महिना नै नपुगी सुत्केरी व्यथा जटिल समस्या



डा. सुमनराज ताम्राकार
स्त्रीरोग विशेषज्ञ

महिना नपुग्दै व्यथा लागी जन्मेका बच्चा प्रायः २५०० ग्रामभन्दा कम तौलका हुन्छन् । उचाइ पनि ४४ सेन्टिमिटरभन्दा कम, छातीको तुलनामा टाउको र पेट ठूलो हुन्छ । कानको लोती नरम र फराकिलो, आँखा प्रायः बन्द अवस्थामा, छाला पातलो र रातो, शरीर पूरै कमलो रौंले ढाकिएको, मांसपेशी कमजोर, पैतालामा रेखा नभएको, केटा शिशुमा अण्डकोष झरिनसकेको र केटी शिशुमा बाहिरको योनिपत्रले योनिद्वार राम्ररी नढाकिएको हुन्छ ।

बि हे भएको लामो समयसम्म बच्चा नभएका कारण जाँचपड्ताल गराउने क्रममा प्रबिनाको डिम्बवाहिनी नलीमै समस्या देखियो । यस्तो परिस्थितिमा टेस्टट्युब बेबी भनिने कृत्रिम गर्भाधान गराउनु वा धर्मपुत्र, पुत्री पाल्नुको विकल्पबाहेक रहँदैन । पेसाले नर्सिङ प्रबिनाले श्रीमान्सँगको आपसी सल्लाहमा खर्चिलो नै भए पनि कृत्रिम गर्भाधान गराइन् । कृत्रिम गर्भाधानको एउटा जटिलता एकभन्दा बढी शिशु अर्थात् जुम्ल्याहा, तिम्ल्याहा हुनसक्छ । नभन्दै प्रबिनाको गर्भमा जुम्ल्याहा शिशु भएको निक्र्यौल भयो । त्यसै पनि निकै महत्वको यो गर्भको क्रममा प्रबिनामा विभिन्न समस्या आइपरे । जेनतेन गर्भावस्था अगाडि बढ्दै थियो । सात महिना पूरा भएर आठ महिना के टेकेको मात्र थियो, एक बिहान प्रबिनालाई आफ्नो यौनांगबाट पिसाबजस्तै केही सुलुलु बगेको जस्तो अनुभूति भयो । एक झमटमै अस्पताल आएपछि थाहा भयो, महिना पुग्नुअगावै गर्भेशिशुवरिपरिको पानीको थैलो फुटेर व्यथा लाग्न लागेको रहेछ । चिकित्सकको सल्लाहमा सिजेरियन अपरेसन गराउनुको विकल्प रहेन ।

महिना नपुग्दै जन्मेको कारणले दुवै शिशुको फोक्सो परिपक्व भएको थिएन । आमालाई आमा बन्नुको खुशी प्राप्त हुनुअगाडि तथा शिशुहरुलाई पनि मातृवात्सल्य पाउनुअगावै शिशुहरुलाई शिशु सघन उपचार कक्षमा राखी फोक्सो बलियो पार्ने सर्पेmक्टेन्ट, संक्रमणबाट बचाउन एन्टिबायोटिक, शिशुहरुको रक्तवहावमा समस्या आएका कारण रक्तपदार्थ, आमाको दूध चुस्न नसक्ने, खान नपाएको कारणले सलाइनबाट तागत दिनुको विकल्प रहेन । डाक्टर र नर्सहरुको मेहनत र प्रबिना दम्पती अनि परिवारको धैर्यता र लगावले राम्रै नतिजा निस्क्यो । महिना नपुग्दै व्यथा लाग्दा सबैको भाग्यमा प्रबिनाको जस्तै सफलता हात लाग्ला भन्ने हुँदैन ।

