विवाह : मनले टिकाउँछ कि उमेरले ?



डा. विश्वबन्धु शर्मा ।  विवाहित जीवन सुखी हुन उमेर अन्तर कति हुनुपर्छ ?’

प्रसंग मिल्दा यो प्रश्न धेरैलाई सोधेको छु । साथीहरु आफन्त, बिरामी र बिरामीका आफन्तहरु, प्रायः सबैजसोले उस्तै–उस्तै उत्तर दिन्छन् ।

‘समान उमेर या एक–दुई वर्षको अन्तर, त्यसमा पनि पुरुषको उमेर नै बढी भएको बेस ।’ मलाई पनि त्यस्तै लाग्थ्यो । सकेसम्म समान उमेर भएमा एक–अर्कालाई बुझ्न सजिलो हुन्छ र दुवैका प्राथमिकताहरु पनि मिल्ने हुन्छन् । पुरुषको उमेर केही वर्ष बढी भएमा त्यसले जोडीको सम्बन्ध स्थायी हुन सहयोग गर्छ भन्ने धेरैको विचार हुन्छ ।

तर आज म यस लेखमा केही यस्ता उदाहरण प्रस्तुत गर्दै छु, जसले यी घारणामाथि प्रश्नचिह्न खडा गरिदिएको छ । भारतीय कलाकार प्रियंका चोपडा एक सुन्दर, चर्चित र सफल कलाकार मात्र होइनन्, उनी भारतीय सिनेमाका सीमित बौद्धिक व्यक्तित्वमध्ये पनि पर्छिन् । उनी बालबालिकाको अधिकारको लागि काम गर्ने समाजसेवी पनि हुन् । उनी केही समय युनिसेफको सद्भावना दूत पनि भइन् ।

प्रियंका चोपडाले ३६ वर्षको उमेरमा सन् २०१८ मा आफूभन्दा ११ वर्ष कान्छो २५ वर्षीय निक जोनाससँग बिहे गरिन् । दुवै जना एक–अर्कालाई सार्वजनिक अभिव्यक्तिहरुमा बडो प्रेम र आदरसाथ सम्बोधन गर्दै आफू भाग्यमानी भएको विचार व्यक्त गर्छन् । आजका दिनसम्म उनीहरुबीचको सम्बन्ध सुमधुर नै भएको देखिन्छ ।

विश्व सुन्दरीको ताज प्राप्त प्रियंका भारत सरकारबाट पद्मश्री पाउने कलाकारमध्ये पर्छिन् । प्रियंका चोपडाले ३६ वर्षको उमेरमा सन् २०१८ मा आफूभन्दा ११ वर्ष कान्छो २५ वर्षीय निक जोनाससँग बिहे गरिन् । दुवै जना एक–अर्कालाई सार्वजनिक अभिव्यक्तिहरुमा बडो प्रेम र आदरसाथ सम्बोधन गर्दै आफू भाग्यमानी भएको विचार व्यक्त गर्छन् । आजका दिनसम्म उनीहरुबीचको सम्बन्ध सुमधुर नै भएको देखिन्छ । सिनेमा जस्तो रंगीन दुनियाँका कलाकारहरुमा आज बिहे गरेर भोलि सम्बन्ध विच्छेद गर्दा पनि नौलो मानिदैन । उनीहरुको बिहे केही वर्ष टिक्यो भने पनि ठूलै उपलब्धि मान्नुपर्दछ । उनीहरुबीचको विवाह र हालसम्मको वैवाहिक जीवनमा उमेर अन्तरले कुनै नकारात्मक प्रभाव पारेको देखिएको छैन ।

मेरो दुईजना पुराना जर्मन मित्रहरु छन्, पिटर र तान्या । हाम्रो चिनजान सन् १९७० को दशकमा म युक्रेनमा पढ्दादेखि भएको हो । म मेडिसिन पढ्थें, उनीहरु दुवै जना एउटै ब्याचमा फिजीको म्याथमेटिक्स विभागमा पढ्थे । म उनीहरुसँग धेरै नजिक थिएँ । उनीहरुको बीचमा दोस्ती थियो । उमेर पनि मिल्ने, तान्याभन्दा पिटर १ वर्षले जेठो थिए । पढाइ सकेपछि जर्मनी गएर मात्रै बिहे गर्ने योजना थियो । लामो समय सँगै रहेकाले उनीहरुले एक–अर्कालाई राम्ररी बुझेका थिए । तान्या साधारण किसानकी छोरी प्रस्ट बोल्ने र पूरा विश्वास गर्ने । पिटर शिक्षित परिवारको धेरै कुराको ज्ञान राख्ने व्यावहारिक र दर्शनिकजस्तो भलाद्मी युवक थिए । दुवै जनाको जोडी खूब मिलेजस्तो मलाई लाग्थ्यो । उनीहरुले बिहे गरे । त्यसको १ वर्षमै एक छोरी पनि भइन् ।

