पिसाब चुहाउँदै कतिन्जेल गन्हाएर बस्ने ?



डा. अरुणा उप्रेती
उपचारको बाटो
उउ दयपुरकी ४० वर्षकी वि।क। थरकी महिलाको छैटौं बच्चा हुने बेलामा १२ दिनसम्म व्यथा लागेछ । अस्पतालमा पु¥याएर शल्यक्रिया गराउँदा पाठेघर फुटिसकेको रहेछ । बच्चा पनि मरिसकेको रहेछ । त्यस बेलाबाट उनलाई लगातार पिसाब चुहिने समस्या शुरु भएछ । ती महिलाले आँखाभरि आँसु झार्दै भनिन्– ‘मलाई कति जनाले त रक्सी खान्छे अनि आङमै पिसाब फेर्छे, त्यसैले गन्हाएर बसी नसक्नु हुन्छ भन्थे ।’

अरुका यस्ता कुरालाई नसुनेको जस्तो गरी मनमनै रुने गरेको उनी बताउँछिन् । पिसाब कम बगोस् भनेर पानी पनि कम खाने गर्थिन् अरे । उनी दुखेसो पोख्छिन्– ‘आखिर मलाई मृगौलाको समस्या पनि देखियो । अहिले धरानको अस्पतालमा आएर उपाचार गरेपछि चाहिँ सात वर्षदेखिको यो पीडा धेरै कम भएको छ ।’

केही महिनाअघि काठमाडौंको मोडेल अस्पतालमा फिस्टुलासम्बन्धी छलफल हुँदा धादिङकी ३० वर्षीया श्रेष्ठ थरकी युवतीले पनि आँसु झार्दै आफ्नो वेदना सुनाइन् । उनले भनिन्– ‘२०६४ सालको कुरा हो, लामो व्यथा लागेपछि बच्चा जन्मियो । शिशु जन्मेको केही हप्तापछि जुन बेला पनि दिसा–पिसाब चुहिन थाल्यो ।’

बसिराख्दा पनि पिसाब चुहिएकी इथियोपियाकी महिला

अति कष्ट भएपछि काठमाडौंमा आएर एक स्त्रीरोग विशेषज्ञलाई देखाई उपचार गराउँदा पनि उनको अवस्थामा सुधार भएन । उनी भन्छिन्– ‘डा। साब, मलाई त ठीक भएन भन्दा उहाँले अब यति मात्र उपचार गर्न सकिन्छ, तपाईंको भाग्य नै यस्तै हो भन्नुभयो । यो सुनेर मलाई मर्न मन लागेको थियो । तर ६ महिनाअघि यस मोडेल अस्पतालमा सित्तैमा यो रोगको उपचार हुन्छ भनेको सुनेर म आएँ । जिन्दगी यसरी सुकिलो भएर जिउँला जस्तो मलाई लागेको थिएन तर उपचारपछि म ठीक भएँ ।’

यी दुई प्रतिनिधि पात्रहरु हुन्, जसले पिसाब चुहिने समस्या अर्थात् फिस्टुलाको व्यथा सहे । आखिर केही वर्षपछि भए पनि यी दुईले उपचार पाए । ‘यसरी पिसाब चुहिरहने समस्या भएर उपचार नभएका महिला नेपालमा ५ हजारदेखि १० हजारसम्म हुनसक्ने धरान अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। मोहनचन्द्र रेग्मी बताउँछन् ।

 

डा. मोहनचन्द्र रेग्मी
स्त्रीरोग विशेषज्ञ, धरान अस्पताल

पछिल्लो ७ वर्षमा हामीले ४ सय महिलाको पिसाब चुहिरहने समस्याको उपचार गरेका छौं । धेरैजसो महिलालाई पूर्णरुपमा ठीक भएको छ ।

प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले आमाको योनिमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दछ । यसरी बन्ने प्वाललाई प्रसव वा सुत्केरी फिस्टुला भनिन्छ । यही प्वालबाट लगातार पिसाब चुहिरहन्छ ।

