म २७ वर्षको भएँ । मेरो घाँटीतिर ५–७ वटा स–साना गिर्खा आएको छ । साथीहरु तिम्रो त मुसा आएछ भन्छन् । हातखुट्टामा मुसा आएको त मलाई थाहा थियो तर घाँटीतिर आएको थाहा थिएन । घाँटीमा आएका यस्ता गिर्खा के हुन् र कसरी हटाउन सकिन्छ ?
  – जीवन बुढाथोकी, चौतारा, सिन्धुपाल्चोक

जीवनजी, गिर्खा भन्नु र कोठी वा मुसा भन्नु फरक–फरक कुरा हो । मुसा त पानीको थोपाजस्तो तर सतह मिहिन नभएर खस्रो भएको हुन्छ । त्यसैले पहिलो कुरा त त्यो के हो भनेर चिन्नुपर्यो  । दोस्रो कुरा, घाँटीमा मुसा आउन सक्छ, नसक्ने होइन । अझ दाह्री भएको क्षेत्रमा बढी हुन्छ । तेस्रो कुरा, पहिले चिनेर मात्रै अर्थात् निदान भएपछि मात्रै उपचारको कुरा हुन्छ । यसमा उपचार वा व्यवस्थापन गर्ने कुरा गर्दा यो प्रस्ट हुनुपर्यो  कि हरेक समस्यामा केही न केही गर्न अवश्य सकिन्छ । यसको लागि विशेषज्ञ चिकित्सक र उक्त सेवायुक्त अस्पताल आउनुपर्ने हुन्छ । त्यसैले वीर अस्पताल वा शिक्षण अस्पताल जानुभएमा यो सेवा पाउन सकिन्छ ।

म अहिले २० वर्षकी भएँ । उमेरअनुसार हुुनुपर्ने मेरो शारीरिक विकासमा सबै कुरा नर्मल छ । तर अहिलेसम्म पनि मेरो ब्रेस्ट फुल्ली डेभलप (साइज–२५) भएको छैन । मोडेल अस्पतालमा डाक्टरलाई भेटेर समस्या राख्दा उहाँले भिटामिन ई क्याप्सुल दिनुभयो । तर यसले केही प्रभाव परेन । हेरिडिटी भन्ने हो भने मेरो परिवारमा सानो ब्रेस्ट भएको कोही पनि हुनुहुन्न । यसको केही उपाय छ कि ?
 – प्रिस्था खनाल, दाङ

प्रिस्था बहिनी, स्तनको आकार तथा साइज धेरैजसोको उमेरसँगै विकास हुन्छ भने कोही–कोहीको अलि ढिलो हुन पनि सक्छ । २० वर्षमै विकास भएन भनेर आत्तिनुपर्ने होइन । यो विकास हुने समय अझै बाँकी छ । त्यसैले मोडेल अस्पतालमा भिटामिन ई क्याप्सुल दिएको हुनुपर्छ । साथै यो क्याप्सुलको सकारात्मक प्रभाव पनि हुन्छ, त्यसैले पनि दिएको होला । फेरि त्यहाँ अस्पतालमा यो कुरा राखेर परामर्श गर्नुपर्ने थियो, नकि नबोली उठेर हिँड्ने । हेरिडिटीअनुसार पनि यो उमेरमा स्तनको साइज आमाको वा दिदीहरुको कस्तो थियो भन्ने कुरा तपाईंलाई थाहा हुने कुरा पनि भएन । यसको अरु विकास गर्भवती हुँदा, त्यसपछि बच्चाले दूध चुस्ने बेलामा पनि हुने हुनाले नआत्तिन सलाह दिन्छु । तर पनि बेला–बेलामा स्त्रीरोग विशेषज्ञसँग परामर्श पनि गर्दै गर्नुस् ।

मैले मधुमेहको औषधि खाएको एक वर्ष भयो । बिहान Glycomet GP1 र बेलुका Glycomet 1 g खाँदै आएको थिएँ । सरकारी स्वास्थ्य बिमा गरेर सरकारी अस्पतालमा जाँदा पनि यही औषधि सिफारिस गरियो । तर त्यहाँको औषधि पसलबाट औषधि लिँदा Formin G 1 forte / Metfer SR 1000 दिइयो । यो त अलि फरक रहेछ भन्दा एउटै त हो नि भनियो । बिमा गरेकाले मैले औषधि पनि त्यहीँबाट लिनुपर्ने मेरो बाध्यता हो । के मैले खाने गरेको र औषधि पसलेले दिएको औषधि एउटै हो त ? किन यस्तो भएको हो ? जानकारी पाए शंका हट्ने थियो ।
– अनील, भक्तपुर

