बाथरोगले डल्यायो, अब के गर्ने ?



प्रा.डा. बुद्धि पौड्याल
बाथरोग विशेषज्ञ

पछिल्लो समय नसर्ने रोगको वृद्धिसँगै बाथरोग पनि एक जटिल समस्याका रूपमा देखा परेको छ । यसमा पनि र्यमुटोइड आरथ्राइटिस भनेर चिनिँदै आएको बाथरोगको समस्याले अहिले धेरै मानिस पीडित छन् । जानकारीको अभावले पनि यसबाट पीडितहरू उपचारका लागि अलमलिइरहेका देखिन्छन् । तसर्थ उपचार गर्नुभन्दा अघि यस रोगका बारेमा जान्नु जरुरी हुन्छ । रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु, फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यान नै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्गजस्ता
अंगको इन्फेक्सन हुने सम्भावना बढी हुन्छ ।

बाथरोगका दीर्घकालीन असरहरू
समयमै सही उपचार नभएमा र्यमुटोइडआरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ । कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ ।

बाथरोगमा खानपान
र्यमुटोइड आरथ्राइटिसका बिरामीलाई यथेष्ट मात्रामा क्यालोरी, प्रोटिन र भिटामिनयुक्त स्वस्थकर तथा सन्तुलित भोजनको आवश्यकता पर्दछ । शरीरमा रोगको दीर्घ प्रभाव तथा औषधिको सम्भावित हानिकारक असरहरूबाट जोगिन पनि यस्तो खाना अत्यावश्यक हुन्छ । हाम्रो समाजमा विभिन्न खानेकुराले यो रोग बढाउने विश्वास गरिन्छ, तर यसमा कुनै वैज्ञानिक आधार भेटिएको छैन ।

तर धूमपानले र्यमुटोइड आरथ्राइटिस बढाउन सक्ने, औषधिको प्रभावकारिता घटाउन सक्ने तथा विभिन्न हानिकारक असरसमेत निम्त्याउन सक्ने भएकाले यसबाट टाढै रहनुपर्दछ । त्यस्तै, जाँडरक्सीको सेवनले औषधिको हानिकारक असरलाई बढाउन सक्ने भएकाले यसबाट पनि जोगिनु जरुरी छ ।

नेपाली समाजमा स्याल तथा चिप्लेकीराको मासु खाएर, स्यालको मासुबाट तयार पारिएको रक्सी सेवन गरेर, बिजुलीको तेल तथा रक्सीले जोर्नी सेकेर वा विभिन्न जडीबुटीको प्रयोगबाट बाथरोगीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । तर यसमा कुनै वैज्ञानिक आधार भेटिएको छैन । प्राकृतिक चिकित्सा, एक्युपन्चर, एक्युप्रेसरलगायतका विभिन्न वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुःखाइबाट क्षणिक राहत दिए पनि रोग नियन्त्रण गर्न तथा सम्भाव्य जटिलताबाट जोगाउन खासै सहयोग गरेको पाइएको छैन ।

 र्यमुटोइड फ्याक्टरबारे जानकारी

र्यमुटोइड फ्याक्टर सामान्यतया र्यमुटोइडआरथ्राइटिसका बिरामीको रगतमा पाइने आफ्नै शरीरको प्रतिरोधात्मक शक्तिविरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो । यो रोगबाट ग्रसितमध्ये करिब दुई तिहाइ बिरामीको रगतमा देखिने यस्तो प्रोटिन कहिलेकाहीँ स्वस्थ मानिस तथा बाथबाहेकका अन्य रोगीहरूमा पनि देखिन सक्छ । त्यसैले र्यमुटोइड फ्याक्टर पोजिटिभ देखिएमा रोग नहुने भन्ने हुँदैन । रोगको निदानमा सहयोगी मात्र हुने यो जाँच पटक–पटक गरिरहनु जरुरी पनि हुँदैन ।

बाथरोगको उपचार

मधुमेह, उच्च रक्तचाप तथा मुटुको रोगजस्तै र्यमुटोइड आरथ्राइटिस पनि पूर्णरूपमा निको पार्न नसकिने एक दीर्घरोग हो । जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो । र्यमुटोइड आरथ्राइटिसको उपचारमा विभिन्न औषधि, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरूको समेत प्रयोग गरिन्छ । कतिपय अवस्थामा जोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्छ ।