पिसाब किन चुहिरहन्छ ?
कुनै महिला सामान्य किसिमले हिँडिरहेकी वा उभिइरहेकी अवस्थामा उनको खुट्टातिर पिसाब चुहिएको देखियो भने अथवा उनको शरीरबाट पिसाबको गन्ध आइरह्यो भने उनलाई छिःछिः र दूरदूर गरिन्छ । कतिले उनलाई बौलाही पनि भन्लान् । वास्तवमा यस्ती महिलालाई प्रसव अवस्थाको जटिलताका कारणले फिस्टुला भएको हुनसक्छ । प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले आमाको योनिमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दछ । यसरी बन्ने प्वाललाई प्रसव वा सुत्केरी फिस्टुला भनिन्छ । यही प्वालबाट लगातार पिसाब चुहिरहन्छ ।
विकसित देशहरुमा फिस्टुला अर्थात् पिसाब चुहिने समस्या छँदै छैन । तर नेपालजस्तो अविकसित देशमा यो समस्या विकराल देखिन्छ । सानो उमेरमा विवाह गर्नु, कुपोषण हुनु, सुत्केरी हुँदा जटिलता आइपर्नु, गर्भावस्थामा गरिने स्याहारबारे जनचेतना नहुनु आदि यो समस्या निम्तिनुका कारण हुन् । कहिलेकाहीँ सुत्केरी गराउन गरिने शल्यक्रिया राम्रोसँग हुनसकेन भने पनि फिस्टुला हुन्छ । कहिलेकाहीँ त डाक्टरले औजार प्रयोग गरी सुत्केरी गराउँदा अर्थात् शल्यक्रिया गर्ने क्रममा पनि दुर्घटनावश फिस्टुला हुनसक्छ । योनिमा जटिल संक्रमण वा बलपूर्वक यौनसम्पर्क राख्दा पनि कहिलेकाहीँ यो समस्या हुनसक्छ । त्यसैले पहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने हुन्छ ।

धरानको अस्पतालमा ठाकुर थरकी २२ वर्षीया युवती यो रिपोर्ट तयार गर्दा पिसाब चुहिने समस्या निको गराउन उपचार गराउँदै थिइन् । उनको ३ महिनाअघि जनकपुरमा शिशु जन्माउने क्रममा शल्यक्रिया गरिएको थियो । उनले मन दुःखी बनाउँदै भनिन्– ‘मेरो बच्चा पनि म¥योे, पिसाब चुहिने समस्या पनि आयो ।’ उनका अनुसार शल्यक्रिया गर्दा असावधानीवश यस्तो समस्या निम्तिएको हो ।
त्यस्तै १२ वर्षको उमेरमै विवाह भएकी धरानकी राधिकाको १६ वर्षको उमेरमा पहिलो बच्चा भयो । त्यस बेला उनलाई लामो प्रसव व्यथा लागेको थियो । आखिर उनको मरेको बच्चा जन्मियो । यससँगै उनलाई अर्को दुःख पनि थपियो, लगातार पिसाब चुहिरहने । उनलाई फिस्टुला भइसकेको थियो । केही समयपछि धरान अस्पतालमा उनको निःशुल्क शल्यक्रिया भयो । उनी भाग्यमानी रहिछन् । अहिले राधिकाको पिसाब चुहिने समस्या छैन । तर सबै यस्तो उपचार पाउने भाग्यमानी हुँदैनन् । कसै–कसैलाई ठीक नहुन पनि सक्छ ।

     कुँजो भएपछि झनै समस्या                                                               महिला स्वास्थ्यः नेपाल सरकार अझै बेखबर छ ।

फिस्टुला हुँदाका समस्या
प्रसवमा समस्या आई फिस्टुला हुने स्थितिसम्म पुगेका महिलाहरुबाट प्रायः मृत बच्चा जन्मिन्छ । यसपछि योनिमार्गबाट लगातार पिसाब, दिसा वा दुवै चुहिरहन्छ । पिसाब धेरै चुहिने डरले पानी कम खाँदा जलवियोजन तथा मिर्गौलासम्बन्धी समस्या हुनसक्छ । दिसा निस्किरहने डरले खाना कम खाँदा कुपोषण पनि हुनसक्छ । पिसाब चुहिने डरले सधँै खुट्टा खुम्च्याएर बस्दा क‘ँुंजो हुने अवस्था पनि आउन सक्छ ।

निरन्तर पिसाब चुहिने हुँदा लुगा भिजेर गन्हाउने भई महिलाहरु समाजको अगाडि जान लाज मान्ने र आफूलाई घृणित ठान्न सक्छन् । घर–परिवार, समाजबाट अपहेलित भई दुव्र्यवहार तथा बहिस्कृत हुनसक्छन् । कतिपय महिला फिस्टुला भएपछि घरबाट अलग बसेका पनि पाइन्छन् । शायद यसै कारणले होला, स्वास्थ्य शिविरमा कतिपय यो समस्या भएका महिलाहरु उपचारका लागि आउन सक्दैनन् ।

