नर्सलाई ड्रेसप्रतिको मोह



लालदेवी महर्जन, नर्सिङ डाइरेक्टर, ग्रान्डी अस्पताल, काठमाडौं

उनी विद्यालयस्तरदेखि नै वादविवाद र वक्तृत्वकलामा निकै पोख्त थिइन् । आफूभन्दा माथिल्लो क्लासका सिनियर विद्यार्थीसँग भाग लिँदा पनि उनी सधैँ प्रथम हुन्थिन् । सानैदेखि वादविवाद, वक्तृत्वकलामा अब्बल भएकाले उनलाई धेरैले ‘बोल्नमा अब्बल छेस्, लयर बन्’ भन्थे । तर उनको मनमा सुषुप्तरुपमा रहेको नर्सले लगाउने ड्रेसप्रतिको मोहले आखिर नर्स बनाएरै छोड्यो । आफूसँग कन्फिडेन्स भए जीत आफ्नै हुन्छ भन्ने विचारलाई आत्मसात् गर्दै अगाडि बढेकी उनी अर्थात् ग्रान्डी अस्पताल, काठमाडौंकी नर्सिङ डाइरेक्टर लालदेवी महर्जनले यो पेसालाई अंगालेको पनि २८ वर्ष बितिसकेको छ ।

तर अझै यस पेसामा आफूले धेरै गर्न बाँकी रहेको उनी बताउँछिन् । ‘यस पेसामा लागेको हिजोजस्तो लाग्छ, आज कति चाँडो २८ वर्ष बितिसकेछ’, उनले भनिन्– ‘आफूलाई भित्रैदेखि इन्ट्रेस्ट भएको पेसामै आफ्नो करियर बनाएँ । कहिल्यै कामदेखि वाक्कदिक्क नलाग्ने रहेछ, बरु अझै यही पेसामा रहेर काम गर्ने जोश पो बढ्दै गएको महसुस हुँदोरहेछ ।’

यिनै ग्रान्डी अस्पतालकी नर्सिङ डाइरेक्टर लालदेवी महर्जनलाई साधनाले यस अंकका लागि नर्स अफ द मन्थ छनोट गरेको छ । प्रस्तुत छ, साधनाकी सहायक सम्पादक जुनु भट्टराईले उनीसँग गरेको कुराकानीको सार :

खाना छिटो खानू, औषधि खाने बेला भयो ।’ यति भनेको मात्रै के थिएँ, उसले एक्कासी ‘म खान्न, तँ आफैं खा’ पो भन्यो । म त झसङ्ग भएँ । मनमा चिसो पस्यो । कुरा बुझ्दा छेउको बिरामीले दिसा गर्न राखिदिएको ब्यागमा दिसा गरेको रहेछ । त्यो गन्हाएकाले उसले खाना नै नखाई रिसाएर बसेको रहेछ ।

नर्सिङ पेसा नै रोजाइमा पर्नुको खास कारण ?

म सानी थिएँ, लगभग ६–७ सात क्लासमा पढ्दाको कुरा हो । म आफन्तसँग बिरामी कुर्न पाटनको शान्त भवन अस्पताल गएकी थिएँ । त्यहाँ मेरो आफन्तको पनि आफन्तलाई भर्ना गरिएको थियो । त्यहाँ नाइट ड्युटी बसेका नर्सहरु ड्रेस लगाएर यताउति गरिरहन्थे, नम्र भएर बिरामी र उनीहरुका कुरुवासँग प्रस्तुत हुन्थे । त्यस बेलादेखि नै मलाई नर्सको ड्रेस र व्यक्तित्वप्रतिको मोह जागिसकेको थियो । त्यत्तिकै एसएलसी गरेपछि के पढ्ने भनेर कन्फ्युजन थियो । कसैले ‘तँ बोल्नमा एक्सपर्ट छस्, वकिल बन्’ भन्थे । कसैले केटीहरुका लागि पिके क्याम्पसजस्तो राम्रो कहीँ पनि छैन, पिकेमा पढ् भन्थे । मैले कुनै डिसिजन गर्न सकिनँ । त्यसैले ल क्याम्पस, पिके क्याम्पस र नर्सिङ क्याम्पस महमबौद्ध तीन वटैमा फर्म भरें । नीन वटामै फस्टमै नाम निस्किएछ । मलाई त झन् कन्फुजन पो बढ्यो ।

एक दिन म कलेज भर्ना गर्ने पैसा बोकेर जमलबाट रानीपोखरीतर्फ जाँदै थिएँ, त्यहाँ एक ट्राभल एजेन्सीको चिनजानका दाइले ‘एलडी बहिनी, कता जान लागेकी’ भनेर सोध्नुभयो । मैले मेरो कन्फ्युजनको बारेमा बेलिविस्तार लगाएँ । उनले चुपचाप लागेर महाबौद्ध गए हुन्छ भनी सम्झाउनुभयो । उहाँको चिनेको साथी पनि त्यहाँ हुनुहुँदोरहेछ । म पनि त्यहीँ भर्ना हुनका लागि इन्टरभ्यु दिन गएँ । त्यहाँ दुई किसिमका व्यक्तिलाई भर्ना लिँदोरहेछ । एक इन सर्भिस र अर्का फ्रेस । मलाई पनि तपाईं कस्तो भनेर सोधेको थियो । इन सर्भिस, फ्रेस कस्तो हो, मलाई थाहा छैन, म त एसएलसी पास गर्नासाथ आएकी हुँ भनिदिएँ । सबै हाँसे । मलाई फ्रेसबाट भर्ना लियो । त्यसपछि त्यहीँको होस्टल बसेर पढ्न थालें ।

