‘ब्लाउज पूरै च्यातिँदा पनि परबाह गरिनँ’



मेट्रोन विष्णु सिंह, धुलिखेल अस्पताल

आफ्नो ड्युटीमा बिरामीलाई केही नभइदिए हुन्थ्यो भन्ने हरेक नर्सको ध्यान हुन्छ । आफ्नो ड्युटी अर्को नर्सलाई ह्यान्डओभर नगरेसम्म उनीहरु बिरामीको केयर गरिनै रहन्छन् ।

राति कुनै महिलालाई जटिल सुत्केरी बेथा लाग्यो भने डाक्टर उपलब्ध हुँदैनन् तर नर्सले बिरामीको घरमै पुगेर हुन्छ कि अथवा स्वास्थ्य संस्थामा पुगेर त्यस्ता महिलाका लागि सेवा पुर्याएका हुन्छन् । तर तिनै नर्सहरुको मूल्यांकन न त काम लगाउने निकायले गरेको हुन्छ, न सरकारले नै रु नर्सको मूल्यांकन हुन नसक्नुमा उच्च पदमा महिलाको पहुँच नहुनु नै प्रमुख कारण रहेको धुलिखेल अस्पतालकी मेट्रोन विष्णु सिंहको दुखेसो छ । नर्सको काम, कर्तव्य र अधिकारका बारेमा नीतिनिर्देशन दिनकै लागि स्थापित नर्सिङ काउन्सिलले पनि उच्च तहको जिम्मेवारी लिएका व्यक्तिको हितमा मात्र हेर्ने गरेको उनको गुनासो छ । मेट्रोन विष्णु आक्रोश पोख्छिन्– ‘डाक्टरहरुका लागि विभिन्न विधाका उपाधि र सम्मान देखिन्छन् तर अहिलेसम्म कुनै पनि नर्सले न त नाइटिङ्गलको उपाधि पाउन सकेका छन्, न मदर टेरेसाको पदवी नै ।

सन् १९५२ मा पाल्पामा जन्मिएकी विष्णु सिंहले सन् १९७४ मा आईएस्सी नर्सिङ गरी पाल्पाकै युनाइटेड मिसन अस्पतालमा सेवाप्रवेश गरिन् । त्यसपछि ३० वर्षको लामो अवधिसम्म उनी सोही अस्पतालमा कार्यरत रहिन् । सन् २००४ देखि अर्थात् विगत १० वर्षदेखि भने उनले काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मेट्रोनको जिम्मेवारी सम्हालेकी छिन् । प्रस्तुत छ झन्डै ४० वर्षसम्म नर्सिङ पेसाको अनुभव संगालेकी धुलिखेल अस्पतालकी मेट्रोन उनै विष्णु सिंहसँग नेपाल समाचारपत्रकी सहायक सम्पादक भगवती तिमल्सिनाले साधना हेल्थका लागि लिएको अन्तर्वार्ता :

नर्सलाई हेयको भावनाले हेर्ने त्यस बेलाको समयमा तपाईंले चाहिँ किन यही पेसा रोज्नुभयो ? 

सर्वप्रथम त म नर्सको पोशाकबाट प्रभावित भएँ । अनि आफूले पनि त्यस्तै पोशाक लगाउन पाए कस्तो हुन्थ्यो भन्ने लाग्यो । यति मात्र होइन, नाइटिङ्गलको इतिहास पढेपछि त म झन् नर्सिङप्रति प्रभावित भएँ । त्यसपछि परिवारको सल्लाह र सहयोगमा मैले नर्सिङ पेसा नै छानें । स्वास्थ्य सेवामै रुचि भएकाले सुरुमा पाल्पा मिसन अस्पतालमा नर्सको रुपमा प्रवेश गरी कार्यारम्भ गरें ।

काम गर्दै पढ्दै मेट्रोनसम्म पुग्ने मौका कसरी पाउनुभयो त ? 

पाल्पा मिसन अस्पतालमा काम सुरु गरेको ५ वर्षपछि भारतको इन्दोर विश्वविद्यालयमा वार्ड सिस्टर र प्रशासन विषयमा थप अध्ययन गर्ने मौका मिल्यो । सो अध्ययन सकेर फर्केपछि पुनः पाल्पा मिसनमै काम गरें । त्यसको केही वर्षपछि फेरि काठमाडौंस्थित महाराजगन्जमा २ बर्से ब्याचलर इन एडल्ट नर्सिङ गरें । सँगसँगै थप २ वर्ष मास्टर इन साइन्सका लागि मेलरको किस्टन मेडिकल कलेज गएँ । यो पढाइ सकेर पुनः पाल्पामा नै काम गरें ।

आखिर सन् २००४ मा धुलिखेल अस्पतालमा प्रवेश गरी मेट्रोनको कार्यभार सम्हालेकी छु ।

घरपायक छोडेर यति टाढाको धुलिखेल अस्पतालमा के देखेर आउनुभयो ? 

