दाँतले खाना चपाउने मात्र होइन, सुन्दरता बढाउने काममा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विशेष महत्व छ । त्यसैले यसको उचित स्याहार आवश्यक छ । दाँतको स्याहार गर्ने नाममा जथाभावी दाँत माझ्ने गर्दा झन् समस्या थपिने हुन्छ । साथै स्याहार नै नगर्दा पनि छिट्टै बिग्रने हुन्छ । यसले मानिसको सुन्दरता गुम्नुका साथै शरीरको पोषणमा पनि असर पर्छ ।
पोषणका लागि खाना खानै पर्छ । राम्रो पाचनक्रियाका लागि खाना चपाउनै पर्छ । त्यसका लागि आवश्यक पर्छ दाँत । साथै मानिसको अनुहार सुन्दर तथा उज्यालो बनाउनका लागि पनि दाँत आवश्यक छ । आँखा, नाक, ओठ मात्र राम्रो भएर अनुहार सुन्दर देखिन्न । एउटा दाँत मात्र कमी हुँदा पनि अनुहार नराम्रो देखिन्छ । अरु अंग सुन्दर भए पनि यदि एउटा मात्र दाँत बिग्रिएको छ वा कम छ भने मानिसको ध्यान पहिले त्यहीँ पर्छ । त्यसकारणले पनि दाँतलाई जीवनभर स्वस्थ राख्न जरुरी हुन्छ । दाँत दुवैतिर बराबर हुनुपर्छ र गिजाहरु पनि ठीक र स्वस्थ अवस्थामा हुनुपर्छ ।
दाँतलाई स्वस्थ बनाउनका लागि कम्तीमा पनि खाना खाएपछि प्रत्येक पटक एक मिनेट कुल्ला गर्नै पर्छ । साथै बिहान–बेलुका खाना खाएपछि अनिवार्यरुपमा ब्रस गर्नुपर्छ । राति खाना खाएर ब्रस गरेपछि बिहान उठ्नेबित्तिकै ब्रस गर्नुपर्छ भन्ने छैन । तर बिहानको ब्रेकफास्ट वा खाना खाएपछिचाहिँ गर्नै पर्छ । स्कुल जाने केटाकेटीले स्कुल जानुअघि र अफिस जानेहरुले अफिस जानुअघि राम्ररी कुल्ला गरेर ब्रस गर्नुपर्छ । कतिपय खानेकुरा दाँतको चेपमा अल्झेका हुन्छन्, ब्रसले आउँदैनन् । त्यसलाई डेन्टल फ्लस (धागोले) गर्नुपर्छ । दिनको एकपटक डेन्टल फ्लस प्रयोग गर्दा सफा हुन्छ । ब्रसले तीनवटा साइड सफा हुन्छ र चेपमा डेन्टल फ्लसले सफा गर्छ ।
दाँतमा ब्रस गर्दा नियमित टुथपेस्ट लगाउनुपर्छ । टुथपेस्टमा एन्टिमाइक्रोबियल हुन्छ । केही केमिकल पनि हुन्छ । हर्बल, फ्लोराइड र फिँज निकाल्ने तत्व पनि हुन्छ । यसले दाँत राम्ररी सफा गर्न, निरोगी राख्न मद्दत गर्छ । दाँत सफा गर्न मेकानिकल र केमिकल दुवै तरिका चाहिने भएकाले टुथब्रस र टुथपेस्ट दुवैको जरुरत पर्छ । तर बजारमा दाँतलाई हानि गर्ने खालका पनि प्रशस्तै टुथपेस्ट भेटिएका छन् । ‘मोतिजस्तो चम्काउने टुथपेस्ट’ भनेर विज्ञापन गरिएका कतिपय टुथपेस्ट हानिकारक पाइएका छन् । यसरी चम्काउने भनिएका पेस्टमा बढी केमिकल राखिएको पाइन्छ । यसका राम्रा पक्षभन्दा नराम्रा पक्ष धेरै छन् । यसमा केमिकल बढी हुन्छ र दाँतलाई हानि पु¥याउँछ । कस्तो टुथपेस्ट प्रयोग गर्ने भन्ने कुरा उत्पादकले निर्धारण गर्ने भन्दा दन्त विशेषज्ञले गर्नु ठीक हुन्छ ।
