डा. अरुणा उप्रेती
कैलालीकी सुनिता १३ वर्षकी हुँदा उनी घरनजिकैको स्कुलमा ४ कक्षामा पढ्थिन् । कक्षामा सुनिता सबैभन्दा जेठी भएकीले उनलाई सँगै पढ्नेहरुले दिदी भन्थे । पहिले त साथीहरुले त्यसरी भनेको सुनेर उनलाई एकदम नमज्जा लाग्थ्यो तर पछि बानी पर्दै गइन् । आमाले सुनितालाई भनिरहन्थिन्– ‘नानी हाम्रो त पढ्ने–लेख्ने समय गइसक्यो । जिन्दगीमा हामीले धेरै दुःख पायौं । कतिले हामीलाई ठगे । तर तिमीले त ढिलो भए पनि पढ्ने मौका पाएकी छौ । राम्रोसँग पढ है । तिमीले पढेपछि तिम्रा भाइबहिनी पनि स्कुल जानेछन् । अनि तिमीहरुलाई कसैले
ठग्न पाउँदैन ।’
सुनिता पनि आमाले भनेको कुरा सत्य हो भन्ने ठानेर स्कुल जान्थिन् । गरिब परिवारकी छोरी भनेर शिक्षकले पनि उनलाई माया गर्थे । सुनिता ४ कक्षामा पुगेपछि उनलाई महिनावारी भयो । त्यस ठाउँको चलनअनुसार उनी छाउगोठमा बस्नुपर्ने भयो । छाउगोठ भनेको महिनावारी भएको बेलामा बस्नका लागि घरबाहिर छुट्टै बनाइएको सानो एककोठे गोठ हो । आमाले भनिन्– ‘नानी † अब तिमी १२ दिनसम्म स्कुल जान पाउँदिनौ । घरभित्र आउन पनि पाउँदिनौ । तिमीले यही छाउगोठमा बस्नुपर्छ ।’
यो कुरा सुनेर सुनितालाई रुन मन लाग्यो । उनले भनिन्– ‘आमा, राती कसरी यस्तो कोठामा एक्लै सुत्ने ? चोर आयो, कसैले तर्सायो भने के गर्ने ?’ आमाले सम्झाउँदै भनिन्– केही हुँदैन, यो टोलका सबै महिला यसै गरी बस्छन् । यदि तिमी महिनावारी भएको बेलामा घरमा बस्यौ भने त घरमा आगलागी हुन्छ । घरभित्र बाघ आउन सक्छ । हामीलाई पाप लाग्छ । देउता पनि रिसाउँछन् । महिनावारी भएको बेलामा तिम्रा साथी पनि यसै गरी बस्छन्, तिमी मात्र हो र ?’
सुनिता दुःखी भइन् । बाध्य भएर उनी छाउपडीमा बसिन् । उनी स्कुल नगएको पनि ५–६ दिन बित्यो । त्यसैले एक शिक्षिका सुनिताको घरमै आइन् । सुनिता छाउपडीमा बसेको देखेर शिक्षिकालाई दिक्क लाग्यो भने सुनिता पनि रुन थालिन् । शिक्षिकाले सम्झाउँदै भनिन्– ‘सुनिता † सरकारले यो कुरीति हो भनिसकेको अवस्थामा तिम्री आमामा अझै अन्धविश्वास हटेको रहेनछ । मैले थाहा पाएको भए तिमीलाई यसरी बस्न दिन्नथें । अब परीक्षा आउँदै छ, झन् मेहनत गर्नुपर्ने बेलामा स्कुलमा नै नपठाउने त ठीक भएन नि ? पख, म केही उपाय गर्छु ।’