एउटै उमेर, एउटै पेसा, धेरै लामो चिनजान, एक–अर्कालाई राम्रोसँग बुझ्ने भएर पनि उनीहरुको विवाह लामो समय टिकेन । सन्तानले पनि उनीहरुको सम्बन्ध दिगो राख्न सकेन । दुई वर्षमै सम्बन्ध विच्छेद भयो । दुवै जना मिलेर छोरी हुर्काउने सहमति गर्दै झगडा नगरी पछिसम्म साथीजस्तै रहने गरी अलग भए । म नेपाल आइसकेको थिएँ । उनीहरुसँग नियमित सम्पर्क थिएन । यदाकदा चिठी आदानप्रदान हुन्थ्यो । अलि पछि दुवै जनाले बिहे गरेको सुनें । तर तिनीहरुको नायाँ पारिवारिक जीवनबारे खासै जानकारी थिएन । पछि फेसबुकमार्फत तान्यासँग सम्पर्क भयो । पिटरको बारेमा पनि थाहा भयो । जर्मनीको एकीकरण भए पनि उनीहरु बर्लिनमै पुरानै ठाउँमा बसेका रहेछन् ।

सन् २०१७ मा एउटा सम्मेलनमा भाग लिन बर्लिन जाँदा दुवै जनासँग भेट भयो । मैले झन्डै २ हप्ता तान्याको परिवारसँग समय बिताएँ । पिटरसँग छुट्टिएको केही वर्षपछि आफूभन्दा १० वर्ष कान्छो एक कलाकार कुमार केटासँग बिहे गरेकी रहिछन् । छोरा पनि २५ वर्षको भइसकेको रहेछ । यो वैवाहिक सम्बन्धमा उनी निकै खुशी र सन्तुष्ट भएको पाएँ । पिटरकी छोरीसँग पनि सम्पर्क कायमै रहेछ । तान्याले भनिन्, ‘आज पनि मलाई पिटर ज्ञानी र भलाद्मी मानिस लाग्छ तर म उनीसँग सुखी हुन सकिन । के पुगेन या के बढी भयो म भन्नै सक्दिन । अहिले पनि ऊ पारिवारिक साथी हो । छोरी त हाम्री साझा सन्तान नै भइन् । मेरो छोरालाई पनि पिटरले खूब माया गर्छन् । छोराले पनि मन पराउँछ । मेरो लोग्ने र पिटर नजिकको साथी भएका छन् । खानेपिउने मात्र होइन, लेखपढ गर्ने रचनात्मक काममा पनि दुवैबीचको दोस्ती खूब जम्छ ।’

पिटरले पनि बिहे गरेछन् । दोस्रो मात्र होइन, तेस्रो बिहेमा पनि उनलाई भाग्यले साथ दिएनछ । दुवै बिहे एक–दुई वर्षमै टुक्रिएछ । त्यसपछि पिटरले झन्डै एक दशकसम्म एक्लो जिन्दगी बिताएछन् । चौथो पटक आफूभन्दा २५ वर्ष कान्छी उमेरले २० वर्षकी केटीसँग बिहे गरेका रहेछन् । उनले १८ वर्षको उमेरमा अविवाहित छँदै एउटा छोरा पाएकी रहिछन् । अहिले पिटर तिनै महिला र उनको छोरासँगै दुई दशकदेखि सन्तुष्ट भएर बसेका रहेछन् । पिटरबाट सन्तान छैनन् । अघिल्ला दुई बिहेबाट पनि भएनन् ।

मेरा यी दुई जर्मन साथीहरुको वैवाहिक जीवन र उनीहरुको सुख–दुःखको कहानी सुनेपछि मेरो मनमा यो प्रश्न फेरि उब्जियो, ‘आखिर विवाहपछि सुखी हुन र त्यो विवाह टिकाइराख्न उमेरको के भूमिका हुन्छ त ?’

