मेट्रोन यमुना पौडेल, एभरेष्ट अस्पताल
बुबाले केटी मात्र पढ्ने क्याम्पसमा पढ भनेकाले नर्सिङ क्याम्पस भर्ना हुन पुगेकी उनले यही पेसाले आफ्नो भिन्नै परिचय स्थापित गराउँछ भन्ने कल्पनासमेत गरेकी थिइनन् रे त्यस बेला । इन्जिनियर बन्ने सपना बोकेकी भए पनि बुबाको निर्णयप्रति उनीमा पूरा विश्वास जागेछ । त्यसैले त चुपचाप नर्सिङ क्यम्पस भर्ना भई पढ्न थालिन् उनी । ‘इन्जिनियर बन्ने सपना भए पनि मैले नर्सिङ पेसालाई पनि उत्तिकै इज्जतको पेसा हो भन्ने बुझेकी थिएँ, र त मैले लगनका साथ पढे, उनी भन्छिन्– ‘आज मलाई इन्जिनियर बन्न नपाएकोमा पश्चात्तापभन्दा नर्स बनेर यत्तिका वर्ष बिरामीको सेवा गर्न पाएकोमा गर्व छ ।’
उनी अर्थात् यमुना पौडेल । एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौंकी मेट्रोन । उनले नर्स बनेर सेवा गरेको आज २७ वर्ष बितिसकेको छ । उनीसँग अहिले पनि उही नै जोश, जाँगर र बिरामीको सेवा गर्ने भावना छ । शान्त स्वभावकी, जुनियर–सिनियर सबैलाई एकै रुपले हेर्ने बानीकै कारण उनले कार्यरत संस्था र बिरामीको सजिलै मन जित्न सकेकी छन् । उनले पेसा र घरगृहस्थीलाई सँगसँगै कुशल ढंगले अगाडि बढाइरहेकी छिन् । यस पेसाले आफूलाई आत्मसन्तुष्टिका साथै अन्य धेरै कुरा दिएकाले आफूले सकुन्जेल बिरामीको सेवामा लागिरहने उनी बताउँछिन् । लामो समयदेखि नर्सिङ पेसामा रहेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी मेट्रोन पौडेललाई साधना हेल्थ पत्रिकाले यस अंकको नर्स अफ द मन्थ चुनेको छ । प्रस्तुत छ साधना पत्रिकाकी सहायक सम्पादक जुनु भट्टराईले उनीसँग गरेको कुराकानीको सार:
इन्जिनियर बन्ने सपना त्यागेर कसरी नर्सिङतिर लाग्नुभयो ?
मेरो बुबा गाउँको गन्नेमान्ने पण्डित हुनुहुन्थ्यो । जति बेला मैले एसएलसी पास गरेँ, त्यति बेला केटा साथी बनाउने त के बोल्ने पनि अनुमति थिएन । स्कुलमा बोले पनि घर जाँदा–आउँदा बुबाको डरले केटा साथीहरुतिर हेर्दा पनि हेरिन्नथ्यो । मेरो बुबालाई केटीहरु मात्र पढ्ने ठाउँमा पढाउन पाए हुन्थ्यो भन्ने इच्छा रहेछ । मैले एसएलसी पास गरेपछि बुबाले महाबौद्ध नर्सिङ क्याम्पसमा केटीहरु मात्र पढ्ने भएकाले त्यहाँ भर्ना हुन भन्नुभयो । मलाई पनि साइन्स एकदमै मन पथ्र्यो । बुबाकै इच्छाअनुसार त्यहाँ भर्ना भएर पढ्न थालियो । अनि त यसै पेसामा रमाउन लागिहालेँ नि । यस पेसामा लागेको २७ वर्ष बितेको पनि पत्तै भएन ।
यत्तिका वर्ष पत्तै नभई कसरी बितेछ त ?
