेका कारण उनले ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघर निकाल्ने शल्यक्रिया गराइन् ।

यदि यही समस्या २५–२६ वर्षकी युवतीमा छ र मासु पलाएकै कारण बच्चा पाउनै समस्या भइरहेको वा बच्चा पाउने चाहना अझै छ भने त्यस्तो केसमा पाठेघरको डल्लो मात्र निकाल्ने शल्यक्रिया (मायोमेक्टोमी) गरिन्छ । यसका लागि पेटमा घाउ पारेर वा ल्याप्रोस्कोपीकै माध्यमबाट दुई–तीनवटा प्वाल पारेर शल्यक्रिया गर्न सम्भव छ । यस्तो शल्यक्रिया गरेको केही समयपछि त्यस्तो महिलाको पाठेघरको मुखबाट एक प्रकारको रंग पठाई पाठेघरको भित्री भाग तथा डिम्बवाहिनी नलीको विशेष खालको एक्सरे लिएर जाँच गरिन्छ । र, सबै ठीक छ भने दम्पतीलाई गर्भ आउने सल्लाह दिइन्छ ।

कतिपय महिलामा पाठेघरमा मासु पलाएको छ भने महिनावारी हुँदा अधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निःसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भ तुहिने, महिना नपुग्दै था लाग्ने तथा बच्चा सानो हुने लक्षण देखिने हुन्छ ।

यसरी स्त्रीरोग समस्याको पहिचानको क्रममा भिडियो एक्सरेको उपयोगले पाठेघरमा मासु पलाउने समस्या सजिलै र समयमै पत्ता लगाउन सम्भव भएको छ । र, उपचार प्रविधिमा पनि विकसित मुलुकमा झैँ नेपालमा पनि ल्पाप्रोस्कोपी प्रविधिबाट सहजता भएको छ । बिरामी चाँडै तङ्रिने, अस्पतालमा कम समय बसे पुग्ने, शल्यक्रियापछि पीडा पनि कम हुने र चाँडै काममा फर्किन मिल्ने भएकोले यस्तो समस्या भएकी महिलामा ल्याप्रोस्कोपी प्रविधि लोकप्रिय हुँदै गएको छ ।
धेरै वा थोरै संख्यामा भए पनि ३० वर्षको उमेर पुग्ने बेलासम्म करिब २० प्रतिशत महिलामा पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) समस्या हुन सक्छ । स्त्रीरोग विभागको बहिरंगमा आउने करिब ३ प्रतिशत फाइब्रोइडको समस्या लिई आउँछन् । बढीजसो ३५ देखि ४५ वर्ष उमेरकालाई यो समस्या हुने गरेको देखिएको छ ।

मासु पलाउनुको कारण
पाठेघरमा मासु पलाउने समस्या हुनुको प्रस्ट कारण पत्ता लाग्न सकेको छैन । तर पनि करिब ३० प्रतिशत महिलामा वंशाणुगत र अन्यमा शारीरिक वृद्धि गराउने विभिन्न तत्वहरुले इस्ट्रोजेन नामक हर्मोन (रासायानिक पदार्थ) मार्पmत फाइब्रोइड गराउन सक्छ । फाइब्रोइडको वृद्धि इस्ट्रोजेनमा आधारित छ भन्ने कुरा बच्चा पाउने उमेरमा, गर्भवतीका बेलामा, इस्ट्रोजेन ग्राह्य केन्द्र बढी भएकामा फाइब्रोइड हुने र किशोरी अवस्थापँर्व अनि महिनावारी सुकेपछि नहुने गरेबाट प्रस्ट हुन्छ । प्रायः पाठेघरमा मासु पलाउने समस्यासँग महिनावारी गडबडी पनि हुन्छ ।

बच्चा नपाएका, उच्च मोटोपना भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिका मानिसहरुमा पाठेघरमा मासु पलाउने समस्या बढ्ता हुने गरेको छ । गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामा पाठेघरमा मासु पलाउने समस्या तीव्र गतिमा बढ्ने गरेको छ ।

मासु पलाउँदाका लक्षण
कतिपय महिलामा पाठेघरमा मासु पलाएको छ भने महिनावारी हुँदा अधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निःसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने तथा बच्चा सानो हुने लक्षण देखिने हुन्छ । तर करिब ७५ प्रतिशत महिलामा कुनै लक्षण चिन्ह देखा नपर्न पनि सक्छ ।

बच्चा नपाएका, उच्च मोटोपना भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिका मानिसहरुमा पाठेघरमा मासु पलाउने समस्या बढ्ता हुने गरेको छ । गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामा पाठेघरमा मासु पलाउने समस्या तीव्र गतिमा बढ्ने गरेको छ ।

