पहिलो रोजाइ नै नर्स



   किरण दुवाडी मेट्रोन, ओम अस्पताल, काठमाडौं

पहिले–पहिले नर्सलाई समाजले हेर्ने नजर ठीक थिएन, त्यसैले त उनलाई परिवारबाट नर्सिङ पढ्न अनुमति भएन । नर्सले गर्ने काम के हो भन्ने नबुझ्दै जन्मिएको उनको सपनालाई मर्न नदिन दाइको सहयोगमा नर्सिङ क्याम्पस महाबौद्धमा भर्ना भएरै छोडिन् । पीसीएल नर्सिङ पास गर्नासाथ भरतपुर नर्सिङ क्याम्पसमा टिचरको रुपमा डिन अफिसले उनलाई छानेर पठायो । ‘मसँग नर्सिङ पेसामा केही गर्ने जुनुन थियो त्यस बेला, लकले पनि साथ दियो मलाई’, कुराकानीको क्रममा उनले भनिन्– ‘अबको बाँकी जीवन पनि यही पेसामा लगाउने चाहना छ ।’

उनी अर्थात् ओम अस्पताल चाबहिलकी मेट्रोन किरण दुवाडी । नर्सिङ क्षेत्रमा उनले आफ्नो ३६ वर्ष बिताइसकेकी छिन् । नेपालका विभिन्न नर्सिङ क्याम्पसमा अध्यापन गराएर उनले हजारौं नर्सहरु जन्माइसकेकी छिन् । अझै पनि उनको मुहारमा यही पेसामा रहेर थप सेवा दिने उत्साह देखिन्छ । सबैसँग मायालु र मित्रवत् व्यवहार देखाउने दुवाडीको उमेर ६० वर्ष पार भए पनि हेर्दा उनको उमेर कसैले विश्वास गर्न सक्दैन ।

‘यो मेरो पोजेटिभ थिङ्किङको रिजल्ट हो’, उनको फिटनेसको रहस्यको बारेमा जिज्ञाशा राख्दा भनिन्– ‘मान्छेले यति राम्रो जिन्दगी पाएको छ, हाँसीखुसी बाँच्न सक्नुपर्छ । दुःख र पीडा कसलाई हुन्न र रु मलाई नै हेर्नुस्, नर्सरीमा भर्ना गरेर छोडेकी छोरी बल्ल बीएस्सी गर्दा मात्र म उनको साथमा थिएँ, नत्र अधिकांश समय परिवारबाट टाढा बस्नु मेरा लागि कम पीडादायी थियो त रु तर पनि म हास्न छोडिनँ ।’ यिनै मेट्रोन किरण दुवाडीलाई साधना पत्रिकाले यस अंकका लागि नर्स अफ द मन्थ छनोट गरेको छ । प्रस्तुत छ सहायक सम्पादक जुनु भट्टराईले उनीसँग गरेको कुराकानीको सार :

पहिलेका नर्सहरूको विवाह गर्नसमेत गाह्रो पर्ने गथ्र्यो तर अहिले नर्सकै डिमान्ड बढी छ । विदेशमा राम्रो स्ट्यान्डर्डमा बसिरहेका नेपाली हुन् या विदेशी नै, विवाह गर्दा नर्सिङ पेसा भएकालाई नै बढी फोकस गर्छन् । उनीहरुको पहिलो रोजाइ नै नर्स पर्ने गरेका छन् ।

नर्सिङ पेसा नै रोजाइमा पर्नुको खास कारण ?

म सानी थिएँ । मेरी दिदी बच्चा पाउन नसकेर छट्पटिनुभएको रेहछ । म पनि दिदीलाई हेर्न आमासँग दिदीको घर गएकी थिएँ । भिनाजु रातभरि दिदीको लागि नर्स खोज्न जानुभएको थियो तर भेट्नुभएनछ । त्यति बेला नर्स भेट्न धेरै टाढा जानुपथ्र्यो । दिदी बित्नुभयो । दिदीलाई दाहसंस्कार गर्न लैजाँदा म माटोमा लडिबुडी गरेर रोएको याद छ । त्यहाँ भेला भएकाहरुले बिचरी नर्स भेटिएको भए बाँच्थी भनिरहेका थिए । नर्स भनेको के हो, के काम गर्नुपर्छ भन्ने थाहा नै नहुँदा पनि त्यसै बेला नर्स बन्ने सपना बोकिसकेकी थिएँ । तर त्यति बेला नर्सलाई हेर्ने नजर त्यति राम्रो नभएकाले परिवारबाट त्यति सपोर्ट भएन मलाई । तर मेरा दाजुले ‘तँलाई जे बन्न मन लाग्छ त्यही बन्’ भनेर महाबौद्धमा नर्सिङमा भर्ना गरिदिनुभयो । त्यति बेलादेखि अहिलेसम्म त्यस क्षेत्रलाई नै निरन्तरता दिइरहेकी छु ।

