गर्मीका रोगबाट कसरी बच्ने ?



डा. नवीन पोख्रेल

गर्मी मौसम शुरु भएको छ । गर्मीकै कारण झाडापखाला, रगतमासी, टाइफाइड, मलेरिया, जन्डिस, रुघाखोकी, ज्वरोलगायत पेटसम्बन्धी रोगले आक्रमण गर्ने सम्भावना हुन्छ । मानिसमा सबैभन्दा बढी रोग लाग्ने समय भनेकै गर्मी मौसममा हो । अहिले अस्पतालहरुमा रुघाखोकी, ज्वरो, झाडापखाला, पेटसम्बन्धी रोगका बिरामीको चाप बढिसकेको छ । तसर्थ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनु सबैभन्दा बुद्धिमानी हुन्छ ।

गर्मीमा लाग्न सक्ने रोग
यो मौसममा स्वास्थ्यको ख्याल गरिएन भने विभिन्न रोगले आक्रमण गर्न सक्छ । गर्मीका कारण लाग्न सक्ने रोगमध्ये सरुवा रोग जस्तै– झाडापखाला, हैजा, हेपाटाइटिस, सिगेला प्रमुख हुन् । यस्तै यस मौसममा लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुमा मलेरिया, डेंगु पर्दछन् भने आँखामा लाग्न सक्ने रोगमा आँखा पाक्ने रोग बढी देखिन्छ । धूलो, धुवाँ एवम् दूषित पानीका कारण छालाको समस्या पनि देखिन सक्छ । गर्मी मौसममा स्वास्थ्य सुरक्षा गर्न सकिएन भने ज्यान नै जाने खतरा पनि हुन्छ ।

रोगको प्रमुख कारण खाना र पानी
फोहोर खाना र प्रदूषित पानीबाट बच्नु नै यो मौसममा लाग्ने प्रमुख रोगबाट बच्ने पहिलो उपाय हो । पानीका कारण बढी रोग लाग्ने सम्भावना भएकाले पानी उमालेर खानु स्वास्थ्यका लागि सबैभन्दा राम्रो उपाय हो । बरु उमालेको पानी चिसो बनाएर खान सकिन्छ ।
गर्मीमा खानेकुराहरु चाँडै बिग्रने र त्यसको सेवनले रोग निम्त्याउने हुन्छ । तसर्थ पकाएर लामो समय राखेका खाना अर्थात् बासी खाना खानुहुँदैन । गर्मीमा यस्ता खानामा छिट्टै कीटाणुको संक्रमण हुन्छ । यो समयमा हरेक खाना बिग्रने प्रमुख कारण भनेकै बढी तापक्रम हो ।

अधिकांश रोगका जीवाणु वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरेको पाइन्छ । गर्मी मौसममा वातावरणीय तापक्रम यसैको सेरोफेरोमा रहने भएकाले यो मौसममा रोगका जीवाणुको वृद्धि हुन्छ । त्यसैले यहाँ बताइएको तापक्रमभन्दा कम तापक्रम भएको स्थानमा राखिएका खाद्य परिकार खान सके राम्रो हो । साथै खाना राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि पनि हात धुने, शौचालय गएर आइसकेपछि पनि राम्रोसँग हात धुने बानीले रोगबाट जोगिन सहयोग पुग्छ । गर्मी मौसममा मनलाग्दी खानेकुरा खाँदा झाडापखाला लाग्ने, बान्ता आउने, पेट दुख्ने तथा फुड प्वाइजनिङ गराउने हुन सक्छ । त्यसैले खानपानमा सतर्कता अपनाउनै पर्छ ।

गर्मीमा कस्तो खाने त ?
गर्मी मौसममा ताजा खानेकुराहरु खानुपर्छ । ताजा सागसब्जी, फलफूलहरु प्रशस्त मात्रामा खानुपर्छ । जुन पायो त्यही ठाउँमा राखेको खानेकुरा खानुहुँदैन । यो मौसममा बढी प्रोटिनयुक्त तथा क्यालोरी भएको खानेकुराभन्दा पनि भिटामिन, खनिज तथा पानीको मात्रा बढी भएका खानेकुरा रोज्नुपर्छ । यस्तो मौसममा दही, काँक्रो, फलफूल, सलाद आदिलाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ । यो समयमा खानाको रुचि कम हुने हुन्छ । त्यसैले फलफूल तथा यसको रस, लस्सी आदिलाई प्राथमिकता दिनु लाभदायी हुन्छ ।