मानिसको गर्भ अवधि करिब ४० हप्ता वा २८० दिनको हुन्छ । अधिकांश ९करिब ८० प्रतिशत० गर्भवती महिलाहरुले महिनावारी रोकिएदेखि हिसाब गरी निकालेको बच्चा पाउने मितिको दुई हप्ताअघि र एक हप्तापछि बच्चा पाउँछन् । विकान्सोमुख देशहरुमा गर्भावस्थाको २८ हप्तापछि तर ३७ हप्ताअगावै सुत्केरी व्यथा शुरु भयो भने महिना नपुग्दै व्यथा लागेको मानिन्छ ।

गर्भवती महिलाहरुमध्ये करिब ५ देखि १० प्रतिशतमा हुने महिना नपुग्दै व्यथा लाग्ने समस्याका कारण नवजात शिशुको मृत्यु तथा बिरामी हुने दर अत्यधिक हुन्छ । कतिपय अवस्थामा महिना नपुग्दै व्यथा लाग्ने समस्याको खास कारण थाहा नभए पनि प्रायः एकभन्दा बढी कारक तत्वहरुको समिश्रणले गर्दा हुन्छ ।

व्यथा लाग्नुपूर्वका लक्षणहरु
सामान्यतया पाठेघर पटक–पटक दुख्न थाल्नु, पाठेघरको मुख पातलिनु तथा गर्भेशिशुको टाउको पुट्ठाका भित्रको हड्डीभित्र जानु महिना नपुग्दै व्यथा लाग्नुका पूर्वलक्षणहरु हुन् । विनापीडा पाठेघर खुम्चिनु, फुक्नुका साथै पाठेघरको मुख २ सेन्टिमिटरभन्दा बढी खुल्नु, पाठेघरको मुख ८० प्रतिशतभन्दा बढी पातलिनु, पुठ्ठाको हड्डीमा चाप बढ्नु, कम्मर दुख्नु, हल्का रगतमिश्रित योनिश्राव हुनु, व्यथापूर्व रक्तश्राव हुनुचाहिँ मेडिकल भाषामा महिना नपुग्दै व्यथा लाग्न लागेकोका पूर्वसंकेतहरु हुन् । जसलाई अल्ट्रासाउन्ड गर्दा पाठेघरको मुख २।५ सेन्टिमिटरभन्दा कम भयो भने थप प्रमाणित हुन्छ ।

महिना नपुग्दै व्यथा लाग्नेको व्यवस्थापनका लागि सम्भव भएसम्म रोकथाम गर्ने, खतरा नभए व्यथाको रोकथाम गर्ने, व्यथा रोक्नै नसकिने भए उचित उपचार गर्ने र यस क्रममा नवजात शिशुको स्याहार
सघनरुपमा गर्नुपर्दछ ।

महिना नपुगी जन्मेका शिशुका चिह्नहरु
महिना नपुग्दै व्यथा लागी जन्मेका बच्चा प्रायः २५०० ग्रामभन्दा कम तौलका हुन्छन् । उचाइ पनि ४४ सेन्टिमिटरभन्दा कम, छातीको तुलनामा टाउको र पेट ठूलो हुन्छ । कानको लोती नरम र फराकिलो, आँखा प्रायः बन्द अवस्थामा, छाला पातलो र रातो, शरीर पूरै कमलो रौंले ढाकिएको, मांसपेशी कमजोर, पैतालामा रेखा नभएको, केटा शिशुमा अण्डकोष झरिनसकेको र केटी शिशुमा बाहिरको योनिपत्रले योनिद्वार राम्ररी नढाकिएको हुन्छ ।

शिशुमा देखिने जटिलता
सुत्केरी व्यथाका क्रममा निस्सासिने, शारीरिक तापक्रम नियन्त्रणमा राख्न नसक्ने, श्वासप्रश्वास प्रणालीमा विभिन्न समस्या देखा पर्ने, टाउकोभित्र रक्तश्राव हुने, बेहोस हुने, मुटु फेल खाने, पिसाब कम हुँदै गई पटक्कै नहुने, विभिन्न खाले संक्रमण ९ब्रोङ्कोनिमोनिया, मेनिन्जाइटिस, आन्द्रा सुन्निने० को सम्भावना निकै बढ्ने, पहेँलोपन ९जन्डिस० बढ्ता देखा पर्ने, रक्तअल्पता हुने तथा आँखाको पर्दा तथा नानीमा समस्या आई अन्धोपन हुनेजस्ता जटिलताहरु महिना नपुग्दै व्यथा लागी जन्मेका शिशुहरुमा हुनसक्छ ।