अनिलजी, बजारमा बिक्रीको लागि अलग–अलग कम्पनीले उही औषधिको पनि अलग–अलग नाम राख्ने हुनाले त्यस्तो भएको हो । तपाईंले खाँदै गरेको औषधि भारतीय कम्पनीको हो भने स्वास्थ्य बिमाअनुरुप सप्लाइ गर्दा दिएको औषधि नेपाली कम्पनीको हो । बिमाले टेन्डर गरेर राख्दा जसको न्यूनतम मूल्यमा पायो, त्यो नै राख्ने हो, औषधिको गुणात्मक पक्षमा सम्झौता नगरीकन । सोही कारणले सबैलाई बिमाले यो आर्थिक वर्षभरि यो औषधि नै बाँड्नेछ, अर्को टेन्डर नगरेसम्म । औषधि उही हुनाले,WHO GMP Standard समेत प्राप्त हुनाले अनि उही प्रभाव प्राप्त हुनाले कुनै फरक नपर्ने कुरा सल्लाह दिन चाहन्छु ।

म ३६ वर्षको भएँ । मलाई वर्षमा २–३ पटक रुघा लाग्छ । यो स्वाभाविक पनि हो । तर रुघा नलागेको समयमा पनि मलाई प्रायः ट्वाइलेट बसेको समयमा सिँगान आउँछ । अघि–पछि यस्तो हुँदैन तर ट्वाइलेट बसेको समयमा यस्तो किन हुन्छ । ट्वाइलेट र सिँगानको कुनै सम्बन्ध छ र ? कि यो संयोग मात्रै हो ? यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला ?
   – रामकुमार सत्याल, बागबजार, काठमाडौं

रामकुमारजी, तपाईंको समस्यामा देखिएको संयोगमा कुनै सम्बन्ध छैन । यी अलग–अलग कुरा हुन् । यो नितान्त व्यक्तिगत बानी हो । अलि–अलि गरेर बानी बस्न पनि गयो होला । साथमा आरामको बेलामा सिँगानमा ध्यान गएकोले पनि त्यस्तो भएको हो । फेरि काठमाडौंको धुवाँ–धुलोसहितको प्रदूषणले सिँगान, खकार अलि बढी आउने सबैको हुन्छ । यो स्वाभाविक पनि हो । यसबाट मुक्त हुन आस्ते–आस्ते बानी छोड्दै जाने गर्नुस् । त्यस्तै ट्वाइलेट बसेको बेलामा सम्झेर सिँगान नफाल्ने गरेमा पनि बानी छुटाउन सकिन्छ ।

म २१ वर्षीया किशोरी हुँ । मेरो विवाह भएको केही महिना भयो । अहिलेसम्म त आमा बन्नेवाला छैन । तर अब पनि केही वर्ष बच्चा नपाउने विचार छ । त्यसैले हामीले परिवार नियोजनको सबैभन्दा उत्तम उपाय के अवलम्बन गर्नुपर्ला ? साथै लामो समय परिवार नियोजनको साधन अपनायो भने पछि बच्चा नहुने सम्भावना हुन्छ पनि भनेको सुनेको छु । यो कत्तिको सत्य हो ?
     – श्यामा, काभ्रे

तपाईंहरुलाई परिवार नियोजनको अस्थायी साधन वा उपाय प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि दुवैजना कुनै स्वास्थ्य संस्था वा परिवार नियोजनको परामर्श केन्द्रमा जानुस् । त्यहाँ विद्यमान अस्थायी उपाय तथा साधनहरुमध्ये छलफल गरी आफूहरुलाई ठीक लाग्ने छान्नुस् । आजको समयमा महिलाले अपनाउने अलि धेरै साधन छन् । जसमध्ये हर्मोनयुक्त साधन एक हो । यसमा गुलाफ नामक दैनिक खाने चक्की, तीन महिने डिपो भन्ने सुई, नरप्लान्ट भन्ने पाखुराभित्र राख्ने क्याप्सुल पर्दछन् । त्यस्तै भौतिक अवरोधक साधनमा महिलाले लगाउने कन्डोम, डायफ्राम भन्ने पाठेघरको मुखमा लगाउने बिर्को, पाठेघरमा राखिने कपर टी पर्दछन् ।

