राम्रो श्रीमान् पाउन नर्सिङतिर आकर्षण



सुरेसा धमला, मेट्रोन, हिमाल हस्पिटल, काठमाडौं

उमेरले ३४ औं वर्षमा टेकेकी सुरेसा धमला छोटो समयमा निकै सफलता हात पारेकी एक मेट्रोन हुन् । निकै छोटो समयमा बिरामी, पेसाकर्मी र हस्पिटल सबैको मन जित्न सफल उनी आफ्नो पेसालाई धर्म र धर्मलाई आफ्नो दायित्व सम्झने गर्छिन् । हँसिलो चेहरा र निकै मिजासिलो स्वभावकी धनी सुरेसा आफ्ना जुनियर नर्सहरुकी प्रेरणाकी स्रोत पनि हुन् । उनको विचारमा नर्सिङ पेसामा धैर्यता, सहनशीलता र अरुलाई उत्प्रेरित गर्ने क्षमता सदैव रहनुपर्छ । बिरामीलाई हिम्मत जगाइदिने गर्यो भने यसले उनीहरुको पीडामा राहत महसुस गराउँछ भन्ने सोच लिएका कारण छोटो समयमै उनले स्टाफ नर्सबाट मेट्रोनको जिम्मेवारी पाएकी हुन् ।

लामो समयदेखि नर्सिङ पेसामा रहेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी हिमाल अस्पतालकी मट्रोन उनै सुरेसा धमलालाई साधना पत्रिकाले यस अकंको ‘नर्स अफ द मन्थ’ छनोट गरेको छ । प्रस्तुत छ साधनाकी सहायक सम्पादक जुनु भट्टराईले उनीसँग गरेको कुराकानीको सार :

कहाँबाट सुरु गर्नुभयो नर्सिङ पेसाको यात्रा ? 

मैले २०६० सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट पीसीएल नर्सिङ सकेर दुई वर्ष त्यहीँ काम गरे । काममा रस भिज्दै जाँदा ठूलो ठाउँमा गएर काम गर्ने रहर थियो । त्यसपछि वैवाहिक जीवनमा प्रवेश गरेसँगै म काठमाडौं आएँ र काठमाडौं मेडिकल कलेजमा चार वर्ष काम गरें । त्यसबीचमा बीएनसम्मको पढाइ कम्प्लिट भयो र ग्लोबल हस्पिटलमा मेट्रोन भएर काम सुरु गरें । त्यहाँ लगभग डेढ वर्ष काम गरिसकेपछि म यहाँ ९हिमाल हस्पिटल०मा आएर मेट्रोनकै पदमा कार्यरत छु ।

यति लामो यात्राको एकै खाले दैनिकी, पट्यारलाग्दो लागेन ? 

सुरु–सुरुमा त त्यस्तो लाग्यो । जति बेला धरानमा म इमर्जेन्सीमा काम गर्थें, त्यहाँ पहाडबाट धेरै बिरामी आउँथे । इमर्जेन्सीमा आउने बिरामी भन्नेबित्तिकै अप्ठ्यारोमा परेका जटिल प्रकृतिका बिरामी नै हुन्छन् । मलाई ती पहाडबाट आएका बिरामी निकै फोहोरी लाग्थ्यो । साँच्चिकै फोहोरी पनि हुुन्थे । मेरो अल्लारेपन, मलाई त्यति बेला उनीहरुको स्याहार गर्न निकै अप्ठ्यारो लाग्थ्यो । तर पछि बुझ्दै गएँ । सिनियरहरुसँग सिक्दै गएँ । अनि बिस्तारै सबै कुरा नर्मल, सहज र रमाइलो पनि लाग्दै गयो । आज यी हातहरुले जति सक्दो बढी बिरामीलाई सेवा गर्ने मन छ । कुनै पट्यार लाग्दो भएको छैन र असहज पनि छैन ।

मेट्रोन हुनलाई त अरुले धेरै संघर्ष गर्नुपरेको बताउँछन्, तपाईं त चाँडै हुनुभएछ नि ? 