महिना नपुग्दै जन्मेका शिशुको तौल १५०० ग्रामभन्दा माथि भए ९५ प्रतिशत बच्ने सम्भावना हुन्छ । राम्रो सघन उपचार दिन सकेको खण्डमा ७५० देखि १५०० ग्राम तौल हुने शिशु बच्ने सम्भावना ८० प्रतिशतसम्म हुन्छ । यदि गर्भावस्थाको अवधि २४ हप्ताअगाडि र शिशुको तौल सरदर ७०० ग्रामभन्दा कम हुँदा मृत्यु हुने सम्भावना ९७ प्रतिशतभन्दा बढी हुन्छ ।

माथि उल्लिखित जोखिम तत्वहरु तथा जन्मजात शारीरिक समस्या (विकलांग) का कारणले जन्मेको ४८ घन्टाभित्रै करिब दुई तिहाइ यस्ता नवजात शिशुको मृत्यु हुने सम्भावना हुन्छ । यदि बाँचिहालेमा पनि सुस्त मनस्थितिका, कान कम सुन्ने, बानीव्यहोराको समस्या, जीर्ण प्रकारको फोक्सोको समस्या, शारीरिक वृद्धि विकासमा समस्या हुने एवं पछि मुटुको रोगी हुनसक्छ ।

रोकथाम कसरी गर्ने ?
कतिपयमा महिना नपुग्दै व्यथा लाग्नुको स्पष्ट कारण थाहा नभए पनि यसका कारक तत्वहरु जस्तै– पिसाबको तथा स्त्री–जननेन्द्रियको संक्रमणको समयमै उपचार गर्न, नियमित गर्भवती जाँच गराएको खण्डमा पाठेघरको आकार ठूलो भएको एवं पाठेघर, गर्भवती महिला तथा गर्भेशिशुमा केही खराबी भए पत्ता लगाई उचित उपचार गर्न, महिना नपुग्दै व्यथा लागेको शंका लागेमा पाठेघरलाई शान्त बनाउने औषधि चलाउन सकिन्छ । यदि व्यथा बढ्दै गएमा गर्भेशिशुको फोक्सो पाको हुने औषधि ९कृत्रिम सर्पेmक्टेन्ट० दिने तथा नवजात शिशुलाई सघन उपचारको व्यवस्था भएको अस्पतालमा रेफर गर्नुपर्दछ । सर्फेक्टेन्टले श्वास भित्र तान्ने क्रममा स–साना फोक्सोभित्रका वायुथैली फुक्न मद्दत गर्दछ । यस्तो सर्फेक्टेन्ट महिना नपुग्दै व्यथा लागी जन्मेका शिशुको श्वासनलीमा बनिसकेको हुँदैन ।

ल्याब जाँचको क्रममा महिना नपुग्दै बेथा लागी आएका गर्भवती महिलाको श्वेत रगतको संख्या, पिसाबको सामान्य तथा कल्चर जाँच, योनिश्रावको कल्चर एवं फाइब्रोनेक्टिनका साथै अल्ट्रासाउन्डबाट बच्चाको स्वस्थता, पाठेघरको मुखको लम्बाइ एवं सालको स्थिति थाहा पाउन सकिन्छ । फाइब्रोनेक्टिन नामक प्रोटिनले भ्रूणवरिपरिको झिल्लीलाई पाठेघरको भित्री तहमा टाँसिन मद्दत गर्दछ । गर्भावस्थाको २४ हप्तादेखि ३४ हप्तामा योनिश्रावमा फाइब्रोनेक्टिन देखिनुलाई महिना नपुग्दै सुत्केरी हुन लागेकोको सूचक मानिन्छ ।

