रक्सी धेरै खाँदा जन्डिस
कालिकोट घर भई भारी बोक्ने पेसामा संलग्न ४५ वर्षीय चन्द्र परियार दिनहुँनै २५० मि.लि. जति रक्सी पिउने गर्थे । विगत १५ दिनदेखि उनलाई थकाइ धरै लाग्ने, भोक नलाग्ने, शरीरको तौल घट्दै जाने, वाकवाक लाग्ने, पेट दुख्ने भएको गुनासो लिएर आयुर्वेद अस्पताल, नरदेवी पुगे ।
चन्द्र परियारमा लामो समयदेखि रक्सी सेवनले कलेजोको कार्यशैली बिग्रिएर (अल्कोहल इन्डयुस्ड लिभर डिजिज) जन्डिस भएको थाहा भयो । कलेजोको रोगको कारण उनमा जन्डिस देखिएको हो ।
गर्मी मौसममा स्वास्थ्यसम्बन्धी संक्रमण धेरै देखिने गर्छ । जलवायु परिवर्तन र वातावरण प्रदँषणले गर्दा पहाडी भँभागमा समेत गर्मी ठाउँमा हुने समस्या बढ्दै गएका छन् । हाल तापक्रम वृद्धिसँगै अस्पतालहरूमा कामला (जन्डिस) का बिरामीको संख्या
बढिरहेको छ ।
सरसफाइको कमीले जन्डिस
मोरङको पथरीबाट काठमाडौँमा लोकसेवाको तयारी गर्न बसेका २४ वर्षीय विकास आचार्य समय जोगाउन सधैँ होटलमा खाना खान्थे । ३ दिनदेखि पिसाब पहेँलो हुँदै गयो, आँखा पहेँलो भएर आयो, भोक लाग्न छोड्यो भन्दै उनी आयुर्वेद अस्पताल नरदेवी पुगे । जाँचपछि उनलाई हेपाटाइटिस ‘ई’को कारण जन्डिस भएको देखियो । सरसफाइको कमीले दिसा–पिसाबको माध्यमबाट संक्रमण भएर उनलाई यो समस्या आएको थाहा भयो । हेपाटाइटिस ‘ए’ र ‘ई’ भनेको एक किसिमको भाइरस हो । यो बाहिरको संक्रमित खाना र पानीको माध्यमबाट सर्छ ।
गर्मीका कारण जन्डिस
यस्तै महोत्तरीको पिपराबाट आई काठमाडौं, कालीमाटीमा तरकारी बेच्ने ४० वर्षीय जीवच्छ यादव दिनको १२ कप चिया पिउँथे । उनको खाना खाने कुनै टुंगो हुँदो रहेनछ । ३ दिनदेखि जीउ भारी हुने, दिसा कालो–कालो आउने, शरीरको तापक्रम बढ्ने, जीउ गल्ने र वाकवाक लाग्ने हुन थालेपछि नजिकैको औषधि पसलबाट सिटामेल लिएर खाए । त्यसपछि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर पुगे ।
जीवच्छ यादवलाई कुनै संक्रमण नभएर कलेजोमा तनाव र दबाब परेर एवं शरीरमा अत्यधिक ताप वृद्धि भएर एनामिया (पाण्डु) भई जन्डिस भएको थाहा भयो । यो गलत जीवनशैलीको कारण देखिएको जन्डिस हो ।
गर्भवती र शिशुलाई हुने जन्डिस
बालाजु घर भएकी ३३ वर्षीया अम्बिका तामाङ ३ महिनादेखी गर्भवती छिन् । २ दिनदेखि उनलाई खान मन लागिरहेको छैन, पिसाब पहेँलो गइरहेको छ, आँखा र नङ पनि पहेँलो भएर आएको छ भन्दै उनी शिक्षण अस्पताल, महाराजगन्जका स्त्री तथा प्रसुति विभाग पुगिन् ।