संर्घषको कुरै नगर्नुस् । मैले यतिका वर्ष दिलोज्यान लगाएर काम गरेकी छु । तर मेट्रोन हुन अरुलाई जति समय नलागेको भने पक्कै हो । म काठमाडौं मेडिकल कलेजमा काम गरिरहेको बेला मेरो एकजना साथी ग्लोबल अस्पतालमा मेट्रोन हुनुहुन्थ्यो । संयोग नै यस्तो भैदियो कि मैले बीएन पढेर पनि सक्नु र मेरो साथीले व्यक्तिगत कारणले उक्त हस्पिटल छोड्नु एकैसाथ भयो । उहाँसँग हस्पिटलको राम्रो ट्रस्ट रहेछ । उहाँलाई मैले त्यो पदमा रहेर काम गर्न सक्छु भनें । त्यसैले उहाँकै रिफरमा म मेट्रोन भएर त्यहाँ गएकी हुँ ।

विगतमा भन्दा अहिले नर्सिङ पढ्नेको चाप बढ्दो छ, यस पेसाको स्कोप कस्तो छ ? 

न्यु जेनेरेसनमा नर्सिङको इन्ट्रेस्ट बढ्दै गएको छ । तर यहाँ राम्रो जागिरको सम्भावना भने कमैको मात्र छ । पढेर बाहिर जाने, इभन राम्रो जीवन साथी पाइन्छ कि भनेर समेत यो क्षेत्रमा लाग्ने गरेको देखेकी छु । थोरै तलब, पढाइमा लगानी यस्ता धेरै कारणले नयाँ पुस्तामा फ्रस्टेसन आउने गरेको पाएकी छु । नआओस् पनि कसरी, सरकारले लोकसेवा खुलाउँदैन । हस्पिटल सीमित छन् । यस क्षेत्रमा शैक्षिक उत्पादन बढी छ । हस्पिटलले सस्तोमा मेनपावर खोज्छ । बढी प्रतिस्पर्धा हुनुको बेफाइदा पनि हो यो । ५ लाख लगानी गरेर पढ्यो, काम भने भोलेन्टियरमा गर्न विवश विद्यार्थी पनि धेरै छन् ।

न्यु जेनेरेसनमा नर्सिङप्रतिको इन्ट्रेस्ट बढ्दै गए पनि यहाँ राम्रो जागिरको सम्भावना भने कमै छ । ५ लाख लगानी गरेर पढ्यो, काम भने भोलेन्टियरमा गर्न विवश विद्यार्थी पनि छन् । त्यसैले पढेर बाहिर जाने, इभन राम्रो जीवन साथी पाइन्छ कि भनेर यो क्षेत्रमा लाग्नेहरु धेरै छन् ।

नर्सिङ पेसामा लागेकाहरुले प्रायः पेसागत सुरक्षाका मुद्दाहरु उठाउने गरेका छन् । नर्सहरुले पेसागत सुरक्षा पाउन सकेका छैनन् ? 

नर्सिङ पेसालाई मर्यादित पेसाको रुपमा लिए पनि देशभरका नर्सहरुको हकहितमा काम गर्ने नर्सिङ प्रशासन नै छैन अहिले । सीधै स्वास्थ्य मन्त्रालयको मातहतअनुसार चल्ले भएकाले मन्त्रालयले यस पेसालाई ध्यान दिन सकेको छैन । यसले गर्दा न त पदोन्नति हुन्छ, न सेवा–सुविधामा सुधार आउँछ ।

