प्रजनन उमेरमा डिम्बाशयको सिस्ट



डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ

एक्काइस वर्षकी रुविना (नाम परिवर्तन) लाई केही दिनअघि तल्लो पेटको देब्रे भागतिर पीडा भयो । उनी तुरुन्तै स्वास्थ्य परीक्षणका लागि अस्पतालमा आइन् । उनको अल्ट्रासाउन्ड गराउने क्रममा तल्लो पेटको बायाँपट्टि डर्मोइड सिस्ट पलाएको पत्ता लाग्यो । छलफलका क्रममा रविनाले ठूलो घाउ नपारीकन अर्थात् ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गराउन चाहिन् । उनको यस लेखक कार्यरत अस्पतालमा नै शल्यक्रिया गरियो । अहिले अल्ट्रासाउन्डको व्यापक प्रयोगसँगै किशोरी एवं प्रजनन उमेरका महिलाहरुमा डर्मोइड सिस्टको निदान हुने क्रम नेपालमा पनि बढ्दो छ । डर्मोइड सिस्ट एक प्रकारको बिनाइन अर्थात् नन–नियोप्लास्टिक खालको ट्युमर हो ।

विभिन्न खाले डिम्बाशयको ट्युमर

त्यसो त बिनाइन, बोर्डरलाइन र क्यान्सर खालको गरी विभिन्न थरीका डिम्बाशयको सिस्ट एवं ट्युमर हुन सक्छ । बिनाइन खालको डिम्बाशयको नन–नियोप्लास्टिक ट्युमरमा शारीरिक जाँचको क्रममा डिम्बाशयको एकातर्पm मात्र हुन्छ । यस्तो ट्युमर चारैतिर चलायमान, छाम्दा कमलो हुन्छ । पेटमा पानी जमेको हुँदैन भने यस्तो ट्युमर वृद्धि ढिलो हुन्छ । प्रभावित महिलाको उमेर पनि कम नै हुन्छ । शल्यक्रियाको क्रममा पेटमा बढ्ता पानी जमेको हुँदैन । यस खालको ट्युमरको बाह्य सतह समथल परेको र चिल्लो हुन्छ । इन्डोमेट्रिओटिक सिस्टमा बाहेक अन्यमा यताउति टाँसिने हुँदैन । पेटभित्र गिर्खा बढेको हुँदैन ।

बोर्डरलाइन खालको ओभरियन ट्युमर कम डरलाग्दो हुन्छ । प्रभावित कोषभित्र क्यान्सरमा जस्तै परिवर्तन देखा परे पनि प्रायः एकातिरको डिम्बाशयलाई मात्र असर गर्दछ । समयमै उपचार गरेको खण्डमा ५ वर्षसम्म बाँच्ने सम्भावना शतप्रतिशत हुन्छ । ट्युमरको प्रकृति थाहा पाउन अर्थात् पक्का क्यान्सर हो वा होइन भनी खुट्याउन शल्यक्रियापछि मासु जाँचका लागि पठाउनुपर्दछ ।

क्यान्सर खालको डिम्बाशयको ट्युमरमा दुवैतर्फको डिम्बाशयलाई असर गर्दछ । यो त्यति चलायमान हुँदैन । अर्थात् यताउति गाँजिराख्ने हुनाले फिक्स्ड हुन्छ । ट्युमर छाम्दा कडा हुन्छ भने यसको सतह पनि अनियमित खालको हुन्छ । पेटभित्र धेरै पानी जम्मा भएको हुन सक्छ । यस्तो ट्युमर छिटो वृद्धि हुन्छ । प्रभावित महिलाको उमेर अलि बढी (प्रौढ) हुन्छ ।

