प्लान्ट सही दिशामा लगाउँदा चामत्कारिक लाभ



रोहिनी घिमिरे । जसरी वास्तुअनुसार घरको बनावट एवम् सजावटले त्यस घरमा रहने व्यक्तिलाई प्रभाव पार्ने हुन्छ, त्यसरी नै घरमा सजावटका लागि राखिने फूल र प्लान्टहरुले प्रभाव पार्ने गरेको हुन्छ । जथाभावी राखिएका यस्ता फूल र प्लान्टहरुले वास्तुदोष उत्पन्न गरी नकारात्मक ऊर्जा प्रवाह गर्ने हुन्छ भने वास्तुशास्त्रअनुसार सजाइएका फूल र प्लान्टहरुले सकारात्मक ऊर्जा प्रवाह गर्ने हुन्छ । त्यसैले फूल र प्लान्टहरुले घर सजावट गर्दा खूब ध्यान पर्याउनुपर्छ ।

फूल चाहे कृत्रिम नै किन नहोस्, यसले जीवनमा सक्रियता बढाउँछ । यसले नकारात्मक ऊर्जा हटाउनमा सहायता गर्छ । यसले मन सुगन्धित बनाउँछ । साथै मानसिक सन्तुलन गराउँछ । नकारात्मक ऊर्जा सन्तुलित गर्छ । फूलले वृक्ष–तत्व प्रतिनिधित्व गर्छ । वृक्षले उन्नति, विकासको फैलावट गर्ने हो । त्यसैले फूल आफ्नो व्यावसायिक स्थल, अफिस, घरवरिपरि हुनु स्वास्थ्य र सम्पन्नताका लागि महत्वपूर्ण मानिने वास्तुशास्त्री ज्ञानदीप आचार्यको भनाइ छ ।

उनका अनुसार मानव शरीरमा सातवटा चक्र हुन्छन् । यी चक्रमा अवरोध आएमा ऊ बिरामी हुन्छ । उसलाई दुःख–पीडा हुन्छ । वास्तुशास्त्रअनुसार प्रकृतिमा यस्तो उपाय हुन्छ कि मानवजीवनका केही समस्यालाई ती उपाय गरेर हटाउन सकिन्छ । यसैले अहिलेको प्रदूषणबाट बच्न घरवरिपरि जग्गा नभए पनि कौसी, छतमा फूल र विभिन्न किसिमका प्लान्ट लगाउने प्रचलन बढ्दो छ । यसले पर्यावरण सन्तुलन हुनुका साथै ताजा हावा र प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुन्छ ।

फूलले जहिले पनि मानिसलाई आफूतिर आकर्षित गर्छ । फूल देखेर जो–कोही हर्षित हुन्छन् । प्रत्येक फूलमा चामत्कारिक शक्ति हुन्छ । यही शक्ति मान्छेको आँखाबाट प्रवेश गरेर शरीरमा रहेका विभिन्न चक्रको सन्तुलन गरिदिन्छ । यसले मानिसमा आनन्दभाव उत्पन्न गर्छ । त्यसैले पनि घरअगाडि फूल बगैंचा लगाउने गरिएको हो । आधुनिक वास्तुअनुसार फूल वा प्लान्ट उचित दिशामा लगाउँदा चामत्कारिक लाभ मिल्छ ।

रुख बिरुवामा पनि जीवन हुन्छ । रुख बिरुवाको जीवन्त ऊर्जाको सही प्रयोगले हामी स्वस्थ रहन सक्छौं । तर यस्ता प्लान्टहरु जथाभावी लगाउनुहुँदैन । वास्तुशास्त्र एवम् आधुनिक विज्ञानले निर्देश गरेअनुसार इनडोर वा आउटडोर प्लान्ट लगाउनुपर्छ ।