मलाई नर्सिङ पढ्दादेखि नै यसको रस भिजिसकेको थियो । पीसीएल नर्सिङ फाइनल हुनासाथ शिक्षण अस्पताल महाराजगन्जमा मेडिकल वार्डमा काम सुरु गरियो । त्यहाँ काम गर्दागर्दै कान्ति अस्पतालमा लोकसेवा खुलेको थियो । १६ जनाले लोकसेवाको परीक्षा दिएकोमा पहिलो नम्बरमा मेरो नै नाम निस्किएछ । तर नियुक्तिपत्र लिने बेलामा त्यहाँको शाखा अधिकृतले मलाई सरकारी जागिर खाएबापत एक महिनाको तलब चियाखाजाको रुपमा मागे । त्यो बेला म टिचिङ अस्पतालमा रु १,९०० तलब खान्थेँ । तर कान्तिमा लोकसेवा पास गरेपछिको सरकारी तलब स्केल रु ९९५ मात्र थियो । एक त कम तलबमा झर्नु छ, त्यसमाथि एक महिनाको तलब दिएर मैले खर्च कसरी पुर्याउने रु त्यसैले बरु जागिर नै खान्न भनेर जाँदै गइनँ ।
पछि अधिकृत आफैंले ‘मलाई पैसा चहिन्न, आउनू’ भनेर बोलाएपछि नियुक्ति पत्र बुझेँ अनि कान्ति बालअस्पतालमा काम गर्न थालेँ । पछि दोलखास्थित जिरीको जिल्ला अस्पताल, काठमाडौंको वीर अस्पताल, संखुवासभालगायत विभिन्न ठाउँका सरकारी अस्पतालमा २६ वर्ष ९ महिना काम गरियो ।
नर्सिङमा सरकारी जागिर खाँदाको एकदमै कमजोरी पक्ष भनेकै त्यहाँ हत्तपत्त प्रमोसन नै हुँदैन । प्रमोसन हुन नसकेकैले म पेन्सनमा बस्न बाध्य भएँ । त्यसपछि तत्काल यहाँ बोलाइयो मेट्रोनको रुपमा । अस्पतालको सेवा–सुविधा मनपर्यो । त्यसैले यहाँ काम सुरु गरेँ ।
एक त कम तलबमा झर्नु छ, त्यसमाथि एक महिनाको तलब दिएर मैले खर्च कसरी पुर्याउने , त्यसैले बरु जागिर नै खान्न भनेर जाँदै गइनँ । पछि अधिकृत आफैंले ‘मलाई पैसा चहिन्न, आउनू’ भनेर बोलाएपछि नियुक्ति पत्र बुझेँ अनि कान्ति बालअस्पतालमा काम गर्न थालेँ ।
सरकारी र निजी दुवै सेक्टरमा काम गर्नुभयो । के फरक पाउनुभयो त यी दुई क्षेत्रमा काम गर्दा ?
काम गर्ने शैली त खासै फरक हुन्न सरकारी र निजीमा । तर सरकारी जबको बढी चार्मिङ छ, जब ग्यारेन्टी छ तर निजीमा हुन्न । सरकारी अस्पतालमा आफंैले आफ्नो क्षमतानुसारको सेवा–सुविधा बिरामीलाई दिने निर्णय गर्न सकिन्छ तर निजीमा माथिको लिखित आदेश नै पर्खनुपर्छ । आखिर सबैको गोल बिरामीलाई क्वालिटी केयर दिने भए पनि आ–आफ्नै इथिक्स त हुन्छ नि, होइन र
सरकारी अस्पतालमा नर्सहरुलाई बिरामीले बढी ट्रस्ट गर्ने तर निजीमा कम गर्नेजस्तो लाग्दैन तपाईंलाई ?