शल्यक्रियाको क्रममा प्रायजसोमा पेटको पानी रगत मिश्रित हुन्छ । बाह्य सतह काउली वा अदुवाजस्तो अनियमित खालको हुन्छ । नजिकैको लिम्फनोड बढेर गिर्खा भेटिन्छ । यस्तो ट्युमर यताउति टाँसिने हुन्छ भने शल्यक्रियापछि ट्युमर रहेको डिम्बाशय काट्दा कडा खालको एवं ठाउँ–ठाउँमा रक्तश्राव भएको
प्रमाण मिल्छ ।

डर्मोइड सिस्ट

स्त्रीरोग विभागमा भर्ना हुने बिरामीमध्ये एकदेखि तीन प्रतिशतमा डिम्बाशयको ट्युमर हुन सक्छ । यसमध्ये ७५ प्रतिशत क्यान्सर खालको होइन, जसलाई मेडिकल भाषामा बिनाइन ट्युमर भनिन्छ । डिम्बाशयको विभिन्न कोषबाट उत्पन्न हुने बिनाइन ट्युमरमध्ये सबभन्दा बढी डर्मोइड (९० प्रतिशत सम्म) त्यसपछि सिरस सिस्ट एडेनोमा (४० प्रतिशत) र म्युसिनस सिस्ट (२० देखि २५ प्रतिशत) हुन सक्छ । यसरी समग्रमा डिम्बाशयमा हुन सक्ने ट्युमरमध्ये १५ देखि २० प्रतिशतमा डर्मोइडको समस्या हुन सक्छ । र, गर्भावस्थामा देखिने डिम्बाशयका सम्पूर्ण ट्युमरमध्ये २० देखि ४० प्रशिततमा डर्मोइड खाले हुन्छ ।

१५ देखि २० प्रतिशतमा डर्मोइड सिस्ट दुवै डिम्बाशयमा हुन सक्छ । १५ देखि २० प्रतिशतमा डर्मोइड सिस्ट बटारिने हुन्छ भने करिब एक प्रतिशतमा डर्मोइड सिस्ट फुट्ने जटिलता आउन सक्छ । करिब १ देखि २ प्रतिशत डर्मोइड क्यान्सरमा परिणत हुन सक्छ ।

डिम्बाशयमा पानी वा रस भरिएर डल्लो बन्ने अवस्थालाई मेडिकल भाषामा सिस्ट भनिन्छ । तर डर्मोइड सिस्टको समस्या विभिन्न कोष बन्ने तत्वबाट पलाउने भएकोले डर्मोइड सिस्टभित्र हड्डी, कार्टिलेज (कुरकुरे हाड), कपाल, दाँत, स्नायु तन्तु, थाइरोइड, र्याल ग्रन्थि, बोसोको लेदो भेटिन सक्छ ।

डर्मोइड सिस्टजस्तै महिलाको शरीरमा इस्ट्रोजेन हर्मोनको अधिक मात्राका कारण धेरै तथा मसिना डल्लो आउने (फोलिकुलर सिस्ट), त्यसै गरी डिम्बाशयबाट डिम्ब निस्किएपछि बाँकी रहेको भागमा अधिक रक्तश्रावको कारणले डल्लो आउने समस्या (कर्पस ल्युटियम सिस्ट), ह्युम्यान कोरिओनिक गोनाडो ट्रोफिनको अधिक उत्पादनका कारणले डल्लो आउने (ल्युटिन सिस्ट), अधिक एन्ड्रोजेन हर्मोनका कारणले स–साना डल्लाहरु (हारमालाजस्तै गरी डिम्बाशयको वरिपरि) आउने समस्या (पोलिसिस्टिक ओभरियन सिन्ड्रोम) र महिनावारीको क्रममा पाठेघरबाट उल्टो रक्तश्राव भई डिम्बाशयमा डल्लो आउने समस्या (इन्डोमेट्रियल सिस्ट) सामान्य खालका डिम्बाशयका समस्याहरु हुन् ।