यदि ताजा फूल मूल गेट, ढोकाको आसपास राखिन्छ भने सकारात्मक ऊर्जा प्रवेश गर्ने हुन्छ । यसैले पनि कुनै उत्सवमा मूल गेट वा प्रवेश द्वारको दायाँ–बायाँ कलशमा आँप, बर, पीपल आदिको पातसहित फूलहरु राखिने गरिएको हो । साथै मूल गेट पनि विभिन्न वनस्पतिजन्य लहरा र फूलहरुले सजाइन्छ ।

आयुर्वेदका जनक मानिने महर्षी चरकले वातावरणको शुद्धताका लागि विशेष वृक्षको महत्व दर्शाएका छन् । काँडादार एवम् दूध आउने प्लान्ट घरको छेउमा लगाउनुहुँदैन । काँडादार प्लान्टले शत्रुभय हुन्छ भने दूध आउने प्लान्टले धनको नाश हुन्छ भनेर बताइएको छ । यस्ता प्लान्ट घरछेउमा भए हटाइहाल्नुपर्छ । त्यसको ठाउँमा अशोक, शमीजस्ता प्लान्ट लगाएमा वास्तुदोष हटेर लाभ मिल्छ ।

वास्तुशास्त्रअनुसार सकारात्मक ऊर्जाको तरंग सधैँ पूर्वबाट पश्चिमतर्फ, उत्तरबाट दक्षिणतर्फ र ईशान (पूर्व–उत्तर)बाट नैऋत्य (दक्षिण–पश्चिम) दिशातर्फ प्रवाहित हुन्छ । त्यसैले पूर्व र उत्तर दिशातर्फ होचा र हल्का खालका प्लान्ट लगाउनुपर्ने वास्तुशास्त्री आचार्यको राय छ । जसले गर्दा घरमा आउने सकारात्मक ऊर्जा रोकावट नहोस् । त्यसैले यी दिशामा तुलसी लगाइनु उत्तम हुन्छ । यसका अलावा यहाँ पुदिना, लेमन ग्रास, धनियाँ, सूप, बेसार, अदुवाजस्ता औषधीय गुण भएका प्लान्ट लगाउन सकिन्छ । आचार्य भन्नुहुन्छ– ‘यसले गर्दा त्यस घरमा बस्ने व्यक्तिमा ताजगी, चुस्ती, स्फूर्ति बढाउनुका साथै आरोग्य रहन मद्दत मिल्छ ।’

रुखबिरुवाले जैविक तत्व वा तेजको धेरै शक्तिशाली रुपमा सञ्चारित गर्दछ । यसले नकारात्मक प्रभाव हटाउँछ । यसैले घरवरपरका खालि ठाउँमा वास्तुअनुसारका रुखबिरुवा लगाउनु राम्रो हुन्छ । रुखबिरुवाले ध्वनि र विकिरणको पनि प्रभावशाली ढंगबाट अवशोषण गरेर लिन्छ । प्राकृतिक वातावरणमा रहँदा जीवनमा सकारात्मक परिणाम आउँछ । त्यसैले आफ्नो बासस्थानमा प्राकृतिक वातावरण सृजना गर्नुपर्छ । यसका लागि रुखबिरुवा, फूलहरु लगाउनुपर्छ । तर घरमा कस्ता रुखबिरुवा लगाउँदा सकारात्मक ऊर्जा प्रवाह हुन्छ भन्ने कुरा पनि जान्नुपर्छ । यदि घरमा फूल वा कुनै पनि प्लान्ट लगाउन सकिँदैन भने यसको पेन्टिङ वा चित्र राखेर पनि केही हदसम्म सकारात्मक प्रभाव पार्न सकिन्छ ।

बेडरुममा कुनै प्लान्ट नराख्नुस् :