इन्टरभ्यु दिन गएकी थिएँ । मलाई तपाईं इन सर्भिस कि फ्रेस, कस्तो हो भनेर सोधिएको थियो । मलाई थाहा छैन, म त एसएलसी पास गर्नासाथ आएकी हुँ भनिदिएँ । सबै गलल हाँसे ।

नर्सिङ करियर कहाँबाट सुरु भयो ?

हामीले तीनबर्से कोर्स गर्दै गर्दा टिचिङ अस्पताल खुल्दै थियो । त्यहाँ गीता पाण्डे म्याम मेट्रोन हुनुभएको थियो । उहाँले हामीलाई पढाउनु पनि हुन्थ्यो । उहाँले तिमीहरुले पास गर्नासाथ मलाई भेट्नू है भन्नुभएको थियो । हामीले पास पनि ग¥यौं । पास भएको थाहा भएपछि मार्कसिट पनि नआईकन साथीहरु मिलेर उहाँलाई भेट्न टिचिङ अस्पतालमा पुग्यौं । उहाँले हामीलाई फर्म भर्न लगाउनुभयो र भोलिपल्टबाटै काजमा वीर अस्पताल जाओ भन्नुभयो । तीन महिना वीरमा काम गरेपछि टिचिङमा ओपीडी खुल्यो । त्यसपछि टिचिङ अस्पतालमा आएर सर्जिकल वार्ड, मेल सर्जिकल वार्ड हुँदै विभिन्न वार्डमा काम गरें । त्यहाँ ओपीडी सञ्चालन नहुन्जेल अस्पतालको सामान यताउति मिलाउने कामसमेत गरियो । त्यहीँ काम गर्दागर्दै बीएन पनि सकें । त्यहीँ काम गर्दै साउथ इन्डियाको कर्नाटक राज्यको जेएल मेडिकल कलेजबाट एमएस्सी इन हस्पिटल एड्मिनिस्ट्रेसन पनि पढें ।

स्टाफ नर्सबाट सुरु गर्नुभयो, आज यहाँसम्म आइपुग्दा कस्तो फिल हुन्छ ?

मेरो काम स्टाफ नर्सबाट सुरु भएको हो । काम गर्दै जाँदा बीएन पढें । मेरो प्रमोसन भएर सिस्टर भएँ । इन्डियाबाट पढेर आएपछि फेरि प्रमोसन भएर सिनियर नर्सिङ सुपरभाइजर भएँ । २८ वर्ष यही पेसामा बिताइसकें । बिस्तारै यही पेसाले मलाई स्टाब्लिस ग¥यो, परिचय दियो, आत्मविश्वास दिलायो, आत्मसन्तुष्टि दियो । सारै रमाइलो लाग्छ आज सम्झँदा ।

कुशल नर्स बन्न चाहिने ५ गुण भन्नुपर्दा के लाग्छ तपाईंलाई ?
.टेक्निकल स्कील
.रिसलाई कन्ट्रोल गर्न सक्ने खूबी
.डिसिप्लेन मेन्टेन गर्ने खूबी
.पोलाइट नेचर
.सेल्फमोटिभेट, पेसाप्रति सेल्फ कन्फिडेन्ट ।

सरकारी जागिर छोडेर प्राइभेट अस्पतालमा काम गर्ने सोच कसरी बनाउनुभयो त ?

म सिनियर नर्सिङ सुपरभाइजर भएर काम गर्दै गर्दा यता ग्रान्डी इन्टरनेसनल अस्पताल सञ्चालनमा आउँदै थियो । त्यहाँका काम गर्ने केही डाक्टर यस ग्रान्डीमा पनि हुनुहुन्थ्यो । उहाँहरुले मलाई नर्सिङ डाइरेक्टरको रुपमा यहाँ काम गर्ने प्रस्ताव राख्नुभयो । म कन्फ्युज भएँ । उहाँहरुले त्यता नछोडी बेतलबी बिदा लिएर यता आउन अनुरोध गरेपछि म यहाँ आएकी हुँ । अब त बिदा पनि सकिन लागेको छ ।

बिदा सकिन लाग्यो भन्नुहुन्छ, के छ त अबको योजना ? यतै काम गर्नु हुन्छ कि उता ?