अफ्रिकीको भन्दा कम छैन नेपाली महिलाको स्वास्थ्य समस्या
नेदरल्यान्डकी मेरो मिल्ने साथी डा। लुइसलाई नेपालको धरानमा ४ सय महिलाको फिस्टुलाको उपचार भएको कुरा प्रसंगवश सुनाउँदा उनले विश्वास नै गरिनन् । उनले अचम्म मान्दै भनिन्– ‘मैले त अफ्रिकामा मात्र यस्तो समस्या छ भनेको, किनकि त्यहाँ सानो उमरमा नै योनिच्छेदन हुन्छ । तर नेपालमा पनि फिस्टुला छ रु’ डा। लुइसले नेदरल्यान्डमा यस्तो समस्या कहिल्यै देखेको छैन रे ।

ती डा। लुइसलाई कुरा बुझाउन यहाँका महिलाको स्वास्थ्य अवस्थाबारे यसरी विस्तृतरुपमा नै बताउन म बाध्य भएँ– ‘नेपालमा महिलाको स्वास्थ्यसम्बन्धी वास्ता हुँदैन । त्यसैले बाजुराकी रुपा मायाले ३५ वर्षको उमेरमा ११ वटा बच्चा पाइन् । त्यस्तै अर्की ५५ वर्षकी एक महिलाले १७ वटा बच्चा पाइन् । एकातिर नेपाल सरकारले गरेको अनुसन्धानमा नेपाली महिलाको प्रजनन स्वास्थ्य राम्रो छ, मृत्युदर घटेको छ भनिएको छ । तर खोज पत्रकारिताले बाजुरामा भेटेका तीन महिलाका क्रमशः ११, १५ र १७ वटा बच्चा जन्मेकामा क्रमशः ५, ७ र ४ वटा बच्चा मात्र बचेका छन् । यो तथ्य सरकारी रेकर्ड किताबमा उलेख गरिँदैन । ती महिला र उनका बच्चाहरु कता हराउँछन् रु योजना आयोग, स्वास्थ्य मन्त्रालयको आँखामा उनीहरु पर्दैनन् । त्यसैले उनीहरुको लागि कुनै पनि विशेष कार्यक्रम बन्दैन । अनि अन्तर्राष्ट्रिय रुपमा नेपालले महिला स्वास्थ्यमा सुधार गरेको र मातृ मृत्यृदर घटाएको कुरा चर्चामा आउँछ । महिलाको पिसाब चुहिने समस्या, पाठेघर खस्ने समस्या, रक्तअल्पता, धेरै बच्चा पाएर कुपोषित भएका समस्या आदिबारे कतै कुरा गरिन्न ।’

यसरी सरकारी तथ्यांक एकातिर, वास्तविकता अर्कातिर भएको कुरा सुनाउँदा डा। लुइस छक्क परिन् । नेपाली महिलाको स्वास्थ्य समस्या अफ्रिकी महिलाको भन्दा कम रहेनछ भन्ने उनलाई लाग्यो ।

रोग पाल्न बाध्य महिलाह ?
विकासोन्मुख देशहरु जहाँ सुविधायुक्त स्वास्थ्य संस्थामा गई दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने चलन कम रहेको छ वा सो खालको सुविधा पाउन पनि कठिन छ, त्यहाँ यस्ता समस्या धेरै देखिएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार प्रति १ हजार महिला प्रसव हँुदा ३ जना महिला यो समस्याबाट ग्रसित हुन्छन् । युएनएफपीएको ५ वर्षअगाडिको एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष २ सयदेखि ४ सय महिलामा यो समस्या देखा पर्छ । तर वास्तविकतामा यो भन्दा बढी पनि हुनसक्छ । हुन त अस्पतालमा उपचार गरिदिने डाक्टर हुँदा पनि चेतनाको कमीले यस्तो किसिमको समस्या लिएर उपचार गर्न आउने महिलाहरु कमै हुन्छन् ।

यस्तो समस्या भएका महिला प्रायः गरिब र स्वास्थ्य संस्थाको पहुँच नपुगेका ग्रामीण भेगमा रहने हुँदा समस्या भएपछि कहाँ जाने भन्ने पनि उनीहरुलाई थाहा हुँदैन । समस्या लिएर पीडित महिला अस्पतालमा पुगे पनि उपचार महँगो हुने भएकाले पैसाको अभावमा उनीहरु दुःख पाएरै बस्न विवश हुन्छन् ।

