मुटु कसरी जोगाउने ?



डा. भगवान कोइरालाका टिप्स

रोग नलागेको बेलामा मुटुलाई लामो समय काम गर्न सक्ने, नथाक्ने बनाउन सकिन्छ । यसको मुख्य तरिका भनेको नियमित व्यायामबाट मुटुलाई नियमित लोड दिई क्रियाशील बनाइरहनुपर्छ ।

मुटु स्वस्थ राख्न अलि–अलि रक्सी खानुपर्छ भन्छन्, कसैले चाहिँ हुन्न भन्छन्, तपाईं के भन्नुहुन्छ डा. साब ?’

वरिष्ठ मुटु विशेषज्ञ डा. भगवान कोइराला भन्नुहुन्छ, ‘रक्सीले मुटुलाई फाइदा गर्ने कुरा अलि झुक्किने किसिमको छ । विशिष्ट परिस्थितिमा विशिष्ट मात्रा खाँदा हानि भैहाल्नेचाहिँ हुँदैन, तर त्यो दायराभन्दा यताउता गर्नेबित्तिकै हानि हुन्छ । मानिसलाई रक्सी खान प्रोत्साहित गर्दा खतरनाक नतिजा

लक्ष्मण अधिकारी

आउन सक्ने हुनाले म त नखाएकै ठीक हो भन्छु ।’

विशिष्ट परिस्थितिको विशिष्ट मात्रा भनेकोचाहिँ के हो त ? डा. कोइराला भन्नुहुन्छ, ‘मिसावट नभएको बियर, वाइन, ह्वीस्की, जीन जुनसुकै प्रकारको मदिरा पनि हरेक दिन एक पेगभन्दा कम लिने र व्यायाम पनि नियमित गर्ने हो भने यसले मुटुलाई केही न केही फाइदा गर्छ । तर रक्सी टन्न खाने र एक्सरसाइज बिल्कुलै नगर्ने गर्दा मुटु, कलेजो, मस्तिष्क फेल हुने सम्भावना अत्यधिक हुन्छ ।’

उहाँका अनुसार ‘मुटुको भल्भ बिग्रिने, जन्मजात मुटुका रोगसँग रक्सीको सम्बन्ध छैन तर कोरोनरी आर्टरी डिजिजसँग भने यसको निकट सम्बन्ध छ । विशेषगरी विकेन्डमा वा कहिलेकाहीँ रक्सी खाने तर धेरै खानेलाई मुटु बत्तिने सम्भावना धेरै हुन्छ । सधैँ धेरै खानेलाई मुटुको मांसपेसी नै फेल खाने (अल्कोहलिक मायोपेथी) सम्भावना धेरै हुन्छ । रक्सीले रक्तचाप बढाउने, सुगर, कोलेस्ट्रोल बढाउने हुन्छ । रक्सी खानेहरुले यी समस्यालाई नियन्त्रण गर्न नसक्ने हो भने रक्सी सेवन अत्यन्तै घातक हुन्छ । त्यस्ता व्यक्तिले ती समस्या नियन्त्रण नभएको हदमा रक्सी नखाएर मुटु जोगाउने प्रयास गर्नुपर्छ ।’

डा. कोइरालाका अनुसार ‘रक्सी नखानेहरुभन्दा खानेहरु अरु विभिन्न रोगले मर्ने सम्भावना बढी भएको पाइएको छ र रक्सी खाने र नखानेको आयु तुलना गर्दा पनि रक्सी खानेको आयु नखानेको भन्दा कम भएको पाइएको छ ।’

‘यस्तो भए तापनि अनुसन्धानकर्ताहरुले नियमित व्यायाम गर्ने र नियमितरुपमा एकपेगमा नबढाई शुद्ध रक्सी खाँदा मुटुलाई सकारात्मक प्रभाव परेको नै बताइरहेका छन् । तर धूमपानको भने हानिबाहेक कुनै पनि फाइदा नहुने उल्लेख गरेका छन्’, डा कोइराला सचेत गराउनुहुन्छ ।

