गर्मी र जाडोको साथी बाबरी र कागती



डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

गर्मी बढेसँगै ‘स्वाद’ लिन चिसो पिउनेहरू कोल्डस्टोरतिर झुम्मिने गरेको देखिन्छ । तर त्यस्ता चिसो पेयले कसरी अस्वस्थ बनाउँछ भन्ने प्रायः विचार गरेका हुँदैनन् । बरु उल्टै प्रश्न गर्छन्, ‘गर्मीको बेला चिसो नखाएर के पिउने त ?’ यसको जवाफ म प्रश्न नै सोधेर दिन चाहन्छु, ‘आधुनिक चिसो पेय नेपालमा नहुँदाचाहिँ मानिसहरु के पिउँथे त ?’

वर्षैभरि नै पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेला पनि तातो वा चिसो पदार्थमा मिसाएर खान सकिन्छ । स्वाद र स्वास्थ्यका दृष्टिले पनि कागती लाभदायक छ । म सानो छँदा २५ पैसामा एउटा कागती पाइन्थ्यो, अहिले १५ रुपियाँसम्म पर्छ । म व्यक्तिगतरुपमा कागतीलाई औषधिको डल्लो भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती–चिया खान्छु । कागतीको रस दालमा मिलाएर पनि खान्छु । यसैले मैले कहिल्यै पनि भिटामिन ‘सी’को गोली खानै परेको छैन ।

कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरैले थाहा पाइसकेका छन् । भिटामिन ‘सी’ले रोगसंँग लड्न सक्ने (रोगप्रतिरोधात्मक क्षमता) प्रदान गर्छ भन्ने कुरा विज्ञानले पुष्टि गरेको छ । हाम्रो भान्सामा खाइने अचार पनि भिटामीन ‘सी’युक्त हुन्छ । हाम्रा पुर्खाहरुले गर्मी शुरु हुने बेला अक्षय तृतियामा कागतीको सर्बत र जौको सातु खाने चलन पनि कागतीको महत्व बुझेर नै चलाएका होलान् । गर्मीको बेला कागतीसँग सातु खाँदा पेट भरिन्छ र त्यो बेला हुने पेटको गडबडीबाट बच्न सकिन्छ । यसबाट गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि प्राप्त हुन्छ ।

तर अफसोस ∕ सातु र कागतीको सर्बत पिउने चलन हराउँदै गएको छ । आजकाल त अक्षय तृतियाको दिन होस् या जन्म दिन, जुस भनेर फलफूलको बास्ना आउने महँगो पाकेटबन्द चिनीको झोलमै रमाउने गरिन्छ । यसले मानिसको स्वास्थ्यलाई मात्र नोक्सान पु¥याउने होइन, नेपाली संस्कृतिलाई पनि नष्ट गर्छ । आर्थिक हानि त छँदै छ । जुसको नाममा अस्वस्थकर झोल पिउनुको सट्टा कागतीको रस प्रयोग गर्न उचित हुन्छ । कतिपयलाई साँच्चै नै पाकेटबन्द ती ञने भए तापनि सबैमा पौष्टिक तत्व हुन्छ । आयुर्वेदमा कागतीको महत्वका बारेमा विस्तृत वर्णन गरिएको छ । भनिन्छ– कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले
प्रवेश नै पाउँदैन ।

विशेष गरी ग्रामीण क्षेत्रमा बस्ने धेरै नेपाली महिलालाई रक्तअल्पता भएको पाइन्छ । यस्ता महिलालाई रगतको आपूर्ति गर्नका लागि विभिन्न औषधिहरु दिने गरिन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौहतत्वलाई शोषण गर्न मद्दत गर्छ भन्ने कुरा प्रायः विचारै गरिन्न । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँंग खानु भन्छन् । शायदै कुनै स्वास्थ्यकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्छन् होला । ‘कागतीको रस मिसाएर भोजन खानु’ भन्दा औषधि कम्पनीहरुलाई फाइदा हुँदैन । शायद त्यसैले हो कि कागतीलाई बढावा दिने र सस्तैमा फाइदा पुग्ने जानकारी दिन कन्जुस्याइँ गरिन्छ ।

मास वा कुनै दालसँग कागतीको रस वा गोलभेंडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल–तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमी हुनबाट रोक्न सकिन्छ । यसबाट प्रोटिन पनि प्राप्त हुन्छ, महिलाको शरीरमा रगत पनि बढ्छ ।

साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७ औं शताब्दीमा पत्ता लागेको थियो । शरीरको क्रियाकलापलाई सुचारु गर्न यो एसिडको महत्व छ । कागतीमा यो एसिड प्रशस्त मात्रामा पाइन्छ । यति लाभदायक भएर पनि आममानिस यसको प्रयोगमा त्यति धेरै उत्साहित भएको पाइँदैन । यदि कागती विदेशबाट प्याकेटमा आउने र ठूला–ठूला मलहरुबाट महँगोमा बेचिने गरेको भए शायद कागतीको महत्व बढी हुन्थ्यो होला र प्रयोग पनि धेरै हुन्थ्यो होला । कागती भिटामिन ‘सी’ र साइट्रिक एसिडले भरिपूर्ण छ तर पनि फुटपाथ, साधारण तरकारी पसलमा जताततै पाइन्छ । त्यसैले पनि शायद यसले महत्व नपाएको होला ।

हुन त आजकल कागतीको रस हालेर चिया, सर्बत खाने वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि बोतलबन्द चिसो पेयपदार्थको सट्टा स्वास्थ्यकर कागतीको सर्बत दिन हिचकिचाउनुपर्दैन । बालबालिकालाई पनि बट्टाको जुस होइन, कागतीको सर्बत दिने गरौँ । किनभने कागतीको रसमा सूक्ष्म मात्रामा भिटामिन ‘बी’, फोलिक एसिड पनि पाइन्छ । बालबालिकालाई यसले स्वस्थ राख्छ, रोगसँग लड्ने शक्ति बढाउँछ । साथै अप्रत्यक्षरुपमा औषधि किन्ने पैसा पनि बच्छ ।

कागतीको रसको प्रयोगले गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत्त पुग्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै छ । रुघाखोकी लाग्दा कागती–पानी र मह खानुपर्छ भन्ने कुरा धेरैले थाहा पाएका छन् । कागतीलाई दैनिक भोजनको रुपमा प्रयोग गर्दा रोगप्रतिरोधात्मक शक्ति बलियो हुन्छ । साथै यसले हरेकपटक मौसम बदलिँदा रुघाखोकी लाग्ने पनि कम हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नून खान सल्लाह दिइन्छ । यसले वास्तवमा नै वाकवाक कम गर्छ । यसकै लागि कागतीलाई नूनमा मलेर घाममा राख्ने पनि गरिन्छ । तर शहरमा यस्तो सल्लाह दिने गरेको पाइँदैन । सल्लाह दिइहाले पनि खासै वास्ता गरिँदैन । बरु महिलालाई वाकवाक आयो भने तुरुन्तै औषधि नै प्रयोग गरिन्छ । म आफैं गर्भवती हुदाँ कागती, नून र अदुवाको प्रयोग गर्थें । त्यसैले वाकवाक कम गर्ने औषधि खानै परेन । कागतीको प्रयोगले कब्जियत हुनबाट पनि बचाउँछ ।

जाडोको बेलामा कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन हाम्रा बज्यैहरुले पहिलादेखि नै गर्दै आएका हुन् । मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैन भने कागतीको रस र तातो पानीले कुल्ला गर्दा फाइदा गर्छ । कागती–पानीको कुल्लापछि पुनः पानीले एकचोटि कुल्ला गर्नुपर्छ, जसले गर्दा कागतीको अमिलोले दाँतमा असर नपरोस् । नेपालमा गरिएको एक अनुसन्धानअनुसार ‘कागतीको रसले हैजाको कीटाणु वृद्धि हुन रोक्छ । तर खुमलटारस्थित नेपाल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजीबाट गरिएको यो अनुसन्धानको व्यावहारिक प्रयोग भएन । साधारण मानिसको जानकारीका लागि यो अनुसन्धानको रिपोर्ट बाहिर आएन । गर्मीको बेला कागतीको प्रयोग उचित हुन्छ भनेर अनुसन्धान गर्नेले कतै बोलेनन् ।

कागतीको रसले मात्र होइन, बोक्राले पनि फाइदा गर्छ । तर कागतीको रस प्रयोग गर्ने व्यक्तिले पनि कागतीको बोक्राचाहिँ फ्याँक्ने गरेको देखिन्छ । कागतीको बोक्रा पनि स्वास्थ्यको लागि लाभदायक छ । कतिपय अवस्थामा हामी रिसाएको व्यक्तिलाई ‘रस निकालेको कागतीको बोक्राजस्तो अनुहार अर्थात् काम नलाग्ने पनि भन्छौं । तर कागतीको बोक्राको कति महत्व छ भन्ने थाहा भएपछि यो वाक्य भनिन्न होला । कागतीको बोक्रामा रेसादार पदार्थ र क्याल्सियम पनि पाइन्छ । केही अनुसन्धान प्रतिवेदनमा कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान हुने कुरा उल्लेख छ ।

