वनस्पतिजन्य औषधि



डा. अरुणा उप्रेती
(जनस्वास्थ्य विज्ञ) ।

प्राचीनकालमा एक वैद्यले आफ्ना विद्यार्थीलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भने, ‘तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ, जसको कुनै औषधीय महत्व छैन ।’ सबै विद्यार्थी जंगलमा गएर खोज्न थाले ।

एक महिनापछि प्रायः विद्यार्थी हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्के र गुरुजीलाई भने, ‘यी वनस्पतिको कुनै औषधीय महत्व छैन ।’ एकजना विद्यार्थीचाहिँ झन्डै ५ दिन ढिला फक्र्यो र भन्यो, ‘गुरुजी म त वनस्पति खोज्दा–खोज्दा हैरान भएँ तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।’ गुरुजीले प्रसन्न भएर भने, ‘तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।’ यो कथाबाट मैले सिकेको पाठ हो– संसारमा कुनै पनि वनस्पति कुनै न कुनै औषधीय गुण नभएको हुँदैन, हामीले हेर्न मात्र जान्नुपर्छ ।

केही समयअघि मैले अमेरिका जाने सिलसिलामा एयरपोर्टमा नेसनल जोग्राफीको ‘प्रकृतिको उत्कृष्ट उपचार’ भन्ने अंक देखें । यसमा संसारका विभिन्न देशमा भएका वनस्पतिहरुको चिकित्सकीय महत्वका बारेमा
लखिएको रहेछ ।

त्यसमा एसियामा ४ हजार वर्षअगाडिदेखि अदुवा प्रयोग भइरहेको उल्लेख छ । जाडोमा अदुवा–चियाको आनन्द धेरैले लिन्छन् । कतिपय कम्पनीले त त्यही अदुवाको क्याप्सुल बनाएर पनि बेच्ने गरेको यसमा उल्लेख छ । अदुवाले वाकवाकी रोक्ने काम पनि गर्छ । गर्भवती महिलाई एकटुक्रा अदुवा मुखमा हालिराख्दा फाइदा गर्छ । लामो यात्रामा जाँदा केही टुक्रा

अदुवा साथै लैजानु राम्रो हुन्छ । एक अध्ययनअनुसार क्यान्सरको बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने हुन्छ, त्यस बेला अदुवा खाँदा वाकवाक लाग्न कम भएको पाइएको छ ।

सन् २००४ मा म इरानमा थिएँ । त्यहाँ एक किलो अदुवाको २५ डलर पर्दो रहेछ । मैले अदुवाको सुठो आफूसँग लगेको थिएँ । केही इरानी र नेपाली परिवारलाई सुठो दिँदा एकदम खुशी भएका थिए । त्यहाँ अदुवा महत्वका साथ प्रयोग हुँदो रहेछ ।

उक्त पुस्तकमा सौंफले पेटको ग्यास शोषण गर्ने, भोक जगाउने कुरा उल्लेख छ । साथै सौंफमा अन्य २० वटाभन्दा बढी चिकित्सकीय गुणहरु भएको उल्लेख गरिएको छ । नेपालमा सुत्केरीलाई सौंफको परिकार दिने चलन छ । यसले दूध आउन मद्दत गर्छ । साथै अक्षय तृतीयाको दिन सौंफको सर्वत खाइन्छ । त्यसले शीतलता पनि प्रदान गर्छ । यस्तै दालचिनीमा रहेका विभिन्न रसायनले रगतमा रहेको खराब बोसोको मात्रा घटाउने कुरा उक्त पुस्तकमा उल्लेख छ । जाडोमा रुघाखोकीबाट बच्न लसुनको पोटीले मद्दत गर्ने कुरा पनि उल्लेख छ ।

परापूर्वकालदेखि नै वनस्पतिहरुलाई औषधिका रुपमा प्रयोग गर्ने चलन भए पनि आधुनिक औषधि विज्ञानको विकाससँगै यस्ता औषधिको अवमूल्यन गर्न थालिएको थियो । तर जब विश्व स्वास्थ्य संघले उपचारमा वनस्पतीय औषधिको पनि महत्व छ भन्ने कुरा स्वीकार ग¥यो, त्यसपछिचाहिँ यस्ता औषधिको महत्व झन् वृद्धि हुन पुगेको छ ।