डा. कोइराला भन्नुहुन्छ, ‘स्वस्थ मुटुको भित्री तह एकदम एक्टिभ हुन्छ, धूमपानले मुटुको भित्री तहलाई क्षति पुर्याउछ । यसले रक्तनलीमा बोसो जमाउँछ र नली बन्द गराउँछ । रक्तनलीमा कहिले सेतो त कहिले पहेँलो बोसो जमेर मुटुलाई रगत दिने नली बन्द हुन्छ, अनि हृदयघात हुन्छ । चुरोट, बिँडी खानेहरुको रक्तनली हेर्दा कि त रक्तनलीमा बोसो जमेको देखिन्छ, कि त हृदयघात भइसकेपछि दाग, टाटाहरु देखिन्छन् । अझ चुरोट, बिँडी खाने मानिसको फोक्सो त नराम्रोसँग क्षति भएको हुन्छ । हेर्दा पनि पूरै कालो भइसकेको हुन्छ । प्रदूषणका कारणले पनि फोक्सो कालो भएको हुन्छ । घरबाहिरको प्रदूषण मात्र नभई घरभित्रको धुवाँका कारणले पनि फोक्सो, मुटुमा असर गरेको हुन्छ । यस्तो असर अरुले धूमपान गरी उडाएको धुवाँले पनि हुन्छ ।’

मानिसको मृत्युको दृष्टिले पनि मद्यपान र धूमपान धेरै जिम्मेवार देखिन्छन् । डा. कोइराला भन्नुहुन्छ, ‘धूमपान गर्नेहरुको स्ट्रोक र हृदयघात हुने जोखिम अरुको भन्दा चार गुणाले बढी हुन्छ । त्यस्तै दमको कारणले २५ गुणा र फोक्सोको क्यान्सरले मर्ने सम्भावना धूमपान गर्नेलाई १३ गुणाले बढी भएको अनुसन्धानबाट पाइएको छ । त्यसकारणले पनि मुटु र फोक्सोलाई बचाउन मद्यपान, धूमपान नगर्नु नै उचित हो ।’

मुटु कसरी जोगाउने त ?

डा. कोइरालाका अनुसार ‘रोग नलागेको बेलामा मुटुलाई लामो समय काम गर्न सक्ने, नथाक्ने बनाउन सकिन्छ । यसको मुख्य तरिका भनेको नियमित व्यायामबाट मुटुलाई नियमित लोड दिई क्रियाशील बनाइरहनुपर्छ । मानिस तालिम लिइरहेको छ भने थाक्दैन, त्यसै गरी मुटु पनि नियमित व्यायाम पाएपछि थाक्दैन, लामो समयसम्म काम गर्न सक्छ ।’

‘मुटु जोगाउने अर्को महत्वपूर्ण तरिका भनेको मुटुमा लाग्ने रोगहरुबाट बच्नु वा मुटुलाई बचाउनु हो । कतिपय बच्चाहरु आमाको कोखबाट जन्मदै कुनै न कुनै कमजोरी लिएर जन्मिने हुन्छन् । मुटुमा प्वाल पर्ने, मुटुको बाहिरपट्टि प्वाल हुने, मुटुका चार खण्ड हुनेमा दुई खण्ड वा तीन खण्ड हुने, मुटु ठीक ठाउँमा नबसी उल्टो बस्ने, जन्मजात भल्भका समस्या, जन्मजात रक्तनलीका समस्याजस्ता झन्डै सय थरीका जन्मजात समस्या हुन्छन् । यी समस्या भएमा कुनै बालबालिका त जन्मिनेबित्तिकै मर्ने स्थिति पनि हुन्छ । जन्मजात रोगहरुबाट बचाउन गाह्रो हुन्छ, तर पनि गर्भवती महिलाले बच्चा पेटमा हुँदा रक्सी नखाने, चुरोट नखाने, लागू पदार्थ नखाने, स्वस्थ जीवनशैली अपनाउने र बेला–बेलामा स्वास्थ्य जाँच गराउने गर्दा यस्ता समस्या केही न्यूनीकरण गर्न सकिन्छ ।’

‘यस्तै गरी जन्मिएपछि हुने मुटुका रोगहरुमा जीवनशैलीसँग सम्बन्धित रोगहरु प्रमुख छन् । मानिस वयष्क हुँदै जाँदा रक्तनलीहरुमा बोसो जम्ने, नली साँघुरो हुने, हृदयघात हुनेजस्ता (कोरनरी आर्टरी डिजिज) रोगहरु प्रमुखरुपमा रहेका छन् । यी रोगहरु खानपान, आहारविहारसँग सम्बन्धित छन् । स्वस्थ जीवनशैली अपनाउन सके यी रोगहरुबाट मुटुलाई बचाउन सकिन्छ ।’

