आँखाको क्यान्सरसम्बन्धी जनचेतना अभियान



तिलगंगा आँखा प्रतिष्ठान तथा आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगसम्बन्धी चेतना जगाउने उद्देश्यले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह गत वैशाख २९ शुरु भई जेठ ४ गतेसम्म सञ्चालन भयो ।

रेटिनोब्लास्टामा बालबालिकामा हुने एककिसिमको आँखाको क्यान्सर हो । यो वंशाणुगत पनि हुनसक्छ । यसको लक्षणहरुमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनुका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्न सक्छ । ५ वर्षमुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ । आँखा रोग विशेषज्ञद्धारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ । ढिलो अवस्थामा पुगेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले भन्नुभयो– ‘यस रोगको जनचेतना फैलाउन हामीले हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी मात्र उपलब्ध
गराइदियौं भने पनि धेरैभन्दा धेरैले थाहा पाई समयमै उपचारको लागि आउन सक्छन् ।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले भन्नुभयो– ‘गाउँघरका धेरै बिरामी शुरुमा जँचाउन सामूदायिक आँखा केन्द्र जाने भएकोले यस रोगको जनचेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रमा प्राथमिकताका साथ गरिनुपर्दछ, जसले गर्दा धेरै समुदायमा यस रोगको जानकारी, पहिचान होस् र समयमै उपचारको लागि आउन सकून् ।’

प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधिहरु प्रयोग गरिरहेका छौं भन्ने सन्दर्भमा आँखाको क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालतर्फका उपनिर्देशक प्रा.डा. रोहित सैजुले प्रायः बिरामीहरु अचम्म परेर आँखाको पनि क्यान्सर हुन्छ र ? भनी सोध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जति छिटो बिरामीहरु उपचारको लागि अस्पताल आँउछन्, त्यति नै हामीले आँखा तथा ज्यान जोगाउन सक्छौं । त्यसको लागि जनचेतनाको बढाउन हामी सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’

प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन तथा नेप्लिज सोसाइटी अफ अकुप्लास्टिक सजर्नका महासचिव डा. बेन लिम्बुले रोग के हो, किन बिरामी ढिलो आउँछन् र के कारणले उपचार गर्न सक्दैनन् भन्ने विषयमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्