प्राचीन इजिप्टमा धेरै औषधिमा मह, वाइन र दूधको प्रयोग गरिने कुरा यसमा उल्लेख गरिएको छ । घाँटी दुखेको बेलामा मह र अदुवा घरको औषधि नै हुन्छ । तर जंगली महचाहिँ एकपटकमा आधा चम्चाभन्दा बढी खान हुन्न । विश्व स्वास्थ्य संघले पनि परम्परागत ज्ञानको महत्व स्वीकार गरेर बालबालिकालाई खोकी लाग्दा मह र अदुवाको रस दिन सकिन्छ भनेको छ ।

हामीले बेवास्ता गरेको सिस्नुको महत्व पनि यसमा दर्शाइएको छ । सिस्नुको महत्व बुझेर अहिले नेपालका केही पाँचतारे होटेलमा एक कचौरा सिस्नुको सुपको रु. ६ सयदेखि ७ सयसम्म लिएर बेच्न थालिएको छ । विदेशीहरुले मीठो मानेर खान्छन् । केही वैज्ञानिकको भनाइअनुसार सिस्नु खाँदा त्यसमा रहेका रसायनको कारणले शरीरमा भएको संक्रमणमा कमी हुन्छ । युरोपमा पनि सिस्नुको जरालाई पुरुषहरुको प्रोस्टेट ग्रन्थिको केही समस्यामा प्रयोग गरिन्छ भनेर जानकारी दिइएको छ ।

हजुरआमाले तुलसीको पत्ता टिपी रुघाखोकी लाग्दा बेसार–पानीमा उमालेर ख्वाउनुहुन्थ्यो । रुघा लाग्दा सन्चो हुन्थ्यो । अहिले लाग्छ, मेरी हजुरआमा त वातावरणविद् पो हुनुहुँदो रहेछ । रुघा लाग्दा तुलसी, बेसार राखेर उमालेको पानी पिउने हजुरआमाबाट पाएको बानी अहिलेसम्म छुटेको छैन । पहिले–पहिले त मलाई अरुलाई ‘यस्तो खाऊ भन्दा लाज हुन्छ कि’ जस्तो लाग्थ्यो तर अहिले विश्व स्वास्थ्य संघले पनि वनस्पतिजन्य औषधिको महत्वबारे जानकारी दिन थालेको छ ।

 

प्रकृतिको उत्कृष्ट उपचार नामको सो किताबमा महिला स्वास्थ्यको लागि उत्तम केही प्राकृतिक औषधिहरुको बारेमा पनि उल्लेख गरिएको छ । हरियो भटमास उसिनेर खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । तोफु र भटमासको दूध पनि फाइदाजनक हुन्छ । भटमासले गर्भवती भएका महिलाको लागि प्रोटिनको रुपमा शरीरलाई फाइदा पुर्याउँछ भने महिनावारी रोकिन लागेका महिलाका लागि पनि भटमासमा रहेको विशेष तत्वले फाइदा गर्छ ।

परापूर्वकालदेखि नै वनस्पतिहरुलाई औषधिका रुपमा प्रयोग गर्ने चलन भए पनि आधुनिक औषधि विज्ञानको विकाससँगै यस्ता औषधिको अवमूल्यन गर्न थालिएको थियो । तर जब विश्व स्वास्थ्य संघले उपचारमा वनस्पतीय औषधिको पनि महत्व छ भन्ने कुरा स्वीकार ग¥यो, त्यसपछिचाहिँ यस्ता औषधिको महत्व झन् वृद्धि हुन पुगेको छ ।

नेपालमा पनि परम्परागतरुपमा वनस्पतिजन्य औषधिको प्रयोग गर्ने प्रचलन रहेको छ । यससम्बन्धमा थुप्रै ग्रन्थहरु पनि प्रकाशित भएका छन् । त्यसमध्ये एउटा हो ‘चन्द्रनिघण्टु’ । सिहंदरबार वैद्यखानाबाट प्रकाशित यो ग्रन्थ नेपालको ज्ञानको भण्डार नै हो । यो पुस्तक तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालका साथै बम्बै, कलकत्ता र वाराणसीबाट समेत आयुर्वेद शास्त्रका जानिफकारहरु बोलाएर लेख्न लगाएका हुन् ।

