तपाईंका घरमा हाम्रा डाक्टर



डा. हरिहर खनाल
फिजिसियन/ मुटुरोग विशेषज्ञ

मलाई पछाडि गर्दनको आसपास डण्डिफोर आएर हैरान बनाएको छ तर अनुहारमा भने देखिएको छैन । सामान्य किसिमले कपडाले छुँदा पनि दुख्छ । यसको उपचार कसरी गर्न सकिएला ?

अनुराग, कोटेश्वर, काठमाडौं
अनुरागजी, यो डन्डिफोर चिल्लो छाला हुनेलाई बढी चिल्लो हुने शरीरको भाग (अनुहार, ढाड तथा गर्दन) मा बढी आउँछ । तपाईं भाग्यमानी हो, किनभने अनुहारमा आएको छैन । तर यहाँ भनिएजस्तो दुख्ने नहुनुपर्ने हो । साधारण दुखाइ भने हुन पनि सक्छ । अनुहारतिर नबढ्दै बेलैमा यसको रोकथामतिर लाग्नुभएमा ढुक्क हुन सकिने थियो । यसको व्यवस्थापनको लागि चिल्लो अनि गुलियो कम गर्ने वा नखाने, मसला वा मसालेदार खाना नखाने गर्नुस् । डन्डिफोरलाई चलाउने, निचोर्ने नगर्नुस् । पानी प्रशस्त पिउने, साबुनले नियमित धुने कार्य तुरुन्तै शुरु गर्नुहोस् अनि एकपटक छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) लाई भेट्नुहोस् । यसको रोकथाम अनि उपचार निश्चय हुनेछ ।

म ४५ वर्षको भएँ । मेरो हातगोडा एकदम फुस्रो भएको केही वर्ष भयो । कन्याउँदा वा माड्दा चायाजस्तो धूलो झर्छ । दुख्ने, पोल्ने नभए पनि हेर्दा नराम्रो लाग्छ । केही दिन बिराएर शरीरमा तेल लगाउने गरेको छु । यदि तेल नलगाउने हो भने चायाजस्तो धूलो कपडामा समेत टाँसिएर आउँछ । यो कस्तो समस्या होला ? म के गरौं ?

समीर कार्की, स्याङ्जा, हाल: काठमाडौं
समीरजी, तपाईंको भनाइअनुसार छालाको सोरियासिस भन्ने समस्या भएजस्तो लाग्यो । तर शतप्रतिशत यो नै भन्न मिल्दैन, किनकि छालाको रोगलाई हेरेर मात्रै निदान गर्न सकिन्छ । यसको उपचार गराएमा नियन्त्रणमा आउन पनि सक्छ । तपाईंको यो समस्यालगायत सबै छालाको समस्याको निदान अनि सही उपचारका लागि छालारोग विशेषज्ञलाई भेट्न जरुरी हुन्छ । यसको लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वा मणिपाल वा चरक अस्पताल जान सक्नुहुन्छ ।

म १५ वर्षकी भएँ । मेरो देब्रे हातको बूढीऔंलामा नङसहितको अर्को औंला पलाएर आएको छ । मैले थाहा पाउँदैदेखि यस्तै थियो । एकपटक आमाले यो औंला हटाउनका लागि एकठाउँमा लिएर जाँदा यहाँ हुँदैन, सदरमुकामको अस्पतालमा गएर देखाउनु भनियो । मलाई सबैले ६ औंले भन्ने गर्छन् । धेरै खर्च नलागीकन यो बढी भएको औंला हटाउन सकिन्छ कि ? एकजना दाइलाई हुलाकमा यो चिठी हालिदिनु र उत्तर लेखिएको साधना पनि ल्याइदिनु है भनेर पठाएकी छु । उत्तरको आशामा छु ।

