शिक्षित र शहरिया नै धामीझाँक्री खोज्छन्



घटना १
नाम ः योगेश डाँगी
उमेर ः २७ वर्ष
ठेगाना ः तानसेन–३, पाल्पा
समस्या ः पेट दुख्ने
यही माघ लाग्दैको कुरा हो । योगेशको पेट असाध्यै चस्किन थाल्यो । हुन त उनको पेटको समस्या देखिएको धेरै दिन भइसकेको थियो । अति भएपछि उनी काठमाडौंको डल्लुनजिकै सडकछेउमा रहेका एक धामीसामु पुगे । योगेशले पेट चस्किन थालेको ३ महिना भयो, आज भने बढी नै समस्या भएको बताए । धामीले झारफुक गरे अनि धागोजस्तो देखिने बुटी दिँदै लगाउन भने । यसपछि योगेशको मनमा केही भए पनि सान्त्वना मिल्यो । धामीलाई ५१ रुपियाँ भेटी चढाएर उनी डेरातिर फर्किए । योगेश हाल काठमाडौंस्थित एक क्याम्पसमा स्नातकोत्तर गर्दै छन् ।

घटना २
नाम ः मालता शाही
उमेर ः ३३ वर्ष
ठेगाना ः दुनै, डोल्पा
समस्या ः छाती पोल्ने
काठमाडौं कीर्तिपुर बस्दै आएकी शाहीलाई एक्कासि छाती पोल्न थाल्यो । उनी हेराएर उपचार गराउन नजिकैको धामीसामु पुगिन् । धामीले भने– ‘चामल चढाउनुस्, भेटी राख्नुस् अनि रोग के हो, पत्ता लाग्छ ।’ धामीले भनेको कुरालाई मालताले सहजै स्वीकार गरिन् । धामीले उनलाई बोक्सी लागेको जानकारी दिए । अन्ततः तीन दिनसम्म हरेक दिन तामाको भाँडोबाट पीपलको वृक्षलाई चोखो पानी चढाउँदै घुमेमा सन्चो हुने उनले बताए । मालतीले धामीले भनेअनुसार गरिन् । तर न त उनलाई छाती पोल्ने समस्या समाधान भयो, न त धामीले भनेको कुनै कुरा वास्तविक ठहरियो । उनी हाल त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।

घटना ३
नाम ः प्रवीण श्रेष्ठ
उमेर ः २५ वर्ष
ठेगाना ः ताहचल, काठमाडौं
समस्या ः मुटु दुख्ने
प्रवीण श्रेष्ठलाई विगत एक वर्षदेखि छातीको दायाँतर्फ हल्का दुख्ने समस्या छ । यो समस्या भएपछि उनी चारपटकसम्म अस्पताल पुगे । उनले भने– ‘मैले मुटुको अवस्था कस्तो छ भनेर इको गराएँ, ईसीजी गराएँ । समग्रमा भन्ने हो भने होल बडी चेकअप नै गराएँ । तर केही रोग नदेखिएपछि ललितपुरको एकान्तकुनामा रहेका एक धामीकहाँ फुकिमाग्न गएँ ।’ उनी प्रतिप्रश्न गर्छन्– ‘केही सीप नलागेपछि फुक्न जान परेन त रु’ तर आफूलाई बीसको उन्नाइस पनि नभएको उनी बताउँछन् । उनी हाल काठमाडौंको एक कलेजमा पत्रकारिता विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेका छन् ।

२१ औं शताब्दीको मध्यविन्दुसम्म आइपुग्दा पनि काठमाडौंजस्तो शहरभित्रै धामीझाँक्रीको विश्वास गर्नेहरु प्रशस्त छन् । साधारण लेखपढ गर्नेहरुको त कुरै छोडौं, शिक्षित परिवार नै धामीझाँक्रीको विश्वास गरी झारफुक गर्न दौडन्छन् । अस्पतालमा पटक–पटक पुगेर निको नभएपछि आफूहरु धामीझाँक्रीकहाँ जाने गरेको बिरामी र उनीहरुका आफन्तको भनाइ छ ।

