बच्चा पाउने कुरो मात्र महिला स्वास्थ्य होइन



महिला स्वास्थ्यलाई चिकित्सकीय दृष्टिले मात्र हेर्ने र भेद्भाव गर्ने प्रवृत्तिले गर्दा अधिकांश महिलाहरुको स्वास्थ्य दयनीय रहेको सम्बद्ध विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसका सन्दर्भमा काठमाडौंमा आयोजित ‘समग्रतामा आधारित महिला स्वास्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा यस किसिमको विचार व्यक्त गरिएको हो ।

कार्यक्रममा डा. समिता प्रधानले महिलाको स्वास्थ्यलाई चिकित्सकीय दृष्टिले मात्र नभई समाजमा अन्तरनिहित सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि दृष्टिले पनि हेर्नुपर्ने बताउनुभयो । मुलुकका कतिपय स्थानमा छुई भएका महिलालाई अछँत मानेर फोहोर गोठमा राख्ने गर्नाले उनीहरुको स्वास्थ्यमा गम्भीर असर पुग्ने गरेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङले शहरी क्षेत्रमा छुराले काटेर अप्राकृतिक तरिकाले बच्चा जन्माउने क्रम वृद्धि भएकोले यसबाट महिला र शिशु दुवैको स्वास्थ्य जोखिममा परिरहेको बताउनुभयो । मानव शास्त्रीय दृष्टिकोणले महिलाको स्वास्थ्यसम्बन्धमा अध्ययन गरेका मानवशास्त्री डा. सचिन घिमिरेले महिला स्वास्थ्य भनेको महिनावारी शुरु हुने अवस्थादेखि महिनावारी सुक्ने अवस्थासम्मलाई हेर्ने गरिएको र यसले महिलाको समग्र स्वास्थ्यलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले महिलालाई सकेसम्म अस्पताल नलाने र लगिहाल्दा पनि महिला स्वास्थ्यकर्मी नहुँदा सेवा लिन कठिनाइ हुने गरेको बताउनुभयो ।

सरकारले प्रसँतिका लागि अस्पताल लान यातायात खर्च दिने गरेको भए तापनि दुर्गम क्षेत्रमा गर्भवतीलाई डोकोमा बोक्ने मानिससमेत नपाउँदा उनीहरुको स्वास्थ्य निकै जोखिममा पर्ने गरेको बताउनुभयो । दुर्गम क्षेत्रमा नेताहरु घुम्न गएका बेला सस्तो लोकप्रियताका लागि हेलिकोप्टर चढाएर प्रचार गर्ने गरिएको तर आकस्मिक सेवाको आवश्यकता पर्ने आममहिलाले यस्तो सेवा पाउन नसकेको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीले महिलाको स्वास्थ्यलाई मातृ स्वास्थ्यका रुपमा मात्र नहेरी त्यो भन्दा बृहत्रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली महिलाहरुमा कुपोषणको समस्या युद्धग्रस्त देशमा जस्तै भएको तर सरकारले यस्ता समस्या समग्रमा समाधान गर्न बहस चलाउन अनकनाउने गरेको बताउनुभयो ।

महिलामा व्यापकरुपमा देखिएको रक्तअल्पताले महिलाको स्वास्थ्यमा गम्भीर असर गरिरहेको तर सरकारले स्थानीय खानेकुरामार्फत रक्तअल्पता कम गर्ने उपाय सिकाउनुको सट्टा परनिर्भर गराउने खालको आइरन चक्की बाँडेर झारा टार्ने काम गरिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा योग चिकित्सक डा. अमृता घिमिरेले महिलालाई रोग लागेको अवस्थामा औषधिले मात्र नभई योगबाट पनि राम्रो उपचार हुने भएकाले औषधिको मात्र भर नपर्न आग्रह गर्नुभयो । धेरै महिलालाई देखिएको थाइराइडको समस्या योगबाट उपचार गरी निको पार्न सकिने भएकाले महिलाको उपचारमा पनि फराकिलो दृष्टिकोण राख्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्