जुना बूढा, जुम्ला

जुनाजी, तपाईंको अतिरिक्त औंला हटाउन सकिन्छ । त्यसका लागि विशेषज्ञ सेवा प्राप्त अस्पतालमा जानुपर्ने हुन्छ । सामान्य अस्पतालमा यसको समाधान सम्भव छैन । किनभने त्यहाँ विशेषज्ञ हुँदैनन् वा अप्रेसनको लागि वातावरण पनि तयार हुँदैन । त्यसैले तपाईंलाई सदरमुकाम जानुस् भनेको हुन सक्छ । जुम्लाबाट नेपालगन्ज वा काठमाडौंमा आएर सो औंला हटाउन सक्नुहुन्छ । सरकारी अस्पतालमा खर्च पनि कम लाग्ने हुन्छ । काठमाडौंको वीर अस्पताल, शिक्षण अस्पताल, जोरपाटीको हाड–जोर्नी अस्पताल आएर हड्डी विशेषज्ञबाट सल्लाह एवं परामर्श लिन सकिन्छ । सम्बन्धित विशेषज्ञले हेरेर सम्भावना, जटिलता, सफलता, लाग्ने खर्च, सन्चो हुने समय सबै कुरा स्पष्ट बुझाइदिन सक्नुहुन्छ । सोही अनुसार अप्रेसनको योजना बनाउन सकिन्छ ।

मलेसियाको एक कम्पनीमा कार्य गरेको एक वर्ष बित्यो । तर अहिले मन एकोहोरो हुने, कहिलेकाहीँ रिँगटा लाग्ने र खान मन पनि नलाग्ने भएको छ । साथीहरुले यो त दुब्लाउँदै गयो भन्छन् । मलाई बाँकी एक वर्ष बिताउन धेरै गाह्रो होला जस्तो छ । मेरो पीडा कसरी कम होला ?

बिर्खबहादुर कार्की, चितवन/हाल: मलेसिया
बिर्खबहादुरजी, तपाईंलाई घरको यादले सताएजस्तो (होम सिक भएजस्तो) छ । अथवा अन्य कुनै चिन्ताले सताएजस्तो छ । चिन्ता वा मानसिक तनावले मान्छेलाई धेरै कमजोर गराउन सक्ने र यस्तो समस्या बढ्दै जान सक्ने हुनाले बेलैमा उचित उपचार गर्नु वाञ्छनीय हुन्छ । भनाइ नै छ– चिन्ताले चितासम्म पु¥याउन बेर लाग्दैन । अन्य समस्या पनि हुन नसक्ने होइन, तर प्राप्त लक्षणको भरमा धेरै कुरा भन्न सकिँदैन । बीचमा नेपाल आउन मिलेमा आउने, होइन भने त्यहीँकै चिकित्सक देखाउने वा ध्यान, योग, व्यायाम गर्ने, सकारात्मक सोच्ने, सुजबुझ विकास गर्ने, वास्तविक धरातलमा रहेर सम्पूर्ण जीवनलाई हेर्ने गरेमा सुधार हुन पनि सक्छ । आफ्नो आत्मबलमा विश्वास गर्ने, आफूलाई स्वस्थ सोच्ने, सम्भव भएमा सकारात्मक किताब पढ्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खाने, म ठीक छु भन्ने सोच्ने गर्नुभएमा सबै समस्या हराएर जान्छ ।

म ४२ वर्षको भएँ । कहिलेकाहीँ मलाई एक्कासि मुटु ढुकढुक हुन्छ । तर धेरैबेर यस्तो हुँदैन । यस्तो भएको बेलामा केही सोच्नै सक्दिन, धेरै अप्ठ्यारो महसुस हुन्छ । कतै धेरै समय यसरी मुटु हल्लिएजस्तो ढुकढुक गरिरह्यो भने के होला भन्ने डर लागिरहन्छ । यो कस्तो समस्या हो र उपचारका लागि के गर्नुपर्ला ?
विनोदकुमार बुढाथोकी, बारबिसे, सिन्धुपाल्चोक

विनोदजी, तपाईंको समस्या वास्तवमै मुटुको तालमा गडबडी हुन सक्छ, जसको निदान गर्न ईसीजी भन्ने मुटुको ताल हेर्ने परीक्षणबाट मात्र गर्न सकिन्छ । त्यो पनि मुटु हल्लिएकै समयमा ईसीजी गर्न सकियो भने मात्रै सम्भव छ । यदि ईसीजीले त्यो सम्भव भएन भने त्यसको लागि २४ घण्टासम्म ईसीजी रेकर्ड गरिने हल्टर परीक्षण पनि गर्न सकिन्छ । यसले हल्लिएको बेलाको रेकर्ड गरेर राख्छ ।