प्रोटिनयुक्त खानेकुराहरु मासु, अण्डा, दूध तथा दूधका परिकारहरु रोज्नु राम्रो होइन । यो मौसममा पानीको सेवन मात्रै सही तरिकाले गर्न सके ५ वर्षसम्मका बालबालिकामा ७० प्रतिशत रोग कम हुने र त्यसभन्दा माथिका उमेर समूहमा ५० प्रतिशतसम्म रोगबाट बच्ने सम्भावना हुन्छ ।

झोलिलो खाने, भिटामिन ‘सी’युक्त खानेकुरा बढी खाने गर्नुपर्छ । बढी चिल्लो, मसलेदार एवम् गरिष्ठ भोजन गर्मी मौसममा परहेज गर्नु नै उत्तम हुन्छ । खानामा रुचि कायम राख्न तथा कुपोषण हुन नदिन हरियो सागपात, फलफूल, कागती, अमला, पानी एवं झोल कुराहरु प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

गर्मीमा बढी प्रोटिनयुक्त खानेकुराहरु मासु, अण्डा, दूध तथा दूधका परिकारहरु रोज्नु राम्रो होइन । यो मौसममा पानीको सेवन मात्रै सही तरिकाले गर्न सके ५ वर्षसम्मका बालबालिकामा ७० प्रतिशत रोग कम हुने र त्यसभन्दा माथिका उमेर समूहमा ५० प्रतिशतसम्म रोगबाट बच्ने सम्भावना हुन्छ ।

सावधानी
गर्मीको बेला आफूलाई स्वस्थ, निरोगी, फूर्तिलो तथा सन्तुलित राख्न खाना र पानीसँगै व्यक्तिगत एवम् वातावरणीय सरसफाइमा खूबै ध्यान पु¥याउनुपर्छ । यसै गरी यो मौसममा धूलो तथा अन्य प्रदूषणले स्वास्थ्यमा धेरै असर पु¥याउने गरेको हुन्छ । यसले श्वासप्रश्वास, घाँटीको समस्या निम्त्याउन सक्छ । त्यसैले माक्स लगाएर हिँड्नुपर्ने हुन्छ ।

निकै चर्को घाममा सकेसम्म हिँड्नुहुँदैन । चर्को घामले छालाको समस्या निम्त्याउन सक्छ । छाला डढ्ने, कालो पोतो आउने, छाला रातो हुने, घामको एलर्जी हुने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले घाममा हिँड्नै परे छाताको प्रयोग गर्नुपर्छ ।

मौसमी फेरबदलसँगै देखिने स्वास्थ्य समस्याबाट बच्न मौसम अनुकूलको खानपान, सरसफाइ र शारीरिक हेरचाहको उत्तिकै महत्व हुन्छ । यसरी मौसमअनुकूल स्वास्थ्यमा उचित व्यवस्थापन गर्न सके धेरै हदसम्म स्वस्थ रहन मद्दत पुग्छ । यो समयमा डेंगु, स्वाइनफ्लु भाइरस पनि हुने गर्छ । विभिन्न भाइरसबाट जोगिन झुल लगाएर सुत्ने, घरवरिपरि पानी जम्न नदिने, फोहोर भएमा सफा गर्ने गर्नुपर्छ । त्यस्तै स्वासप्रश्वासको रोगबाट जोगिन जतिसक्दो आराम गर्नुपर्छ ।

सकेसम्म अरुले प्रयोग गरेका कपडा नधोईकन आफूले प्रयोग गर्नुहुँदैन । गर्मी याममा बाक्ला कपडा लगाउनाले पसिना आई गन्हाउने र छालामा बिबिरा आउने समस्या आउन सक्छ । यो मौसममा पातला कपडा लगायो भने पसिना आउन कम हुन्छ । समय–समयमा नुहाउने र सफासुग्घरमा बढी नै ध्यान पु¥याउनुपर्ने हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा अत्यधिक गर्मी नेपालगन्ज, भैरहवा, सिमरालगायतका क्षेत्रमा हुने गर्छ । त्यसैले अत्यधिक गर्मी हुने तराईका जिल्लावासीहरुले झनै सतर्कता अपनाउनुपर्ने हुन्छ । यदि कुनै रोगको लक्षण देखिएमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा पुगेर देखाउने गर्नुपर्छ । हेलचेक्र्याइँ गर्नु भनेको रोग बढाउनु हो । गर्मी मौसममा बढी देखिने आउँ, झाडापखाला, हेपाटाइटिस जस्ता स्वास्थ्य समस्याले ज्यान नै लिन सक्ने हुँदा पहिलेदेखि नै सतर्कता अपनाउनु बेस हुन्छ ।

(डा. पोख्रेल पाल्पा मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्