अस्पतालमा जँचाएर ६ महिना औषधि गर्दा पनि ढाड दुख्ने रोग ठीक नभएपछि झाँक्रीको शरणमा पुगेको नारायणघाट, चितवनकी ३२ वर्षीया सनिता ठाकुर बताउँछिन् । झाँक्रीले झारफुक गर्दै तातो पन्यूँले ढाडमा डामेपछि रोग सन्चो भएको उनी स्वीकार्छिन् । यसै गरी सुतेको बेलामा झस्किने समस्याले ग्रस्त घोराही, दाङका रमेश पाण्डे नजिकै रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको लागि गएछन् । त्यहाँ डाक्टरले ठीक पार्न नसकेकाले धामीकहाँ गएको अनि धामीले निको पारेको अनुभव सुनाउँछन् पाण्डे ।

गैरकानुनी तरिकाले धामीझाँक्रीले पीडितबाट रकम असुले पनि स्वास्थ्य मन्त्रालयले निगरानी राख्न सकेको छैन । मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण  गिरी भन्छन्– ‘विनादर्ता यो काम गर्नु गैरकानुनी धन्दा हो । हामीले कडा निगरानी गरेका छौं ।’

यस्तै बानेश्वर, काठमाडौं बस्ने भोजराज रिजाल जन्डिसबाट मुक्त हुन धामीकै सल्लाहबमोजिम घरेलु जडीबुटी खाएको बताउँछन् । धामीले दिएको जडीबुटीले केही निको भएको उनको
अनुभव छ ।
मानव सभ्यताको विकासक्रमसँगै धामी–झाँक्रीमार्फत उपचार सेवा फस्टाइरहेको छ । नजिकै रहेका अस्पतालमा निको नभएर, आधुनिक उपचार महँगो भएर वा त्यसमा विश्वास नलागेर धामीझाँक्रीकहाँ धाउनेमा शिक्षित शहरियाहरू पनि प्रशस्तै छन् । यद्यपि कुल बिरामीमध्ये कति जना बिरामी उपचारका लागि धामीझाँक्रीकहाँ जाने गर्छन् भन्ने तथ्याङ्क भने कसैसँग छैन ।

धामीझाँक्रीमा अदृश्य शक्ति हुने विश्वास
नेपाली समाजमा प्रचलित कथित बोक्सीलाई लखेट्ने वा धपाउने पात्रलाई धामीझाँक्रीको रुपमा लिने गरिन्छ । उसले झारफुक गरेर रोग निको पार्छ भन्ने विश्वास गरिन्छ । साथै ढ्याङ्ग्र्रो ठोकेर भूतप्रेत, बोक्सी, मसान आदि अदृश्य शक्ति अनि लागुभागुलाई हटाउन ऊ समर्थ हुन्छ भन्ने विश्वास गरिन्छ । अझै पनि डोल्पा, मुगु, बाजुरा, बैतडी, जाजरकोट, कालिकोट, हुम्ला, बझाङलगायतका जिल्लामा धामीझाँक्रीप्रति अगाध विश्वास रहेको छ । परम्परागत नेपाली समाजमा धामीझाँक्री प्रथा उपचारले भन्दा पनि विश्वासले टिकेको मानिन्छ । अदृश्य शक्तिसँग खेल्न सक्ने दाबी गर्ने धामीझाँक्रीले आफूमा देवता प्रवेश गरेको भान पार्दै बिरामीको विश्वास जितेको देखिन्छ ।

कस्ता बिरामी धामीझाँक्रीकहाँ पुग्छन् ?
कतिपय स्थानमा आधुनिक उपचार पद्धति नपुगेका बिरामीहरु शुरुमै धामीझाँक्रीकोमा जान बाध्य हुन्छन् । तर कतिपय बिरामीमा चेतनाको कमीले गर्दा डाक्टरले दिएको औषधिको मात्रा नपुग्न सक्छ । डाक्टरको सल्लाहअनुसार नगरिँदा र औषधिको मात्रा नपुग्दा रोग निको हुने कुरै भएन । यसले गर्दा डाक्टरप्रतिको विश्वास घट्छ । अनि त्यस्ता बिरामी धामीझाँक्रीको शरणमा पुग्ने गर्छन् ।