यसै गरी शुक्रकीट मार्ने फोम चक्की पनि प्रयोग गर्न सकिन्छ । पुरुषका लागि भने कन्डोम मात्रै पाइन्छ । संयुक्तरुपमा प्रयोग गर्नेमा सुरक्षित तथा असुरक्षित समय विचार गरेर कुनै अस्थायी साधन उपयोग गर्न सकिन्छ । यिनीहरुमध्ये सबैजसो ९५ वा बढी प्रतिशत विश्वासिला छन् । कुनचाहिँ उपयुक्त भन्ने कुरा दम्पतीले सबै साधन वा उपायहरुको बारेमा छलफल, परामर्श गरी सबैको लाभ–हानि अनि सहजता तुलना गरेर आपसी सहमतिमा छान्ने कुरा हो । जहाँसम्म अस्थायी साधन भन्नाले केही समयको लागि भन्ने बुझिन्छ । यसको उपयोग नगर्नासाथ गर्भ हुने सम्भावना पहिलेकै अवस्थामा रहने हुनाले ढुक्क हुनुहुन अनुरोध छ । उचित परामर्शका लागि
शुभकामना !

मेरो उमेर ३१ वर्ष भयो । प्रायः मेरो आँखावरिपरिको छाला कालो हुन्छ । कुनै–कुनै दिन केही सुधार भएजस्तो हुन्छ तर अर्को दिन फेरि उस्तै । किन यस्तो हुन्छ ? यसको उपचार के होला ? कुनै औषधि भए जानकारी पाऊँ ।
        – उमा थापा, गैंडाकोट, नवलपरासी

उमाजी, शरीरका विभिन्न भागमा मेलानिन भन्ने तत्व छालामा बढी हुने हुनाले त्यो भाग अन्य भागभन्दा अलि गाढा अनि कालो हुनसक्छ । मेलानिनको घनत्वअनुसार सोही अनुरुप आँखावरिपरि पनि अलि–अलि गाढा देखिन सक्छ । त्यसबाहेक कोहीको अलि बढी हुनसक्छ भने कोहीको नगन्यरुपमा हुनसक्छ । तर तपाईंले भनेजस्तो दिनदिनै फेरिने हुँदैन, त्यस्तो महसुस भएको मात्र हो । त्यसको खास औषधि हुँदैन । तर पनि नयाँ–नयाँ प्रविधि अनि आविष्कार हुनसक्ने भएकाले कुनै छाला विशेषज्ञ भेटेर परामर्श गर्नुभएमा सही सल्लाह पाउन सकिनेछ । यी विशेषज्ञ चिकित्सक शिक्षण अस्पताल, वीर अस्पताल तथा अन्य मुख्य अस्पतालहरुमा भेट्न सकिने कुरा अवगत गराउन चाहन्छु ।

गत २ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा म मलेसियामा छु । यहाँ मेसिनमा काम गर्दा अचानक मेरो दाहिने हातको चोरी औंलाको टुप्पा काटियो । उपचारपछि अहिले घाउ त बिसेक भयो तर चोरी औंलाको टुप्पा नै नहुँदा काम गर्न अप्ठ्यारो हुने गरेको छ । टुप्पोसहितको औंला बनाउने कुनै उपाय भए काम गर्न सजिलो हुने थियो । जानकारी भए आभारी हुने थिएँ ।
  – अर्जुनबहादुर कार्की, सिन्धुपाल्चोक । हाल : मलेसिया

अर्जुनजी, आजकलको कस्मेटिक तथा प्लास्टिक सर्जरीले धेरै कुरा सम्भव गराएको छ । प्रोस्थेटिक औंला मिलाउन सम्भव छ तर यसको लागि विशेष सेवायुक्त अस्पतालमा जानुपर्ने हुन्छ । हाम्रो देशमा अझै त्यो तहको टेक्नोलोजी विकास भैसकेको नहुनाले नजिकैको देश भारत वा बैंकक गएर त्यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसरी उपयोग गरिएको प्रोस्थेटिक अंगले कत्तिको मिहिन अनि बलियो काम हुनसक्छ भन्ने कुरा वा सूचना सम्बन्धित चिकित्सक वा अस्पतालबाट प्राप्त गर्न सकिन्छ ।

