रोगको घर हो गुलियो



डा. अरुणा उप्रेती

चाडपर्वको समयमा मिठाइको उपभोग बढी हुने गर्छ । झन् बालबालिकालाई फकाउन लड्डु, केक, अनेक थरीका चकलेट दिने चलन यतिखेर ह्वात्तै बढ्ने गर्छ । यसरी जथाभावी मिठाइ खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरा भने धेरैले सोचेका हुँदैनन् ।

विचार गर्नुस्, एकछिन्को जिब्रोको स्वादले जीवनभर स्वास्थ्यमा नराम्रो प्रभाव प¥यो भने के होला ? व्यापारिक फाइदाका लागि बजारका मिठाइमा खराब तेलमा बनाएको हुन सक्छ । तेल बारम्बार तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सरसमेत पैदा गराउन सक्छ भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । फेरि यस्ता मिठाइहरु प्रायः मैदा र चिनीबाट नै बनेका हुन्छन् । यस्ता पदार्थमा पौष्टिकताको कमी हुने हुँदा स्वास्थ्य समस्यासमेत पैदा हुन्छ ।

सकेसम्म प्रशोधित चिनी नखानु नै बेस । विश्व स्वास्थ्य संघको भनाइअनुसार एक वयष्क व्यक्तिले एकदिनमा बढीमा ५ चम्चा मात्र चिनी सेवन गर्न सक्छ । तर दिनमा ३ कप चिया खाइयो भने एक कप चियामा २ चम्चा चिनी हाले पनि ६ चम्चा चिनी त यसै पनि भइहाल्यो ।

 

त्यसमाथि मिठाइ पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्बत आदि पनि खाइएला । फेरि बिस्कुट कस्तो गुणस्तरको छ भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन । त्यसैले गुलिया पदार्थ खाँदा त्यसमा प्रयोग भएको चिनी कति खाइयो भनेर हेक्का राख्नै पर्छ ।

कतिपय व्यक्तिहरु बजारका गुलिया पदार्थ खान सचेत भइसकेका छन् ।

बिग्रेको नरिवल जति बिस्कुट कारखानामा
उमा लोहनी

‘मलाई नरिवल–बिस्कुट एकदम मन पथ्र्यो । प्रायः पाहुनालाई यही खाजा दिन्थें र आफैं पनि चियासँग खान्थें । एकदिन मैले सामान किन्ने गरेको पसलमा गएको थिएँ । साहुनीले एकथाक बिग्रेका नरिवल जोख्दै गरेको देखें । फाल्ने नरिवल पनि किन जोखेको भनेर सोधें ।

साहुनीले नजिकै बोरा लिएर उभिएको मान्छे देखाउँदै भनिन्– उसले लान्छ यो नरिवल । त्यो मान्छेलाई सोद्धा पो थाहा भयो कि कुहिएको नरिवल त बिस्कुट फ्याक्ट्रिमा पुगेर नरिवल–बिस्कुट पो बन्दो रहेछ । त्यस बेलादेखि मैले नरिवल–बिस्कुट खान छोडें ।

काठमाडौंकी उमा लोहनीले बिग्रेका नरिवल जति नरिवल–बिस्कुट बनाउन कारखानामा पुग्ने गरेको चाल पाएपछि सो बिस्कुट नै खान छोडेको बताइन् । चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानिकारक हुन्छ, त्यसमाथि पनि यसरी कुहिएको र ढुसी परेको नरिवल हालेपछि त के हालत होला ? ढुसी परेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोलि नै समस्या नपर्ने हुनाले मानिसले थाहै नपाई यस्ता खाद्यपदार्थ खाइरहेका हुन्छन् । लगातार यस्ता बिग्रेका र धेरै गुलिया पदार्थबाट बनेका परिकार खाँदा उनीहरुको स्वास्थ्य बिस्तारै बिग्रँदै गइरहेको हुन्छ ।

मोटोपन र मधुमेहको एक कारण चिनी

मधुमेह, हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको वृद्धि गर्न चिनी प्रमुख सहयोगीका रुपमा रहेको छ । अझ वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ ।

 