म क्रिश्चियन धर्म र अध्यात्मको विश्वास गर्ने मान्छे हुँ । मेरो अन्तरहृदयमा अन्यत्र स्थानमा पनि सेवा गर्नुपर्छ भन्ने थियो । मेरो यो सेवाभावनाले गर्दा मलाई परमेश्वरले बोलाउनुभएको हुन सक्छ । त्यस बेला मेरो आवश्यकता धुलिखेल अस्पतालमा पनि रहेछ । संयोगले मेडिकल डाइरेक्टरले मलाई बोलाउनुभयो । तत्काल म यहाँ आएँ र आत्मैदेखि सेवाभावले काम गर्दै छु । यस अस्पतालमा म कुनै पैसाको प्रलोभनले आएको होइन ।

यहाँ काम गर्न सहज छ त ?

मैले जहाँ गए पनि बिरामीको सेवा गर्ने हो । यहाँको वातावरण पनि राम्रो छ । मैले सिकाउनुपर्ने काम बोलेर भन्दा गरेरै देखाउँछु । सिकेकै कुरा सिकाउँदा मलाई त्यति गारो भएन । सहजताका साथ कार्य गर्दै आएकी छु ।

‘ऊ मेरो ब्लाउजमा झुन्डियो । ब्लाउज पूरै च्यातियो । त्यसको कुनै परबाह नगरी मैले बिरामीको उपचारमै ध्यान दिएँ । पछि निको भएपछि उसले मलाई आमा भनेर पुकार्यो ।’

नर्सिङ क्षेत्रका नयाँ र पुराना पुस्तामा के फरक देख्नुहुन्छ ? 

पहिला ब्ल्याकबोर्डमा लेखेर सिकाइन्थ्यो, तर अहिले प्रविधि फरक भएको छ । अहिलेका विद्यार्थीले इन्टरनेटमा हेरी तुरुन्त सिकेर प्रयोगमा ल्याउन सक्छन् । पहिला र अहिलेको सिकाइमा धेरै फरक आइसक्यो । पहिलाको सिकाइ कठिन तर सेवाभावना बढी, अहिलेको सिकाइचाहिँ सजिलो तर सेवाको भावना कम भएर गएको छ । पहिला नर्सिङ पढ्न कठिन र प्रतिस्पर्धा धेरै हुन्थ्यो । विद्यार्थीले इच्छा र क्षमताले नै पढ्थे । अहिले अभिभावकको दबाबमा परेर पढ्छन् । सेवाभावनामा कमी आएको छ । पहिलाका नर्सले डाक्टरसरह काम गर्थे तर अहिलेकोमा ज्ञान बढी भए पनि काम गर्ने बानीचाहिँ कम छ । नैतिक शिक्षाको अभावले गर्दा अनुशासित र मर्यादित विद्यार्थी बनाउनु आजको चुनौतीको विषय बन्दै गएको छ ।

गरिबले नर्सिङ पढ्न चाहेर पनि नसक्ने अवस्था छ, यसमा तपाईं सहमत हुनुहुन्छ ? 

अहिले दश जोड दुईको शिक्षा प्राप्त गर्नेबित्तिकै बीएस्सी पढ्न पाउने प्रावधान छ । गरिबले पनि लोन लिएर वा छात्रवृत्तिका माध्यमबाट पढ्न सक्ने अवस्था छ । त्यति मात्र नभएर अहिले दलित, अपांग, जनजाति, महिला आदिका लागि आरक्षण सिटको पनि व्यवस्था गरिएको छ । यसले गर्दा गरिबले पढ्नै नसक्ने भन्ने छैन । पढिसकेपछि नेपालमा कामको अवसर पाउने पहिलो डाक्टर र दोस्रोमा नर्स नै हो । त्यसैले लोन लिएर पढ्ने आँट गर्न सक्नुपर्छ । एउटै कुरा, यो नर्सिङ पढ्न छात्रवृत्ति पाउनुपर्ने गरिबले हो तर धनी नै गरिब बनी सिफारिस लिएर आउँछन् अनि उनैले सेवा लिने गरेको पाइन्छ । गरिबमा पनि नर्सिङ पेसा मेरो समेत हो भन्ने भावना जाग्नुपर्छ ।

के नर्सहरुले पेसागत सुरक्षा नपाएकै हुन् त ?