अम्बिका तामाङमा संक्रमणको कारण प्रिग्नेन्सी इन्डयुस्ड इक्टेरस भएको हो । यो सामान्यता संक्रमणलगायत अन्य शारीरिक जैव रासायनिक क्रिया तथा प्रतिक्रियाले हुने हुन्छ ।
यसै गरी कास्की पोखरा घर भई काठमाडौंमा सरकारी जागिरे ३१ वर्षीया गोमा विष्ट सुत्केरी भएको ५ दिन भयो । उनको नवजात छोराको छाला अत्यधिक पहेँलो भएकोले उनी चिन्तित हुँदै कान्ति बालअस्पताल, महाराजगन्ज पुगिन् ।
हेमोलाइसिस भएर गोमा विष्टको छोरालाई जन्डिस देखियो । यो जन्डिस आबिसी टुक्रिएर हुने गर्छ । यो नियोनेटल जन्डिस सामान्यतः १५ दिनसम्ममा स्वतः हराएर जाने हुन्छ । सानो बच्चाको जन्डिस बिहानको घाममा राखेर र फोटोथेरापीमा सेकाएपछि निको हुन्छ ।
नवजात शिशुमा बच्चामा एन्जाइमसको कमीले गर्दा पनि जन्डिस देखिन सक्छ । यस्तो खालको जन्डिस लामो समयसम्म रहिरहन्छ र नर्मल जन्डिसभन्दा फरक खालको हुन्छ । रगत जाँच र भिडियो एक्सरे गरेपछि कुन खालको जन्डिस हो भन्ने पत्ता लाग्छ । एन्जाइमको कमीले गर्दा हुने भनेको जिसिपिडी डेफिसेन्सी हो । यो छोरा शिशुहरुमा बढी देखिन्छ । यो नवजात शिशुदेखि ३÷४ वर्षको उमेरका बच्चामा देखिन्छ । नवजात शिशुमा थाइराइड हर्मोनको कमी भयो भने जन्डिस देखा पर्छ ।
डाक्टरकै कारण बिरामीलाई दुःख
जन्डिसबारे ऐलोपेथी डाक्टरहरुमा अधुरो र एकोहोरो धारणा छ । जन्डिस किन हुन्छ ? देखि यो कसरी निको हुन्छ ? भन्नेबारे त्यही एकोहोरो धारणाले बिरामीले दुःख पाइरहेका छन् । खासमा जन्डिस लक्षण मात्र होइन, रोग पनि हो । पेट दुख्नु, ज्वरो आउनु भनेजस्तै जन्डिस पनि विभिन्न रोगमा देख्न सकिने लक्षण हो । साथै स्वतन्त्ररुपमा उत्पन्न हुन सक्ने रोग पनि हो । जन्डिस सामान्य लक्षण होइन, यसको सही तरिकाले उपचार गरिएन भने यो प्राणघातक पनि हुनसक्छ ।
जन्डिस स्वतन्त्ररुपमा पनि देखा पर्छ र अन्य रोगको लक्षणको रुपमा पनि देखिन्छ । जन्डिसबारे ऐलोपेथी डाक्टरहरु भन्छन्, ‘जन्डिसको कुनै उपचार हुँदैन, किनकि यो रोग होइन, यसको उपचार नै गर्ने होइन ।’ यो धारणा ठीक होइन । अतः जन्डिस जुन रोगको उपज हो, त्यस रोगको कारणलाई उपचार गर्नु जति जरुरी हुन्छ त्यति नै अनिवार्य स्वतन्त्र जन्डिसको उपचार गर्नु पनि हुन्छ ।
के हो त जन्डिस ?