फाइब्रोइड प्रायः पाठेघरको माथिल्लो भागमा हुन्छ र यो धेरै संख्यामा हुन्छ । पाठेघरको मध्य तहबाट शुरु हुने फाइब्रोइड समस्या समयक्रमसँगै पाठेघरको बाहिरतिर वा भित्री भागतिर बढ्छ । पाठेघरको भित्री तहतिर बढ्ने सम्भावना कम भए पनि यस प्रकारको फाइब्रोइड चाँडै कुहिने र संक्रमण हुने कारणले महिनावारीको बेला बढ्ता रक्तश्राव गराउँछ ।

बिरामीको गुनासोअनुसार पाठेघरमा मासु पलाउने समस्याको शंका गरी आन्तरिक परीक्षण वा सानो पेट जाँच (यदि फाइब्रोइडको आकार ठँलै छ भने) गर्दा कडा खालको, अनियमित सतह भएको, बाह्य सिमाना प्रस्ट भएको दायाँ–बायाँतिर मात्र चलाउन मिल्ने हुन्छ । आन्तरिक परीक्षणको क्रममा फाइब्रोइड पाठेघरबाट छुट्टै भेटिँदैन र पेटबाट फाइब्रोइड समाएर चलाएको खण्डमा पाठेघरको मुख पनि चल्दछ ।

गर्भावस्था, पिसाब थुनिँदा, अण्डाशयको ट्युमर हुँदा, पाठेघर पँरै बढ्ने अवस्था (एडेनोमायोसिस), पाठेघरमा पीप वा रगत जम्ने अवस्था तथा पाठेघर तथा पाठेघरको क्यान्सरसँग पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) झुक्किन सक्छ । अतः विस्तृत जाँच पड्ताल गराउनुपर्दछ ।

पिसाब जम्मा गरेर गरिने अल्ट्रासाउन्डबाट धेरैजसो फाइब्रोइड पत्ता लाग्नुका साथै डिम्बाशयको ट्युमर वा गर्भावस्था पनि छुट्याउन सकिन्छ । पाठेघरको भित्री तहमा हुने फाइब्रोइडका लागि हिस्टोरोस्कोपी (पाठेघरभित्र दुरबिनले हेरी गरिने जाँच) तथा सानो खालको फाइब्रोइड, सानो पेट दुख्ने एवं निःसन्तान समस्या भएकामा ल्याप्रोस्कोपी गरी फाइब्रोइड वा अन्य कुनै समस्या छ भने पत्ता लगाउनु उपयुक्त हुन्छ ।

उपचार
करिब २५ प्रतिशतमा पाठेघरमा मासु पलाउने समस्यासँगै लक्षण चिन्ह देखा पर्दछ । महिनावारी तथा शल्यक्रिया दौरान रक्तश्राव घटाउन, कतिपय निःसन्तान तथा महिनावारी सुक्न लागेका बिरामीमा तथा थोरै समय शल्यक्रिया सार्नलाई फाइब्रोइडको लागि मेडिकल उपचार
गर्न सकिन्छ ।

यदि पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) को आकार सानो छ, फाइब्रोइड नै हो भन्ने निक्र्यौल भएको छ, बेला–बेलामा फलो अप जाँच गर्न सकिन्छ र फाइब्रोइडको कारण कुनै लक्षण चिन्ह (अधिक रक्तश्राव÷दुखाइ) देखा परेको छैन भने तत्काल उपचार गर्नुपर्ने जरुरत छैन ।

बच्चा पुगिसकेका तथा ४० वर्ष नाघेकालाई पाठेघर निकाल्ने शल्यक्रिया एवं बच्चा पाउन बाँकी वा बच्चा पाउन इच्छुक महिलाको हकमा मासुको डल्लो मात्र निकाल्ने शल्यक्रिया गर्न सकिन्छ । फाइब्रोइडको प्रकृति, अवस्थिति, आकार तथा उपचार विधिको उपलब्धताअनुसार ल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपीबाट पनि यसको सफल उपचार गर्न सकिन्छ ।

कहिलेकाहीँ पाठेघरको तल्लो भागमा पनि यसरी मासु पलाउन सक्छ । यसको अवस्थितिअनुसार पिसाब एवम् मलद्वारसम्बन्धी लक्षण देखिनुका साथै रक्तनली थिचिनाले तत्सम्बन्धी लक्षण चिन्ह देखा पर्न सक्छ । यस्ता खाले फाइब्रोइडको व्यवस्थापन छुट्टै किसिमले गर्नुपर्ने हुन्छ । यस्ता समस्याको उपचार नेपालमै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्