दृष्टि गुम्यो ! नआत्तिनुस्



मुख्यतया १६ देखि २५ वर्षसम्मका किशोरीहरुलाई आँखाको नानी प्रत्यारोपणका लागि प्रथामिकता दिइएको छ । यसपछि बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको छ । टाढाबाट आउनेहरुका लागि समेत नानी प्रत्यारोपणमा प्राथमिकता दिइएको छ ।

 

शंखनारायण त्वायना
आँखा बैंक

प्रशान्त वली

आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर दृष्टि गुमेको छ भने अब डराउनुपर्दैन । नेपालका केही आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गर्न थालिसकेका छन् । अस्पतालको सेवाअनुसार ५ हजारदेखि १५ हजार रुपियाँमा नै नानी फेर्न सकिने ती अस्पतालले जनाएका छन् । नेपालमा आँखाको नानी प्रत्यारोपण प्रक्रिया बिस्तारै सहज बन्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार १० हजार नागरिकलाई आँखाको नानी प्रत्यारोपण गरिएको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ । पुनः दृष्टि पाइने भएकाले आँखाको नानी प्रत्यारोपण गर्ने प्रचलन बढेको हो ।

आँखाको नानी प्रत्यारोपणका लागि आँखा दान गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रतिष्ठानले आँखा दान कार्यलाई प्रभावकारी बनाउन योजनासमेत अगाडि सारेको छ । कुनै पनि व्यक्तिको मृत्यु भएको ६ देखि ८ घन्टाभित्र आँखाको नानी निकाल्न सके उत्तम हुन्छ तर १२ घन्टासम्मको पनि नानी प्रयोगमा ल्याउन सकिने नेत्र विशेषज्ञहरु बताउँछन् । सम्बन्धित मृतकका परिवारको स्वीकृतिमा मात्रै आँखाको नानी निकाल्न सकिन्छ । प्रतिष्ठानले आँखा दान गर्न इच्छुक व्यक्तिलाई आह्वान पनि गरेको छ ।

आँखा दान कार्यलाई प्रभावकारी बनाउन प्रतिष्ठानले सामूहिक श्रद्धाञ्जलि सभा, जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आँखा दान गर्ने र लिनेको परिवारलाई सँगै राखेर कतिपय स्थानमा श्रद्धाञ्जलि सभासमेत गरेको बताइएको छ । यसरी कार्यक्रम गर्दा आँखाका नानी दान गर्नेको संख्या बढ्ने गरेको देखिएको छ । वर्षको ८ सय बढी आँखाको नानी नेपाल आँखा बैंकमा जम्मा हुने गरेको छ ।

अस्पतालका प्रशासक भगीरथ बानियाँले भन्नुभयो– ‘समाज परिवर्तनसँगै आँखा दान गर्नेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । यसलाई अझ बढाउन हामीले जनचेतना जगाउने र प्रचारप्रसारका कार्यक्रमलाई व्यापक बनाएका छौं ।’ उहाँका अनुसार विभिन्न धार्मिक र सामाजिक मूल्य मान्यताले आँखा दान गर्नुहुँदैन भन्ने संकुचित सोच थियो तर अहिले त्यो सोच पनि फराकिलो हुँदै गएको छ ।