यसको बढी सेवनले तौल बढाउने हुन्छ । एक चिया चम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्दछ । यदि १५ चम्चा चिनी भएको कुनै झोल पिएमा त्यसबाट २ सय ४० क्यालोरी अर्थात् ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ । बढी क्यालोरीयुक्त खाद्यवस्तुले अन्ततः शरीरको तौल वृद्धि गर्न सहयोग गर्छ ।

विश्व स्वास्थ्य संघले प्रकाशन गरेको बुलेटिनअनुसार चिनी मिसाइएका पेयपदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्षयताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरु जस्तो– टाइप २ डायबिटिज र अधिक मोटोपनको वृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलिया पेयपदार्थ भएको पाइएको छ ।

म्याक्सिकोमा गरिएको अध्ययनअनुसार त्यहाँ वयष्क र केटाकेटीहरुले गुलिया पेयपदार्थ धेरै प्रयोग गर्छन् । मेक्सिकोका वयष्कहरुमा सन् २०१० देखि २०१४ मा मोटोपन धेरै मात्रामा वृद्धि भएको पाइएको छ । यसको कारण गुलियो पदार्थको बढी प्रयोग देखिएको छ । नसर्ने रोगहरुसम्बन्धी २०१४ को ग्लोबल रिपोर्टमा यसबारेमा उल्लेख
गरिएको छ ।

एक अध्ययनअनुसार सन् २०१४ मा विश्वका पाँच वर्षमुनिका करिब ४ करोड १० लाख बालबालिका अति तौल भएका पाइएका थिए । यसले भविष्यमा उनीहरुको स्वास्थ्यमा निकै जोखिम थपिने कुरालाई संकेत गर्छ । नेपालमा पनि तौल बढी भएका बालबालिका बढ्दै छन् । यसको कारणमध्ये गुलियोको प्रयोग बढी हुने एक हो । यो समस्या न्यूनीकरण गर्न सरकारले पहल गर्न जरुरी भइसकेको छ ।

मधुमेह, हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको वृद्धि गर्न चिनी प्रमुख सहयोगीका रुपमा रहेको छ । अझ वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ । यसको बढी सेवनले तौल बढाउने हुन्छ

गुलियोले शुरुमै दाँतमा समस्या

यी पेयवस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्या बढी देखिएका छन्– दाँतमा प्वाल पार्ने र दन्तहर्ष हुने । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुशील कोइराला बारम्बार भन्ने गर्छन्– ‘बट्टामा राखेको फलफूलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पार्छ । त्यसैले बट्टाको फलफूलको रसभन्दा सोझै फलफूल किनेर खानु उत्तम हुन्छ । यो सस्तो पनि पर्छ ।’

चाडपर्वमा चिसो पेयपदार्थ र बट्टामा प्याक गरिएको फलफूलको रस धेरै उपभोग गरिन्छ । यसमा एकदम धेरै चिनी मिलाएको हुन्छ । यसले दाँतमा त समस्या हुन्छ नै, पछि बिस्तारै अन्य रोग पनि निम्त्याउने हुन्छ । त्यसैले पनि कारखानामा उत्पादित पेयपदार्थ एवम् डिब्बा बन्द फलफूलको रसभन्दा ताजा फलफूल खानु स्वास्थ्यका लागि धेरै उत्तम हुन्छ ।

इनर्जी ड्रिङ्कको लत

शक्तिवद्र्धक पेयवस्तुको रुपमा व्यापक प्रचार गरिएकाले आजकल इनर्जी ड्रिङ्क धेरैले प्रयोग गर्छन् । चाडपर्वमा कोसेली पनि लैजान्छन् । प्रायः सबै उमेर समूह तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरु अहिले यो पेयपदार्थ एउटा लाभदायक पेयवस्तु हो भन्ने भ्रममा छन् ।

तर यसमा धेरै गुलियो मिलाइएकाले यसले हानि पनि गर्छ भन्ने कुरा आमउपोक्ताले बुझेका छैनन् । यस्ता गुलिया पदार्थका बारेमा छलफल हुँदैन । अमेरिकामा चाँहि यस्ता वस्तुको बेफाइदाबारे धेरै छलफल हुन्छ र बुद्धिजीवीहरुले यसको प्रयोग प्रायः गर्दैनन् ।