जति नै राम्रो काम गरे पनि फिडब्याक केही नआउने भए कसलाई पो काम गर्दा सन्तुष्टि मिल्छ र रु राम्रो क्षमता भएका नर्सहरु पनि बढुवा हुन नसक्नाले लामो समयसम्म एउटै पदमा बस्नुपरेको छ । उनीहरुले कसरी पेसागत सुरक्षाको अनुभूति गर्छन् त रु यस पेसामा दुःख गरेअनुसारको फिडब्याक कसैले पाउन सकेका छैनन् । पछि आउने नयाँ पुस्तालाई यसले निकै निराशाको अवस्थामा पुर्याइदिने गरेको छ । वर्षौं काम गर्दा पनि पढाइको लगानी उठाउन सकिँदैन । यसले गर्दा नयाँ पुस्तामा फ्रस्ट्रेसन पनि देखिने गरेको छ ।

नर्समा हुनै पर्ने गुण भन्नुपर्दा के हो जस्तो लाग्छ ? 

सबैभन्दा ठूलो कुरा त बिरामीप्रतिको सेवामा उत्तरदायी भूमिका बहन गर्ने खूबी राख्नु हो । सहनशीलता, जिम्मेवार, हँसीमुख, बिरामीप्रति सन्तुलित र सहयोगी भूमिका राख्ने खूबी एउटा नर्समा हुनु अत्यन्तै जरुरी छ । यो पेसामा इरिटेसन भन्ने शब्द भने हुनुहुँदैन ।

रिस कत्तिको उठ्छ ? 

पेसाको धर्म भन्नुपर्छ, मलाई बिरामीको सेवाको समयमा कहिल्यै रिस उठेको छैन । मैले बिरामी र बिरामी कुरुवाबाट अनेकौं खाले समस्या भोगेकी छु, तथापि उहाँहरुलाई नम्रतापूर्वक सम्झाउन सके कोही मान्छे नसम्झने हुन्न । रिसले रिस बढाउँछ । त्यसैले रिस राख्नुहुन्न भन्ने ध्यान यो पेसामा हरबखत राख्नु पर्छ । रिसभन्दा पनि यो क्षेत्रमा तनाव भने अत्यन्त रहन्छ नै । यसलाई कम गर्ने उपायहरु अपनाई
अगाडि बढ्ने गर्नुपर्छ ।

प्रसंग बदलौं, ग्लोबल छोडेर उही पदमा हिमाल हस्पिटल आउनुभएको छ, हिमालमा के देख्नुभयो त्यस्तो ?

ग्लोबल अस्पतालमा काम गर्दा पनि म निकै सन्तुष्टि थिएँ । त्यहाँ केही कमी–कमजोरी भएर यता आएको होइन । तर ग्लोबलमा भन्दा हिमालमा बिरामीको चाप बढी छ । बिरामीको चाप बढी भएको ठाउँमा काम गर्दा छुट्टै मज्जा हुन्छ । त्यसमाथि हिमाल हस्पिटल प्राइभेट सेक्टरको दोस्रो नर्सिङ होम भएको कारण पनि यसको रिपुटेसन निकै राम्रो छ । त्यसैले पनि यस अस्पतालमा काम गर्दा आफूलाई गर्व लाग्ने भएकाले म काम गर्ने इच्छा गरेरै यहाँ आएकी हुँ ।

अन्त्यमा यस क्षेत्रमा लागेका नर्सहरुलाई के भन्न चाहनुहुन्छ ?

यत्ति हो कि पेसामा इमानदार हुने, अग्लो चरित्र प्रदर्शन गर्ने, हरअवसरलाई उपयोग गर्ने गर्नुहोस् । सेवाभन्दा ठूलो धर्म केही हुन्न दुनियाँमा । नर्सिङ पेसा सेवा हो । पेसाको धर्म राख्नु तपाईंहरुको दायित्व हो । यसलाई इमानदारितापूर्वक निभाउनुहोस् भन्न चाहन्छु । साथै मेरा भावनाहरु पोख्ने मौका दिनुभएकोमा साधना पत्रिकाको टिमलाई पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्