विगतमा इन्टरनेसनल फेडरेसन अफ आई बैंकमार्फत आँखाका नानीहरु विदेशबाट नेपाल ल्याइने गरिन्थ्यो भने अहिले नेपालभित्रै आँखाका नानीहरु संकलन गरी प्रत्यारोपण गरिन्छ । आँखाको नानी प्रत्यारोपण गरिएकामध्ये ९० प्रतिशतको सफल भएको बताइएको छ । दैनिक सरदर दुईजनालाई आँखाको नानी प्रत्यारोपण गरिँदै आएको प्रतिष्ठानमा कार्यरत ऐजनराज भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मृत शरीरबाट गर्मी मौसममा ८ घन्टा र जाडो मौसममा १२ घन्टासम्म सुरक्षितरुपमा आँखा झिक्न सकिन्छ । झिकिसकेको आँखा निश्चित तापक्रम २ देखि ८ डिग्री सेल्सियससम्ममा बढीमा १४ दिनसम्म राख्न सकिने व्यवस्था मिलाइएको छ ।’ कुनै कारणवश आँखा घोचिएर अथवा मिचिएर दृष्टि गुमेमा मात्रै आँखाको नानी प्रत्यारोपण गरी पुनर्दृष्टि पाउन सकिने प्रतिष्ठानले बताएको छ । जन्मजात दृष्टिविहीन भएकाहरुले आँखाको नानी प्रत्यारोपण गरेर पुनः दृष्टि पाउन सम्भव नहुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले दिएको जानकारीअनुसार नेपालका विभिन्न स्थानमा रहेका आँखा अस्पतालहरुमध्ये सबैभन्दा बढी विराटनगर आँखा अस्पतालमा आँखाको नानी पठाइने गरिन्छ । यस्तै गेटा अस्पताल धनगढीमा सबैभन्दा थोरै आँखाको नानी पठाइन्छ । यी आँखाका नानी सबै मृत व्यक्तिका
हुने गर्दछन् ।

नानी प्रत्यारोपणमा प्राथमिकता

मुख्यतया १६ देखि २५ वर्षसम्मका किशोरीहरुलाई आँखाको नानी प्रत्यारोपणका लागि प्रथामिकता दिइएको छ । यसपछि बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको छ । टाढाबाट आउनेहरुका लागि समेत नानी प्रत्यारोपणमा प्राथमिकता दिइएको छ ।

खर्च कति लाग्छ ?

आँखा प्रत्यारोपणका लागि अस्पतालमा पुग्नेहरुलाई सरदर ५ हजार रुपियाँ लाग्छ । यद्यपि गरिब र विपन्न वर्गका व्यक्तिलाई प्रत्यारोपणका लागि उक्त रकम नलाग्ने बताइएको छ । यो रकम आँखाको नानी र चिकित्सकका लागि खर्च होइन । यो त आँखा प्रत्यारोपणका क्रममा आवश्यक पर्ने औजार र औषधि किन्नमा खर्च गरिने रकम हो ।

नानी प्रत्यारोपण कहाँबाट गर्न सकिन्छ ?

विशेष गरी पशुपतिको आर्यघाट, महाराजगन्जको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालबाट आँखाको नानी संकलन गरिँदै आएको छ । यसका लागि तिलगंगा आँखा प्रतिष्ठानले आँखा परामर्शदाता परिचालन गरेको छ ।

सर्वप्रथम मृत व्यक्तिका आँखाका नानी संकलन गरिन्छ । यही नानी दृष्टि गुमेको अर्को व्यक्तिको आँखामा राख्ने गरिन्छ । त्यसका लागि मेची आँखा अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल काठमाडौं, विराटनगर आँखा अस्पताल, लुम्बिनी आँखा अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, पोखरा हिमालय आँखा अस्पताल, गेटा आँखा अस्पताल धनगढीबाट आँखाको नानी प्रत्यारोपण गर्न सकिने आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले बताउनुभयो । यसैगरी मेची नेत्रालय, लहान आँखा अस्पताल, भरतपुर आँखा अस्पताल, पाटन अस्पताल, वीर अस्पताल आदिबाट पनि आँखाको नानी प्रत्यारोपण गर्न सकिने त्वायना बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– ‘नेपालका मात्रै नागरिक नभएर छिमेकी राष्ट्र भारत, तिब्बत, दक्षिण अमेरिका, भूटानलगायतका नागरिकले समेत आँखा प्रत्यारोपण गर्ने गरेका छन् । पहिले आँखा ल्याउन बाहिरी देशमा निर्भर रहनुपथ्र्यो । तर अहिले नेपाल आफैं आँखा प्रत्यारोपणका लागि आत्मनिर्भर छ । आजभन्दा १० वर्षअघि विदेशबाट आँखाका नानीहरु झिकाउनुपर्ने अवस्था थियो ।’

कस–कसले गर्न सक्छन् आँखा दान ?