राम्रो पाचनक्रियाका लागि खाना चपाउनै पर्छ । त्यसका लागि आवश्यक पर्छ दाँत । साथै मानिसको अनुहार सुन्दर तथा उज्यालो बनाउनका लागि पनि दाँत आवश्यक छ । आँखा, नाक, ओठ मात्र राम्रो भएर अनुहार सुन्दर देखिन्न । एउटा दाँत मात्र कमी हुँदा पनि अनुहार नराम्रो देखिन्छ ।
टुथपेस्ट छान्दा वल्र्ड डेन्टल फेडरेसनले मान्यता दिएको छ कि छैन भन्ने कुरा बट्टामा हेर्नुपर्छ । हर्बल टुथपेस्टलाई फेडरेसनले मान्यता दिने गरेको छैन । यस्ता टुथपेस्ट छान्दा दाँतलाई चम्काउने भन्दा गिजालाई बलियो बनाउने टुथपेस्ट छान्नुपर्छ । बिहान हर्बल र बेलुका फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्दा राम्रै हुन्छ ।
यस्तै गरी आफूलाई उपयुक्त टुथब्रस पनि छान्न सक्नुपर्छ । बजारमा हार्ड, मेडियम र सफ्ट टुथब्रस उपलब्ध हुन्छन् । जसको दाँत सेन्सेटिभ किसिमको छ उनीहरुले सफ्ट, स्वस्थ दाँत हुनेले मेडियम ब्रस प्रयोग गर्न सकिन्छ । हार्ड ब्रस पनि प्रयोग गर्न नसकिने होइन तर उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ । बढी घोटेर ब्रस गर्दा हानि पुग्छ ।
ब्रस कस्तो प्रयोग गर्ने भन्दा पनि कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानिसहरु जति दाँतमा घोटेर ब्रस गर्न सक्यो त्यति राम्रो भन्ने भ्रममा हुन्छन् र घोट्छन् । यो गलत तरिका हो । सीधा अगाडि–पछाडि, तल–माथि र गोल–गोल पारेर गर्ने धेरै तरिकाहरु छन् ।
टुथब्रस चलाउँदा एकैचोटि चार–पाँचवटा दाँतलाई भेट्ने गरी दाँया–बाँया वा तल–माथि चलाउनुहुन्न । यसो गर्दा गिजालाई असर गर्ने र गिजाले दाँत छोड्दै जाने सम्भावना हुन्छ । त्यसकारण कुनै एउटा दाँतमा गोल–गोल घुमाएर पाँचचोटि जति ब्रस चलाउनुपर्छ । ब्रस समाउँदा पनि हत्केलाले नभई औँलाले समाउनुपर्छ । ब्रस गर्दा पनि धेरै बेर लगाएर गर्ने, कुरा गर्दै ब्रस लगाउने बानी राम्रो होइन । दुईदेखि तीन मिनेटमा सिध्याउनुपर्छ । सही तरिकाले ब्रस चलाउनका लागि दन्तचिकित्सकलाई भेट्दा सोध्नु राम्रो हुन्छ । कम्तीमा वर्षको एकचोटि चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । त्यस अवस्थामा सोध्न सकिन्छ । सही तरिकाले ब्रस चलाउने बारेमा अहिले यु–ट्युबमा पनि सामग्री राखिएको पाइन्छ ।