कसरी सुरु भयो करियर यस क्षेत्रमा ? 

पीसीएल नर्सिङ पढ्दा हामी ४६ जना थियौं । हाम्रो गु्रपबाट मैले मात्र पास गरें । त्यस बेला मैले नेपालको पहिलो ऐश्वर्य विद्यापदक पाएकी थिएँ । त्यसपछि डिन अफिसले  तत्काल मलाई भरतपुर नर्सिङ कलेजमा टिचर बनाएर पठायो । त्यहीँबाट सुरु भयो नर्सिङ करियर । त्यहाँ मैले १७ वर्ष काम गरें । त्यसपछि वीरगन्ज, पोखरा, तानसेन, महाबौद्ध विभिन्न ठाउँमा काम गरे । धेरै ठाउँमा प्रिन्सिपल भएर पनि काम गरिसकेकी छु ।

अस्पतालको नर्स बन्ने सपना छोडेर कलेजलाई नै रोज्नुको कारण ?

कलेजमा पढाउन पाउनु मेरा लागि निकै ठूलो अवसर थियो नि । मेरो जस्तै नर्स बन्ने सपना बोकेका हजारौं विद्यार्थीलाई पढाउन पाउनु चानचुने कुरा होइन । त्यो मेरो सपनाभन्दा केही स्टेप अगाडिको विषय थियो । नर्सिङ पढाउँदा थ्यौरिटिकल्ली मात्र होइन, प्राक्टिकल पनि गराउनुपर्छ । भोलि नर्सिङ इन्चार्ज, प्रोफेसर हुने मान्छे भनेर विभिन्नि जिल्लाका अस्पतालमा लगेर प्राक्टिकल गराउँथ्यौं र कलेजमा पढाउँथ्यौं। त्यही कुरालाई अस्पतालमा लागू गर्ने हो उनीहरुले । बाहिर देख्दा नर्सिङ कलेज र अस्पताल धेरै फरक देखिए पनि आखिर काम त एउटै हो नि ।

यत्तिका वर्ष कलेज पढाएको मान्छे, कसरी यता आउनुभयो ?

मेरो सबै परिवार यता काठमाडौंमा छोडेर म विभिन्न जिल्लामा पढाउन व्यस्त थिएँ । एकपटक छोरीले ‘मम्मी, मलाई नर्सरीमा भर्ना गरेर जानुभएको हजुर, म बीएस्सी पढ्न थालें र पनि पोस्टिङ भएन है’ भनेर फोन गरिन् । त्यति बेला म झसङ्ग भएँ । त्यसपछि मैले तत्काल कि मलाई पोस्टिङ चाहियो होइन भने राजीनामा स्वीकृत गरिदिनुपर्यो भनेर राजीनामा दिएँ । त्यसपछि काठमाडौंमा सीटीईभीटीमा वरिष्ठ पाठ्यक्रम अधिकृतको सेकेन्ड क्लास अफिसर्स भएर काम गरें ।

नर्सिङ कलेजहरुले कस्ता प्रडक्टहरु उत्पादन गर्दै छन्, उनीहरुको कठिनाइ के छ जस्ता विषयमा नजिकबाट बुझ्ने मौका पाइयो । ४ वर्षपछि सो काम छोडेर ‘सम्पूर्ण प्रसूति सेवा र नर्सिङ एन्ड बेसिक मेडिकल प्रसिडर’ नामक पुस्तक प्रकाशित गरें । त्यसबीचमा ओम नर्सिङ हेल्थ क्याम्पसले बोलाइरहेको थियो । पुस्तकको काम सकिएपछि त्यहाँ भाइस प्रिन्सिपल भएर सेवा सुरु गरें । केही अवधिपछि प्रिन्सिपल नै भएर १२ वर्षसम्म काम गरें । गत कात्तिकबाट अस्पतालमा पनि काम गरिहेरौं न त भनेर यहाँ आएकी हुँ ।