नेसनल जोग्राफी र चन्द्रनिघण्टु दुवैले वनस्पतीय औषधिहरुका बारेमा विस्तृतरुपमा उल्लेख गरेका छन् । यी पुस्तक पढेपछि सौन्दर्यका दृष्टिले हेरिने विभिन्न फूूल र पात औषधिका दृष्टिले कति महत्वपूर्ण रहेछन् भन्ने थाहा हुन्छ । गुलाफ र क्यामोमाइल फुल औषधीय गुणले भरिपूर्ण छन् । गुलाफ त खान पनि हुन्छ, छालाको समस्यामा पनि प्रयोग गर्न सकिन्छ । सूक्ष्म पोषक तत्वले भरिपूर्ण क्यामोमाइल फूलको चिया बनाएर खान सकिन्छ । साथै मुख कुल्ला गर्न पनि काम लाग्छ । छालामा हुने एलर्जीको समस्या कम गर्न पनि यो फूल उपयोगी हुने रहेछ । क्यामोमाइल फूल मुखमा भएको घाउ र गिजाको संक्रमण ठीक पार्न पनि उपयोगी छ ।

यसै गरी बेसारमा एन्टिअक्सिडेन्ट अर्थात् उमेरसँगै हुने समस्यालाई कम गराउने तत्व पनि छ । बेसारमा मानव मस्तिष्कलाई सक्रिय पार्ने र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारुरुपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्व रहेको भनाइ छ । वैज्ञानिकहरुले बेसारले क्यान्सर बढ्ने कोषिकालाई रोक्न सक्ने कुराको समेत अध्ययन शुरु गरेका छन् ।

चन्द्र निघण्टुमा हाम्रो भान्सामा पाइेने विभिन्न तरकारी र अमलाको विषयमा राम्रोसँग लेखिएको छ । ठूलो–सानो कुरिलोको बारेमा यसमा लेखिएको छ । यसले शरीर पुष्ट गराउँछ ,बल दिन्छ, आँखालाई हितकर छ । अंग्रेजीको ‘प्रकृतिको उत्कृष्ट उपचार’मा पनि कुरिलोको वैज्ञानिक अनुन्धान गरेर ‘स्वास्थ्य राम्रो पार्ने तत्वहरु पाइन्छन्’
भनेर लेखिएको छ ।

त्यस्तै प्रायः हामीले बेवास्ता गरेको लट्टेलाई पनि दुवै किताबमा स्वस्थकर भनेर वर्णन गरिएको छ । हरियो र रातो दुवै थरीको लट्टेमा पर्याप्त मात्रामा भिटामिन ‘ए’, भिटामिन ‘सी’ हुन्छ । लट्टेमा पर्याप्त मात्रामा लौहतत्व र रेसादार पदार्थ हुने भएकाले रगतको कमी भएका र कब्जियत हुनेलाई यो धेरै फाइदा गर्छ । लट्टेलाई अति उक्तम भोजन पनि भनिन्छ । त्यसै गरी हाम्रो गाउँघर जताततै पाइने केराको विषयमा पनि दुवै किताबमा उल्लेख छ ।

त्यस्तै आलसमा माछामा झैँ ओमेगा ३ हुन्छ । त्यसमा पर्याप्त मात्रामा रेसादार पदार्थ पनि रहेकाले कब्जियत हुनबाट रोक्छ । यसलाई भुटेर वा काँचै पखान सकिने कुरा पनि उल्लेख छ । त्यसै गरी धतुरो विष हो भन्ने कुरा हामीलाई सानैदेखि सिकाइएको हो । तर धतुरो पेट दुखेको बेला, कपालको जुम्रा र लिखा मार्न पनि प्रयोग गरिन्छ भन्ने थाहा पाउँदा हरेक वनस्पतिको केही न केही गुण हुन्छ भन्ने प्रस्ट हुन्छ ।

दुवै किताबमा नेपालका विभिन्न भाग तराई, पहाड, हिमालमा पाइने तरकारीको बारेमा पनि वर्णन छ । यस्ता वस्तुहरु आयुुर्वेद, चाइनिज चिकित्सा विज्ञानमा कसरी प्रयोग भइरहेछ भन्ने पनि राम्रो जानकारी दिइएको छ । विभिन्न स्रोतहरुबाट राम्रोसँग सम्पादन गरिएका यी दुवै किताब प्राकृतिक चिकित्सा, भोजन र पोषणको बारेमा काम गर्नेका लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्