राम्री हुन मेकअपले मात्र हुन्न है



बिनु श्रेष्ठ (ब्युटिसियन)

प्रत्येक व्यक्तिले आफ्नो शरीरको प्रत्येक अंगको सरसफाइ र स्वास्थ्यप्रति नियमित ध्यान दिने बानी बसाल्नु जरुरी छ । स्वस्थ, सफा शरीरले लेटेस्ट मेकअप, हेयर स्टाइल, नेल डिजाइन, आकर्षक पहिरन, गरगहनायुक्त शरीरमा सुनमा सुगन्ध थप्ने काम गर्दछ । आकर्षक व्यक्तित्वको मालिक बनाउँछ । तसर्थ सरसफाइलाई महत्व दिनु जरुरी छ ।

प्रायः सुन्दर बन्नका लागि नयाँ डिजाइनको लुगा, जुत्ता, गरगहना लगाउने अनि लेटेस्ट मेकअप, हेयर स्टायल, नेल डिजाइन गर्ने गरिन्छ । त्यसपछि त आफू निकै राम्री भएकी सोचिन्छ । तर झ्वाट्ट हेर्दा दखिने अंगहरुप्रति मात्र बढी ध्यान दिने गरेको पाइन्छ । ढाकिने वा छोपिने वा हत्तपत्त नदेखिने अंगहरुप्रति कमै ध्यान दिने वा दिँदै नदिने गरेको पाइन्छ । यदि तपाईं पनि यस्तै गर्दै हुनुहुन्छ भने ठूलो गल्ती गर्दै हुनुहुन्छ । सुन्दर, सफा र गहकिलो आकर्षक व्यक्तित्वको लागि धेरै कुरामा ध्यान दिनुपर्दछ ।

नाक र कान

नाक र कानभित्र फोहोर जम्मा हुन नदिन बराबर सफा गर्ने गर्नुपर्छ । लामा–लामा रौं भएमा काट्ने वा हटाउने उपाय अपनाउनुपर्छ । चिल्लोपना, ब्ल्याक हेड्स आदि भएमा उचित उपचार गराउनुपर्छ ।

आँखा

आँखाको कुनामा चिप्रा हुन दिनुहुँदैन । साथै आँखाको वरिपरिको छालाको विशेष स्याहार गर्नुपर्छ, जसले गर्दा चाउरीपन एवम् डार्क सर्कलबाट बचाउँछ ।

ओठ तथा मुख

मुख वा ओठको कुनामा थुक वा फोहोर जम्मा हुन दिनुहुँदैन । खाना खाँदा सफाइमा ध्यान दिनुपर्छ । अन्यथा चिल्लोले गर्दा ओठवरिपरि घाउ–खटिरा आउने डर हुन्छ । मुख गन्हाउने समस्या भएमा सरसफाइका साथै डाक्टरसँग सल्लाह लिई उचित उपचार गराउनुपर्छ ।

कपाल

कपालको जरा र छालाको पनि स्याहार र सफाइ जरुरी छ । राम्रो हेयर स्टायल भएर पनि चायायुक्त भएमा अरुले घृणा गर्न सक्छन् । लगाएको लुगामा जताततै कपालको चाया झरेको छ भने पनि अरुको नजरमा राम्रो मानिदैन । त्यसैले कपालको उचित उपचार र स्याहार गर्नुपर्छ । जुम्राबाट जोगिनका लागि पनि सरसफाइ जरुरी छ ।

दाँत

दाँतको नियमित सफाइ गर्नुपर्छ । माउथ वास, माउथ फ्रेसनर वा ल्वाङ–सुकुमेलको प्रयोग गरेर पनि दुर्गन्ध हटाउन सकिन्छ ।

घाँटी, ढाड, कम्मर, पेट

यी भागहरुको पनि नियमित सफाइ र स्याहार गर्नुपर्छ । म्वाइश्चराइजिङ, सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यदि मसिना रौं धेरै भएमा हटाउनुपर्छ, जसले गर्दा सफा देखिन्छ । सन एलर्जी छ भने शरीर ढाक्ने वा छोप्ने लुगा लगाउनुपर्छ ।

अनुहारको मेकअप गर्दा कान, घाँटीलाई पनि ध्यानमा राख्नु जरुरी हुन्छ । घरबाट निस्कँदा जति मेहनत गरेर राम्री बनी निस्कनुहुन्छ, घर फर्केपछि पनि त्यस्तै गरी सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ

काखी

काखीको सरसफाइका साथै यहाँ भएका रौं हटाउनाले दुर्गन्धबाट बच्न सकिन्छ । डेओडेरेन्ट पाउडरको प्रयोगबाट पनि दुर्गन्ध रोक्न सकिन्छ । पातलो, जालीदार, स्लिवलेस पहिरन लगाउँदा पनि राम्रो देखिन्छ ।

भित्री अंगहरु

भित्री अंगहरुको सरसफाइलाई पनि ध्यान दिनुपर्छ । नुहाएर भित्री वस्त्रहरु नियमित फेर्ने गर्नुपर्छ । यसले गर्दा शरीरबाट दुर्गन्ध आउन पाउँदैन ।

हात–खुट्टा

हातको कुहिनाको साथै नङलाई सफा राख्नुपर्छ । सफा र उचित ढंगले नङ काटेर हात–खुट्टाका औंलाहरु आकर्षक बनाउन सकिन्छ । म्वाइश्चराइजिङ, सनस्क्रिन, ह्यान्ड लोसन आदिको प्रयोग गर्नाले हातलाई स्वस्थ र सुन्दर राख्न सकिन्छ । खुट्टाका औंला, नङ, कुर्कुच्चा, औंलाको बीच भाग, पैतालाको पनि उचित स्याहार गर्न जरुरी हुन्छ ।

सुन्दरताको कुरा गर्दा अन्य धेरै कुरामा पनि ध्यान पुर्याउनुपर्छ । नियमित सरसफाइका साथै स्वस्थ वातावरण, आवश्यकता अनुसारको सौन्दर्य प्रसाधनको प्रयोग र शुद्ध–सफा पानीको प्रयोगबाट सरसफाइ गर्न जरुरी हुन्छ । अनुहारको मेकअप गर्दा कान, घाँटीलाई पनि ध्यानमा राख्नु जरुरी हुन्छ । घरबाट निस्कँदा जति मेहनत गरेर राम्री बनी निस्कनुहुन्छ, घर फर्केपछि पनि त्यस्तै गरी सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । आजकलको धुवाँ, धूलो, फोहोर, प्रदूषणबाट जोगिनु पनि अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्