‘नेपालमा खानपान ठीक तरिकाले नहुने वा खान नजान्ने, व्यायाम नगर्ने र रक्सी–चुरोट बढी खानेजस्ता कारणले मुटुका धेरै रोग भएका छन् । जीवनशैलीसँग सम्बन्धित रोगहरु जस्तो– सुगर, प्रेसर, कोलेस्ट्रोल बढी देखिएको छ । नेपालमा वयष्क जनसंख्याको झन्डै एक चौथाइमा उच्च रक्तचाप छ । त्यस्तै करिब १० प्रतिशतलाई सुगर भइरहेको छ । यी दुवै मुटुका जोखिम तत्वहरु हुन् । यिनै कारणले गर्दा हृदयघात हुने, मुटु ब्लक हुनेजस्ता रोगहरु बढेका छन् । यी रोगहरु हुनुमा घरभित्रको धुवाँलगायत प्रदूषण र घरबाहिरको प्रदूषण पनि जिम्मेवार छन् ।’

डा. कोइराला भन्नुहुनछ, ‘यस्ता रोगहरुबाट बच्नका लागि घरबाहिरको नसके पनि घरभित्रको वातावरण स्वस्थ राख्नुपर्छ । घरबाहिरको प्रदूषणबाट बच्न पनि मास्क लगाउनेलगायत विभिन्न उपायहरु अपनाउन सकिन्छ । नियमितरुपमा पसिना आउने गरी शारीरिक श्रम गर्ने, हिँड्ने वा व्यायाम गर्ने गर्नुपर्छ । न्यूनतम हप्ताको पाँच दिन ३५ देखि ४५ मिनेटसम्म यस्तो व्यायाम गर्ने, धूमपान, मद्यपान नगर्ने र उच्च रक्तचाप, मधुमेह छ भने त्यसलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । साथै तनाव व्यवस्थापन गर्ने र शरीरको तौल घटाएर ठीक अवस्थामा राख्न सक्ने हो भने मुटुलाई धेरै हदसम्म जोगाउन सकिन्छ ।’

डा. कोइरालाका अनुसार, ‘नेपालमा बच्चाहरुको घाँटी दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने समस्या हुँदा उपचारका लागि स्वास्थ्यकर्मीकहाँ नगई नूनपानीले कुल्ला गर्ने, पेनकिलर खाने, जडीबुटी उपचार गर्नेजस्ता झारा टार्ने कार्य गरिन्छ । यसले गर्दा धेरै बालबालिकाको मुटुको भल्भ पछि बिग्रिने हुन्छ । घाँटी दुख्ने, ज्वरो आउने हुँदा बेलैमा स्वास्थ्यकर्मीकहाँ गई साधारण उपचार गरेर मुटुको भल्भ बिग्रिनबाट जोगाउन सकिन्छ ।’

‘हाल विकसित देशमा बाथ ज्वरोको कारण मुटुको भल्भ बिग्रिने समस्या (र्युम्याटिक हार्ट डिजिज) र संक्रमणका कारण हुने मुटुको रोग लगभग निर्मूल भइसकेको छ, तर हाम्रो देशमा चाहिँ सबै प्रकारका मुटुका रोगहरु देखा परिरहेकाले यसको नियन्त्रण तथा उपचार चुनौतीपूर्ण बनिरहेको छ । हाम्रो जस्तो पिछडिएको आर्थिक–सामाजिक स्थिति, सरसफाइको कमजोर स्थिति, कमजोर पोषण, धेरै मानिसहरु एकैठाउँमा वा एउटै कोठामा बस्ने प्रचलन छ । घाँटी दुख्दा उपचार गर्नुपर्छ भन्ने चेतनाको कमी, धूमपान, मद्यपान, व्यायाम गर्नुपर्छ भन्ने चेतनाको कमी र कमजोर उपचार सुविधाको कारणले गर्दा मुटु रोगसम्बन्धी समस्या धेरै छन् ।’

