स्तनपनासँगै खाना खुवाउन हुन्छ कि हुन्न ?



प्रा. जया प्रधान ( पीएचडी पोषण )

परिचित मित्र उषाले ५ महिनाको छोरालाई स्तनपान गराउनुका साथै अन्य खाना खुवाउन थालेपछि विभिन्न समस्या देखिए । बालकले आमाको दूध खान रुचाएन, राम्ररी सुतेन, काखमा बस्न पनि मानेन, भुइँमा राख्दा पनि रुने भयो । ५/६ दिनको अन्तरालमा पखाला पनि लाग्न थाल्यो । यसले उनलाई चिन्तित बनाएयो । परिवारका सदस्यहरुले यो ठूलो समस्या होइन, बिस्तारै ठीक हुन्छ, चिन्ता लिनुपर्दैन, बच्चालाई आमाको दूधको साथै अन्य खाना दिँदा शुरुमा यस्ता समस्या देखिनु सामान्य नै हो भने ।

हो ! बच्चाहरुलाई आमाको दूधका साथै अन्य ठोस खानेकुरा खुवाउँदा शुरुमा उनीहरुको नयाँ खानाप्रति रुचि हँदैन । पचाउन गाह्रो भई दिसा–पखाला लाग्नेजस्ता समस्या आउन सक्छ । तर यस प्रकारको समस्या लामो समयसम्म भइरह्यो भने बच्चाहरुको पोषण र स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । विशेषतः ५/६ महिनाको उमेरमा आमाको दूधबाट मात्र उसको पोषण आवश्यकता पूर्ति नहुने भएकोले उसलाई थप ठोस खानेकुरा दिनुपर्ने हुन्छ । यसरी अन्य खानेकुरा दिने अवस्थामा विशेष सतर्कता र सजगता अपनाउन नसकेमा यही समयमा शिशुको पोषण अवस्था बिग्रने र कुपोषणको समस्या देखिने हुन्छ ।

विश्व स्वास्थ्य संघको खाद्य निर्देशनअनुसार विभिन्न खाद्यपदार्थलाई ७ समूहमा विभाजन गरिएको छ ।

१. अन्न, जरा तथा कन्दमूल

२. दाल, गेडागुडी तथा नट्स

३. दूध तथा दूधबाट बनेका परिकार

४. माछा–मासु तथा विभिन्न अंगको मासुका प्रकार

५. अण्डा

६. भिटामिन ‘ए’ युक्त फलफूल तथा साग–तरकारी

७. अन्य फलफूल तथा साग–तरकारी

साधारणतया एक स्वस्थ शिशुको जन्मदेखि ५/६ महिनासम्म उसलाई आमाको दूध नै प्रमुख खाना र यसैबाट उसको सम्पूर्ण पौष्टिक आवश्यकताहरु पूर्ति हुन्छ । तर ५/ ६ महिनाको भएपछि आमाको दूधसँगै अरु खानेकुरा ठीक परिमाणमा र उपयुक्त तवरले दिन थाल्नुपर्छ । यस अवस्थाको शुरुमा दिइने कुनै पनि प्रकारको ठोस, अर्धठोस वा झोल खानेकुराले आमाको दूधको लागि पौष्टिक आवश्यकता पूरा गर्न सहयोग गर्छ । त्यसैले थप दिइने खानाको प्रकार, परिमाण, पकाउने विधि, कतिपटक दिने, कति दिने, कसरी दिने आदि बारेमा थाहा पाउन जरुरी छ । साथै सरसफाइमा पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । अन्यथा पौष्टिक आवश्यकता पूरा गर्ने उद्देश्यले दिएको खानाको प्रतिकूल प्रभाव पर्न सक्छ । यसले गर्दा बालबालिकालाई धेरै रोग लाग्ने तथा कुपोषणको सम्भावना हुनसक्छ ।

यसै सन्दर्भमा बालबालिकाको पोषणस्तर सुधार्ने अभिप्रायले विश्व स्वास्थ संघले ६ महिनादेखि २३ महिनासम्मका बच्चाहरुको लागि खाद्य निर्देशिका तयार गरेको छ । यसअनुरुप बालबालिकाको लागि आमाको दूधको साथै न्यूनतम कस्तो खाना खान दिनुपर्छ, न्यूनतम कतिपटक खुवाउनुपर्छ र न्यूनतम कति प्रकारका खाद्यपदार्थ समावेश गर्नुपर्छ भन्ने
कुरा मार्ग निर्देशन गरिएको छ ।

आमाको दूध खाइरहेको, ६–८ महिना उमेरका बालबालिकालाई माथि उल्लिखित ७ खाद्य समूहमध्येबाट कम्तीमा पनि ४ खाद्यसमूहबाट (दूध समूहबाहेक) खानेकुराको छनोट गरी दैनिक २ पटक खुवाउन सिफारिस गरिएको छ भने ९–२३ महिनाको बालकको लागि ३ पटक खुवाउन सिफारिस गरिएको छ । यदि बालकलाई आमाको दूध खुवाएको छैन भने अन्य दूधको प्रकार २ पटक र ७ खाद्यसमूहमध्ये कम्तीमा ६ समूहबाट खानेकुरा छनोट गरी दैनिक ४ पटक खुवाउन सिफारिस गरिएको छ ।