यदि आमा तथा बच्चाको स्वास्थ्य ठीक अवस्थामा छ भने प्रतिजैविक ९एन्टिबायोटिक० एवं बेथा रोक्ने तथा बच्चाको फोक्सो परिपक्व हुने औषधि ९सर्पेmक्टेन्ट० चाहिने, पूर्ण आराम, यथेष्ट सलाइन पानी चाहिने, सुत्केरी व्यथाका बेला बच्चा र आमाको निरन्तर हेरचाह गर्नुपर्ने, सुत्केरीको क्रममा फोरसेपको जरुरत पर्ने, नवजात शिशुलाई सघन कक्षमा राखी उपचार गर्नुपर्ने हुनाले अस्पतालमा नै सुत्केरी गराउनुपर्दछ ।
यदि पानीको थैलो फुटिसकेको, बच्चावरिपरिको झिल्लीको संक्रमण भइसकेको, गर्भवती महिलामा मधुमेह, रक्तचाप, मुटुको एवं थाइरोइडको स्वास्थ्य समस्या भएको तथा बच्चाको मुटुको धड्कन तल–माथि भएको भए, पेटभित्र बच्चा मरिसकेको भए, बच्चा ३४ हप्ताभन्दा बढी वा पाठेघरको मुख ४ सेमि बढी खुलिसकेको भए सुत्केरी व्यथा रोक्नतर्फ लाग्नुहुँदैन ।

महिना नपुग्दै व्यथा लाग्नुको कारण
पहिला पटक–पटक गर्भ तुहिएको, पहिले पनि महिना नपुग्दै व्यथा लागेको, पटक–पटक मूत्रनली संक्रमण भएको, धूमपान गर्ने बानी, कमजोर आर्थिक स्थिति, नाजुक पोषण स्थितिका कारण महिना नपुग्दै व्यथा लाग्ने समस्या हुनसक्छ ।

यसको अलावा गर्भावस्थामा उच्च रक्तचाप हुनु, व्यथाअगावै रक्तश्राव हुनु, गर्भेशिशुवरिपरि पानीको मात्रा बढी हुनु, पानीको थैलो फुट्नु ९सानो सुतक हुनु०, पाठेघरको मुख खुकुलो हुनु, जुम्ल्याहा बच्चा हुनु, पाठेघरमा जन्मजात खराबी हुनु, गर्भेशिशुमा जन्मजात केही शारीरिक खराबी हुनु, साल गलत ठाउँमा बस्नु वा व्यथापूर्व नै छुट्टिनु, सालमा रगतको आपूर्ति कम हुनु, पेटभित्रै शिशुको मृत्यु हुनु, उच्च ज्वरो आउनु, मृगौलाको संक्रमण हुनु अन्य कारक तत्वहरु हुन् । त्यसै गरी ब्याक्टेरियल भजाइनोसिस, स्ट्रेप्टोकोकस, ब्याक्टेरोइड्स, क्लामाइडिया तथा माइकोप्लाज्मा जस्ता जीवाणुहरुका कारणले स्त्री जनेन्द्रीयसम्बन्धी संक्रमण हुँदा पनि महिना नपुग्दै व्यथा लाग्ने समस्या हुनसक्छ ।

यी कुनै पनि कारण ९संक्रमण, पाठेघरको आकार ठूलो, पाठेघर, आमा तथा गर्भेशिशुमा केही खराबी० ले गर्दा पाठेघरको मांसपेशी खुम्च्याउने र पाठेघरको मुखलाई पातलो बनाउने रासायानिक पदार्थहरु उत्पन्न भई महिना नपुग्दै व्यथा लाग्ने एवं गर्भेशिशुवरिपरि पानीको थैलो फुट्ने ९सानो सुतक हुने० समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्