डा. किरण रेग्मी
(कन्सल्टेन्ट फिजिसियन तथा हेपाटोलोजिस्ट)
कलेजोमा अत्यधिक बोसो जमेको अवस्थालाई फ्याट्टी लिभर भनिन्छ । सामान्यतया कलेजोमा ५ प्रतिशत बोसो हुन्छ । कुनै कारणवश बोसोको मात्रा सो भन्दा बढी भएमा फ्याट्टी लिभर हुन्छ । धेरैजसो बिरामी पेटको अल्ट्रासाउन्डको रिपोर्ट लिएर मेरो कलेजोमा अत्यधिक बोसो जमेको रहेछ भन्दै परामर्श लिन विशेषज्ञ डाक्टरकोमा आउने गरेको पाइन्छ ।
विभिन्न अनुसन्धानले देखाएअनुसार १५–३० प्रतिशत व्यक्तिमा यो अवस्था देखिएको छ । रक्सीजन्य पदार्थको सेवनले हुने र रक्सी नपिउने बिरामीलाई हुने गरी फ्याट्टी लिभर दुई प्रकारको हुन्छ । जीवनशैली र खानपानमा सचेत नहुँदा यो समस्या आउन सक्छ । पछि गएर कलेजोको सिरोसिस भई काम नलाग्ने पनि हुन सक्छ । त्यसैले यसमा सचेत हुनु जरुरी छ । हाम्रो समाजमा विभिन्न कारणले कलेजोमा फ्याट्टी लिभर भएको पाइन्छ ।
रोगका चरणहरु
सामान्य कलेजो भएको व्यक्तिले अत्यधिक रक्सी सेवन गरेमा वा अन्य कारणले कलेजोमा अत्यधिक बोसो जमेको अवस्थालाई फ्याट्टी लिभर भनिन्छ । यो पहिलो चरण हो । यही अवस्थामा कलेजोमा सुजन हुने
अवस्थालाई स्टेटोहेपाटाइटिस (Steatohepatitis ) भनिन्छ ।
यो दोस्रो चरण हो । यो चरणपछि हुने अन्तिम अवस्थालाई सिरोसिस (Cirrohosis) भनिन्छ । सिरोसिस भनेको कलेजो सानो हुने वा सुक्ने तथा कडा हुने अवस्थालाई हो । स्टेटोहेपाटाइटिसको चरणसम्म बिरामी पूर्ववत्रुपमा फर्कन सक्छ तर सिरोसिस भएपछि कलेजो पूर्ववत्रुपमा फर्कन सक्दैन । सिरोसिस भएको बिरामीलाई कलेजो प्रत्यारोपण गर्न जरुरी पनि हुनसक्छ ।
के–के जाँच गर्ने त ?
- रगतका विभिन्न जाँचहरु
- भिडियो एक्स रे
- इन्डोस्कोपी
- एब्डोमेनको सिटी स्क्यान
- फाइब्रो स्क्यान
- कलेजोको बायोप्सी
रोगका लक्षणहरु
प्रारम्भिक अवस्थामा कुनै लक्षण देखिँदैन । तर स्टेटोहेपाटाइटिसको अवस्थामा पुगेपछि बिरामीमा रोगको लक्षण देखिन थाल्छ ।
स्टेटोहेपाटाइटिसका लक्षण : खाना खान मन नलाग्ने, बान्ता हुने, दाहिने कोखा दुख्ने, जन्डिस हुने, पिसाब पहेँलो हुने, थकान हुने, आलस्य बढी हुने आदि ।
सिरोसिस हुँदाका लक्षण : स्टेटोहेपाटाइटिसको लक्षणसहित, पेट फुल्ने, पेटमा पानी जम्ने, पिसाब कम हुने, जन्डिस ज्यादा हुने, बेहोसी हुने, दिसा कालो हुने, रगत बान्ता हुने, रगतको कमी हुने आदि ।
उपचार र रोकथाम
उपचार र यस रोगको रोकथामका लागि धेरै कुरामा सचेतता अपनाउनुपर्छ । रक्सी सेवन बन्द गर्नु दैनिक व्यायाम गर्नु तौल नियन्त्रणमा राख्नु, थाइराइड एवम् सुगर कन्ट्रोल गर्नु, जथाभावी औषधिको सेवन बन्द गर्नु, खाना सन्तुलित गर्नु अपरिहार्य छ । यसका साथै विशेष औषधिको लागि सम्बन्धित डाक्टरको परामर्श लिनुपर्छ ।
यसका बिरामीले दैनिक व्यायाम गर्ने वा छिटो–छिटो हिँड्ने गर्नुपर्छ । कम्तीमा ४० मिनेटसम्म हिँड्ने गर्नु राम्रो हुन्छ । यसै गरी मोटोपन भएका व्यक्ति, थाइराइड तथा मधुमेह भएका बिरामी, रक्सी सेवन गर्ने गरेका बिरामीले नियमित कलेजोको जाँच गराइरहनुपर्छ ।
फ्याट्टी लिभर हुनुको मुख्य कारण
- रक्सी वा रक्सीजन्य पदार्थको अत्यधिक सेवन
- मोटोपन र व्यायामको कमी
- मधुमेह
- थाइराइड (हाइपोथाइरोडिज्म)
- औषधिको सेवन–
- स्टेरोइड, टामोक्सिफेन
- रगतमा अत्यधिक बोसो भएको अवस्था
- हेपाटाइटिस सी
- विल्सन डिजिज
- गर्भवती अवस्थामा हुने फ्याट्टी लिभर
स्वास्थ्य समस्या र घरेलु उपचार
सासको दुर्गन्ध हटाउनः
बोझोको सानो टुक्रा मुखमा राखेर सुपारीझैँ टोकिरहने गर्दा दुर्गन्ध हराउँछ । अमला खाने गरे पनि फाइदा हुन्छ ।
दिसा खलास गर्नुपरेमाः
दुई दाना कागतीको बोक्रा पिसेर बेलुका एक गिलास पानीमा हाल्ने र भोलिपल्ट उठ्नेबित्तिकै सो पानी पिउने गर्नाले दिसा खलास हुनुका साथै आन्द्रा मजबुत हुन्छ ।
स्मरणशक्ति बढाउनः
घोडताप्रेको बोटलाई पिँधेर मिश्रीःपानीमा मिलाई खालि पेटमा खाने गरेमा स्मरण शक्ति बढ्ने हुन्छ ।
उच्च रक्तचाप भएमाः
गाजर, काँक्रो, पालकको रस अलगःअलग पिउने अथवा गहुँको जमराको रस नियमित पिउने गरेमा उच्च रक्तचाप कम हुँदै जान्छ ।
रक्तचाप कम भएमाः
गाजरको रसमा मह मिलाएर नियमित सेवन गर्ने वा प्रतिदिन ३ः४ कोसा केरा खाने गरेमा न्यून रक्तचाप हुनेहरुलाई लाभ मिल्छ ।
छाला गोरो बनाउनः
दिनहुँ नुहाउने र नुहाइसकेपछि गधीको दूधले शरीरमा नियमित मालिस गर्ने हो भने कालो छाला गोरो हुँदै जान्छ ।
(औषधि दर्शन पुस्तकबाट)