मैले केही चिन्तन गरें, केही अध्ययन गरें । विगतमा कति यस्ता चर्चित जोडी रहेछन् र कति अहिले पनि छन्, जसमा उमेरको ठूलो अन्तर छ । कतै पुरुषको उमेर थोरै बढी त कतै महिलाको उमेर धेरै बढी । तर ती जोडीहरु अत्यन्तै सुखी थिए र छन् अनि विवाह पनि स्थायी । सुखी हुनको लागि उमेर अन्तर धेरै हुनुपर्छ भन्ने भनाइ कदापि होइन । खाली मैले भन्न खोजेको के हो भने, त्यस्तो उमेरको अन्तर हुँदा पनि वैवाहिक जीवन स्थिर छ र दुवै जना खुशी–सुखी नै छन् ।

जब यो मनले आफ्नो व्यक्तिबाट धेरै चाहना राख्छ, अझ भनौं ऊसँग नभएको कुराको चाहना राख्छ तर ऊसँग भएको अझ खुशीसाथ उसले दिन खोजेको कुरा ग्रहण गर्न चाहँदैनौं, तब दुखी भइने रहेछ । आखिर मन नै त रहेछ हामीलाई खुशी या दुखी बनाउने ।

कला, साहित्य, संगीत क्षेत्रका चर्चित कार्यक्रमहरुमा त यस्तो उमेर अन्तर अझ बढी देखिँदो रहेछ । प्रियंका चोपडाको उदाहरण मैले त्यसै जोडेको होइन । प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिनका शुरुका लगातार तीन विवाह असफल रहे, लामो समय टिकेन । तीनवटै विवाहमा धेरै अप्रिय घटना घटे । कतिले च्याप्लिनलाई खराब, दुष्ट, महिलामाथि दुव्र्यवहार गर्ने मानिस भनेर चर्चा गरे । अन्त्यमा आफू ५४ वर्षको भएपछि १८ वर्षकी ओअना ओ न्येलसँग चौथो बिहे गरे, जुन विवाह मृत्युपर्यन्त टिकेको मात्र होइन कि च्याप्लिनको जीवनलाई समेत सुखी बनायो ।

धन, मन, नामले सम्पन्न चार्ली च्याप्लिनलाई ३६ वर्र्षको उमेर अन्तरको बिहे नै फाप्यो । ओ न्येलबाट च्याप्लिनका आठवटा सन्तान भए । अन्तिम सन्तान उनले ७३ वर्षमा पाएछन् । ८८ वर्षको उमेरमा उनै ओ न्येलको रेखदेखमा मरे ।

दक्षिण अफ्रिकाका प्रसिद्ध राजनेता नेल्सन मण्डेलाको पहिलो बिहे जवानीमा आफ्नै समुदायकी युवतीसँग भयो, तर टिकेन । त्यसपछि उनले बिन्नीसँग सन् १९५८ मा बिहे गरे र २ सन्तान भए । उनीहरु ५ वर्ष मात्र सँगै बस्न पाए । त्यसपछि जेल परे, २७ वर्षसम्म । उनी कारावासमा हुँदा बिन्नीले सम्बन्ध बनाइराख्ने मात्रै गरिनन्, मण्डेलाको संघर्ष र स्वतन्त्रताको लागि गरेको त्यागको रक्षा गिरन् । उनी आफू पनि रंगभेदविरुद्ध सक्रिय भएर लागिन् । कतिपय अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिन् । मण्डेलाको दल राष्ट्रिय कंग्रेसभित्र महत्वपूर्ण जिम्मेवारी पूरा गरिन् र सधैँ मण्डेलाकी पत्नी भनेर चिनिइन् ।

तर २७ वर्षको कठोर कारावासबाट मुक्त भएर रंगभेदविहीन समाजमा बस्न थालेपछि उनीहरुको विवाह लामो समय टिकेन । कारण जेसुकै भए पनि केही वर्ष सँगै नबस्दै उनीहरुको सम्बन्ध विच्छेद भयो । आखिर ८० वर्षको उमेरमा मण्डेलाको ५० वर्ष मात्र काटेकी ३० वर्ष कान्छी महिलासँग गहिरो प्रेम बस्यो । यो प्रेम विवाहमा परिणत भयो । उनी मोजाम्बिकका राष्ट्रपतिकी विधवा पत्नी ग्रासा माचेल थिइन् । ग्रासासँगको प्रेम र सुखी वैवाहिक जीवनको मण्डेलाले खुलेरै प्रशंसा गरेका छन् । धेरै पटक आफ्ना भावनाहरु सार्वजनिकरुपमै व्यक्त गरेका थिए ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महिलाहरुसँगका सम्बन्धलाई लिएर चर्चामा आइरहन्छन् । बिहे र दाम्पत्य जीवनको कुरा गर्दा दुईवटा विवाह असफल भएपछि सन् २००५ मा ६० वर्षका ट्रम्पले ३५ वर्षीया मेलानियासँग तेस्रो विवाह गरे, जुन अहिलेसम्म कायम छ ।
सुखी परिवारको चर्चा गर्दा ट्रम्पको जोडीलाई यहाँ उल्लेख गर्नु उपयुक्त उदाहरण त हुँदैन होला तर उनको जस्तो स्वभाव र महिलाप्रति उनले जस्तो व्यवहार गर्ने पुरुषको विवाह लामो टिक्दैन । तर दुईवटा विवाह टुटेपछि २४ वर्ष कान्छी महिलासँग गरेको विवाह २००५ देखि आजसम्म टिक्नु ठूलै सफलता हो । यसमा पनि कतै उमेर अन्तरले असर गरेको त होइन ?