त्यसैले त्यो हल्टरको कम्प्युटर विश्लेषण गरी वास्तविक निदान गर्न सकिन्छ । यो सेवा वा परीक्षण गंगालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा, वीर अस्पतालमा, शिक्षण अस्पातल हाताभित्रै भएको मनमोहन मुटु केन्द्रमा जहाँ पनि गर्न सकिन्छ । तपाईं सिन्धुपाल्चोकमा भएकोले पहिलो जिम्मेवारी काठमाडौं आउनुप¥यो । दोस्रो कुरा सम्बन्धित अस्पतालमा जानुप¥यो । उपचार नगरेमा यो जटिल भएर जान पनि सक्छ, तपाईंले भोगेको जुन बेचैनी छ, त्यो लम्बिन पनि सक्छ वा मुटु नराम्ररी हल्लिन पनि सक्छ ।

यसले गर्दा मुटु चल्न नै बन्द हुन सक्ने सम्भावना रहेकाले अलि जिम्मेवारीसहित यो समस्यालाई लिनुप¥यो । यदि सम्पूर्ण परीक्षण गर्दा पनि, हल्लिएको महसुस गर्दा पनि बेताल वा गडबडी पक्रन सकिएन भने वा त्यस्तो रोग नभएको प्रमाणित नै भयो भने त्यसको कारण मानसिक तनाव, अधिक डर वा मानसिक समस्या हो भन्न सकिने हुन्छ । जब यसको निदान हुन्छ अनि बल्ल उपचारको विधि, प्रक्रिया अनि तरिका निर्धारण गरिन्छ । यो सबै अवस्थाको उपचार नेपालमै सम्भव भएको कुरा पनि अवगत गराउन चाहन्छु ।

हामी नवविवाहित जोडी हौं । कुराकानीका क्रममा हामी दुवैले साधना पढ्ने गरेको थाहा भयो । त्यसैले दुवैको सल्लाहमा डा.साबलाई लाज नमानी एउटा प्रश्न राख्छौं । त्यो के भने, हामी बढी नै सेक्समा लिप्त भएकाले यसले स्वास्थ्यमा कुनै असर त गर्दैन ? साथै ३ वर्षसम्म सन्तानको चाहना नभएकाले परिवार नियोजनको अस्थायी साधनमा कुनचाहिँ उत्तम हो ? सल्लाह पाऔंँ ।
एक दम्पती, काठमाडौं
नवविवाहित दम्पती, खुशी लाग्यो दुवै जनाले साधना चाख राखेर पढ्ने गर्नुभएको रहेछ । हरेक कुरा स्वाभाविक, ठिक्क, नर्मल राम्रो हुन्छ । यौनमा मात्रै धेरै लिप्त नहुनुहोस्, त्यो स्वास्थ्य लगायत धेरै पक्षले राम्रो हुँदैन । जे पनि ठिक्क सन्तुलित हुनुपर्छ । जहाँसम्म परिवार बनाउने, बच्चा जन्माउने, संख्या निर्धारण गर्ने अनि समय योजना गर्ने आफ्नो व्यक्तिगत कुरा हो । यसरी योजना बनाउनु राम्रो पनि हो । सक्षम भएपछि मात्रै बच्चा जन्माउने, निश्चित अवधिमा एउटा वा दुईवटा बच्चा बनाउने उत्तम विचार हो ।

यसका लागि परिवार नियोजनको अस्थायी साधन धेरै छन् । जस्तो कि दुवैले सुजबुझ गरेर सुरक्षित समयमा यौनसम्पर्क गर्ने, पुरुषले प्रयोग गर्ने कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिलाले खाने चक्की गुलाफ, तीनमहिने महिलाले लगाउने डिपो सुई, पाखुरामा अप्रेसन गरेर राख्ने क्याप्सुल नरप्लान्ट, यौनअघि यौनांगमा महिलाले राख्ने फिज चक्की आदि अनेक उपाय छन् ।