यसै गरी गरिबीले आक्रान्तहरु पैसाको अभावमा अस्पतालमा जान सक्दैनन् । अहिलेको अस्पताल खर्च साधारण मानिसले धान्नै नसक्ने देखिन्छ । त्यसैले विपन्न परिवार उपचारका लागि धामीझाँक्रीकहाँ पुग्ने गर्छन् । पैसा कम खर्च हुने र रोग निको हुने भन्दै आफूहरु धामीझाँक्रीकहाँ पुग्ने गरेको घोराही–१० का पीडित अमृत बस्नेत बताउँछन् । उनी भन्छन्– ‘मलाई एक्कासि टाउको दुख्यो । अनि धामीझाँक्रीलाई घरमै बोलाएँ । उनले फुकेपछि निको भयो । मलाई बुटी बाँध्न दिएका छन् । हेर्नुस् त कम्मरमा बुटी बाँधेको छु ।’ उनका अनुसार जन्डिस, पेट फुल्ने, हात बाउँडिने, बच्चा नहुने, समयमा महिनावारी नहुने, पक्षघात, ग्यास्ट्रिक मानसिक असन्तुलनमा ह्रास आदि समस्या भएका बिरामीहरु धामीझाँक्रीकहाँ जाने गरेका छन् ।

काठमाडौं उपत्यकाका चोक–चोकमा धामीझाँक्रीहरुले उपचार सेवा प्रवाह गरिरहेका छन् । रत्नपार्कमा बिहानै पुग्ने गरेका धामी समितलाल गुरुङले भने– ‘मकहाँ छोराछोरी नभएपछि समस्या बेहोरिरहेकाहरु आउँछन् । भूतप्रेत चढेको भए म फुकिदिन्छु ।’ गुरुङले दैनिक १० जनासम्म आफूकहाँ आउने गरेको र प्रतिव्यक्ति स्वेच्छाले ५० देखि १ सय रुपियाँसम्म आफूलाई दिने बताए । डाक्टरहरूले धेरै पैसा लिने र उपचारमा लापरबाही गर्ने हुनाले बिरामीहरू धामीझाँक्रीतिर लागेको गुरुङको कथन छ ।

पोखरा लेखनाथकी टीका रिजालको शरीरमा एक्कासि देउता पसेको खबर बाहिर आयो । उनलाई भेट्न अहिले पनि दैनिक ५० भन्दा बढी मानिस जाने गर्छन् । कारण उनले फुकफाक गरेपछि जो–कोही पनि निको हुने स्थानीयको विश्वास छ । पाल्पा, दाङ, रुपन्देहीसम्मका मानिस उनीकहाँ पुग्ने गरेको स्थानीयले बताए । घोराही उपमहानगरपालिका, झिगैंकी २७ वर्षीया सरिता बस्नेत (नाम परिवर्तन) को बिहे भएको दुई वर्षसम्म पनि बच्चा भएनछन् । लगत्तै उनी टीका रिजालकहाँ पुगिन् । बिहान केही नखाएको समयमा उनलाई झारफुक गरियो । त्यसपछि टीकाको आश्वासन र सल्लाहपछि उनी घर फर्किन् । केही समयपछि उनको बच्चा भयो । र, त्यही कुरालाई आधार मानेर धेरै मानिस झारफुकका लागि टीकाकहाँ पुग्ने गर्छन् ।

झारफुकमा लाग्दा थप समस्या
धामीझाँक्रीबाट रोग निको हुन्छ भन्ने कुरा कपोलकल्पित भएको डाक्टरको भनाइ छ । अस्पतालमा डाक्टरले दिएको औषधिका कारण रोग निको हुने भए पनि त्यो भन्दा अघि झारफुक गर्ने गरेको र त्यसैलाई आधार मानेर सन्चो भयो भनिने गरेको डाक्टरको भनाइ छ । पाल्पा जिल्ला अस्पतालका डा। नवीन पोख्रेलले भन्छन्– ‘झारफुक विधि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त होइन । यसले पछि दीर्घकालीन असर गर्न सक्छ । सन्चो नभएर थप रोग निम्तिन सक्छ ।’ डा। पोख्रेल बजारमा पाइने तन्त्रविद्याका सस्ता पुस्तकको आधार र अन्दाजका भरमा उपचार गर्नु नहुने सुझाव दिन्छन् । रोग लागेपछि बेलैमा नजिकको स्वास्थ्य संस्थामा लगेर उपचार गराउनु नै भरपर्दो हुने उनको राय छ ।