म १९ वर्षकी किशोरी हुँ । मेरो अनुहारमा बेला–बेलामा दाद निस्किरहन्छ । साथै अनुहार पनि फुस्रो हुन्छ । मेरा अरु साथीको अनुहार रातोपिरो र सफा देख्छु, मेरोचाहिँ किन यस्तो भएको हो ? कुनै औषधि वा मलम भए बताइदिनुहुन्थ्यो कि ?
                                                                                                                                                                          – निरा

निराजी, अनुहारमा दाद निस्कने भनेको इन्फेक्सन भएमा वा सुख्खा भएमा तथा एलर्जी भएमा जेमा पनि हुन सक्छ । हाम्रो नेपाली भाषामा दाद भन्नाले धेरै किसिमका छालाका अवस्थालाई जनाउने हुनाले यत्ति भन्दैमा चिकित्सकको लागि स्पष्ट हुँदैन । जबसम्म आँखाले हेरेर, चिनेर निदान गरिँदैन तबसम्म छालारोग विशेषज्ञ स्पष्ट हुन सक्दैनन् । अनुहार फुस्रोसमेत भनेकाले सुख्खा अनुहारको छाला भएको अवस्था हुन सक्ने देखिन्छ । सुख्खा भएमा साबुनले अनुहार नधुने, तातो पानी अनुहारमा प्रयोग नगर्ने, अरुको हावादारी सल्लाहको भरमा अनुहारमा जे पायो त्यो नलगाउने, अनि नरम निभिया क्रिम लगाउने र जति सक्यो छिटो छालारोग विशेषज्ञ भेटेर परामर्श लिनुभएमा उचित सल्लाह पाइनेछ ।

म ४५ वर्षकी भएँ । मेरो अन्य प्रयोजनमा भिडियो एक्सरे गर्दा पित्तथैलीमा ९ एमएमको पत्थरी देखियो । तर अहिलेसम्म कुनै लक्षण पनि देखिएको थिएन, दुख्ने गरेको पनि थिएन । पित्तथैलीमा पत्थरी हुँदाका लक्षण के–के हुन् ? अब मैले के–के सावधानी अपनाउनुपर्ला ? विनाअप्रेसन पनि यो पत्थरी निकाल्न सकिन्छ कि ? पूर्ण जानकारी पाए आभारी हुनेथिएँ ।
– प्रतिमा खनाल, ठिमी, भक्तपुर

प्रतिमाजी, पित्तथैलीको पत्थर निकाल्ने अप्रेसनबाहेक अरु कुनै उपाय छैन । तर आजकल प्वाल पारेर सानो अप्रेसनबाट निकाल्न सकिने प्रविधि भित्रिएको छ । यसले गर्दा अस्पताल पनि एक–दुई दिन मात्रै बसे हुन्छ । पहिले–पहिले चिरेर ठूलो घाउ बनाई अप्रेसन गरिन्थ्यो, जुन ठूलै अप्रेसन भनेर मानिन्थ्यो । त्यस बेला अस्पतालमा ७–८ दिन नै बस्नुपथ्र्यो । अहिले धेरै नै सहज भएर गएको छ । पित्तथैलीको पत्थरी भएमा देखिने मुख्य लक्षण भनेको दुखाइ हो । त्यो पनि अधिकत्तर दायाँ करङको तल्लो किनारमा ठ्याकै पित्तथैलीको सीधा माथि हुन्छ ।

त्यो दुखाइ स्प्रिङजस्तो लाग्ने, छोड्ने हुन्छ । त्यसबाहेक खाना नरुच्ने, पेट ढाडिएजस्तो हुने, वाकवाक लाग्ने पनि हुनसक्छ । अहिलेसम्म नदुखेको र पत्थरी पनि सानो साइजको हुनाले अप्रेसनको हतार भएन । यिोजना बनाएर फुर्सदमा अप्रेसन गर्नु वाञ्छनीय हुन्छ । किनकि पत्थर राख्नुभन्दा फाल्नु राम्रो हो । अपनाउनुपर्ने सावधानीमा चिल्लो नखाने, एकैपटक धेरै पनि नखाने गर्नुस् । तपाईं भक्तपुरमै भएकाले सल्लाह लिन तथा अप्रेसन गर्न सजिलो हुन्छ । काठमाडौंका सबैजसो अस्पतालमा यो अप्रेसन हुन्छ । अरु गहन सल्लाह तथा गुणात्मक परामर्शका लागि पेटको वा जेनरल शल्यचिकित्सक भेटेर सल्लाह गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्