नर्सिङ शिक्षाको तह पूरा गरेपछि अस्पतालमा मात्रै काम गर्नुपर्छ भन्ने छैन, कलेजहरू उत्तिकै खुलिरहेका छन् । अस्पतालमा काम गर्न मन नभए कलेजमा पढाउन सकिन्छ । कलेजमा डिमान्ड पनि छ, च्वाइस किन छैन, प्रशस्तै छ नि

पुस्तक निकाल्ने सोचचाहिँ कसरी आयो नि ?

म सीटीईभीटीमा रहेर काम गर्दा भ्यालीबाहिरका प्रायः सबै नर्सिङ कलेजहरुमा भिजिट गरिसकेकी थिएँ । त्यहाँका नर्स, अहेवहरुले नेपाली भाषामा लेखिएका पुस्तकहरु नपाएर राम्ररी पढ्न नसकेको बुझेँ । त्यति बेला नै उनीहरुलाई सरल हुने गरी नेपाली भाषामा पुस्तक निकाल्नुपर्ला भन्ने सोच बनाइरहेकी थिएँ । त्यसैले सीटीईभीटी छोडेर पुस्तक प्रकाशित गरेकी हुँ ।

अस्पतालमा काम गर्दाको अनुभवचाहिँ कस्तो रह्यो ?

जति बेला मलाई अस्पतालमा मेट्रोनको पोस्टमा रहेर काम गर्न प्रस्ताव आयो, त्यति बेला म यो जिम्मेवारी पूरा गर्न सक्दिनँ होलाजस्तो लाग्थ्यो । २ सय जना नर्सिङ स्टाफलाई सम्हाल्न निकै कठिन हुन्छ भन्ने लागेको थियो । तर मैले जस्तो सोचेकी थिएँ, त्यति कठिन भएन । यआका हरेक नर्सिङ स्टाफ समझदार छन् । सबै डिसिप्लेनमा रहने भएकाले मलाई आफ्नो जिम्मेवारी पूरा गर्न खासै अप्ठ्यारो परेन । मैले सोचेभन्दा धेरै राम्रो चलिरहेको छ । धेरै इन्जोयका साथ काम गरिरहेकी छु ।

विभिन्न जिल्लाका अस्पताल पनि घुमिसक्नुभएको छ, अस्पतालले बिरामीलाई स्ट्यान्डर केयर दिनका लागि कस्ता कुरामा ध्यान दिनुपर्ला ?

स्ट्यान्डर केयर हरेक अस्पतालको पहिलो प्राथमिकतामा पर्छ । सबैले सकेसम्म यस कुरामा ध्यान दिइरहेका हुन्छन् पनि । तर मेरो देखाइमा खाली स्ट्यान्डर केयरभन्दा पनि नर्सहरुलाई जुन क्षेत्रमा इन्ट्रेस्ट छ त्यस क्षेत्रमा लगाउन सकियो भने यो स्ट्यान्डर केयर आफंै मेन्टेन हुन्छ । किनभने कुनै नर्सलाई डेलिभरी वार्डमा डर या घिन लाग्ला रे, कुनैलाई अप्रेसन थिएटरमा डर लाग्ला रे, उनीहरुलाई त्यस्तो ठाउँमा जिम्मा दिइयो भने काम त गर्लान् तर स्ट्यान्डर केयर कसरी दिन्छन् रु त्यसकारण यस्ता विषयका पनि ध्यान दिन सके अस्पतालको स्ट्यान्डर केयर केही मात्रामा आफैं मेन्टेन हुन्छ ।

आफ्नो प्रवेशले अस्पतालमा केही परिवर्तन आएजस्तो लाग्छ तपाईंलाई ?

