यौन परिकल्पना र हस्तमैथुनको लत



डा. राजेन्द्र भद्रा

म २७ वर्षको अविवाहित युवा हुँ । १५ वर्षको हुँदादेखि हस्तमैथुनको लत बसेको छ । पहिले–पहिले दिनमै कैयौंपटक हस्तमैथुन हुन्थ्यो । अझै पनि हप्तामा तीन–चारपटक हस्तमैथुन हुने गर्छ । प्रायः राति सुत्नुअघि अश्लील चलचित्रको दृश्य वा कुनै स्त्री सम्झेर हस्तमैथुन नगरी सुत्न सकिँदैन । नेटमा बस्दा काममा भन्दा अश्लील चलचित्र हेर्न बढी उत्साहित हुन्छु । जोसुकै स्त्रीसँग स्पर्श हुँदा लिङ्ग आफैं उत्तेजित भएर आउँछ । स्त्रीको पेन्टी, स्कर्ट, सारी एकान्तमा भेट्यो भने स्पर्श गर्छु र त्यसको साथै हस्तमैथुन हुन्छ । जीवनमा दुई–तीनपटक मात्र यौनसम्पर्क गरेको छु, जसमा चाँडै स्खलित भएको महसुस छ । भावी जिन्दगीमा यस कुराले मलाई के–कस्तो असर पर्ला भनेर चिन्तित छु । सल्लाह–सुझाव पाउँछु कि भन्ने अपेक्षा गर्दछु ।
– मनिष लामा

यौन परिकल्पना, उत्तेजना र हस्तमैथुन

तपाईं हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो भनेर जानकार हुनुहुन्छ होला । विशेष गरेर यौन तनावबाट मुक्ति पाउन यो एक उत्तम उपाय हो । हस्तमैथुन गर्दा आफूलाई उत्तेजित गर्न यौन संवेदनशील अङ्ग जस्तै कि लिङ्गको स्पर्श वा मर्दन गरिन्छ भने अर्कोतिर यौन परिकल्पनाको सहयोग लिइन्छ ।

हामीलाई थाहै छ, हाम्रा इन्द्रियहरुबाट सन्देश प्राप्त गरेर मस्तिष्कले त्यसलाई अथ्र्याएपछि त्यसलाई बुझ्ने गरिन्छ । इन्द्रियबाट प्राप्त गरिने सन्देश यौन उत्तेजक भए यौन उत्तेजना बढ्छ । यसमा स्पर्श, दृष्टि, श्रव्य, स्वाद अनि श्रवण सबै नै पर्दछन् । स्पर्श एक महत्वपूर्ण यौन उत्तेजना गराउने सन्देश हो । किशोरावस्थामा स्वतः वा अति नै थोरै सन्देशले पनि लिङ्ग उत्तेजित हुने हुन्छ । तर यस्तो हुने क्रम उमेर बढ्दै गएपछि कम हुँदै जान्छ तर तपाईंको स्थितिमा अझै पनि थोरै तथा सामान्य स्पर्शले यस्तो हुने देखिएकाले तपाईंले यौन भावनाको व्यवस्थापन गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ । दृश्यको कुरा गर्दा महिलाको शरीर पुरुषलाई यौन आकर्षक लाग्न सक्छ । जसले गर्दा यौनसम्पर्क गर्न मन लाग्ने हुन्छ ।

तर मस्तिष्कले यौनसम्बन्धी कुरा सोचे मात्रै पनि यौन उत्तेजना बढ्छ । यो एक किसिमले यौन परिकल्पना हो । यस्ता कल्पना व्यक्तिका आफ्ना पुराना अनुभवमा आधारित वा नितान्त कल्पित र नौला किसिमका हुने देखिन्छ । प्रायजसो स्थितिमा दुवै थरीको मिश्रण हुने देखिन्छ । हस्तमैथुन गर्ने प्रक्रियामा निकै यौन परिकल्पनाको प्रयोग हुने गर्दछ । अल्फ्रेड किन्सेका अनुसार लगभग सबै नै पुरुषले र ६४ प्रतिशत महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्ने कुरा उल्लेख गरेका छन् ।