र्यमुटोइड आरथ्राइटिसको उपचारमा मुख्यतः रोगलाई नियन्त्रण गर्ने र सुजन कम गर्ने औषधिहरू प्रयोग गरिन्छ । एकाध जोर्नीमा मात्र रोगले च्यापेको खण्डमा त्यो जोर्नीमा सोझै स्टेरोइड औषधिको सुई दिएर पनि सुजन कम गर्न सकिन्छ । सुजन कम गर्ने तथा रोगलाई नियन्त्रणमा राखेर सम्भाव्य जटिलताबाट जोगाउने विभिन्न औषधिहरू रोगको कडापन र प्रकृति हेरी विज्ञ चिकित्सकको सल्लाह र निगरानीमा लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । सम्भवतः जीवनभर पनि औषधि सेवन गर्नुपर्ने हुन सक्छ । उपचारको क्रममा आएको सुधार हेर्न तथा औषधिको हानिकारक असर एवं रोगका जटिलताहरू मूल्यांकन गर्नका लागि नियमितरूपमा स्वास्थ्य परीक्षण तथा रगत जाँचको आवश्यकता पर्दछ ।
धेरै दुखेका तथा सुन्निएका जोर्नीहरूलाई पर्याप्त आरामको जरुरत पर्दछ । नियमितरूपमा मनतातो पानीले सेकेर पनि दुःखाइ र अररोपन कम गर्न सकिन्छ । तर जोर्नी जाम हुनबाट जोगाउनका लागि जोर्नीको दुःखाइ र सुजन
कम हुनेबित्तिकै जोर्नी चलाउन र पर्याप्त कसरत गर्न थाल्नुपर्दछ ।

रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू विशेष गरी औंला, नाडी, कुहिना, कुम, घुँडा, गोलीगाँठा आदि दुख्ने, सुन्निने र अररो हुने गर्छ । बिहानीपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुल खोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ ।

र्यमुटोइड बाथरोग कस्तो रोग हो ?

र्यमुटोइड बाथरोग (आरथ्राइटिस) वयष्क तथा बढ्दो उमेरमा देखिने एक दीर्घ बाथरोग हो । र्यमुटोइड बाथरोग भन्नाले शरीरका जोर्नी र यससँग सम्बन्धित अन्य अंग– हाड, मांसपेशी र यिनीहरूलाई एक–आपसमा जोडेर सम्बन्ध स्थापित गर्ने नसाहरू दुख्ने, सुन्निने र जोर्नी अररो भई राम्ररी काम गर्न नसक्ने अवस्था बुझिन्छ । साथै र्यमुटोइडड आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ । यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाड नष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ । सम्पूर्ण जनसंख्याको करिब १ प्रतिशतमा देखिने यो रोग नेपालमा करिब २ लाख ५० हजार जति व्यक्तिलाई भएको अनुमान गरिएको छ ।

यो रोग लागेको कसरी थाहा पाउने ?

यो रोगबारे विभिन्न खोज–अनुसन्धान गरिए तर पनि यो रोगको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन । यद्यपि, वैज्ञानिकहरूका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्वहरूले यो रोग गराउनमा प्रमुख भूमिका खेलेको हुन्छ । र्यमुटोइड आरथ्राइटिस नेपाली समाजमा जीउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो । रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू विशेष गरी औंला, नाडी, कुहिना, कुम, घुँडा, गोलीगाँठा आदि दुख्ने, सुन्निने र अररो हुने गर्छ । बिहानीपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुल खोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ ।

यस्ता लक्षण देखिना साथ बाथरोग भएको शंका गर्नुपर्ने हुन्छ । रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खा देखा पर्ने, आँखा रातो हुने–दुख्ने तथा मुटु, फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यान नै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्गजस्ता अंगको इन्फेक्सन बढी हुने र जटिरूपमा देखिने सम्भावना हुन्छ ।

बाथको औषधि र सावधानी

सल्फासालाजिन कस्तो औषधि हो ?