कागतीको रस निकाल्नुभन्दा अगाडि कागतीलाई धोएर काट्नुपर्छ । रस निकालेपछि बोक्रालाई स–सानो टुक्रा पारी सलादमा हालेर खान सकिन्छ । कागतीको बोक्रा टुक्रा पारी चियामा हालेर खान पनि सकिन्छ । यो शुरुमा अलि तीतो–तीतो लागे पनि पछि बानी बस्छ । यदि तीतो स्वाद मन पर्दैन भने नून हालेर कागतीको बोक्रा सिसीमा राख्नुस् । सो सिसी केही दिन घाममा राखेपछि कागतीको बोक्रा अचारमा बदलिन्छ अनि खानलायक हुन्छ । कागतीको रस, बोक्रा सबै स्वास्थ्यको लागि धेरै लाभदायक छ । गर्मी र जाडो दुवै याममा यसले फाइदा दिने भएकाले यसको प्रयोग गर्ने बानी बसालौं ।

गर्मीमा पुदिनाको प्रयोग

दुई वर्षअघि अमेरिकामा धेरै महँगोमा मैले बाबरी किन्नुपर्यो । खाजा खान गएको एक ठाउँमा खैरो पाउरोटी, अण्डा, चीज आदि लिएर खान बसेँ । चिसो पेयपदार्थ लिइनँ । त्यहाँ धेरैले पेप्सी लिइरहेका थिए । एउटा मेसिनमा पानी राखिरहेको थियो । त्यसमा बाबरी (पुदिना)को पात तैरिरहेको थियो । त्यो त सित्तैमा होला भनेर गिलासमा पानी लिएँ, दुईवटा पुदिनाका पात झारें । म लिएर टेबलमा बस्न लागेको बेलामा साहुनीले भनिन्– ‘त्यो पानीको ५० सेन्ट (नेपाली ५० रुपियाँ) पर्छ ।’ मैले जिस्किएर भनें– ‘यत्तिका खानेकुरा लिएपछि पानी त सित्तैमा हुनुपर्ने होइन र ?’ साहुनीले भनिन्– ‘पानी त सित्तैमा, पैसा त बाबरीको पो लिएको ।’

गर्मीको बेला पुदिनाको पात राखी बनाएको सर्बत पिउनु लाभदायक हुन्छ । पिसेर तयार गरिएको पुदिनामा वीरेनून र कागती हालेर खाँदा स्वादिलो हुन्छ, यसले फाइदा पनि दिन्छ ।

बाबरीको दुईवटा पत्ताको ५० सेन्ट तिरें । त्यस बेला मैले मेरो बारीमा फलेको बाबरीको बोट सम्झें । बाबरीको अचार बनाएर खाने चलन त पहिलेदेखिकै हो । अमेरिकामा त बाबरी हालेको पानी नै त्यति महँगो हुन जाँदो रहेछ । मैले ती साहुनीलाई भनें– ‘मेरो घरमा त बाबरीको धेरै बोट छ । हामीले त जति खाए पनि पैसा तिर्नुपर्दैन ।’ उनले भनिन्– ‘हो नि ∕ के गर्नु, यहाँ त सबैको पैसा लाग्छ ।’

वास्तवमा बाबरीले स्वास्थ्य राम्रो गर्छ । तर ‘नजिकको तीर्थ हेला’ भनेझैँ हामी पुदिनालाई त्यति धेरै महत्व दिदैनौं । तयारी अवस्थामा औषधिको रुपमा त्यही पुदिना बजारमा आउँदा जति पनि पैसा तिरिन्छ । त्यही पुदिनाबाट भारतमा उत्पादन गरिएका ‘पुदिनहरा’ क्याप्सुल नेपाली बजारमा प्रशस्तै बिक्री भएको देखिन्छ ।

गर्मीको बेला पुदिनाको पात राखी बनाएको सर्बत पिउनु लाभदायक हुन्छ । पिसेर तयार गरिएको पुदिनामा वीरेनून र कागती हालेर खाँदा स्वादिलो हुन्छ, यसले फाइदा पनि दिन्छ । पुदिना महीमा राखेर पनि खान सकिन्छ । यसले शरीरमा स्फूर्ति दिन्छ । बाबरी र कागतीको टुक्रा पानीमा भिजाएर पनि खान सकिन्छ । जुन तरिकाले खाए पनि यसले स्वास्थ्यलाई फाइदा पुग्छ । हरेक किसिमले खान सकिने र स्वास्थ्यलाई फाइदा दिने भएकाले म त भन्छु– ‘बाबरी र कागती गर्मीको साथी नै हुन् ।’

फलामको भाँडोमा पकाएको कुनै पनि दाल–तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमी हुनबाट रोक्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्