७ वर्ष जतिअघि रामेछापकी ५६ वर्षीया महिलाको फिस्टुलाको उपचार पाटन अस्पतालमा गराइएको थियो । त्यस बेलामा ५६ हजार रुपियाँ उपचारमा लाग्यो र ३ हप्तासम्म उनले अस्पतालमा बस्नुपरेको थियो । विभिन्न व्यक्तिसँग पैसा उठाएर त्यो उपचार गरिएकोे थियो । त्यति धेरै पैसा गाउँका महिलाले तिर्न नै सक्दैनन् अनि कसरी उपचार गराऊन् रु यहाँका अधिकांश महिला यसको उपचारबारे थाहा नभएर अनि गरिबीका कारण रोग पालेर बस्न बाध्य छन् ।

के गर्नु ? उभिएकै अवस्थामा पनि थेगिएन ।

 

उपचारबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
कतिपय स्वास्थ्यकर्मीलाई फिस्टुला र यसको उपचारबारे थाहा नहुने रहेछ । एक स्वास्थ्यकर्मीले काठमाडौं मोडेल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा। अरुणा कार्कीलाई फिस्टुलाबारे आफ्नो अनुभव सुनाएकी रहिछन् । ती स्वास्थ्यकर्मी पिसाब चुहिने समस्याको उपचारबारे अनभिज्ञ रहेको उनको कुराले थाहा भयो । स्वास्थ्यकर्मीले डा। कार्कीलाई सुनाइन्– ‘मैले त यो फिस्टुला भनेको सुनेकी पनि थिइनँ । मेरो स्वास्थ्य चौकीनजिकै एक गरिब बूढी आमा बस्थिन् । उनको शरीरबाट पिसाब गनाइरहन्थ्यो । सबैले उनलाई फोहोरी महिला भन्थे । तर फिस्टुलाको बारेमा तालिम पाएपछि मात्र बल्ल बुझेँ कि उनलाई त फिस्टुला पो रहेछ ।’

ती स्वास्थ्यकर्मीका अनुसार ती बूढी आमाको २ वर्षअघि मृत्यु भइसकेछ । ‘।।।।गरिसक्यो अनि दैलो देख्यो’ भनेजस्तै अब पश्चात्ताप गरेर के गर्नु र रु ‘ती आमालाई त तपाईंहरुजस्ता डाक्टरले उपचार गर्न सक्नुहुने रहेछ, विचरा उपचार नै नपाई उनको जीवन बित्यो’, ती स्वास्थ्यकर्मीका यस्ता कुरा सुन्दा यस्ता व्यथा गाउँमा धेरै हुन्छन् । यसको उपचार हुन्छ, त्यो पनि सित्तैमा भन्ने कुरा गाउँ–गाउँमा पु¥याउनु जरुरी छ । स्वास्थ्यकर्मीहरुलाई पनि यो समस्याबाट पीडित महिलालाई कहाँ रिफर गर्ने भन्ने कुराको यथेष्ट जानकारी गराउनुपर्छ ।

उपचारका कुरा
विशेषज्ञ डाक्टरको कमी र पीडित महिलामा पनि जनचेतनाको कमी भएकाले धेरैजसोले समस्या पालेरै बस्नुपर्ने बाध्यता त छ नै । साथै स्त्रीरोग विशेषज्ञ हुँदैमा पनि सबैले यसको शल्यक्रिया गर्न नसक्ने स्त्रीरोग विशेषज्ञ डा। अरुणा कार्की बताउँछिन् । डा। कार्की भन्छिन्– ‘मैले इथियोपियामा गएर फिस्टुलाको शल्यक्रिया गर्ने विशेष तालिम लिएपछि मात्र नेपालमा शल्यक्रिया गर्न शुरु गरें । शल्यक्रिया गर्ने विशेषज्ञको कमीले नै माथि उल्लिखित धादिङकी युवतीले दुःख भोग्नुप¥यो । तर अहिले ३ वर्षको बीचमा १३५ जनाको निःशुल्क शल्यक्रिया गरी उपचार गरिसकेका छौं । यसका लागि हामीलाई स्रोत पनि छ ।’

डा। कार्कीका अनुसार बिरामीलाई ३–४ हप्तासम्म राखेर शल्यक्रिया गर्नुपर्छ । कतिचोटि त दुईपटक पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसरी उपाचार गरिसकेपछि जब बिरामीको अनुहारमा हाँसो आँउछ, त्यो बेलाचाहिँ अति नै खुशी लाग्छ अरे डा। कार्कीलाई । तर केही बिरामीलाई शल्यक्रिया गरे पनि  पूर्णरुपमा निको पार्न नसक्दाचाहिँ साह्रै दुःख लाग्ने गरेको दुःखेसो पोख्छिन् डा। कार्की । त्यसैले फिस्टुला नै नहोस् भनेर शुरुदेखि नै बचावमा काम गर्नुपर्छ ।