बेडरुममा कुनै पनि फूल वा प्लान्ट लगाउनुहुँदैन । यसले वैवाहिक जीवनमा नराम्रो असर पर्याउँछ । पति–पत्नीमा वैमनस्यता उत्पन्न हुन सक्छ । साथै राति अधिकांश प्लान्टले कार्बन्डाइड अक्साइड फाल्ने हुँदा अक्सिजनमा कमी आउन सक्छ । त्यसैले शयनकक्षमा प्लान्ट नराख्नु नै उत्तम हुन्छ । तर आफूलाई मन पर्छ भने बेडरुमको नैऋत्य कोणमा टेराकोटाको फूलदानीमा सूर्यमुखी फूल राख्न भने सकिन्छ । नक्कली सूर्यमुखी फूल राख्दा पनि राम्रो हुन्छ । शयन कक्षमा ताजा फूल कहिल्यै राख्नुहुँदैन ।

कुन रुमलाई फूल र प्लान्टले सजाउन सकिन्छ त ?

डाइनिङ रुम, सिटिङ रुम, ड्रइङ रुम आदिमा फूल र प्लान्टहरु मजाले सजाउन सकिन्छ । तर धेरै ठूला प्लान्ट राख्न भने कुनै पनि हिसाबमा राम्रो मानिदैन । रात्रिको समयमा लामो समय बसिने रुममा पनि प्लान्टहरु राख्नु उचित हुँदैन । बिहान, दिउँसो, साँझमा बसिने रुम फूल र प्लान्टका गमलाले सजाउँदा मन प्रफुल्लित हुन्छ । परिवारबीच सम्बन्ध सुधारका लागि वैजनी रंगको फूल बैजनी फूलदानीमा राखेर अग्निकोणमा राख्नुपर्छ । किनकि अग्निकोण सम्बन्ध क्षेत्र हो । यसरी फूल र प्लान्टले घर–र कोठा सजाउँदा त्यहाँ आउने पाहुनाहरुको पनि घरमालिकप्रति झुकाव बढ्छ ।

सुकेको फूल कदापि नराख्नुस् :

फूलदानीमा सुकेको फूल कदापि राख्नुहुँदैन । यसले निराशा उत्पन्न गर्छ । यदि फूल सुकेको छ भने त्यसलाई हटाएर ताजा फूल राख्नुपर्छ । विज्ञानले पनि ताजा फूलले वातावरण शुुद्ध पार्ने प्रमाणित गरिसकेको छ ।

धनका लागि मनिप्लान्ट

घरमा मनिप्लान्ट लगाएपछि सुख–समृद्धि, धन–सम्पत्ति हुन्छ भन्नेहरु धेरै पाइन्छन् । तर वास्तुशास्त्रअनुसार यो प्लान्ट उचित दिशामा लगाइएन भने आर्थिक नोक्सानी पनि हुन पुग्छ । वास्तुशास्त्रअनुसार मनिप्लान्ट लगाउने उचित दिशा आग्नेय कोण हो । यस दिशामा मनिप्लान्ट लगाउँदा सकारात्मक ऊर्जा मिल्ने त छँदै छ । त्यसमाथि आग्नेय दिशाका देवता गणेश हुन् र प्रतिनिधि शुक्र हुन् । शुक्र सुख–समृद्धिदायक हुन् भने गणेश मंगलदायक हुन् । लहराजन्य प्लान्टका कारक शुक्र ग्रह भएकाले पनि मनिप्लान्ट आग्नेय दिशामा लगाउनुपर्ने देखिन्छ ।

मनिप्लान्ट कहिल्यै पनि ईशान (उत्तर–पूर्व) मा लगाउनुहुँदैन । किनकि ईशान दिशाका प्रतिनिधि देवगुरु बृहस्पति हुन् र शुक्रसँग उनको सधैँ शत्रुवत् सम्बन्ध हुने ज्योतिषी केशव भण्डारी बताउनुहन्छ । उहाँका अनुसार शुक्रसँग सम्बन्धित यो प्लान्ट ईशानमा लगाउँदा शत्रु बलबान् हुने हुँदा नोक्सान हुन्छ । मनिप्लान्टरुपी शुक्रग्रहको उपस्थितिले पति–पत्नीको सम्बन्ध सुमधुर हुन्छ । तर यसलाई घरको दक्षिण–पूर्व अर्थात् आग्नेय कुनामै लगाउनुपर्छ । यो कुना धन र समृद्धिको कुना मानिन्छ ।