यी माथि उल्लिखित खाद्य निर्देशनलाई ध्यानमा राखी, स्थानीय स्तरमा उपलब्ध खानेकुराको उचित छनोट गरी बालकको भोजनमा उपयुक्तरुपमा समावेश गर्नुपर्छ । सरसफाइमा समेत ध्यान दिन सकेको खण्डमा बालबालिकाले उचित पोषण पाउने हुन्छ । साथै यस उमेरमा हुनसक्ने पोषणसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

बच्चाहरुलाई आमाको दुधका साथै अन्य ठोस खानेकुरा खुवाउँदा सुरुमा उनीहरुको नँया खाना प्रति रुचि हुँदैन । पचाउन गाह्रो भई दिसा/ पखाला लाग्नेजस्ता समस्या आउन सक्छ ।

अन्य खानेकुरा शुरुवात गर्दा बजारमा उपलब्ध तयारी शिशु आहारभन्दा पनि घरमा नै सफासँग तयार गरिएको लिटो, सर्वोत्तम पीठो, जाउलो, फलफूल तथा साग–तरकारीको रसलाई प्राथमिकता दिनुपर्दछ । यसको लागि आमाबुबा वा खाना तयार गर्ने व्यक्तिमा बालकको लागि कस्तो प्रकारको खाना कसरी खुवाउने भन्ने बारे पर्याप्त ज्ञान हुन आवश्यक पर्दछ ।

जस्तै– खाद्य निर्देशनअनुसार बालबालिकालाई दिने खानेकुरामा ७ खाद्यसमूहबाट कम्तीमा पनि ४ प्रकारका खाद्यपदार्थ छनोट गरी– अन्न, दाल, तरकारी र थोरै घिउ हालेर मसिनो, नरम र राम्ररी पकाएको जाउलो २/३ टेबल चम्चा दिनको २ पटक खुवाउन सकिन्छ । यसैगरी एकभाग भटमास (एक प्रकारको गेडागुडी),

एकभाग चामल र एकभाग गहँ (अन्नको प्रकार) मिलाएर बनाएको सर्वोत्तम पीठोको लिटोमा थोरै घिउ हालेर बच्चालाई दिन सकिन्छ । साथै सफा र ठीक मात्रामा ताजा फलफूलको रस दिँदा सबै खाद्यसमूहबाट उपयुक्त परिमाणमा पौष्टिक तत्वहरु प्राप्त भई उसको वृद्धि–विकासमा मद्दत पुर्याउँछ ।

आमाको दूधका साथै थप खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा

१. अन्य खाना खुवाउनुअगाडि सधैँ आमाको दूध खुवाउनुपर्छ ।

२. बच्चालाई दिइने थप खानेकुरामा विभिन्न खाद्यसमूहको उचित समिश्रण हुनुपर्दछ, जसबाट उसले प्रोटिन, क्यालोरी, भिटामिन र खनिज पदार्थजस्ता पौष्टिक तत्वहरु प्राप्त गर्न सक्छ ।

३. बालकलाई दिइने खाना सफा हुनुको साथै नरम, स्वादिलो र सजिलै पचाउन सक्ने किसिमको हुनुपर्छ ।

४. आमाको दूध खुवाउने समय र अन्य थप खानेकुरा खुवाउने समय मिलाउनुका साथै दिनमा थोरै पटक–पटक गरी खुवाउनुपर्छ ।

५. बट्टाको प्रशोधित बाल खाद्यआहारभन्दा पनि सफासँग तयार गरिएको ताजा खानेकुरा खुवाउनमा प्राथमिकता दिनुपर्छ ।

६. हरेक मिहना बच्चाको वृद्धि ठीक छ वा छैन, सोको जाँच गर्नुपर्छ । यसको लागि वृद्धि–चार्ट प्रयोग गर्नुपर्छ ।

७. एकपटकमा एउटै किसमिको मात्र खानेकुरा दिनुपर्दछ । त्यसमा बच्चालाई बानी परेपछि बिस्तारै अर्को नयाँ खानेकुरा दिदाँ बेस हुन्छ ।

८. ५/६ महिनाका बच्चालाई पानी सफा चम्चा वा गिलासबाट खान दिनुपर्छ, यसको लागि बोतलको प्रयोग नगर्दा बेस हुन्छ ।

९. एक–दुईपटक बच्चाले बढी दिसा गरेमा वा दिसाको रंग फरक पर्दैमा थप दिएको खानेकुरा रोक्नुपर्दैन ।

१०. विशेष गरी पकाउने, खुवाउने भाँडो सफा हुनुको साथै खुवाउने व्यक्तिले सरसफाइमा ध्यान दिनुपर्छ

प्रतिक्रिया दिनुहोस्