एकजनाको प्रवेशले अस्पतालमा त्यस्तो ड्रास्टिक चेन्ज त के हुन्छ र रु तर मैले यहाँ एउटा नियम बनाएकी छु, यहाँ हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार नर्सिङ एजुकेसन क्लास हुन्छ । हाम्रै इन्चार्ज र स्टाफहरुले क्लास लिनुहुन्छ । यो क्लासले एक–अर्काको नलेज शेयर हुने मात्र नभएर एउटा विभागमा कार्यरत नर्सले अर्को विभागको डिजिज, त्यसको उपचार शैली, कठिनाइ, सोलुसनजस्ता विषयमा जानकारी पाउने हुन्छ र एक–अर्कामा क्रस हुन्छ । यो मैले सुरु गरेकी हुँ । अझै धेरै प्लानिङहरु छन्, जुन बिस्तारै लागू गर्दै जाने योजना छ ।

नर्सिङ पेसाको अवस्था के छ नेपालमा ?

पहिलेका नर्सहरूको विवाह गर्नसमेत गाह्रो पर्ने गथ्र्यो तर अहिले नर्सकै डिमान्ड बढी छ । विदेशमा राम्रो स्ट्यान्डर्डमा बसिरहेका नेपाली हुन् या विदेशी नै, विवाह गर्दा नर्सिङ पेसा भएकालाई नै बढी फोकस गर्छन् । उनीहरुको पहिलो रोजाइ नै नर्स पर्ने गरेका छन् । किनभने उनीहरूले यस पेसाको महत्व राम्ररी बुझेका छन् । नर्सिङ पेसामा अपर्चुनिटी पनि धेरै छन् । अन्तर्राष्ट्रियस्तरमा नर्सको डिमान्ड बढी छ ।

नर्सिङ पेसामा लागेर गौरव गर्ने बाटो सृजना भएको छ । पहिले पो सर्टिफिकेट लेभल मात्र थियो, यो लेभल क्रस गर्नासाथ स्टाफ नर्सको जागिर खोज्नुपर्ने बाध्यता थियो, त्यसको विकल्पै थिएन । तर अहिले ब्याचलर, डिग्री, पीएचडीसमेतको शिक्षा नेपालमै उपलब्ध छ । पीएचडी गर्न पहिलेजस्तो विदेश नै जानुपर्दैन । नर्सिङ शिक्षाको तह पूरा गरेपछि अस्पतालमा मात्रै काम गर्नुपर्छ भन्ने छैन, कलेजहरू उत्तिकै खुलिरहेका छन् । अस्पतालमा काम गर्न मन नभए कलेजमा पढाउन सकिन्छ । कलेजमा डिमान्ड पनि छ, च्वाइस किन छैन प्रशस्तै छ नि ।

तनाव व्यवस्थापन गर्न के गर्नुहुन्छ ? 

मलाई योग टिचरले योगको एउटा विधि सिकाउनुभएको छ, जसले रिस र तनावलाई किल गर्छ । म त्यही गर्छु । ५–६ पटक त्यो योगको विधि गरेपछि आफैं कुल हुन्छु ।

अन्त्यमा हाम्रा पाठकलाई केही भन्न चाहनुहुन्छ कि ? 

सबैभन्दा पहिला साधना पत्रिकालाई धेरै–धेरै धन्यवाद । हाम्रो कामको मूल्यांकन गरी हामीले दिने सेवाको बारेमा पाठकसमक्ष पुर्याइरहनुभएको छ । सबैले बुझ्नै पर्ने कुरा के छ भने ‘हेल्थ इज वेल्थ’ । त्यसैले आफ्नो स्वास्थ्यको बारेमा आफैँ सचेत हुनुपर्छ । सम्भव भएसम्म प्रत्येक ६ महिना वा एक वर्षमा पूरा शरीरको जाँच गराउनु जरुरी छ । हामी नेपालीको बानी नै छ कि जब सिकिस्त बिरामी पर्छांै तब मात्र स्वास्थ्यसंस्था दौडिन्छौं ।

त्यसैले यस विषयमा समयमै सचेत भएको राम्रो हो । अस्पताल र हामीले दिने सेवा तपाईंहरूकै लागि हो । काम गर्ने क्रममा कहिलेकाहीँ केही अप्ठ्यारा नआउने होइन, त्यसलाई तपाईंहरुले बुझेर चित्त नबुझेका कुरा सम्बन्धित ठाउँमा राखी हामीलाई काम गर्न सहज बनाइदिनसमेत अनुरोध गर्दछु, धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्