आँखा दान कुनै पनि व्यक्तिले गर्न सक्छ, जसको आँखा स्वस्थ छ । यसमा उमेर, आँखाको पावर र चश्मा लगाउने गरेको आदिले कुनै बाधा गर्दैन । किनभने आँखा फेर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई आँखाको नानीको मात्रै प्रत्यारोपण हो । रगतको माध्यमबाट सर्ने कुनै पनि रोग नभएको जोसुकैले आँखाको नानी दान गर्न सक्छन् । एचआईभी, हेपाटाइटिस, भिरङ्गीजस्ता रगतको माध्यमबाट सर्ने रोग लागेका व्यक्तिको आँखाको नानी दान लिएर प्रत्यारोपण गर्न मिल्दैन ।

आँखा प्रतिष्ठानका जनसम्पर्क अधिकारी सोनु कुँवरले आँखाको ज्योति पाएकाहरुले खुशी व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आँखाको नानी दान गर्न चाहनेले आफ्नो नाम प्रतिष्ठानमा दर्ता गराउन सकिन्छ । मरेपछि आँखाको नानी जलेर खरानी हुनुभन्दा कसैलाई दान गरी संसार देख्ने गराउन सकिन्छ भने किन दान नगर्ने ?’

आँखा दान गर्न चाहनेहरु ७० हजार पुगे

नेपालमा आँखा दान गर्न चाहनेहरुको संख्या हालसम्म करिब ७० हजार रहेको छ । जसमध्ये पुरुषको संख्या बढी रहेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । नेपालमा पहिलोपटक आँखा दान गर्ने व्यक्तिका रुपमा चिनिमैया दुलाल हुनुहुन्छ । उहाँले सन् १९९४ मा आँखा दान गर्नुभएको हो । आँखाको नानी स्वस्थ छ तर अन्य कारणले आँखा नदेखे पनि नानी दान गर्न सकिन्छ । मृत्युपछि गरिने आँखाको नानी दानलाई संस्कारको रुपमा अगाडि बढाउन सके कोही पनि दृष्टिविहीन हुनुपर्दैन । र, आँखाको नानी खराब भएर दृष्टिविहीन अवस्थामा भौतारिरहनुपर्दैन ।

बिस्तारै चेतनशील हुँदै छ समाज

आँखा संकलन केन्द्रका रुपमा आँखा बैँक तिलगंगा रहेको छ । मृत व्यक्तिको आँखाको नानीबाट दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्नु यस आँखा बैंकको लक्ष्य रहेको छ । यता मृत्युपछि आँखा दान गर्नेहरुको संख्या पहिलेको तुलनामा बढ्दै गए पनि
पूर्णरुपमा भने यसतर्फ आकर्षित गराउन सकिएको छैन ।

यो जन्ममा आँखा झिकियो भने अर्को जन्ममा आँखा नै नभएको जन्मनुपर्छ भन्ने अन्धविश्वास नागरिकबाट अझै पूर्णरुपमा हटी नसकेको बताउनुहुन्छ अस्पतालका प्रशासक भगीरथ बानियाँ । उहाँ भन्नुहुन्छ– ‘तर पहिलेभन्दा त धेरै चेतनशील बनेको छ समाज, त्यसैले पनि हामी आज आँखाको नानीका लागि विदेशीमै निर्भर हुनुपरेको छैन ।’ मृत्युपछि आँखा दान गर्दैमा केही हुँदैन, शरीर जलेसँगै खरानी हुने त हो नि ! यो कुरा दाताहरुलाई बुझाउन अझै समय लाग्ला ।

नानी प्रत्यारोपण कार्यले ल्याएको खुशी

एजनराज भण्डारी

आँखा प्रतिष्ठान

म आफ्नो व्यक्तिगत जीवनमा रमाउन नपाए पनि आँखाको नानी प्रत्यारोपण गरेर अरुको जीवन उज्यालो पार्न पाएकोमा खुशी छु । मेरो कर्मबाट कसैले संसार देख्न पाएको छ । मेरो सानो प्रयासले अरुका आँखाले संसार देख्छ भने त्यो मेरा लागि गौरवको विषय हो । मेरो कर्मले ल्याएको खुशी देख्दा अझ प्रेरणा मिल्छ ।