                                                          केशव भण्डारी        

मनिप्लान्ट कहिल्यै पनि ईशान (उत्तर–पूर्व) मा लगाउनुहुँदैन । किनकि ईशान दिशाका प्रतिनिधि देवगुरु बृहस्पति हुन् र शुक्रसँग उनको सधैँ शत्रुवत् सम्बन्ध हुन्छ ।

सुख–समृद्धिका लागि लक्की ब्याम्बो

लक्की ब्याम्बो सुख–समृद्धिको प्रतिक मानिन्छ । लक्की ब्याम्बो धेरै किसिमको पाइने हुनाले आफ्नो च्वाइसअनुसार छनोट गर्न सकिन्छ । निगालोले स्वागत द्वार, विवाह मण्डप, यज्ञमण्डप सजाउने चलन पुरानै पनि हो । सप्ताह यज्ञमा ध्वजासहितको बाँसको लिंगो ठड्याउने हाम्रो परम्परा नै छ । त्यसैले बाँसजन्य बिरुवाहरु शुभ मानिने कुरा शास्त्रवेत्ता पं. रामप्रसाद सुवेदीको कथन छ । उहाँ भन्नुहुन्छ– ‘काटेको बाँसचाहिँ घरअगाडि राखिछोड्नु राम्रो मानिदैन ।’ भर्याङ् चढ्ने स्थानमा लक्की ब्याम्बोको गमला राख्नाले समृद्धिको सिँढी चढिन्छ भन्ने गरिन्छ ।

ताजगी एवम् शौभाग्यका लागि पुष्पगुच्छा

अफिस होस् वा आफ्नो निजी कार्यकक्ष, सकारात्मक ऊर्जा बढाउनका लागि फूलदानीमा ताजा फूलको गुच्छा राख्नुपर्छ । यसले ताजगी एवम् शौभाग्य बढाउँछ । तर ओइलाइएको वा सुकेको फूल छ भने यसले नकारात्मक ऊर्जा दिने हुनाले हटाइहाल्नुपर्छ । ताजा पुष्पगुच्छा आफ्नो नजर परिरहने स्थानमा हुनु बढी उपयुक्त हुन्छ ।

वातावरणीय शुद्धता र औषधिका लागि तुलसी

यसलाई घरवरिपरि कुनै पनि स्थानमा लगाउन सकिन्छ । यो साह्रै कल्याणकारी, पवित्र र बहुउपयोगी प्लान्ट हो । तुलसीको बिरुवा भएका स्थानबाट चारैतर्फ ५० मिटरसम्म यसले वातावरण शुद्ध बनाउँछ । तुलसीमा एन्टिबायोटिकसहित अनेक औषधीय गुणहरु हुन्छन् । यसको स्पर्श मात्रै पनि स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । यसले वायु प्रदूषणमा पनि कमी ल्याउँछ । घरको द्वार, झ्यालको छेउछाउमा लगाउनु बढी उपयुक्त हुन्छ । घरको आँगनछेउमा मठ नै बनाएर तुलसी लगाउने प्रचलन पुरानै हो ।

