सेक्स इच्छा छ तर डर लाग्छ



म ३० वर्षकी युवती हुँ । करिब ५ वर्षअगाडि मेरो एक केटा साथीसँग यौनसम्पर्क भएको थियो । त्यसपछि मलाई यौनसम्पर्कको अति इच्छा हुने गरेको छ, तर मैले कसैसँग पनि गरेकी छैन । किनकि मलाई चाहना भए पनि अर्को दोस्रो पुरुषसँग यौनसम्पर्क राख्ने सोच मात्र राख्दा पनि एकदम डर लागेर आउँछ । साथै मुटु कमजोर हुने, आत्मविश्वास हराउने हुन्छ । केही गर्ने आँट वा हिम्मत गरे पनि नआउने, आफसे आफ आत्मबल घटेर जाने, हराउने हुन्छ । यसले गर्दा म कसैसँग पनि घरबार जोड्न नसक्ने भएर जिन्दगी बरबाद भएको छ । किन दोस्रो व्यक्तिसँग यौनसम्पर्क राख्दा मानिस यति धेरै डरपोक र लाछी हुन्छ ? यो समस्या समाधान गर्न मैले के गर्न
सक्छु ? कृपया बताइदिनभए आभारी हुने थिएँ ?

– सविता, बाँके

डा. राजेन्द्र भद्रा

यौनसम्पर्कसँग भय
तपाईंलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन्, जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एक स्वाभाविक प्रक्रिया पनि हो । प्राकृतिकरुपमा जीवनयापन गर्दा यस्ता डरले जीवन सुरक्षाको लागि अमूल्य भूमिका खेल्दछ । यौनसम्पर्क राख्दा यौनसाथीले कस्तो ठान्ला भन्ने डर, नचिनेको व्यक्तिसँग यौनसम्पर्क गर्दा यौनरोग लाग्ला भन्ने डर, कसैले देख्ला कि भन्ने डर वा विवाहपूर्व यौनसम्पर्क राख्दा कसैले थाहा पाउला कि भन्ने डर हुन्छ । यी डर स्वाभाविक हुन् । तर कतिपय स्थितिमा अस्वाभाविकरुपमा नै डर लाग्ने गर्दछ, जसलाई हामी ‘भय’ भन्न सक्छौं । विशेष गरेर डर लाग्नुपर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्यरुपमा बढी हुन्छ र व्यक्ति भयभित हुने गर्दछ ।

वास्तवमा सो डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्तिले सोचेकै भरमा अति नै भयभित हुने स्थिति भने असामान्य हो । तपाईंलाई पनि यस्तै भएको देखिन्छ । छोटकरीमा भन्ने हो भने, तपाईंलाई यौनेच्छा भए पनि यौनसम्पर्कको भयले सताएको छ । यौनसम्पर्क राख्न भयभित हुने परिस्थितिलाई चिकित्सा भाषामा न्भलयउजयदष्ब वा ऋयष्तयउजयदष्ब भनिन्छ । चिकित्सा भाषामा प्रयोग हुने न्भलय को शब्द ग्रीक भाषाबाट लिइएको हो, जसको अर्थ सन्तान हुन्छ । त्यसै गरी ऋयष्तगक को अर्थ यौनसम्पर्क हुन्छ । फोबिया शब्द ग्रीक भाषाको फोबोसबाट आएको शब्द हो, जसको अर्थ भय वा डर हुन्छ । अहिले बोलिचालीको भाषामा यौन दमन भएका समाजको लागि पनि यस शब्दको प्रयोग भएको पाउँछौं ।

डरको कारण के होला ?
तपाईले तपाईको यौनसम्बन्धी पहिलेको केटासँगको सन्दर्भ वा त्यसभन्दा पहिलेको अनुभव वा अनुभूतिको बारेमा खासै जानकारी दिनुभएको छैन । त्यसैले पनि तपाईंलाई किन यस्तो भयो होला भन्न सकिने स्थिति रहन्न । त्यसैले सामान्यतया किन कुनै व्यक्तिमा यौनसम्पर्कको भय हुन्छ भन्ने सन्दर्भमा भने चर्चा गर्ने प्रयास गर्दछु ।

कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको भन्ने ठानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् । यसले गर्दा पनि यौनसम्पर्कको भय सृजना हुने स्थिति आईपर्न सक्छ ।

यौनसम्पर्कको भय भएका व्यक्ति यौनसम्पर्कको शुरुवात गर्न खोज्दा वा यसको विचार मात्रै आएमा पनि भयभित हुने गर्दछन् । उनीहरुमा यस विषयको सन्त्रासबाट आक्रान्त हुने स्थिति आउँछ । पहिले भएको कुनै यौन आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण हुने देखिएको छ ।