मानव यौनजीवनमा प्रशस्तै यौन परिकल्पना हुने गर्दछ । यस्ता यौन परिकल्पनामा समाजमा स्वीकार्य कुरादेखि एकदमै अमान्य कुराहरूसम्म पर्ने गर्दछन् । व्यक्तिअनुसार अति नै विविधता भेन्टिन्छ, यौन परिकल्पनाका किसिमका बारेमा । यौन परिकल्पनाबाट व्यक्तिले प्रशस्तै आनन्द उठाए पनि यसको प्रकृति यदि फरक किसिमको भएमा असहज हुने गरेको पाइन्छ । कसैले फरक किसिमको यौन परिकल्पनालाई सहजरुपमा लिन सक्छन् भने कतिले पीर गरी ग्लानि भाव बोकेर जिउँछन्, जसको नकारात्मक असर नै पर्न सक्छ, यौन जीवनमा । तपाईंले यौन परिकल्पना प्रयोग गरेर आनन्द उठाउनुभए पनि केही असहजपन भएको देखिन्छ । तर सही तरिकाले प्रयोग गर्न सकिए यौन परिकल्पनाले यौनलाई विभिन्न किसिमले मानसिक तथा शारीरिक दुवै पक्षमा फाइदा पर्याउन सक्छ ।

मानव वास्तवमा नै कल्पनाशील हुन्छ । काल्पनिक दुनियाँमा विचरण गर्न चाहन्छ । तर अर्को यथार्थ के पनि हो भने, यौनसम्बन्धी संकुचित मूल्य मान्यता हुने भएकाले अन्य कतिपय कुराको जस्तो नयाँ कुराहरूलाई चाहेअनुरुप उपयोग गर्न भने सक्दैन । वास्तविक जीवनमा प्रयोग गर्न नसकिने कुरालाई पनि यस्ता कल्पनाले सहयोग नै प्रदान गर्दछ । यसले एक सुरक्षित वातावरण प्रदान गर्दछ । यसो गर्दा जति नै अमान्यजस्तो कुराको कल्पना गर्ने गरे पनि कसैलाई हानि पुग्दैन । समाजमा अमान्य मानिएका सम्बन्ध, परिस्थिति वा यहाँसम्म कि गैरकानुनी मानिएका कुराहरूमा समेत यौनसम्पर्क राखिएका वा यौनक्रियाकलापमा संलग्न भएका कल्पना गर्न सकिन्छ, कुनै व्यक्तिलाई नकारात्मक प्रभाव नपारीकनै ।

महिलाको भित्री लुगाबाट यौन उत्तेजना

मानव क्रियाकलापमध्ये यौन क्रियाकलाप अति नै गोप्य क्रियाकलाप हो । तर गहिरिएर हेर्ने हो भने हाम्रो धेरैजसो क्रियाकलाप यौनबाट निर्देशित भएको पाउँछौं । यसै सन्दर्भमा प्रत्येकजसो समाजले मूल्य मान्यता बनाएका हुन्छ । त्यसको परिधिभित्रका क्रियाकलापलाई सामान्य अनि सभ्य मानिन्छ । तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्तिहरू समाजमा पाइन्छन् । यौनको सन्दर्भमा पनि यो लागू नहुने कुरै भएन । यस्ता व्यवहारलाई अंग्रेजीमा प्याराफिलिया भनिन्छ । यो प्याराफिलिया भन्ने शब्द ग्रीक भाषाको उबचब र उजष्ष्बि मिलेर बनेको शब्द हो । प्याराको अर्थ बाहेक वा नजिकैको भन्ने बुझिन्छ भने फिलियाको अर्थ प्रेम वा मित्रता बुझाउँछ । मनोविज्ञान वा यौनविज्ञानमा यसको विशेष अर्थ हुन्छ । तपाईंले सन्देशमा लेख्नुभएको कुराको विश्लेषण गर्दा तपाईं पनि यस्तै प्याराफिलियामध्ये एक हो ।

यौन उत्तेजना प्राप्तिको लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तुको प्रयोगलाई अंग्रेजीमा फेटिसिजम भनिन्छ भने यस्ता व्यक्तिलाई फेटिसिस्ट भनिन्छ । उदाहरणको लागि यसमा जुत्ता, महिलाको भित्री लुगा, पञ्जा वा कोमल वस्त्रको प्रयोग भएको पाइन्छ । कहिलेकाहीँ विशेष वस्तुले बनेको कुराप्रति पनि हुनसक्छ । जस्तै कि छाला, रबर, रेशम वा भुवा । कहिलेकाहीँ उनीहरू ती वस्तुको चोरी गर्नसमेत पछि पर्दैनन् । त्यसै गरी एबचतष्बष्किm ले भने कुनै यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको शरीरको अङ्ग संलग्न भएको कुरालाई जनाउँछ । पैताला, खुट्टाको बूढीऔंला तथा कपाल प्रायः यसमा प्रयोग गरिने अङ्गहरू हुन् ।