अहिलेको अवस्था हेर्दा नर्सिङको पेसागत सुरक्षा खासै देखिएको छैन । पेसागत सुरक्षाका लागि घरपायक या श्रीमान् जुन क्षेत्रमा खटिएका छन् त्यही क्षेत्रमा खटाउनुपर्ने देखिन्छ । श्रीमान्–श्रीमतीलाई फरक–फरक ठाउँमा खटाउँदा कतिपय अवस्थामा पारिवारिक एवम् सामाजिक सुरक्षाका विषयमा समेत खटपट र अप्रत्यासित घटना हुने गरेका छन् । यसले गर्दा बालबच्चालाई दिने शिक्षादीक्षामा पनि हानि पुगेको हुन्छ । राजनीतिक भनसुनका आधारमा नेपालको सेवा चलेका कारण काम गर्ने वातावरण बिग्रँदै गएको र पेसागत सुरक्षाको कमी भएको छ । यसमा नर्सहरुको पनि भूमिका महत्वपूर्ण मानिन्छ ।

नर्सिङ पेसाको भविष्य कस्तो देख्नुहुन्छ ? 

हृदयदेखि नै अठोट गरेर काम गर्ने हो भने नर्सिङ पेसाको भविष्य अत्यन्त उज्ज्वल छ । नर्सिङ पढेपछि काम नपाएर त्यसै बस्नुपर्ने अवस्था छैन । पहिलेको जस्तो नर्सिङको एकेडेमिक क्वालिफिकेसन अगाडि बढाउन नसक्ने अवस्था पनि अहिले छैन । अहिले त नर्सिङमा पीएचडीसम्मकै पढाइ हुने गरेको छ । त्यसैले यो पेसाको भविष्य अत्यन्तै राम्रो छ ।

नर्समा कत्तिको तनाव आइपर्छ र यसको सामना कसरी गरिन्छ ? 

तनाव भन्ने कुरा नर्सलाई मात्रै होइन, बिरामी र उसका आफन्तलाई पनि हुन्छ । ढाढस दिएर धाप मार्दै सम्झाउन सकेको खण्डमा जस्तोसुकै तनावलाई पनि कुल बनाउन सकिन्छ । नर्सहरुलाई बेलाबखत आइपर्ने तनाव कम गर्न पनि सिनियरहरुले यस्तै व्यवहार गर्नुपर्छ । अलि अगाडिको कुरा हो, म नाइट ड्युटीमा थिएँ । मेरै ड्युटी परेको समयमा ३ जना बिरामीको मृत्यु भयो । सुपरिन्टेन्डेन्टका अगाडि गएर मैले रुँदै आफ्नो पालामा ३ जनाको मृत्यु भएकाले अत्यन्तै मन दुखेको बताएँ । उहाँले मलाई ‘तपाईंले सक्ने सेवा गरेकै हो, मन नदुखाउनुस्’ भनेर सम्झाउनुभयो । तनावको समयमा यसरी सम्झाएर कसैले सान्त्वना दियो भने मन निकै हलौं हुन्छ । यो कुरा सबैले बुझिदिनुपर्छ ।

बिर्सनै नसक्ने कुनै घटना छन् कि ?

अलिक वर्षअगाडिको कुरा हो, एकजना डायबेटिजको बिरामी अर्धचेत अवस्थामा अस्पतालमा ल्याइएको थियो । बिरामीलाई तत्काल आईबी सुरु गर्नुपर्ने थियो । त्यस बेला बिरामी निकै छटपटायो । ऊ मेरो ब्लाउजमा झुन्डियो । ब्लाउज पूरै च्यातियो । त्यसको कुनै पर्बाह नगरी मैले बिरामीको उपचारमै ध्यान दिएँ । पछि निको भएपछि उसले मलाई आमा भनेर पुकार्यो । उमेरले मभन्दा धेरै पाको मान्छेले किन आमा भनेको भनी मैले सोधेँ । उसले मलाई बचाउने मान्छे भएकाले आमा भनेको बतायो । उसले मेरो पेसाप्रति गरेको सम्मानले ऊ कहिल्यै नबिर्सने धन्यवादी पात्र बन्यो अनि ममा पनि काम गर्ने हौसला अझ बढेर आयो ।

अन्त्यमा साधना पत्रिकामार्फत पाठकलाई सन्देश दिन चाहनुहुन्छ कि ? 

बिरामी र उनीहरुका आफन्तले स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण अलि भिन्न छ । डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मीलाई नकारात्मक भावनाले भन्दा पनि सहयोगी भावनाले हेर्नु र व्यवहार गर्नुपर्छ । उपचार शुल्क तिरेपछि हामीले भनेको जे पनि गर्नुपर्छ भन्ने भावना राख्नुहुन्न । बिरामीका बारेमा सबै कुरा जानकारी पाएपछि मात्र स्वास्थ्यकर्मीलाई कस्तो उपचार गर्ने र के औषधि दिने भन्ने बारेमा सहज हुन्छ । त्यसैले बिरामी र उनीहरुका आफन्तले स्वास्थ्यकर्मीलाई सहयोगी भावनाले हेरिदिऊन् भन्ने साधनामार्फत सन्देश निन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्