अवश्य लाग्छ । यो सही पनि हो । कारण बिरामीलाई नर्सहरुले दिने सेवा र व्यवहार होइन, समय हो । सरकारी अस्पतालमा डाक्टरले बिरामीलाई दिने समय अत्यन्तै छोटो हुन्छ, बढी केयर नर्सबाट नै पाउँछन् बिरामीले । त्यहाँ बिरामीका लागि नर्सले आमाको भूमिका निर्वाह गरेका हुन्छन् । प्राइभेट अस्पतालहरुमा विशेषज्ञ हेरेर त्यही अनुसारको पैसा तिरेका हुन्छन् बिरामीले । बिरामीले नै डाक्टरले बढी हेरुन् भन्ने चाहन्छन् । बिरामीको चाहना बुझेर नर्सभन्दा डाक्टर नै बिरामीसँग प्रत्यक्षरुपमा सेवामा खटिएका हुन्छन् । त्यसैले पनि बिरामीले बढी ट्रस्ट डाक्टरलाई गर्ने हुन् । यसलाई पोजेटिभ्ली हेर्नुपर्छ ।
नर्सहरुलाई निजी अस्पतालले भोलेन्टियरको रुपमा राखेर श्रमशोषण गर्ने गरेको आरोप छ नि । के यो सही लाग्छ तपाईंलाई ?
भोलेन्टियर राख्नु त राम्रो होइन । तर हिजोआज नर्सहरुले नै केही महिना काम गरेको अनुभव लिने, त्यसपछि छोडेर बाहिर जाने परिपाटी छ । काम गर्नेभन्दा पनि अनुभवको सर्टिफिकेट्स चाहिएर आउनेहरुलाई हामी तीन महिना भोलेन्टियर राख्छौं । अझ कतिपय अस्पतालले त भोलेन्टियर राखेबापत पैसा पनि लिने गरेको छ भन्ने पनि सुनिन्छ । हामी त त्यसो गर्दैनौं । फेरि अहिले नर्सिङको करिकुलम नै यसरी डिजाइन गरिएको छ कि त्यसमा प्राक्टिकल थोरै छ । प्राक्टिकल नै नभएका नर्सलाई एकैचोटि जबमा राख्न गाह्रो छ । त्यसैले भोलेन्टियरको रुपमा नयाँ नर्सहरुलाई राख्नु बाध्यता पनि हो ।
कुसल नर्समा हुनुपर्ने ५ क्वालिटी भन्नुपर्दा ?
–धैर्यवान्
–समयमै निर्णय लिन सक्ने
–सवाप्रति समर्पित भावना
–समयसँगै आफूलाई अपडेट राख्ने
–हरेक जिम्मेवारी बहन गर्न सक्ने खूबी
तपाईंहरूले दिने सेवा र नयाँ पुस्ताका नर्सले दिने सेवालाई तुलना गर्नुपर्दा के फरक छ जस्तो लाग्छ ?
नयाँ पुस्ता हरेक क्षेत्रबाट अगाडि छन् । हाम्रो पालामा जस्तो हातमा मैनबत्ती बालेर बिरामीको नाडी छाम्न जानुपर्ने अवस्था छैन आज । त्यसमाथि अस्पतालमा आउने अधिकांश बिरामी आफ्नो समस्या र अस्पतालको सेवाप्रति सचेत छन् । बिरामी र नर्सबीच राम्रो कम्युनिकेसनको अवस्था छ । हाम्रो तुलनामा नयाँ पुस्तालाई हरेक क्षेत्रबाट काम गर्ने वातावरण सहज छ । उनीहरूको आगमनले स्ट्यान्डर्ड केयरिङ प्लस भएको छ । उनीहरुबाट हामीले पनि नर्सिङ केयरका विषयमा नयाँ–नयाँ आइडियाहरु लिने मौका पाएका छौं ।
प्रसंग बदलौं, तनावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
कहिलेकाहीँ काम गर्दै जाँदा तनाव सृजना हुन्छ । त्यो बेला सिच्वेसनलाई अन्तै मोड्ने कोशिश गर्छु । काँधमा जिम्मेवारी भएपछि सानातिना कुरामा तनाव लिएर बस्नु ठीक होइन भनेर आफैंलाई कन्भिन्स गराउँछु । धेरै सोचेर बस्दिनँ । अनि तनाव आपैmं हराउँछ ।
ड्युटी आवरमा घटेका कुनै अविष्मरणीय घटना पाठकसँग सेयर गर्नुहुन्छ कि ?