यी सबै उत्तम छन्, अब्बल छन्, यहाँहरु दुईजनाको सहमतिमा परिवार नियोजन विज्ञ वा स्वास्थ्यकर्मी, चिकित्सक भेटेर परामर्श गर्नुभएमा देवै जनाको सहमतिमा आफूलाई मिल्दो साधन छान्न पाइन्छ । जहाँसम्म सबभन्दा सुरक्षित, पर्याप्त अनि सजिलो तथा अन्य अनावश्यक प्रभाव न्यून भएको साधनमा पुरुषले लगाउने कन्डम नै मान्ने गरिन्छ, त्यही प्रयोग गर्न सकिन्छ । यहाँहरुको सफलताको कामना ।

मेरो बुबालाई डायबिटिज भएको थियो । अहिले मलाई पनि देखियो र औषधि खाँदै छु । मेरो छोरो अहिले ५ वर्षको भयो, उसलाई पनि यो रोग नआउला भन्न सकिने अवस्था रहेन । त्यसैले उसलाई यस्तो रोग नहोस् भनेर मैले अहिलेदेखि नै के कुरामा सतर्कता अपनाउनुपर्ला ?
निर्मल श्रेष्ठ, बागबजार, काठमाडौं
निर्मलजी, तपाईंले भनेको सही हो, यो चिनी रोग वंशमा जान्छ । दुवै बाबुआमालाई भएमा ५० प्रतिशत सम्भावना, त्यस्तै बाबुआमामध्ये एकजनालाई भएमा २५ प्रतिशत सम्भावना हुन्छ यो चिनी रोग लाग्ने । अहिले नै त त्यस्तो केही गरिहाल्नुपर्दैन, सानै छ । तर ठूलो भएपछि धेरै तौल हुन नदिने, नियमित व्यायाम गर्ने भन्ने तथा खानामा ख्याल गर्ने त्यत्तिनै हो । जसको चिनी रोग भैसक्यो, नियमित चिकित्सकको सल्लाहमा बस्नुस्, नियन्त्रणमा राख्नुस्, डर मान्नुपर्दैन ।

म २७ वर्षीय युवक हुँ । मेरो अनुहारभरि महिलाहरुको जस्तै कालो पोतो आएको छ । घामको किरणले यस्तो भएको भन्नेहरु धेरै भेटिन्छन् । आखिर यो कसरी आउँछ र यसलाई म कसरी हटाउन सक्छु ? ब्युटी पार्लर जाने कुरा पनि आएन । बिहे गर्ने कुरा चलेको छ । कुनै केटीले नपत्याउलान् भन्ने डर भइसक्यो । म के गरौं ?
एक युवक, बनेपा
एक युवकजी, अनुहारभरि कालो पोतो आउने भनेको छालाको समस्या हो । यसलाई बढ्न नदिन घामबाट अनुहारलाई बचाउनुस् अनि एकपटक छालारोग विशेषज्ञलाई देखाएर परामर्श गर्नुभएमा उचित सलाह पाइनेछ । जहाँसम्म यहाँको गुण, चरित्र अनि योग्यता छ त्यसलाई यो कालो पोतोले केही गर्न सक्दैन । यस्तो होनहार व्यक्तिलाई नपत्याउने पनि होला र कहीँ ? यस्तो कुरा मनबाट फ्याँकिदिनुस्, ढुक्क हुनुस्, पत्याउनेछन् ।