‘क्षयरोगलगायत संक्रमण हुने रोगहरुका कारण, मुटुको वरिपरि पिप जम्ने, तीव्र शहरीकरण र पश्चिमी देशका राम्रा मानिसले छोडिसकेको गलत संस्कृति (गाँजा, भाङ, चुरोटलगायतका लागू पदार्थ, जंक फुड खाने चलन) को अन्ध अनुकरणका कारण हृदयघातलगायतका मुटुसम्बन्धी समस्याहरु बढ्दो क्रममा रहेका छन् । धेरै नेपालीमा मीठो लागेका खानेकुराहरु किसाबकिताब नगरी टन्न खाने, भुँडी बढाउने, बोसोयुक्त खाना खाने, कसरत नगर्ने समस्या देखिन्छ । यसले पनि मुटु रोगसम्बन्धी समस्या वृद्धि गरिरहेको छ । यस्ता समस्याबाट बच्न स्वस्थ जीव शैली अपनाउने गर्नुपर्छ ।’

मुटु मानिसको अति आश्यक अंग हो र यो अंगविना मानिसको जीवन सम्भव छैन भन्ने कुरा घामजत्तिकै छर्लंग छ । त्यसकारणले पनि मुटुमा कुनै रोग लाग्न दिनुहुँदैन र लागिहाल्यो भने पनि यथाशीघ्र उपचार गरेर स्वस्थ राख्ने प्रयास गर्नुपर्छ । सकेसम्म त मुटुमा कुनै रोग लाग्न नै दिनुहुँदैन । जन्मजात हुने मुटुका रोगहरुलाई पनि आमाले स्वस्थ जीवनशैली अपनाएका खण्डमा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । आमाको स्वस्थ एवं सन्तुलित जीवनशैलीले शिशुलाई रोगरहित अवस्थामा जन्माउन सकिन्छ ।

त्यस्तै गरी बालबालिकाको घाँटी दुख्ने, ज्वरो आउने र जोर्नीहरु दुखिरहने हुँदा स्वास्थ्यकर्मीबाट उपचार गराएमा पछि मुटुको भल्भ बिग्रने समस्याबाट जोगाउन सकिन्छ । यस्तै गरी धूमपान, मद्यमान, लागू पदार्थहरुको सेवन नगर्ने, चिलो–बोसोयुक्त खानाहरुबाट सकेसम्म टाढै रहने, शरीरको तौल ठिक्क मात्र राख्ने, हरिया सागसब्जी र फलफूलको सेवनमा जोड दिने, नियमित व्यायाम गर्ने र सुगर, प्रेसर, कोलेस्ट्रोलजस्ता समस्या भएमा नियन्त्रणमा राख्ने गरेमा मुटुलाई धेरै हदसम्म जोगाउन सकिन्छ । मुटुविना जीवन नहुने भएकाले यति महत्वपूर्ण मुटुको स्याहार त गर्नै पर्यो, होइन र ?

मुटु बचाउन किन जरुरी छ ?

मानिसको आँखा भएन भने देख्न सक्तैन । कान नहुँदा सुन्न नसक्ने, जिब्रो नहुँदा बोल्न नसक्ने हुन्छ, तैपनि मानिसको जीवन चलिरहेको हुन्छ, मरिहाल्दैन । तर के मुटु भएन भने पनि मानिस यसरी नै बाँच्न सक्छ त ? वरिष्ठ मुटु विशेषज्ञ डा. भगवान कोइराला भन्नुहुन्छ, ‘मुटु बन्द हुनासाथ मानिसको मृत्यु हुन्छ, त्यसैले पनि शरीरमा मुटुको विशेष महत्व छ ।

हुन त हाम्रो शरीरका सबै अंगहरु महत्वपूर्ण छन्, काम नलाग्ने कुनै अंग छैनन्, तर शरीरका अन्य केही अंग हटाउँदा मानिसका केही गतिविधिमा सीमितता भए पनि ऊ बाँच्न सक्छ । तर मुटुले काम गरेन भने मानिसको तत्काल मृत्यु हुने हुनाले यो अंगलाई ज्यादै महत्वपूर्ण मानिन्छ । त्यसैले मुटुलाई शरीरको अत्यावश्यकअंग भनिएको हो । त्यसकारणले गर्दा पनि मानिसले आफ्नो मुटुलाई बचाइराख्न जरुरी छ ।’

‘मुटुले पम्प गरेर शरीरका सबै अंगहरुलाई रगत पुर्याउने काम गर्छ । शरीरलाई चाहिने अक्सिजन तथा अन्य पोषण तत्वहरु पनि प्रवाह गर्छ । मुटु नहुने हो भने मानिस एकछिन् पनि जीवित रहँदैन । त्यसकारणले पनि मुटु जोगाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्