चिनीले फोक्से मासु बढाउँछ

डा. बिष्णु पण्डित
वरिष्ठ बालरोग विषेशज्ञ

इनर्जी ड्रिङ्क मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्रान्डका अन्य सफ्ट ड्रिङ्क पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन् । यस्ता पेयपदार्थका कारण बच्चाहरुमा खानामा रुची कम हुन्छ । उनीहरुलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेयवस्तुमा चिनिको मात्रा बढी हुने भएकाले यसको सेवन गर्नेहरुमा मोटोपन र डायबिटिजको सम्भावना बढ्छ ।
यस्ता गुलिया पेयपदार्थले बालबालिकामा फोक्से मासु बढाउने हुन्छ । जब फोक्से मासु बढेर मोटोपन हुन्छ, यसले अनेक समस्या उत्पन्न गराउँछ । मिठाइ, चिसो पेयपदार्थ आदिको प्रयोगले यस्तो कुप्रभाव गर्छ भने सकेसम्म प्रयोग नगरेकै बेस ।

यो पेयमा प्रशस्त मात्रामा चिनी हुन्ने भएकाले यसले केही शक्ति दिएजस्तो हुन्छ । थाकेको बेला यस्तो पेयपदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ । धेरै चिनी भएको इनर्जी ड्रिङ्क लतकै रुपमा सेवन गर्नेहरुमा बालबालिकाहरु पनि देखिएका छन् । यसले खासगरी युवाहरुलाई आकर्षित गरिरहेको छ । चिकित्सकहरुका अनुसार बालबालिकाहरु यस्तो पेयपदार्थ खान पल्केपछि उनीहरुमा लत लाग्ने गरेको देखिन्छ । यस किसिमको लतले उनीहरु बिस्तारै रोगी बन्दै गएका हुन्छन् ।

चिनी उपभोग घटाउने अन्तर्राष्ट्रिय पहल

अमेरिकन डायबेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । यदि डायबिटिज भइसकेको छ वा हुने जोखिम छ भने पानी, विनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती–पानी मात्र पिउन अमेरिकन डायबेटिक एसोसिएसनले सुझाव दिएको छ । सो एसोसिएसनले भनेको छ– ‘डायबिटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । यसले शरीरको तौल बढाउने र रगतमा ग्लुकोजको मात्रा बढाउने गर्छ ।’

मेक्सिकोमा बढी गुलिया पदार्थको उपभोगका कारण स्वास्थ्य समस्या देखिएपछि सरकारले यसको उपभोग घटाउने प्रयास गरेको छ । यहाँको सरकारले चिनी भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्य वृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको हो । यसरी ट्याक्स लगाएपछि मोक्सिकोमा पेयपदार्थको खरिदमा ६ देखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो ।

अमेरिकाको न्यूयोर्क शहरमा आधाभन्दा बढी मानिस अत्यधिक मोटा छन् । यसै कारणले न्यूयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रुपमा देखा परेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरुप कोकाकोला, चिनी धेरै भएका चिसो पेयपदार्थका ठूला बोतलको सट्टा साना बोतल मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रुपमा रहेको अत्यधिक मोटोपनलाई घटाउनु नै थियो । तर न्यूयोर्ककै केही बासिन्दाले यसको खुलेर विरोध गरे । चिसो पेयपदार्थ खानु आफ्नो अधिकार भएको भन्दै उनीहरुले प्रतिवाद गरे । प्यास लाग्दा चिसो पेयवस्तु नै खाने उनीहरुमा बानी परिसकेकाले कतिपयले छोड्नै नसक्ने बताए । यसले गर्दा पनि त्यहाँ मोटोपनको समस्या बढिरहेको छ ।

सन् २०११ मा हंगेरी र फ्रान्सले पनि गुलिया र कृत्रिम गुलियो प्रयोग गरिएका जुसलगायतका पेयपदार्थमा बढी ट्याक्स लगाएपछि यसको प्रयोगमा कमी आएको देखिएको थियो । त्यस्तै फ्रान्समा सन् २०१२ मा सोडाको बिक्रीमा कमी भएको पाइएको थियो । नेपालमा पनि यसबारेमा सोच्नै पर्ने बेला आइसकेको छ ।