ऐलोपेथी चिकित्सा पद्धतिअनुसार जन्डिस भनेको रगतमा बिलिरुबिन नामक जैवतत्व थुप्रिएर तन्तुहरुमा हुने एककिसिमको रङकोे परिवर्तन हो, जसमा तन्तुहरुको रङ पहेँलो हुँदै जान्छ । जब रगतमा हाइपर बिलिरुबेमिया भन्ने तत्वको मात्रा बढी हुन जान्छ त्यसपछि तन्तुहरुको रङ पहेँलो हुन थाल्छ । सामान्यतः मानव शरीरमा बिलिरूबिनको मात्रा १ एम.जी. प्रतिशतभन्दा कम हुन्छ । जब यो बढ्दै जान्छ तब यसलाई जन्डिस भनिन्छ ।शरीरमा केही अंग विशेषको रोग शुरु हुन खोज्दा जन्डिस देखिन्छ ।
कलेजो रोगमा र कहिलेकाहीँ हेमोलाइटिक डिसअडरमा जन्डिस लक्षणको रुपमा देखिन्छ । अतः आधुनिक चिकित्सा विज्ञानअनुसार जन्डिस लक्षण मात्र मानिन्छ ।
आयुर्वेदको विभिन्न संहिताहरुमा जस्तै– चरक संहिता, सुश्रुत संहिता, हारित संहिता, माधव निदान एवम् अष्टांग संग्रह/हृदयमा जन्डिसको विस्तृत वर्णन पाइन्छ । चरकले पाण्डु (एनामिया) को प्रवर्धमानावस्था मानेका छन्, सुश्रुतले पाण्डुलगायत अन्य रोगको उपद्रव मानेका छन्, वाग्वटले पाण्डुद्वारा उत्पन्न हुने रोग र हारितले पाण्डुको विशेष रुपलाई जन्डिस भनेका छन् । यसरी आयुर्वेद संहिता र संहिताकारहरुको जन्डिसप्रतिको बुझाइ फरक–फरक रहेको देखिन्छ । कसैले यसलाई रोगको रुपमा, कसैले अवस्थाका रुपमा, कसैले विशेष रुपको रुपमा, कसैले उपद्रवको रुपमा उल्लेख गरेको पाइन्छ । अतः आयुर्वेदानुसार जन्डिस रोग पनि हो र रोगको लक्षण पनि हो ।
जन्डिसका कारण
महर्षि चरकका अनुसार जन्डिसको उत्पत्ति मुख्यतः पित्त वृद्धि एवम् पित्तवर्धक आहारको अत्यधिक सेवनले शरीरमा बन्नेवाला रक्तगत पित्तको मात्रा बढ्नाले हुन्छ । साथै पाण्डु रोगले पनि जन्डिस निम्त्याउँछ । मुख्यतः जन्डिस स्वतन्त्र एवं परतन्त्र दुई प्रकारका छन् ।
आधुनिक चिकित्सानुसार, रगतमा बिलिरुबिनको मात्रा बढ्न गई छाला र आँखा पहेँलो हुन्छ । कहिलेकाहीँ रगतमा संक्रमण (सेफ्सिस), मुटुको रोग, कलेजोमा रगतको अभाव, क्षयरोगको औषधि सेवन, आदि कारणले पनि जन्डिस हुन्छ । जन्डिसको केन्द्र कलेजो हो ।
रोग यकिन भएपछि कमलपित्त वा हेपाटाइटिसको आयुर्वेदिक औषधि उपचार गर्न सकिन्छ । चिकित्सकले निम्नबमोजित औषधि दिन सक्छन् । व्यक्तिअनुसार मात्रा फरक हुनसक्ने भएकाले चिकित्सको सल्लाहपछि मात्र औषधि सेवन गर्नुपर्छ ।
सम्भाव्य औषधिहरु :
निशोथचुर्ण, कुटकीचुर्ण, त्रिफला अथवा राजवृक्षको प्रयोगद्धारा विरेचन गराउनुपर्छ ।
अथवा त्रिफलाको काढा ३० मि.लि.को मात्रामा बिहान–बेलुका खान दिनुपर्छ ।