भोलिपल्ट बिहान सुनिताको घरमा कालो ज्याकेट लगाएका, हातमा डन्डा लिएका दुई व्यक्ति आए । उनीहरुले सुनिताका बाबालाई सोधे– ‘हामी प्रहरी कार्यालयबाट आएका हौं । यहाँ एक किशोरीलाई स्कुल पनि नपठाई कानुनविरुद्ध छाउपडीमा राखिएको छ रे ? साँच्चै गैरकानुनी काम भएको भए जेलमा हाल्नुपर्ने पनि हुन सक्छ ।’ उनीहरुको कुरा सुनेर सुनिताका बाबा डराए । उनले घरभित्र हेर्दै भने– ‘ए सुन्तली † छिट्टै बाहिर आऊ त । प्रहरीहरु आउनुभएको छ ।’ प्रहरी आएको कुराले सुनिताकी आमा पनि झस्किएर बाहिर आइन् ।
प्रहरीले सोधे– ‘तपाईंकी छोरी सुनिता कहाँ छिन् ?’ महिनावारी भएकाले स्कुल नगई छाउपडीमा बसेको कुरा सुन्तलीले बताइन् । प्रहरीले भने– ‘तपाईंले महिनावारी भएकी छोरीलाई छाउपडीमा राखेर स्कुल नपठाउनु कानुनविरुद्ध हो । त्यसैले तपाईं प्रहरी कार्यालयमा हिँडनुस् ।’ सुन्तली त रुँलाजस्तै भइन् र भनिन्– ‘अबदेखि यस्तो गर्नेछैनौं, एकचोटिलाई माफ दिनुस् ।’ प्रहरीले डन्डा हल्लाउँदै भने– ‘ठीक छ, आजलाई माफ दिन्छौं तर छोरीलाई तुरुन्त घरभित्र लगेर राख्नुुस् र भोलिदेखि स्कुलमा पठाउनुस् । हामी भोलि स्कुलमा गएर बुझ्नेछौँ ।’ यति भनेर प्र्रहरी गए ।
आमाले सुनितालाई हत्तपत्त छाउपडीबाट घरभित्र लगिन् । सुनिता पनि दंग परिन् । उनी त्यो रात आनन्दले निदाइन् । भोलिपल्ट आमाले सुनितालाई स्कुल पठाइन् । सुनितालाई स्कुल आएको देखेर शिक्षिका पनि खुशी भइन् । ‘मैले पठाएका प्रहरीले तिम्री आमालाई तर्साए कि क्या हो ?’ शिक्षिकाले हाँस्दै सुनितालाई भनिन्– ‘तिम्री आमालाई त्यो छाउपडी कोठालाई अब मालसामान राख्ने कोठा बनाउनँ भन्नँ । एक हप्तापछि फेरि प्रहरी तिम्रो घरमा आउनेछन् ।’ सुनिताले सोधिन्– ‘फेरि किन आउने प्रहरी ?’ शिक्षिकाले उत्तर दिइन्– ‘किनकि तिमीलाई फेरि त्यस छाउपडीमा नराखँन् भनेर ।’
सुनिताले आमालाई सबै कुरा बताइन् । आमाले पनि डराएर पुराना भाँडाकुँडा, नचाहिने मालसामान सबै त्यही कोठामा लगेर राखिन् । एक महिनापछि प्रहरी आएर छाउपडी कोठामा हेरे । ल ठीक छ भन्दै अबदेखि यो कोठा यस्तै सामान राख्नका लागि प्रयोग गर्नँ भनी फर्किए ।
भोलिपल्ट सुनिता स्कुल पुगेपछि शिक्षिकाले भनिन्– ‘सुनिता † हामीले नक्कली प्रहरी बनाएर तिम्री आमालाई तर्साएका हौं । अब तिमी अनि आमाले कहिल्यै छाउपडीमा बस्नुपर्दैन । तिम्रो स्कुल पनि छुट्दैन । छाउपडी प्रथा तिम्रो घरबाट हटाउन यसो गरिएको हो । राम्रो कामका लागि नक्कली काम गर्दा पनि राम्रै ठानेका छौं ।’ शिक्षिकाको कुरा सुनेर सुनिता दंग परिन् । त्यसपछि सुनिता कहिल्यै छाउपडीमा बस्नुपरेन ।