डाक्टरको कुराले आमालाई पछुतो

करिब एक वर्षअघिको कुरा हो । एक आमाले ६ वर्षीय छोरालाई लिएर अस्पताल गइन् । उनले डाक्टरलाई भनिन्– यो दुब्लाएको छ । बारम्बार बिरामी भइरहन्छ । खाना पनि खान मन गर्दैन । बिरामी भनेर स्कुल पनि पठाएको छैन । किन यस्तो भएको होला डा. साब ?

आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता गरिरहेको थियो । उसले आमालाई बोल्न नदिने, आमाको मुख आफूतिर फर्काउने आदि कोशिश गरिरहेको थियो । डाक्टरले यसले के खान्छ ? भनेर आमालाई सोधे । आमाले भनिन्– ‘भात, दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन तर मिठाइ, चाउचाउ, चकलेट, बरफ, चिसो पेय आदि खान मरिहत्ते गर्छ । भात नखानेलाई यति दिँदा कमसे कम पेटमा केही खानेकुरा त पर्छ भनेर दिन्छु । चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ?’

उनको कुरा सुनेपछि डाक्टरले कुरा बुझिहाले । आमाले थाहा नै नपाईकन बच्चालाई धेरै गुलिया पेयपदार्थ र जङ्क फुड दिएकी थिइन् । झन् चाडपर्वमा त बढी नै चिनीजन्य वस्तु दिने गर्थिन् होला । यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएको रहेछ । मिठाइ र चिसो पेय मायाको प्रतिक होइन भन्ने कुरा बुझाए डाक्टरले । उनले भने– ‘तपाईंको छोरालाई खासमा बढी चिनी र पत्रु खानाले पोषणको कमी भएको छ । तपाईंले बच्चालाई खुवाएको वस्तुले पेट त भरिन्छ तर पोषण पुग्दैन ।

अनि कसरी स्वस्थ रहन्छ त ? अब बजारको मिठाई, चिसो पेयपदार्थ छोडेर घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस् । कुनै औषधि नै खानुपर्दैन । सधैँ जङ्क फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन । हरिया तरकारी र फलफूल खुवाउन जोड गर्नुहोस् ।’

चाडपर्वमा चिसो पेयपदार्थ र बट्टामा प्याक गरिएको फलफूलको रस धेरै उपभोग गरिन्छ । यसमा एकदम धेरै चिनी मिलाएको हुन्छ । यसले दाँतमा त समस्या हुन्छ नै, पछि बिस्तारै अन्य रोग पनि निम्त्याउने हुन्छ । त्यसैले पनि कारखानामा उत्पादित पेयपदार्थ एवम् डिब्बा बन्द फलफूलको रसभन्दा ताजा फलफूल खानु स्वास्थ्यका लागि धेरै उत्तम हुन्छ ।

छोरालाई माया गर्ने नाममा निकै गलत काम गरिरहेकोमा उनलाई पछुतो भयो । एक महिनापछि डाक्टरले भनेको समयमा उनी छोरालाई लिएर पुनः अस्पताल पुगिन् । त्यतिखेर विनाऔषधि खानपानले छोराको स्वास्थ्य सुधार भइसकेको थियो ।

पत्रु खाना एवम् मिठाइहरु पकाउने ठाउँमा गएर उपभोक्ताले कहिल्यै पनि हेरेका हुँदैनन् । त्यहाँ कत्तिको सफा र गुणस्तरीय वस्तुको प्रयोगमा ध्यान पर्याइएको छ भन्ने कुरा पनि आउँछ ।

जहाँ पायो त्यहीँ बनाएको, धेरै चिनी प्रयोग भएको र बारम्बार पकाएको तेलमा पकाएको मिठाइले स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ । सकेसम्म घरमा नै बनाएको खानेकुरा खाएमा स्वस्थ रहन मद्दत पुग्छ, साथै पैसाको पनि बचत हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्