निःशुल्क स्वास्थ्य सेवा पाउन कठिनः वर्ष पुस्तक



प्रार्थमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकमा राज्यले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका उपचार तथा औषधिहरु आमसर्वसाधारणले प्राप्त गर्न नसकिरहेको उल्लेख छ ।

सरकारी स्वास्थ्य केन्द्रहरुमा औषधिको अभाव रहेको, स्वास्थ्य सेवा केन्द्रहरु पूरा समय नखोल्ने, वृद्ध नागरिकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध नगराइएको, प्रसूति सेवामा यातायात खर्च दिने भनिए तापनि सबैले पाउन नसकेको, सरकारी स्वास्थ्य केन्द्रहरुले बिरामीलाई निजी अस्पतालमा जान प्रोत्साहित गर्ने गरेको र स्वास्थ्य केन्द्रहरुमा जातीय विभेद गर्ने गरिएको सो पुस्तकमा उल्लेख छ ।

२०७५ सालमा ५९ जिल्लामा गरिएको अध्ययनका आधारमा सो पुस्तक तयार गरिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जानकारी दिनुभएको छ । सो पुस्तक असार ६ गते राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा उहाँले स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा नै उल्लेख गरिए तापनि विभिन्न बहानामा त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका मोहम्मद खुर्सिद अलाम हैदर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष डा. शरदराज वन्तले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्