समस्याको व्यवस्थापन

अल्ट्रासाउन्ड एवं डप्लरको माध्यमबाट डर्मोइड सिस्ट र यसमा रहेको रक्तप्रवाहबारे जानकारी पाउन सकिन्छ । पेटको एक्सरे एवं ल्याप्रोस्कोपी प्रविधिबाट डर्मोइड सिस्टको निदान गर्न सकिन्छ । तर पिसाब भरिएको अवस्था, गर्भावस्था, पाठेघरमा मासु पलाउने समस्या, पेटमा पानी भरिने समस्या, पाठेघरको साइडमा रहने बाक्लो लिगामेन्टको सिस्टसँग डर्मोइड सिस्ट झुक्किन सक्छ ।

डर्मोइड सिस्ट औषधि खाएर नपग्लिने र यसमा जुनसुकै बेलामा क्यान्सर लगायतका जटिलता उत्पन्न हुन सक्ने हुनाले डर्मोइडको समस्या पत्ता लाग्नासाथ जति सक्दो चाँडो शल्यक्रिया गराउनु राम्रो हुन्छ । डर्मोइडको समस्या भएकी महिलाको उमेर, उर्वरा क्षमता तथा बच्चा पाउने चाहनालाई विचार गरीकन सिस्ट मात्र निकाल्ने, एकातिरको डिम्बाशय नै निकाल्ने वा ४० वर्ष नाघेको भए पाठेघरसहित दुवैतर्फको डिम्बाशय निकाल्ने निर्णय गरिन्छ ।

जुनसुकै बेलामा क्यान्सर लगायतका जटिलता उत्पन्न हुन सक्ने हुनाले डर्मोइडको समस्या पत्ता लाग्नासाथ जति सक्दो चाँडो शल्यक्रिया गराउनु राम्रो हुन्छ । डर्मोइडको समस्या भएकी महिलाको उमेर, उर्वरा क्षमता तथा बच्चा पाउने चाहनालाई विचार गरीकन सिस्ट मात्र निकाल्ने, एकातिरको डिम्बाशय नै निकाल्ने वा ४० वर्ष नाघेको भए पाठेघरसहित दुवैतर्फको डिम्बाशय निकाल्ने निर्णय गरिन्छ ।

लक्षण तथा चिह्न

प्रजनन उमेरको पछिल्लो समयताका आउने नन–नियोप्लास्टिक डिम्बाशयको ट्युमर प्रायजसो महिलामा विना कुनै लक्षण–चिन्ह वा तल्लो पेटमा डल्लो आउनुको कारण खुट्याउने क्रममा अल्ट्रासाउन्ड गर्दा वा ल्याप्रोस्कोपी अप्रेसनको समयमा यस्तो समस्या पत्ता लाग्छ । डर्मोइड सिस्टको जरा बटारिने, यसभित्र रक्तश्राव हुने, संक्रमण हुने, फुट्ने, क्यान्सरमा परिणत हुनेजस्ता जटिलता उत्पन्न हुन सक्छ । डिम्बाशयका ट्युमरहरुमध्ये डर्मोइड सिस्टमा बढ्ता जटिलता उत्पन्न हुन सक्छ । अन्य जटिलताको दाँजोमा क्यान्सरमा परिणत हुने जटिलता गम्भीर प्रकारको हो । डर्मोइड सिस्टमध्ये १ देखि २ प्रतिशत क्यान्सरमा परिणत हुन सक्छ ।

तर कसै–कसैमा सिस्टको आकार बढेसँगै तल्लो पेट भारी हुँदै जान्छ । तल्लो पेट फुल्ने हुन सक्छ । सिस्टको आकार ठूलो भएमा तल्लो पेट छाम्दा प्रायजसोमा नरम खालको डल्लो महसुस हुन्छ । पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) मा भन्दा डिम्बाशयको ट्युमर प्रायः चारैतिर चलायमान हुन्छ । योनिद्वारबाट आन्तरिक जाँच गर्ने क्रममा डिम्बाशयको ट्युमर पाठेघरबाट छुट्टै भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्