सल्फासालाजिन विभिन्न किसिमको बाथ ( र्यमुटोइड आरथ्राइटिस, ढाडको बाथ, केटाकेटीको बाथ आदि) तथा आन्द्राको सुजन हुने रोगमा प्रयोग हुने औषधि हो । यो औषधि चिकित्कको सल्लाहअनुसार तालिका बनाएर हरेक दिन नियमितरुपमा प्रयोग गर्नुपर्छ । सामान्यतया यसको डोज ५ सय मिलिग्रामदेखि ३ हजार मिलिग्राम प्रतिदिन हुन्छ । यसलाई चिसो तर सुख्खा ठाउँमा सुरक्षित राख्नुपर्छ । बाथका अरू औषधिजस्तै सल्फासालाजिनले पनि बिस्तारै काम गर्दछ । यसको रोगविरुद्ध सकारात्मक असर देखिन केही हप्ता लाग्न सक्छ । त्यसैले हतार नगर्नुहोस् ।

सल्फासालाजिन प्रयोगमा ध्यान दिनुपर्ने कुरा

धूमपान बन्द : धूमपानले बाथका रोगहरू उब्जाउने भएकाले रोगलाई बढाउने मात्र नभई औषधिको प्रभावकारितमा समेत ह्रास ल्याउने हुन्छ । साथै यसले हानिकारक असरहरू बढाउन सक्ने भएकाले धूमपान तुरुन्त बन्द गर्नुस् ।

मद्यपान बन्द : सल्फासालाजिन सेवन गर्ने व्यक्तिले मद्यपान गरेमा कलेजोमा थप हानिकारक असर पर्न सक्ने भएकाले मद्यपानबाट टाढै रहनुहोस् ।

नियमित रगत परीक्षण : सल्फासालाजिनले कलेजो तथा रगतमा असर पारेको छैन भनी यकिन हुन चिकित्सकको सल्लाहमा केही महिनाको अन्तरमा रगतको जाँच गर्नुहोस् ।

गर्भाधान तथा बच्चालाई स्तनपान : सल्फासालाजिनले गर्भको शिशुलाई हानि गर्न सक्ने भएकाले गर्भ रहेको अवस्थामा वा गर्भवती हुने निर्णय लिएको अवस्थामा यो ओषधि सेवन नगर्नुहोस् । सन्तान जन्माउने विचार भएमा पति–पत्नी दुवैले चिकित्सकको सल्लाहमा केही महिनाअघि नै औषधि रोक्नुपर्दछ । साथै सल्फासालाजिन प्रयोग गर्ने सुत्केरीले स्तनपान गराउनुहुँदैन ।

फोलिक एसिडको आवश्यकता : सल्फासालाजिनले आन्द्राबाट फोलिक एसिड सोसिनमा व्यवधान पु¥याउने भएकाले यो सेवन गर्ने बिरामीले प्रशस्त मात्रामा फोलिक एसिड भएका खानेकुरा सागसब्जी, माछा, मासु, फलफूल आदि अथवा फोलिक एसिड ट्याबलेटको सेवन गर्नुपर्दछ ।

झोलपदार्थको सेवन : सल्फासालाजिनका अवयवहरू मृगौलामा थेग्रिएर असर नगरुन् भन्ने उद्देश्यले यो औषधि प्रयोग गर्ने बिरामीले प्रशस्त मात्रामा झोलपदार्थ खानुपर्छ । साथै औषधि इनटेरिक कोटेड ट्याबलेटको रूपमा छ भने यसलाई सिंगै निल्नुपर्छ । भाँचेर, फुटाएर वा पिसेर सेवन गर्नुहुँदैन ।

सल्फासालाजिन औषधिको हानिकारक असर

सामान्य असर : वाकवाकी लाग्ने, बान्ता हुन सक्ने, खानामा अरुचि हुने, टाउको दुख्न सक्ने हुन्छ । औषधि खाएको केही दिनसम्म रहन सक्ने यी सामान्य असरहरू औषधि खाँदै जाँदा बिस्तारै ठीक भएर जान्छन् ।

एलर्जी : कसै–कसैमा यसको प्रयोगले छाला चिलाउने, डाबर आउने, घाममा बस्दा छाला डढ्ने, छालामा विभिन्न किसिमका खटिरा आउने हुन सक्छ । यस्तो भएमा चिकित्सकको सिफारिसमा औषधि बन्द गर्नुपर्ने हुन्छ ।

अन्य असरहरू : सल्फासालाजिनको प्रयोगले अत्यन्त विरलैरूपमा रगत कम हुने तथा कलेजोमा असर पर्न सक्छ । कहिलेकाहीँ यो औषधिको प्रयोगले पुरुषमा वीर्य पातलो हुन सक्छ । तर सामान्यतया औषधि रोके २ देखि ३ महिनापछि यो आफैं ठीक भएर जान्छ ।