यौनशोषणमा परेको, अनिच्छाका बाबजुद यौनसंवेदनशील अंगको स्पर्श, मर्दन वा छेडछाड भोगेको, बलात्कारको सिकार भएको वा कलिलै उमेरमा भयानक किसिमको यौन घटनाको प्रत्यक्षदर्शी भएकोजस्ता घटनाको अमिट छाप पछिसम्म परेको अवस्थालाई यस्तो स्थितिको कारकको रुपमा लिन सकिन्छ । अर्कोतिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको भन्ने ठानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् । यसले गर्दा पनि यौनसम्पर्कको भय सृजना हुने स्थिति आईपर्न सक्छ ।

समाधान के होला ?
तपाईंले पहिले भोग्नुभएको कुनै अप्रिय घटनाबारे केही लेख्नुभएको छैन । त्यसैले ठोकुवा गरेर यसै भन्न सकिने स्थिति भने भएन । यस्तो समस्या भयो भन्दैमा हतास नहुनुहोस् । समाधानको मुख्य उपाय भनेको तपाईंमा उत्पन्न भएको डरलाई कम गर्नु हो । तपाईंले पनि यसलाई निडर भएर सामना गर्ने ध्येयले प्रश्न लेख्नुभएको छ, यो सकारात्मक पक्ष हो । यौनसम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर यहाँ केही चर्चा गर्दछु । अँध्यारोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान् तर धेरैले यौनसम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ । किनकि यौनसम्पर्क राख्न प्रायः सबैजसो नै लालायित हुने गर्दछन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर व्यक्ति विशेषअनुसार फरक–फरक हुन सक्छ भन्ने कुरालाई मनन गरेर उपचार खोज्नुपर्दछ ।

तपाईंलाई थाहै भएको कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंलाई भएको यस डरको जरोसम्म पुग्न आवश्यक हुन्छ । यस्ता घटना डरका कारण व्यक्ति विशेषअनुरुप हुने भएकाले उपचार पनि त्यसैअनुसार गर्नुपर्ने हुन्छ । त्यसैले तपाईंले यसको जरोसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना अनि त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनुपर्ने हुन्छ । कतिपय स्थितिमा आफैले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ । यसको लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । यो पक्कै हो कि यस्तो किसिमको समस्याको समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ । तर तपाईंले आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ ।

उपचार विधिको सन्दर्भमा कुरा गर्दा, जुन कुराले भय गराउँछ त्यसप्रति नै असंवेदनशील बनाउने गरिन्छ । यस्तो उपचार गर्दा कग्निटिभ बिहाभिअरल थेरापी (cognitive behavioral therapy) लाइ एक प्रभावकारी चिकित्सा विधिको रुपमा लिइन्छ । यस विधिमा अनिच्छित लक्षण गराउने अन्तरनिहित विचार वा व्यवहारलाई केलाइन्छ र त्यसलाई परिवर्तन गर्ने प्रयास गरिन्छ ।
विशेष गरेर यसका तीन भाग हुने गर्दछन् । पहिलो भागमा विशेषज्ञले यस विधिबाट अपेक्षा गर्न सकिने स्थितिको बारेमा वर्णन गर्दछन् । त्यसपछि यस विधिबाट उपचार गर्ने क्रममा उपचार गराउन आउने व्यक्तिले सहयोग गर्नुपर्नेमा प्रोत्साहित गरिन्छ ।

त्यसपछिको चरणमा विशेषज्ञले उपचार गराउने व्यक्तिलाई भय गराउने विचार तथा धारणलाई खोल्न अर्थात् बाहिर निकाल्न सहयोग गर्दछन् । त्यसपछिको चरणमा भने व्यवहार परिवर्तनको तरिका सिकाइन्छ, ताकि व्यक्तिले डर गराउने परिस्थितिको प्रभावकारी तवरले सामना गर्न सकोस् । यस्तो विधिको साथै कहिलेकाहीँ चिन्तालाई कम गर्ने किसिमका औषधिको सेवन गर्नुपर्ने पनि हुन सक्छ । यसबाहेक यो कुरा पनि सोचौं कि तपाईंको यौनजीवनमा साथ दिने कोही न कोही व्यक्ति पक्कै नै आउनेछ अनि कतिपय स्थितिमा ऊ पनि तपाईको समस्यालाई कम गर्न सहयोगी हुनसक्छ ।

के–कस्ता लक्षण देखिन्छन् त ?
यौनसम्पर्कसम्बन्धी कुनै क्रियाकलाप गर्न खोज्दा वा विचार मात्रै आउँदा पनि अस्वाभाविकरुपमा भयभित हुनेदेखिबाहेक अन्य कतिपय लक्षण देखिन्छन् । साथै चिन्ता बढ्ने, रिँगटा लाग्ने, टाउको दुख्ने, समाजबाट एक्लिनेजस्ता लक्षणसमेत देखिन्छन् ।

यौनसम्बन्धी चित्र, चलचित्र, संगीत आदि इन्टरनेट वा टेलिभिजनमा देख्नुपरेको स्थितिमा पनि नराम्रो मान्ने स्थिति हुन्छ । यौनसम्पर्कको भयबाट ग्रसित व्यक्तिका लागि यस्ता यौनउत्तेजनायुक्त कुराले मनमा उथलपुथल मच्चाउने वा खिन्नता ल्याउने पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्