उता पनि मेरो सिनियर लेभलको नै पोस्ट हो, यता पनि नर्सिङ विभागकै हेड छु । करिब २५० नर्सहरुलाई अन्डरमा काम लगाइरहेकै छु । उता हुँदा निकै अवसर हात पर्यो , आफ्नो कार्यक्षमता देखाएकै २८ वर्ष भइसक्यो । धेरै कुरा हेर्ने हो भने उतै राम्रो छ नि । तर यो इन्टरनेसनल स्तरको अस्पताल हो । यहाँ जब ग्यारेन्टी नभए पनि आर्थिकरुपले उताको भन्दा राम्रो छ । खोई मैले डिसाइड नै गर्न सकेकी छैन ।

इन्टरनेसनल स्तरको अस्पताल भनिन्छ, कसरी इन्टरनेसनल स्तरबाट नर्सिङ सेवा दिँदै हुनुन्छ ?

यता धेरै इस्ट्यान्डर्ड छ । तपाईंले पनि हेर्न सक्नुहुन्छ । यहाँ बाहिरजस्तै १ नर्सले ६ बिरामीलाई मात्र हेर्ने व्यवस्था छ । क्याबिनमा १ नर्सले ४ बिरामी र आईसीयुमा १ नर्सले १ बिरामी मात्र हेर्ने व्यवस्था छ । युरोप, अमेरिकाका अस्पतालहरुमा एउटा नर्सले जस्तो सर्भिस दिन्छन् यहाँ त्यस्तै सर्भिस उपलब्ध छ । साइन्सले सिकाएका कुरा त यहाँ पनि युरोप–अमेरिकामा पनि उस्तै हो ।

त्यसबाहेक उपचारमा प्रयोग हुने प्रविधि पनि आधुनिक शैलीकै छ । इन्टरनेसनल काउन्सिल अफ नर्सका कोडहरुले हामीलाई गाइड गर्छ । प्रिन्सिपल त जहाँको पनि उही नै त हो । यहाँ सेवा सुरु गर्नुपहिले अमेरिकाको इन्डियाना स्टेटको टेरेहट भन्ने ठाउँको नर्सिङ डाइरेक्टर आउनुभएको थियो । उहाँले ओरिएन्टेसन क्लास दिनुभएको थियो । बैङ्ककको समितिभेज अस्पतालका नर्सिङका टिम, राइरेक्टर टिम, कन्ट्रक्सनका टिम आउनुभएको थियो । उहाँहरुले आ–आफ्नो सेक्टरका स्टाफहरुलाई गाइड गर्नुभएको थियो । अस्ट्रेलियाको नर्स टिच रिच भन्ने गु्रप छ, उहाँहरु वर्षमा १ पटक आएर हामीलाई क्लास दिनुहुन्छ । हामी यहाँ ती कुरा लागू गर्छौं ।

तनावलाई व्यवस्थापन गर्न के गर्नुहुन्छ ?

त्यो आफ्नो मुड र स्वीच्वेसनमा भर पर्छ । आफूसँग फेमिलियर मनिसको कुनै व्यवहारबाट तनाव भएको भए म उनीहरुसँग मनको सबै बह पोखेर मनलाई शान्त बनाउँछु । यदि अरु कुनै कारणले तनाव भएको भए एकछिन् एक्लै बसेर आफैंसँग मुर्मुरिन्छु अनि शान्त हुन्छु ।

काम गर्ने क्रममा बिर्सनै नसकेका केही कुरा छन् भने सेयर गर्नुहुन्छ कि ?

म भर्खरै स्टाफनर्स भएर काम गर्ने क्रममा मेल सर्जिकल वार्डमा एक एपेन्डिसाइडको बिरामी भर्ना भएको थियो । एक दिन उसलाई औषधि खुवाउन भनेर गएको थिएँ । त्यस बेला उसको खाना खाने टाइम थियो । तर खाना नखाएको देखेर मैले उसलाई भनें– ‘खाना छिटो खानू, औषधि खाने बेला भयो ।’ यति भनेको मात्रै के थिएँ, उसले एक्कासी ‘म खान्न, तँ आफैं खा’ पो भन्यो । म त झसङ्ग भएँ । मनमा चिसो पस्यो । कुरा बुझ्दा छेउको बिरामीले दिसा गर्न राखिदिएको ब्यागमा दिसा गरेको रहेछ । त्यो गन्हाएकाले उसले खाना नै नखाई रिसाएर बसेको रहेछ । मेरो गल्ती नै नभई त्यो बिरामीले किन त्यस्तो व्यवहार ग¥यो भनेर म कति दिन दुःखी भएँ । काममा राम्ररी मन लगाउनै सकिनँ । पछि सिनियरहरुले सम्झाएपछि हो है भनेर मनलाई सम्झाएँ । त्यो घटना सम्झँदा आज पनि कस्तो–कस्तो लाग्छ ।

अन्त्यमा यस पेसामा आउन खोज्ने नर्सहरुलाई के भन्न चाहनुहुन्छ ?

यस पेसामा आउनलाई भित्रैदेखि इन्ट्रेस्ट हुनुपर्छ । यदि तपाईंहरु यस पेसामा प्रवेश गरेर बाहिर जाने योजना छ भने यस पेसामा प्रवेश नगर्दा नै उचित हुन्छ । साँच्चिकै भित्री इन्ट्रेस्टले यस पेसामा आउने भए म स्वागत छ भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्