अरू ओषधिसँगको अन्तर–असर : सल्फासालाजिनको अरू केही औषधिसँग अन्तर–असर हुनसक्ने भएकाले एन्टासिड, आइरन, फोलिक एसिड तथा क्याल्सियमजस्ता औषधि सल्फासालाजिन खाएको ४ घन्टाभित्र नखानुहोस् ।

औषधि सेवन बन्द : सन्तान जन्माउने विचार आएमा, औषधिको एलर्जी वा अन्य हानिकारक असरहरू भएको शंका लागेमा, आन्द्रामा अवरोध भई दिसा तथा मूत्रनलीमा अवरोध आएर पिसाब रोकिएको अवस्थामा, सिकिस्त बिरामी भएको खण्डमा विशेषज्ञको सल्लाहमा औषधि सेवन बन्द गर्नुपर्छ ।

लेफ्लुनोमाइड कस्तो औषधि हो ?

लेफ्लुनोमाइड विभिन्न किसिमका बाथको उपचारमा प्रयोग हुने औषधि हो । यो औषधि सेवन गर्दा तपाईंले चिकित्सकको सम्पर्कमा रहेर नियमितरूपमा रगत परीक्षण गराउनुपर्दछ । यो औषधि चिकित्सकको सिफारिसमा हरेक दिन वा एक दिन बिराएर नियमितरूपमा सेवन गर्नुपर्दछ । सामान्यतया यसको डोज १० देखि २० मिलिग्राम प्रतिदिन हुन्छ । यसलाई घरमा राख्दा चिसो तर सुख्खा ठाउँमा राख्नुपर्छ । लेफ्लुनोमाइडले बिस्तारै काम गर्दछ । रोगविरुद्ध यसको सकारात्मक असर देखिन सामान्यतया ६ देखि ८ हप्ता लाग्न सक्छ । त्यसैले हतार नगर्नुहोस् ।

लेफ्लुनोमाइड प्रयोगमा ध्यान दिनुपर्ने कुरा

मद्यपान बन्द : लेफ्लुनोमाइड सेवन गर्ने व्यक्तिले मद्यपान गरेमा कलेजोमा थप हानिकारक असर पर्न सक्ने हुँदा मद्यपान
बन्द गर्नुपर्छ ।

धूमपान बन्द : धूमपानले बाथका रोगहरू उब्जाउन सघाउने, भएको रोगलाई बढाउने मात्र नभई औषधिको प्रभावकारितामा ह्रास ल्याउने र हानिकारक असरसमेत बढाउने भएकाले यसलाई तुरुन्त बन्द गर्नुपर्दछ ।

नियमित रगत परीक्षण : लेफ्लुनोमाइडले कलेजो तथा रगतमा असर पारेको छैन भनी यकिन हुन चिकित्सको सल्लाहमा केही महिनाको अन्तरमा रगतको जाँच गर्नु
जरुरी छ ।

गर्भाधान तथा बच्चालाई स्तनपान : लेफ्लुनोमाइडले गर्भमा रहेको बच्चालाई हानि गर्न सक्ने भएकाले गर्भ रहेको अवस्थामा यो औषधि सेवन गर्नुहुँदैन । साथै यो औषधि सेवन गर्ने सुत्केरी महिलाले स्तनपान गराउनुहुँदैन ।

इन्फेक्सन (संक्रमण) : लेफ्लुनोमाइडले रोगसँग लड्न सक्ने शरीरको प्रतिरक्षा क्षमतामा कमी ल्याउन सक्ने भएकाले ज्वरो आएमा वा इन्फेक्सनको शंका लागेमा केही समयका लागि औषधि बन्द गर्नुपर्ने हुनसक्छ ।

लेफ्लुनोमाइड औषधिको हानिकारक असर

सामान्य असर : वाकवाकी लाग्ने, बान्ता हुन सक्ने, पेटमा गडबडी हुने, दिसा पातलो हुने, कपाल झर्न सक्ने, गालामा खटिरा आउन सक्ने हुन्छ ।

विरलै देखिने असर : रक्तचाप बढ्न सक्ने, कलेजोमा असर पर्न सक्ने, रक्तकोषहरूको संख्या घट्न सक्ने हुन्छ ।

अन्य असर : रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु एवम् फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यान नै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्गजस्ता अंगको इन्फेक्सन बढी र जटिलरूपमा देखिने सम्भावना हुन्छ ।

जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो । ¥युमटोइड आरथ्राइटिसको उपचारमा विभिन्न औषधि, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरूको समेत प्रयोग गरिन्छ । कतिपय अवस्थामा जोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्