उता धरान अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। मोहनचन्द्र रेग्मी भन्छन्– ‘पछिल्लो ७ वर्षमा हामीले ४ सय महिलाको पिसाब चुहिरहने समस्याको उपचार गरेका छौं । धेरैजसो महिलालाई पूर्णरुपमा ठीक भएको छ । तर केही महिलाको चाहिँ पूर्णरुपले समाधान नहुँदा मलाई दुःख लाग्छ ।’ त्यस्ता महिलाहरुका लागि के गर्न सकिन्छ भनेर विभिन्न संस्थाहरुसँग कुरा चलाइरहेको डा। रेग्मी बताउँछन् । अहिलेको जमानामा पनि यसरी नेपाली महिलाहरु पिसाब चुहिने समस्याबाट पीडित भइरहेका छन् भने सरकारले स्वास्थ्य सेवामा गरेको अर्बौं लगानीको के प्रयोजन ?

अबको बाटो
उपक्षेत्रीय अस्पताल, सुर्खेतमा फिस्टुलाको उपचार गर्नका लागि राखिएको विशेष शिविरमा एक महिनामा ८० जना महिला शल्यक्रिया गर्न आएका थिए । यति धेरै महिला एकैचोटि शल्यक्रिया गर्न आउनुको मुख्य कारणचाहिँ उनीहरुलाई गाउँ–गाँउमा गएर खोजी गरी ल्याइएको थियो । लाज र गरिबीका कारण कुनाकाप्चामा अझै धेरै महिला समस्या पालेर बसेका छन् । त्यसैले स्थानीय स्वास्थ्यकर्मी नै जागरुक भएर खोजी गर्नुपर्नेमा जोड दिन्छन् स्त्रीरोग विशेषज्ञ डा। गणेश दंगाल । धेरै समुदायमा फिस्टुलाको बारेमा जानकारी पनि छैन । नेपालमा सित्तैमा उपचार हुन्छ भन्ने पनि थाहा छैन । सुदूरका गाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई फिस्टुला एवं पाठेघर खस्ने र प्रजनन स्वास्थ्यसम्बन्धी तालिम दिन सकेमा यस्ता बिरामीलाई उपचार गर्न कहाँ पठाउने भन्ने ती स्वास्थ्यकर्मीलाई थाहा हुन्थ्यो । यसले गर्दा फिस्टुला भएका महिलाहरुको जीवन नै बदलिने थियो । डा. दंगाल भन्छन्– ‘हामीसँग शल्यक्रिया गर्ने स्रोत–साधन त छ तर प्रमुख कुरा फिस्टुला नै हुन नदिन रोकथामका कार्यक्रम पनि ल्याउनुपर्छ ।’ स्वास्थ्य मन्त्रालयले यस विषयमा सोच्नै पर्नेमा उनी जोड दिन्छन् ।

उपचार कहाँ हुन्छ त ?
काठमाडौंको मोडेल अस्पताल तथा धरान र सुर्खेतको उपक्षेत्रीय अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार हुन्छ । तर थापाथली प्रसूति गृह, भेरी अञ्चल अस्पताल वा कतिपय मेडिकल कलेजमा अझै यसको उपचार शुरु हुन सकेको देखिँदैन । यसका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु जरुरी छ ।

साठी वर्षीया वृद्धा उपचारपछि फुरुङ्ग
अहिलेको जमानामा पनि एक ६० वर्षीया महिला पछिल्लो १३ वर्षदेखि लगातार पिसाब चुहिने समस्याबाट पीडित भइरहेकी छन् भन्दा अचम्म लाग्छ । तर धरान अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। मोहनचन्द्र रेग्मीले पिसाब चुहिने समस्या भएर उपचार गराएकी ६० वर्षीया फूलकुमारीसँग भेट्टाइदिए । ती फूलकुमारीका ५ छोराछोरी भएपछि अन्तिम १३ वर्षअघि सन्तान हुँदा ३ दिनसम्म व्यथा लाग्यो रे ।
फूलकुमारीकै शब्दमा– ‘फलामको चिम्टा हालेर नर्सले मेरो म¥याको बच्चा झिक्यो । र, चिम्टाले गर्दा पिसाबको थैलो फुट्यो रे । विराटनगरको अस्पतालमा औषधि गरे पनि ठीक भएन । नातागोताले मलाई गन्हाउने बूढी भनेर हेप्थ्यो । एक हप्ताअघि मेरो औषधि ग¥यो (कुरा बुझ्दा उनको शल्यक्रिया भएछ), अहिले मलाई आनन्द छ, पिसाब चुहिँदैन । त्यसैले म फुरुङ्ग छु ।’

प्रतिक्रिया दिनुहोस्