नवायसलौह ३ सय मि.लि. ग्रामको मात्रामा दिनको दुईपटक महसँग खान दिनुपर्छ ।
पुनर्नवा, अमृता, कालमेघ, कुटकी, भुइँ अमला आदि जडीबुटीको मिश्रण दिनुपर्छ ।
जन्डिस हुँदा चिकित्सको सल्लाहपछि खान हुने वस्तुहरु :
पेयपदार्थहरू : पानी, ग्लुकोज पानी, मिश्री पानी प्रशस्त मात्रामा खाने । उखु, मौसम, सुन्तला आदिको जुस खाने ।
फलफँलहरू: उखु, मेवा, स्याउ, सुन्तला, नासपाती, कलिलो काँक्रो, नरिवलको पानी, खरबुजा, तरबुजा, गाजर, मुला, प्रशस्त खाने ।
मसलाहरू: सिधेनँन, जिरा, धनियाँ, अदुवा, लसुन, प्याज, बेसार, जन्डिस कम हुँदै गएको अवस्थामा मात्र थोरै खान सकिन्छ ।
सब्जीहरू: रायोको साग, काउली, बन्दा, फर्सीको मुन्टा, सिमी, तितेकरेला, लौका, स्कुस, आलु, च्याउ, फर्सी, हरियो र पाकेको चम्सुर, पालुंगो, मेथीको साग, सिधेनँन, जिरा हालेर उसिनेको तरकारी खान हुन्छ । जीउ चिलाउन थालेमा भने नँन नखानु राम्रो हुन्छ ।
रहरको दाल, मुँगको दाल, पाउरोटी (क्रिम नभएको), बिस्कुट, दँध डेरीको मात्र खानुपर्छ ।
जन्डिस भएको अवस्थामा जति सक्यो आराम गर्नुपर्छ ।
खान नहुने कुराहरू (चिकित्सको सल्लाहपछि मात्र)
सब्जीहरू : तोरीको साग, सुपको साग आदि ।
फलफुलहरु : आँप, केरा, अंगुर, लिची, अनार, अम्बा आदि ।
मसलाहरू : चिल्लो पदार्थ, खुर्सानी, काजु, बदाम, छोकडा, तिल आदि ।
पेयपदार्थहरू :दही, मही, फ्रिजमा राखेको कोक, फेन्टा, पेप्सीलगायतका चिसो पेय तथा चिया, कफी एवम् अत्कोहलजन्य पेयपदार्थ आदि ।
चाउचाउ, केक, पप, मिठाईहरू, भटमास, चना, बोडी, अण्डा, माछा, मासु, चिल्लो, पिरो अमिलो, मासको दाल, मसुरो, विपरीत लिंगीसँग नसुत्ने अर्थात् एक्लै सुत्ने । जन्डिस हुँदा ज्वरो आएमा सिटामोल खानुहुँदैन ।
जन्डिस भएको कसरी थाहा हुन्छ ?
जन्डिस भएको दुई तरिकाले थाहा हुन्छ ।
दर्शन विधि : आँखाको सेतो भाग पहेँलो भयो भने जन्डिस भएको हुनसक्छ ।
परीक्षण विधि : रगत जाँचेर पनि जन्डिस भए/नभएको पत्ता लाग्छ । सामान्यत रगतमा बिलिरुबिनको मात्रा २.५ एम.जी. प्रतिशतभन्दा बढी भएमा त्यसलाई जन्डिस मानिन्छ । आँखामा पहेँलो देखिन कम्तीमा पनि दुईभन्दा माथि बिलिरूबिन हुनुपर्छ । यो तीनभन्दा माथि भयो भने राम्रोसँग देखिन्छ । बिलिरूबिन दुईभन्दा तल हुँदा पनि जन्डिस हुन्छ तर
बाहिर देखिँदैन ।
जन्डिसमा परहेज विवाद