यस्ता व्यक्तिले आफ्नो यौन सन्तुष्टिको लागि प्रायः यसलाई हातमा लिने, शरीरमा दल्ने, चाख्ने वा सुँघ्ने गर्दछन् । केहीलाई त यी वस्तुको तस्वीर मात्रैले पनि यौन उत्तेजना गराउन सक्छ । अन्डरवयरसँगको सेक्सुअल फेटिसिजमलाई अन्डरवयर फेटिसिजम भनिन्छ भने अन्य लुगा विशेषको फेटिसिजमलाई गार्मेट फेटिसिजम भनिन्छ । फेटिस्टहरूको यौन क्रियाकलाप विशेषतः यस्ता वस्तु वा शरीरका अन्य अङ्गको प्रयोगमा केन्द्रित भएको पाइन्छ । फेटिसिजम नभएका व्यक्ति यस्ता वस्तु वा अङ्गबाट कहिलेकाहीँ यौन उत्तेजित भए पनि उनीहरू यसैमा स्थिररुपमा केन्द्रित भने हुँदैनन् । यस्ता समस्या भएका व्यक्ति यस्ता वस्तुको प्रयोग भएको स्थितिमा मात्र यौन उत्तेजित हुने र यौन चरमसुख प्राप्त गर्न सक्ने स्थितिमा हुन्छन् । अन्य अवस्थामा उत्तेजना भइहाले पनि
थोरै मात्र हुने गर्दछ ।

यस्तो किन हुन्छ ?

यो कुरा भन्न सजिलो भने छैन । हामीले नबुझ्ने कुरा वा अनौठो क्रियाकलाप भएमा हामी त्यसलाई अस्वीकृत गरिदिन्छौं । यस किसिमको अनौठो व्यवहार किन हुन्छ त भन्ने बारेमा अनेक सिद्धान्तहरू छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ । धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेर लिएका छन् । यस्ता व्यक्तिमा सम्बन्ध विकास गर्ने क्षमता कमी भएको मानिन्छ । संयोगवश आकस्मिकरुपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौनसुख गाँसिएको अवस्थामा कुनै व्यक्तिले सोही कुरा बाम्बार दोहो¥याएर यौनसुख प्राप्त गर्न खोज्छ भने यो त्यसैको परिणाम हो भन्ने पनि गर्दछन् ।

अहिले महिलाको भित्री वस्त्रलाई कामुकताको एक प्रतिकको रुपमा प्रस्तुत गरिएका विज्ञापन पनि प्रशस्तै छापा तथा विद्युतीय सञ्चारमाध्यममा छन् । यसको प्रभाव कत्तिको छ, भन्न सकिने स्थिति भने छैन । सामान्य सामाजिक यौनसम्पर्कबाट यौनेच्छा पूरा गर्न वञ्चित भएको व्यक्तिले त्यसको कमीको पूर्तिका लागि यस्तो सामाजिकरुपमा कम मान्य हुने व्यवहारतिर लाग्ने गर्दछ । फेरि पुरुषहरुको हकमा उसको आफ्नो पुरुषत्व, यौनक्षमता तथा अस्वीकार गरिने र अपमानित हुनै भयको कारणले पनि गैरमानव वस्तुबाट यौन आनन्द लिने प्रयास गरिन्छ ।

समाधान पनि छ

समाधानको कुरा गर्दा यसले कत्तिको समस्या पारेको छ भन्ने कुरालाई विचार गर्नुपर्ने हुन्छ । यसको निदान गर्ने आधारको कुरा गर्दा व्यक्ति कुन हदसम्म पुगेको छ भन्ने कुरालाई हेर्नुपर्छ । ऊ विपरीत लिङ्गीको यौनाङ्गबाहेक अन्य कुरा संलग्न गरी बारम्बार तीव्र किसिमको यौन परिकल्पना गर्छ वा कम्तीमा पनि ६ महिनासम्म तीव्र इच्छा÷व्यवहार देखाउँछ र यसको कारणले धेरै सामाजिक तथा व्यक्तिगत कार्य सबै अस्तव्यस्त हुन गएको अवस्थामा उपचारका लागि प्रत्यत्न गर्नु जरुरी छ ।

उपचारका लागि विभिन्न विधि अपनाउन सकिन्छ । जस्तै– मनोविज्ञान , सम्मोहन , संज्ञानात्मक र व्यावहारिक थेरापी  को प्रयोग गर्न सकिन्छ । अचेल यस्ता विधिका साथसाथै विभिन्न औषधिको प्रयोग गर्ने विधि पनि चलनमा आएको छ । यस्ता कुराले तपाईंको यौन तथा सामाजिक जीवन नै अस्तव्यस्त बनाएको छ भने उपचारको आवश्यकता पर्दछ । तर यहाँ मनोचिकित्सकको सहयोग लिनु अपरिहार्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्