कतिपयले बालुवा, माटो, अंगार, काठ र बाँसका दतिवनले पनि दाँत माझेको देखिन्छ । ब्रस नहुँदा यो पनि गर्नु ठीकै हो तर घोटेर गरेमा हानि गर्छ । हार्ड ब्रसले दाँत खिइन्छ भनेजस्तै बालुवा, अंगार दाँतमा घोट्दा दाँत, गिजा खिइन्छ । फोहोर निकाल्ने भए पनि अंगार, बालुवाले दाँतको इनामेल खिइने धेरै सम्भावना हुन्छ । ब्रस, टुथपेस्ट नहुँदा नरम किसिमका बाँस वा काठका दतिवन बिस्तारै लगाउनु ठिक्कै हुन्छ । तर सकेसम्म ब्रस, टुथपेस्ट नै सुरक्षित हुन्छ ।
दाँतलाई स्वस्थ राख्नका लागि कोक, फेन्टा, पेप्सीजस्ता फिँज आउने कार्बोनेटेड चिसो पेयहरु सकेसम्म कम गर्नुपर्छ । यी वस्तु खाएपछि कुनै खाना खानु वा तुरुन्तै कुल्ला गर्नु राम्रो हुन्छ ।
दाँतलाई दीर्घजीवी बनाउनका लागि केटाकेटीदेखि नै बाबुआमाले सचेतना अपनाउनुपर्छ । सानैदेखि कुल्ला गर्ने, ब्रस गर्ने बानी गराउनुपर्छ । सकेसम्म गुलिया पदार्थ कम गराउनुपर्छ । पाहुनाहरु आउँदा जहिले पनि चकलेट आदि गुलिया वस्तु ल्याइदिन्छन् । पाहुनाले पनि बच्चा भएको ठाउँमा जाँदा चकलेट आदि गुलिया वस्तुको सट्टा पेन, पेन्सिल, जोमेट्रिक बक्स आदि सिर्जनात्मक वस्तुहरु लगिदिनु ठीक हुन्छ । गुलियो खाइरहँदा दाँतमा टाँसिन्छ र क्याबिटिज हुन्छ ।
दाँतको उपचार गराउन जाँदा योग्य डाक्टर हो कि होइन ? बुभ्mनुपर्छ । डाक्टर हो भने नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिएको छ कि छैन ? त्यो हेर्नुपर्छ । हाइजेनिस्ट हो भने उनले आफ्नो कार्यक्षेत्रमा रहेर दाँत सफा गरिदिने र काउन्सिलिङ मात्र गरिदिन्छन् कि कार्यक्षेत्रबाहिर गरेर काम गर्न खोजेका छन् ? त्यसमा पनि ध्यान दिनुपर्छ । डाक्टरको निगरानीमा काम गर्ने हो कि होइन ? त्यसमा ध्यान दिनुपर्छ ।
दन्तउपचार गर्ने क्लिनिक, अस्पतालको सरसफाइ र अन्य कुराहरु ठीक छन् कि छैनन् ? त्यो पनि ध्यान दिनुपर्छ । क्लिनिक पस्दामा क्लिनिकजस्तो हुनुपर्छ, कपाल काट्ने ठाउँजस्तो नहोस् । अस्पतालका कतिपय सामानहरु सयौँ बिरामीलाई प्रयोग गर्नुपर्ने हुन्छ । यसरी प्रयोग गरिने सामानहरु स्टेरलाइज छ वा छैन, स्टोर राम्रोसँग गरिएको छ वा छैन ? ती कुरा पनि हेर्नुपर्ने हुन्छ । यस्तो कुरा पनि बिरामीले डाक्टरलाई सोद्धा राम्रो हुन्छ । त्यो बिरामीको अधिकारको कुरा हो । यतिमा मात्र ध्यान पुर्याउन सके पनि दाँतलाई धेरै हदसम्म स्वस्थ र सुन्दर राख्न सकिन्छ ।
(डा. प्रविन्द्र अधिकारीसँग साधनाका प्रतिनिधि लक्ष्मण अधिकारीले गरेको कुराकानीमा आधारित । डा. प्रविन्द्र, नेपाल डेन्टल एसोसिएसनको अध्यक्षसमेत हुनुहुन्छ ।)