जन्डिस आफैं निको हुन्छ या जन्डिसमा मुख बार्नु भनेको श्राद्धमा बिरालो बाँध्नुजस्तै हो भन्ने भ्रम ऐलोपेथी डाक्टरहरुले फैलाइरहेका छन् । जन्डिसमा कुनै पनि खाना नखाने भन्ने हुँदैन भन्ने उनीहरुको मान्यता छ । होला अब्सट्रक्टिभ जन्डिसमा खानाको परहेजले सुधार नदेखिएला तर सबै प्रकारको जन्डिसमा त्यस्तो हुँदैन । आयुर्वेद चिकित्सा विज्ञानका अनुसार खानेकुराले पनि जन्डिसलाई सीधा असर पार्छ । खानाको परहेजको अभ्यासबाट मात्र पनि बिरामीलाई सहज भएको र छिटो निको भएको पाइएको छ । जन्डिस भएको बिरामीलाई सुपाच्य खाना दिँदा फाइदा गर्छ ।
बच्चाहरुमा जन्डिस
एक वर्ष नाघेका बच्चालाई हेपाटाइटिस ‘ए’ विरुद्धको खोप पनि लगाउँदा हेपाटाइटिस ‘ए’को कारणले हुने जन्डिसबाट बच्न सकिन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ जन्डिस कलेजो सुन्निएपछि देखिने गर्छ । एक/दुई वर्षमा दुई/तीनपटक जन्डिस भयो भने युलसन डिजिजको कारणले हुनसक्छ । युलसन डिजिज भयो भने कहिलेकाहीँ पटकपटक जन्डिस हुने गर्छ । कलेजो सुन्निदै गयो भने युलसन डिजिजमा कलेजो
फेर्नुपर्ने हुनसक्छ ।
हेपाटाइटिस ‘बी’ सर्नाले पनि जन्डिस देखिन सक्छ । अहिले हेपाटाइटिसविरुद्धको खोप आइसकेकाले पहिलाजस्तोे सर्ने सम्भावना कम हुन्छ । आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बी’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ । त्यसो गर्दा बच्चामा सर्न पाउँदैन ।
हेपाटाइटिस ‘सी’ले गर्दा पनि जन्डिस हुने सम्भावना बढी हुन्छ । यस्तो समस्या रगतसँग सम्बन्धित समस्या हुने बच्चामा धेरै देखिने गर्छ । जस्तै : सिकलसेल थाइलेसिमिया भएका बच्चालाई रगत दिनुपर्ने भएकाले कहिलेकाहीँ हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना हुन्छ । ग्रिलबर्ट सिन्ड्रोमको कारणले मात्र जन्डिसको मात्रा देखिन्छ । जन्डिस लक्षण पनि हो, रोग पनि हो । यसको सही तरिकाले उपचार गरिएन भने यो प्राणघातक पनि साबित हुनसक्छ ।
जन्डिस वा हेपाटाइटिसको लक्षण
छाला, पिसाब र आँखाको रंग बढी पहेँलो हुन्छ ।
खान नरुच्ने, वाकवाकी लाग्ने हुन्छ ।
शरीरमा बढी कमजोरी हुन्छ ।
ज्वरो आउँछ
चिल्लो कुरा खाँदा नपच्ने हुन्छ ।
सबै जीउ चिलाउने हुन्छ ।
जन्डिसको कारणलाई ३ तरिकाले बुझ्न सकिन्छ
कलेजोपँर्व हुने रोगहरु
यसमा रगत कलेजोमा आइपुग्नुअघि नै रक्तकोषिका नष्ट हुन गई रगतमा बिलिरुबिनको मात्रा बढ्छ । जस्तै– मलेरिया आदि ।
कलेजोमा हुने रोगहरु
कलेजोको अक्षमताले गर्दा बिलिरुबिनको मात्रा बढ्छ । जस्तै– हेपाटाइटिस (संक्रमण तथा अन्य कारणले गर्दा कलेजो सुन्निने रोग), सिरोसिस, अर्बुद आदि ।
कलेजोपश्चात् हुने रोगहरु
कलेजोबाट पित्तलालाई लैजाने नली तथा थैलीमा हुने रोगहरु जस्तै– पित्तथैली तथा नलीमा ढुंगा, पित्त थैलीको संक्रमण आदि ।