त्यस्ता बिर्सनै नसक्ने घटना त धेरै हुन्छन् । तर पनि धेरै नै मन छुने घटना भन्नुपर्दा, सायद २०५६ सालतिरको एउटा घटना छ । त्यस बेला म संखुवासभा सरुवा भएर गएको थिएँ । म बसेको घरबाट १५ मिनेट टाढाकी एक महिला सुत्केरी हुने थिइन् । मैले धेरै पटक अस्पताल जाऊ भन्दा उनी मानेकै थिइनन् । पछि बच्चा त जन्मिएछ तर धेरै बेरसम्म रोएनछ । बल्ल मलाई आएर बच्चा जन्मिएको तर नरोएको बताए । त्यसपछि त म चप्पल नै नलगाई १५ मिनेटको बाटो दौडिएर पुगेँ । श्वासप्रश्वास दिएँ, बल्ल बच्चा रोयो । त्यस बेला सो बच्चालाई पेटिकोटमा गुम्स्याएर राखिएको रहेछ, ऊ पूरै निसास्सिएको थियो । पछि पो थाहा भयो, खालि खुट्टै दौडिएकाले केले घोचेर मेरो खुट्टाबाट रगत पो बगिरहेको रहेछ । त्यो घटना हिजोजस्तो लाग्छ ।
यस्तै २०५० सालतिरको अर्को घटना पनि मैले कहिल्यै बिर्सन सकेको छैन । मेरो एकजना साथीको नन्दको पेटमा जुम्ल्याहा बच्चा रहेछ । पहिलेकी एक छोरी रहिछन् । अल्ट्रासाउन्ड गरेर हेर्दा पछिल्लो जुम्ल्याहा पनि छोरी–छोरी नै भएको भनिएको रहेछ । छोरी–छोरी भएकाले बच्चा नजन्माउने निर्णयमा पुगेका उनका परिवारले मेरी साथी आर्थात् ती गर्भवती महिलाकी भाउजूलाई ‘केही गर छिटो’ भनेर प्रेसर दिँदा रहेछन् । ५ महिना पुगिसकेकाले गर्भपतन गर्न सम्भव थिएन ।
त्यसैले मैले साथीको घरमै गएर सम्झाएँ– ‘अब आमा र बच्चा दुवैलाई खतरा हुन्छ, त्यसैले बच्चा पाउनु नै ठीक हुन्छ । फेरि पेटमा जुम्ल्याहा छन्, यस अवस्थामा अल्ट्रासाउन्डमा छोराछोरी स्पष्ट पनि देखिँदैन । मलाई थाहा भएसम्म धेरैको जुम्ल्याहामा छोरा–छोरी दुवै हुन्छ ।’ यसरी सम्झाउँदा उनीहरुले पत्याए पनि मेरो मनमा भने कता–कता डर थियो, मलाई पछि दोष पो दिने हुन् कि भनेर । नभन्दै उनका छोरा र छोरी नै जन्मिए । मबाट उनीहरु धेरै खुशी भएछन् । यतिसम्म कि पछि छोराको व्रतबन्धमा पनि मेरो एड्रेस पत्ता लगाएर बोलाउन आएका थिए । यो घटना सम्झिँदा अहिले पनि निकै आनन्द आउँछ ।
अन्त्यमा, नर्सिङ पेसामा नआएको भए तपाईंलाई के बन्थेँ जस्तो लाग्छ ?
नर्स बन्नुभन्दा पहिले मेरो इन्जिनियर बन्ने सपना थियो । त्यो सपना बच्चापनदेखिकै भएकाले यदि नर्स नभएको भए म अवश्य इन्जिनियर नै हुन्थेँ ।