त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण



त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा पनि २०७६ जेठ १७ गतेदेखि कलेजो प्रत्यारोपण सेवा शुरु भएको छ । अपोलो अस्पतालका विशेषज्ञहरुको समेत सहयोगमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत डा. रमेश सिंह भण्डारीलगायतको टोलीले सो अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको हो ।

करिब तीन वर्षअघिदेखि सो अस्पतालमा कलेजो प्रत्यारोपणका लागि प्रयास भइरहेको थियो । ५८ वर्षीय बिरामी बाबुलाई उनकै ३३ वर्षीया छोरीले आफ्नो कलेजोको केही भाग प्रत्यारोपणका लागि दिएकी थिइन् । सो कलेजोको टुक्रा प्रत्यारोपण गर्न चिकित्सकहरुलाई करिब १६ घन्टा लागेको थियो । हाल प्रत्येक महिना एकजना बिरामीलाई सो अस्पतालमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ ।

नेपालमा पहिलोपटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण भएको थियो । कोरियन चिकित्सा टोलीको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको थियो । नेपालमा कलेजो प्रत्यारोपणका लागि १५ लाखदेखि २५ लाख रुपियाँसम्म लाग्छ । भारतमा गई कलेजो प्रत्यारोपण गराउँदा एक करोडसम्म लाग्ने चिकित्सकहरुको भनाइ छ ।

अत्यधिक रक्सी सेवन, धूमान, लागूऔषध सेवन, संक्रमण, अस्वस्थ जीवन शैलीलगायतका कारणले कलेजो खराब हुने गर्छ । स्वस्थ जीवन शैली, स्वस्थ आहार, उचित व्यायाम गर्ने र बेला–बेलामा कलेजोको परीक्षण गराउने हो भने कलेजोलाई धेरै हदसम्म
स्वस्थ राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्