मेरो बुबालाई उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्या छ । उच्च रक्तचाप र थाइराइडको औषधि सेवन गरेको धेरै वर्ष भयो । तर मधुमेहको लागि औषधि सेवन गरेको छैन । हुन त अहिले यी तीनै समस्याको ल्याब टेष्ट हेर्दा तोकिएको रेन्जभन्दा केही मात्रै बाहिर छ, उहाँको उमेर ६० वर्ष भइसकेकाले खासै फरक पर्दैन भनिन्छ । यो उमेरका लागि रक्तचाप, मधुमेह र थाइराइडको रेन्ज कतिसम्म हुँदा डर मान्नुपर्दैन र नियन्त्रणमा राख्न के गर्नुपर्ला ? स्पष्ट पारिदिनुहुन आग्रह गर्दछु ।
विनोद खरेल, सिन्धुली, हाल: बालाजु, काठमाडौं
विनोदजी, हाम्रो उमेर २० भए पनि ६० भए पनि शरीरमा सबै तत्वहरुको नर्मल रेन्ज, के चिनीरोग, के रक्तचाप अनि थाइराइड, सबै उमेरका लागि उस्तैउस्तै मानिन्छ । नियन्त्रणमा राख्नको लागि शुरु शुरुमा अलि–अलि मात्रै बढेको हो भने जीवनशैली परिवर्तन गरेर पुग्छ, तर पनि समय–समयमा परीक्षण गर्नै पर्छ । र, सम्बन्धित विशेषज्ञलाई देखाउनु राम्रो हुन्छ । रक्तचाप १३०÷८० वा त्योभन्दा कम हुनु राम्रो हो भने रगतमा चिनीको मात्रा बिहानीको खाली पेटमा ११० मि.ग्रा.सम्म र खानाको दुई घन्टामा १४० मिग्रासम्म राम्रो हो ।

थाइराइडको लागि तीन–चार थरीको हर्मोनको परीक्षण गरेर ठिक्क, बढी वा घटी, पत्ता लगाइन्छ र सोही अनुसार विशेषज्ञद्वारा परामर्श दिने गरिन्छ । तर पनि ठिक्क भने जस्तो, दिएको रेन्जजस्तो व्यवहारमा सधैँ नहुन सक्छ । त्यसैले कतिसम्म सुरक्षित हुन सक्ला भन्ने कुरा अध्ययन गरेका अनि अनुभवी विज्ञ चिकित्सकले भनेको मात्र मान्नु राम्रो हुन्छ । परीक्षण नियमित गर्ने, त्यो पनि चिकित्सककै सल्लाहमा, तर नतिजाको विश्लेषण गर्ने जिम्मा पनि चिकित्सकको भएमा राम्रो, सही अनि सुरक्षित हुने हुन्छ ।

कोही आफन्तको मृत्यु हुँदा निश्चित दिनसम्म नून खानुहुँदैन भनिन्छ । व्रत बस्दा पनि नून नखाने चलन छ । यस्तो परम्परा प्राचीनकालदेखि नै चलिआएको हो । अहिले पनि डाक्टरले उच्च रक्तचाप भएकाहरुले नून कम खानु भन्ने गर्छन् । आखिर यो नूनको स्वास्थ्यसँग के सम्बन्ध छ ? नून खाँदा के हुन्छ र नखाँदा के हुन्छ ? उचित सल्लाह पाए मजस्ता धेरैको जिज्ञासा मेटिने थियो ।
पार्वती केसी, झापा
पार्वतीजी, नून हाम्रो शरीरको लागि निश्चित मात्रामा (रगतमा १३५१४५ मिलिमोल प्रतिलिटर) नभई नहुने तत्व हो भने त्यही तत्व आवश्यक मात्राभन्दा अधिक लिने गरेमा वा शरीरमा बढी भएमा सुन्निने, रक्तचाप बढ्ने हुन सक्छ । त्यस्तै आवश्यकभन्दा कम भएमा पनि लठ्ठिने, सुन्निने, सुर हराउँदै जाने, अझ बेहोस नै समेत हुन सक्ने हुन्छ । यी दुवै अवस्था खतरनाक हुन्छन् भने ज्यान नै लिन पनि सक्छ । त्यसमाथि नखाँदा हुन सक्ने अवस्था अति नै खतरनाक भएर मृत्युसम्म पनि हुन सक्छ ।

रक्तचाप उच्च हुनेलाई नून नखानू भन्ने नभई थप वा अतिरिक्त नून नखाने सल्लाह दिने गरिन्छ । परिवारसँग थोरै परिकारसहितमा ठिक्क नून खान नै सल्लाह दिने गरिन्छ । नुन नखाएको विभिन्न अवस्था वा समयमा रक्तचाप घट्न सक्ने हुनाले रक्तचापको नियमित चेकजाँच गरी यसको औषधि मिलाउन (थपघट गर्न) जरुरी हुन्छ । यसको लागि आफ्नो मुटुरोगको चिकित्सकसँग सल्लाहमा रहनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्