पति–पत्नीको उमेरको कुरा गर्दा प्रायः चर्चामा आउने अर्का व्यक्तित्व हुन् फ्रान्सका वर्तमान राष्ट्रपति एमानुयल माक्रोन । उनको वैवाहिक जीवनको पृष्ठभूमि कम रोचक छैन ।

१५ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष जेठी आफ्नै स्कुलकी ३९ वर्षीया शिक्षिकासँग उनी प्रेममा परे । नाबालक ठहरिने हुँदा उनीहरुको औपचारिक सम्बन्ध तीन वर्षपछि मात्र शुरु भयो । १२ वर्षसम्म प्रेमसम्बन्ध कायम राखेर सन् २००७ मा उनले ३० वर्षको उमेरमा ५४ वर्षीया महिलासँग विवाह गरे ।

माक्रोन पियानो बजाउँछन् । फुटबल खेलका फ्यान हुन् । उनी लखेक पनि हुन् । निर्वाचनभन्दा एक वर्षअगाडि नयाँ पार्टी खोलेर उनी आम मतदानबाट राष्ट्रपति चुनिए । उनको यो असाधारण राजनीतिक सफलताको पछि उनकी श्रीमतीको भूमिका छ भनिन्छ । आफ्नै वैवाहिक सम्बधको बारेमा उनी भन्छन्, ‘हाम्रो सम्बन्धलाई समाजमा धेरैले सेक्सिजमको आँखाले नकारात्मकरुपमा हेर्ने गर्छन्, यो उचित होइन ।’ जे होस्, सन् २००७ मा २४ वर्ष जेठी महिलासँग बिहे गरेर सुखी जीवन बिताइरहेका र सफलताको शिखरमा पुगेका व्यक्ति हुन् एमानुयल माक्रोन ।

सन् २०१९ को जुन महिनामा रोटरी सम्मेलनमा फेरि जर्मनी जाने अवसर मिल्यो । बर्लिनमा तान्या, उनका श्रीमान्, दुवै सन्तान र पिटरसँग समेत रमाइलो गरी समय बिताउने मौका पनि जु¥यो । त्यस बेला उनीहरुको व्यक्तिगत जीवनको उतारचढावलाई सहजरुपमा लिएको थिएँ ।

तान्याले बडो गम्भीर भएर भनिन्, ‘सुखी र दुखी हुने हाम्रो मन नै रहेछ । जब यो मन अतृप्त हुन्छ, हामी दुखी हुँदा रहेछौं । जब यो मनले आफ्नो व्यक्तिबाट धेरै चाहना राख्छ, अझ भनौं ऊसँग नभएको कुराको चाहना राख्छ तर ऊसँग भएको अझ खुसीसाथ उसले दिन खोजेको कुरा ग्रहण गर्न चाहँदैनौं, तब दुखी भइने रहेछ । आखिर मन नै त रहेछ हामीलाई खुशी या दुखी बनाउने । मैले बुझें कि जबसम्म म कसैबाट केही अपेक्षा राख्दिन, त्यस बेलासम्म सबै मानिस मेरा लागि असल, म पनि उनीहरुका लागि असल । यही कुरा म बेला–बेलामा पिटरलाई भन्छु । उनी मुस्कुराउँछन् र मलाई भन्छन्– मैले तिमीसँग अहिले पो बिहे गर्नुपर्ने, हतार भएछ है । अनि हामी दुवै जना जोडले हास्छौं । मेरा श्रीमान्ले हाम्रो कुरामा थप्दै भन्छन्– त्यही भएर बिहे गनरी बसेको, मैले पो ठीक गरेंछु है ।’
म तान्याका अन्तिम वाक्यहरु सम्झिरहन्छु, ‘आखिर मन नै त रहेछ ।’

त्यही मनले तान्याका जोडीको विछोड गरायो । विछोड भएपछि पनि यत्रो वर्षपछि फेरि दोस्ती गरायो । ढिलै भए पनि मनले उनीहरुको टुटेको आपसी मायामा अलिकति खुशी थपिदियो ।

प्रतिक्रिया दिनुहोस्