सुविधासम्पन्न बालअस्पताल स्थापना हुने



वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बालबालिकाको बहुआयामिक उपचार गर्ने सुविधासम्पन्न अस्पताल स्थापना हुने भएको छ । शुरुमा एक सय बेडको केन्द्रीय स्तरको अस्पताल काठमाडौंमा स्थापना गर्ने र त्यसपछि ५० बेड क्षमताको अस्पताल सातै प्रदेशमा स्थापना गर्ने लक्ष्य रहेको डा. कोइरालाले जानकारी दिनुभएको छ ।

सो कार्यका लागि डा. कोइरालाको नेतृत्वमा काठमाडौं इस्टिच्युट अफ चाइल्ड हेल्थ नामक संस्था स्थापना गरिएको छ । सो संस्थाले करिब २ अर्ब रुपियाँ संकलन गरी सन् २०२२ सम्ममा बहुउपचार विशेषता भएको गैरनाफामूलक गुणस्तरीय बालअस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । सो प्रयोजनका लागि करिब ४० रोपनी जग्गा लिजमा लिने सरकारसँग सहमति भइसकेको डा. कोइरालाले जानकारी दिनुभएको छ ।

मुलुकमा कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या बालबालिकाको छ र जन्मेदेखि किशोर हुने अवस्थासम्म बालबालिकाको बहुआयामिक उपचार गर्ने सुविधा भएको अस्पताल नेपालमा हालसम्म नभएकोले यस किसिमको अवधारणा अघि सारिएको डा. कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्