शरीरमा के भएको छ, आवश्यक परीक्षण नै नगरी झारफुकले सन्चो हुन्छ भनेर कसरी पत्याउने रु डा। प्रभात रिजाल टुनामुना, झारफुकलाई वाहियात मान्छन् । ‘धामीझाँक्रीलाई देखाएर बुटी लगाएपछि सन्चो हुन्छ भन्नु झुट र बेइमानी हो’, डा। रिजाल बताउँछन् । झारफुकमा लागेर शरीर जीर्ण भएपछि उपचारका लागि अस्पताल आउनेहरु पनि कम छैनन् । समस्या जटिल भएपछि मात्र अस्पताल पुग्नाले उनीहरुलाई बचाउन डाक्टरका लागि पनि चुनौती हुन्छ ।

सरकारको निगरानी बाहना मात्रै
सरकारी निकायबाट दैनिक उपभोक्ता हित संरक्षण विभागमार्फत अस्पतालहरुको नियमित अनुगमन हुने गरेको छ । तर अझै पनि धामीझाँक्रीहरुले  काठमाडौंकै मुख्य ठाउँहरुमा ‘यहाँ झारफुक गरिन्छ’ भन्दै बोर्ड टाँगेर उपचार गराउँदा पनि सरकारी निकायले केही गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले भने गैरकानुनी तरिकाले धामीझाँक्रीले पीडितबाट रकम असुले पनि निगरानी राख्न सकेको छैन । मन्त्रालयका प्रवक्ता डा। श्रीकृष्ण गिरी भन्छन्– ‘विनादर्ता यो काम गर्नु गैरकानुनी धन्दा हो । हामीले कडा निगरानी गरेका छौं ।’ यद्यपि अहिलेसम्म कसैलाई पनि सरकारले कारबाही गरेको तथ्याङ्क भने छैन । काठमाडौं उपत्यकाभित्र दर्ता नगरी धामीझाँक्रीले झारफुक गर्दै आए पनि सरकारले तिनीहरुमाथि निगरानी गर्न सकेको छैन ।

अन्धविश्वास सृजना गर्ने प्रकृतिका क्रियाकलाप भइरहे पनि सरकारले ठोस कार्ययोजना ल्याउन सकेको देखिँदैन । अधिकारकर्मी विपिन बुढाथोकी भन्छन्– ‘अझै पनि हाम्रो समाजमा कुरीतिहरु विद्यमान छन् । प्रविधियुक्त समाज भइरहेको बेला र टोल–टोलमा स्वास्थ्य संस्था स्थापना हुँदासमेत धामीझाँक्रीको विश्वास गर्नु नराम्रो पक्ष हो । सरकारले यस विषयमा विशेष कदम चाल्नुपर्छ । साथै शिक्षित परिवार अन्धविश्वासबाट मुक्त हुन जरुरी छ ।’

अदालतको आदेश– धामीझाँक्री रोक्न कानुन निर्माण गर
सर्वोच्च अदालतले केही महिनाअघि धामीझाँक्री प्रथालाई बोक्सी प्रथाकै कारकका रूपमा व्याख्या गर्दै त्यसविरुद्ध कानुन निर्माण गर्न सरकारलाई आदेश दिएको थियो । चितवनकी ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा हत्या गरिएको कर्तव्य ज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले सामाजिक कुप्रथाविरुद्ध सामाजिक चेतनाको विकास गर्न सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । कुनै पनि व्यक्तिलाई बोक्साबोक्सीको आरोप लगाउनु, अपहेलना वा बहिष्करण गर्नु जघन्य अपराध हुने उल्लेख गर्दै सर्वोच्चले त्यसलाई मानवअधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेको छ ।
समाजमा महिला, वृद्धवृद्धा र सामाजिकरूपमा परित्यक्तहरू नै बोक्सीको आरोपमा प्रताडित भइरहेको भन्दै सर्वोच्चले पीडितहरूको संरक्षणमा नेपाली न्याय प्रणालीले गरेको सम्बोधनको समीक्षा हुनुपर्ने औंल्याएको छ । न्यायाधीशहरू केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पश्चिमा समाजमा बोक्सी प्रथा इतिहासको अँध्यारो पाटो बनिसकेको र त्यसलाई हुनै नसक्ने कसुर मानिएको सन्दर्भमा नेपालमा अझै पनि बोक्सीको आरोपमा हत्या हुनु गम्भीर अपराध भएको ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्