पहिले जस्तो आँखाको नानी प्रत्यारोपणका लागि लामो समय कुर्नुपर्दैन । किनभने अहिले आँखा दान गर्नेहरुको संख्या क्रमिकरुपमा बढ्रदै गएको छ भने नेत्र विशेषज्ञको पनि खाँचो छैन ।

आँखाको नानीबारे छोटा–मीठा कुरा

शरीरको सबैभन्दा संवेदनशील अंगमध्ये आँखा पनि एक हो । आँखा स्वस्थ राख्न सकियो भने व्यक्तिको मृत्युपछि पनि अन्य दृष्टि गुमेकाहरुका लागि सो आँखाको नानी काम लाग्छ । आँखाको नानी प्रत्यारोपणका विषयमा दृष्टि आँखा केन्द्र, काठमाडौंका नेत्र विशेषज्ञ डा. भाइराजा श्रेष्ठसँग गरिएको कुराकानी :

आँखाको नानी भन्नाले के बुझिन्छ ?

हामीले झलक्क हेर्दा आँखाको डल्लोभित्र देखिने कालो भाग, जुन सिसाजस्तो पारदर्शी प्रकृतिको हुन्छ । त्यो नै आँखाको नानी हो । र, यो निकै संवेदनशील अंग पनि हो ।

नानी प्रत्यारोपण भनेकोचाहिँ के हो ?

मानिसको मृत्यु भएको ६ घन्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरी सो आँखाको पूरै डल्लो नभई झिल्ली झिकिन्छ । यसरी झिकिएको झिल्ली विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समयभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाई नै आँखाको नानी प्रत्यारोपण भनिन्छ । प्रत्यारोपण गर्ने व्यक्तिलाई यसको फाइदा/बेफाइदाबारे अगाडि नै जानकारी गराउनुपर्छ ।

कस्ता व्यक्तिलाई नानी प्रत्यारोपण गर्दा देख्न सक्छन् ?

आँखाको नानीमा फुलो परेर पूरै दृष्टि गुमेकाहरुलाई पुनः देख्न वा दृष्टि ल्याउनको लागि आँखाको नानी प्रत्यारोपण गर्ने गरिन्छ । आँखाको नानीमा लामो संक्रमण हुने र कुनै औषधिले काम नगरेमा त्यो नानी फालेर अर्को नानी प्रत्यारोपण पनि गर्न सकिन्छ । चोटपटकले आँखा बिग्रियो भने पनि नानी प्रत्यारोपण गर्न सकिन्छ ।

हरेक व्यक्तिमा नानी प्रत्यारोपण गर्नुपर्ने समस्या देखिन सक्छ । जन्मजात कुनै बच्चामा आँखाको नानीमा दाग देखियो भने पूरै नानी फेर्नुपर्ने हुन सक्छ । युवावस्थामा आँखामा चोटपटक लाग्यो भने पनि आँखाको नानी फेर्नुपर्ने हुन सक्छ । आँखामा टर्नेल अल्सर हुन सक्छ । यस्तै बुढेसकालमा झिल्ली ड्यामेज भएको अवस्थामा पनि आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ ।

नानी प्रत्यारोपण गर्न नमिल्ने अवस्था ?

सबै व्यक्तिले चाहेर पनि आँखाको नानी प्रत्यारोपण गर्न सक्दैनन् । सरुवा रोग भएका र आँखामा विभिन्न खालको संक्रमण भएका व्यक्तिहरुले आँखाको नानी प्रत्यारोपण गर्न मिल्दैन । यदि जबरजस्ती गर्यो भने आँखाको नानीमा नै इन्फेक्सन हुन सक्छ । यस्तै, एचआईभी/एड्स, हेपाटाइटिस बी, सी, यौन रोग भएका व्यक्तिको आँखाको नानी संकलन गर्न र प्रत्यारोपण गर्न पनि मिल्दैन । आँखाको नानी प्रत्यारोपण गर्न स्वस्थ वा निरोगी आँखा हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्