घर सजावटमा उत्प्रेरणाको खाँचो

फूल र प्लान्टहरुले घर सजावट गर्ने कुरामा अझै पनि मानिस आकर्षित हुन सकेको देखिँदैन । उच्च रक्तचाप, डिप्रेसन, मानसिक समस्या हुनेहरुका लागि फूल र प्लान्टले सजाइएको घर लाभदायक हुन्छ भन्ने कुरा न त डाक्टरले बताउँछन्, न सरकारबाट नै यसका लागि कुनै योजना ल्याइएको छ । पुष्प व्यवसायीहरुको संगठन फ्लोरिकल्चर एसोसिएसनले पुष्प व्यवसाय प्रवद्र्धन गर्ने काम मात्र गरेको छ, शहरका थोरै जग्गामा बनेका घरलाई फुल र प्लान्टले कसरी सजाउने र स्वास्थ्य लाभ गर्ने भनेर शहरवासीलाई आकर्षित गर्ने योजना ल्याउन सकेको छैन । फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक जेबी तामाङ आफैं भन्नुहुन्छ– ‘हामीले पुष्प व्यवसाय कसरी गर्ने भनेर पुष्प उत्पादनमा जोड दिएका छौं तर फूल र प्लान्ट रोपेर घर सजाउनका लागि घरधनीहरुका लागि कुनै योजना ल्याउन सकेका छैनौं ।’

घरको पेटी, बरन्डा, गेट, भर्याङ्, कौशी आदिमा तोकिएका निश्चित फूल र प्लान्ट गमलामा रोपेर स्वास्थ्य लाभ गर्न सकिन्छ भने हामी किन पछि पर्ने ? एकातिर घरको शोभा बढ्ने, अर्कोतिर स्वास्थ्य लाभ हुने, त्यसैले फूल र प्लान्ट रोपेर घरको सजावटका लागि घरधनीहरुलाई आकर्षित गर्ने योजना सरकारले ल्याउनुपर्छ । पुष्प व्यवसायीहरुले पनि पुष्प मेला गरेर मात्र हुँदैन, फूल र प्लान्टबाट स्वस्थ एवम् आनन्ददायक जीवन जिउन घरधनीहरुलाई प्रेरित गर्न सक्नुपर्छ ।

कुन फूल कुन दिशामा लगाउनु बेस ?

फूल लगाउँदा दिशाअनुसार लगाउनुपर्छ । दिशाअनुसार तोकिएको फूल लगाएमा त्यस स्थानमा रहने व्यक्तिलाई उत्साहित बनाउँछ । सकारात्मक ऊर्जा प्रवाह भई स्फूर्ति एवम् ताजगी बढ्छ ।

पूर्व : पिपरमिन्ट, पप्पी सिड जस्ता हरियो रंगका प्लान्ट वा फूल यस दिशामा लगाउन सकिन्छ ।
यसले परिवारमा एकता र स्वस्थ रहन मद्दत पर्याउँछ । यसले जीवन सुन्दर बनाउँछ ।

दक्षिण : रातो गुलाफ वा अन्य राता फूल दक्षिण दिशामा लगाउनुपर्छ । यसले जीवनमा उत्साह र उमंग ल्याउँछ । यस दिशामा लगाएको रातो फूलले प्रसिद्धि र यश प्रदान गर्छ । रातो गुलाफले दाम्पत्य जीवनमा मधुरता र घरमा खुशीयाली छाउँछ । दक्षिण दिशामा राखिएको फूलदानीको रातो फूलले आफ्नो सम्मान बढाउँछ ।

पश्चिम : यस दिशामा सेतो फुल्ने फूल लगाउनुपर्छ । चमेली, पारिजातजस्ता सेतो फुल्ने फूल यस दिशामा लगाउन उपयोगी हुन्छ । यस्ता फूलले बच्चामा शान्ति र स्थिरता प्रदान गर्छ । उनीहरुको लक्ष्य प्राप्तिमा सहजता हुन्छ । उनीहरुको मन शान्त एवम् सन्तुलित हुन मद्दत मिल्छ ।

उत्तर : उत्तरमा नीलो रंगको फूल लगाउनुपर्छ । नीलकमल नीलो फूल भएकाले यो लगाउन सकिन्छ । यसले व्यवसाय अर्थात् जीविकामा उच्चता प्रदान गर्छ । नीलो रंगले व्यक्तिको जीवनमा स्थिरता र स्वच्छता ल्याउँछ । व्यावसायिक प्रगति हुन्छ । जीवनका बाधाहरु हट्छन् ।
दक्षिण–पश्चिम वा उत्तर–पूर्वमा पहेँलो फूल फुल्ने बिरुवा लगाउनुपर्छ । यसले मस्तिष्कको क्षमता बढाएर पढाइ–लेखाइमा तेजिलो हुन
मद्दत मिल्छ । कोठा सजावटमा राखिने गमलाका फूल पनि यही अनुसार राख्नुपर्छ ।

घरमा राख्न नहुने प्लान्ट

घरको आसपास कुनै ठूला वृक्ष छन् भने त्यसको छाया घरमा नपरोस् । मुख्य पूर्वाह्न दुई प्रहरको छाया घरमा पर्नुहुँदैन । त्यस्ता छाया पार्ने रुख भएमा हटाएर मसिना रुखबिरुवा लगाउनुपर्छ । त्यसै गरी वास्तुशास्त्रअनुसार मुख्य द्वारको सामने मनिप्लान्ट, क्याक्टस लगाइएको छ भने त्यसले द्वारमा अवरोध पैदा गरी घरमा हानि पर्याउँछ । त्यसैले त्यस्ता प्लान्ट द्वारको छेउछाउ लगाउनुहुँदैन ।

नागफनी क्याक्टस प्रजातिमा पर्ने हुँदा कार्यालय वा आवास भवनमा यो कहिल्यै राख्नुहुँदैन । यसको काँढाले ऋणात्मक ऊर्जा दिने हुँदा नोक्सान भइरहन्छ । यस्तै टुटेको, सुकेको, ओइलाइएको रुखबिरुवा वा फूलले पनि नकारात्मक प्रभाव पार्छ ।

यसै गरी बोनसाई प्लान्ट घरभित्र वा घरको वरिपरि राख्नुहुँदैन । बोनसाई प्लान्ट भनेको साना प्लेट, गमला वा भाँडामा लगाइने सजावटको प्लान्ट हो, जसको फेद ठूलो देखिए पनि बोट धेरै सानो हुन्छ । यसलाई ठूलो हुनबाट रोक्न कटिङ गरिएको हुन्छ । यो ठूलो रुख हुने प्रजाति तर कारणवश सानो भएको रुप हो । बोन्साई भनेको नै कुनै पनि वृक्षको लघु अर्थात् सानो रुप हो । मानौं यो अविकसित वृक्ष हो ।
यस्तो प्लान्ट राम्रो देखिए पनि घरदेखि अलि परै राख्नु उचित हुन्छ । यदि यसलाई घरमा राख्यो भने यसले घरभित्रको विकास रोकिदिन्छ ।

यसले घरमा बाधा पर्याउँछ । वास्तुअनुसार पनि यस्तो वृक्ष घरमा राख्न वर्जित गरिएको छ । यसले घरमा रहेको प्रगतिको मार्ग अवरुद्ध गर्छ ।

फूल र प्लान्टसम्बन्धी केही जानकारी

. गुलाफ, चम्पा, चमेलीले मानसिक तनाव कम गर्ने हुँदा यस्ता फूल लगाउनु फाइदाजनक हुन्छ ।

. बास्नादार फूलहरु जस्तै– चमेली, चम्पा, रातकी रानी आदि फूल घरबाहिर लगाउँदा घरको शोभा बढ्नुका साथै अनन्दानुभूति प्राप्त हुन्छ ।

. सकेसम्म घरमा नक्कली प्लान्ट  नराख्नु नै बेस हो ।

. अग्ला एवम् घनाजंगल हुने वृक्ष घरको दक्षिणपट्टि लगाउनुपर्छ । तर यस्ता वृक्षले घरलाई नछोओस् ।

प्रतिक्रिया दिनुहोस्