खानपान र स्वास्थ्य
खानपानले स्वास्थ्यको अवस्थालाई निर्धारण गर्दछ । शरीरको संरक्षण र विकास वा विकृति एवं विनास खानपानको शैलीमा निर्भर हुन्छ । शरीरको प्रकृति, अवस्था, उमेर, क्षमता, तौल, उचाइ, स्थान, ऋतु, समय र आनुवंशिक वातावरण आदिका आधारमा भोजनको आवश्यकता हुन्छ ।
यी कुराहरुमा सन्तुलन वा तलमेल नमिल्दा एकैथरीका खानपान गरे पनि कसैलाई केही हुँदैन भने कसैलाई गम्भीर स्वास्थ्य समस्या पनि हुन सक्छ । भोजन ठीक भएमा त्यो स्वास्थ्यका लागि वरदान हुन्छ भने ठीक नभएमा त्यो नै रोगको कारक हुन्छ । निरन्तर भोजनशैलीमा गडबडी भएमा त्यसबाट घातक रोगहरु पनि जन्मन सक्ने हुन्छ ।
शरीरको प्रकृतिअनुसारको खाना :
कसैको शरीर गर्मी प्रकृतिको हुन्छ भने उसले सर्दी प्रकृतिको खानपान गर्नुपर्छ । यसरी नै सर्दी प्रकृतिको शरीर भए गर्मी बढाउने खालका खानपान अपनाउनुपर्छ । अम्लवृद्धिको अवस्थामा क्षारप्रधान खानपान गर्नुपर्छ ।
अवस्था र उमेरअनुसार खाना :
गर्भावस्था, शैशवावस्था, युवावस्था, वृद्धावस्था, रोगावस्था, निरोगावस्था आदि शरीरको अवस्थाअनुरुप खानपान गर्नुपर्छ । सबैलाई एकैनासको खानपान गर्दा शरीरले ग्रहण गर्न नसक्ने, शरीरमा पोषण कम वा बढी हुने, शरीरमा हानि हुन सक्ने आदि समस्या हुने हुन्छ ।
क्षमता र आवश्यकताअनुसार खाना :
आफ्नो पाचन क्षमता र शरीरलाई कति भोजन आवश्यक पर्छ, सो कुरालाई ध्यान दिएर पनि खानपान गर्नुपर्छ ।
तौल र उचाइअनुसार खाना :
शरीरको सन्तुलित विकासका लागि शरीरको उचाइअनुरुपको आदर्श तौल हुनुपर्दछ । यसका लागि शरीर मास सूचकांक (Body Mass Index /BMI) अनुसार व्यक्तिको तौललाई किलोग्राममा नापिन्छ जसलाई उचाइको मिटर वर्ग स्क्वायर (Metwr Square ) ले भाग गरिन्छ र १८.५ देखि २५ उत्तर आए सामान्य तौल मानिन्छ ।
यस सूत्रअनुसार वयष्कहरुमा १६ भन्दा तल आए अति दुब्लो, १६–१७ मध्यम दुब्लो, १७–१८.५ हल्का दुब्लो मानिन्छ भने २५–३० सम्म हल्का तौलवृद्धि, ३०–३५ प्रथम वर्गको मोटोपना, ३५–४० दोस्रो वर्गको मोटोपना र ४० भन्दा बढी भएमा तेस्रो वर्गको मोटोपना भएको मानिन्छ । उदाहरणको लागि यदि कुनै वयष्क पुरुषको तौल ७५ किलोग्राम छ र उचाइ (५ फिट ६ इन्च वा करिब १.६७ मिटर) छ भने हिसाबअनुसार ७५ किलोग्रामलाई मिटर स्क्वायर अर्थात् (१.६७)२ वा २.७८ ले भाग गर्दा २६.९७ आउँछ भने त्यो करिब ५ किलो तौलवृद्धि हो । तौल र उचाइको सन्तुलन राख्नुपर्छ ।
स्थानीय खानपान :
स्थानीय रुपमा उपलब्ध खानेकुरा शरीरका लागि बढी प्रभावकारी हुने हुँदा त्यसलाई प्राथमिकता दिनुपर्छ ।
ऋतु र समयअनुसार खाना :
खानपानको छनोटका लागि मौसम वा ऋतुलाई पनि ध्यान दिनुपर्छ । मौसमअनुरुपका फल, तरकारी खाने गर्नुपर्छ र ऋतुचर्यालाई पनि ध्यान दिन सके स्वास्थ्य राम्रो हुन्छ । यसरी नै दैनिक समय जस्तै– बिहान हल्का, दिउँसो पूर्ण भोजन र साँझ अल्पाहार गर्नु स्वास्थ्यको लागि उचित हुन्छ । तर विडम्बना, हाम्रो भोजभतेर र जमघट बेलुका वा राति नै बढी हुन्छ । तथापि भोजभतेरमा पनि अल्पाहार गर्न नसकिने होइन, मनमा लोभीपना ल्याउने बानी हटाउनु जरुरी छ ।
आनुवांशिक वातावरणअनुसार खाना :
आनुवांशिक रोग के–कस्ता छन्, सो कुरा जान्नुपर्छ । आफ्नो परिवार (आमा, बुबा, हजुरबा, हजुरआमा, मामाघर आदितर्फ) मा यदि कुनै आनुवांशिक रोग भएमा आफूलाई पनि सो रोग नसरोस् भन्नका लागि भोजन, व्यायाम, जीवनशैली आदिमा धेरै
ध्यान दिनु जरुरी छ ।
जंकफुडको
प्रयोग घटाऔंशहरतिरका केटाकेटीमा जंकफुड खानेबानी बढ्दो छ । टेलिभिजन र इन्टरनेटमा गरिएका विज्ञापनका कारण पनि बच्चादेखि नै यस्ता जंकफुडको प्रयोग गर्ने प्रचलन बढी हुने गरेको छ । आलुचिप्स, चिजबल, कुरकुरे, कुरमुरे, चाउचाउ आदि तयारी खानपान शहरतिर बढी गरेको पाइन्छ । यो हावा बिस्तारै गाउँतिर पनि फैलिँदो छ । यसरी नै केक, बर्गर, स्यान्डविच, पिज्जाजस्ता खानेकुरा शहरतिरै बढी प्रयोग गरेको भेटिन्छ । टेलिभिजन हेर्दा वा मोबाइल चलाउँदा पनि जंकफुड खाइरहने बानीबाट समस्या आइरहेका छन् । उच्च क्यालोरीको प्रयोगका कारण मोटोपन बढ्ने, कम उमेरमै रक्तचाप बढ्ने जस्ता समस्या पनि शहरतिर आजकल अति नै जटिल रुपमा तेर्सिएको छ ।
शहरबजारमा खानपानको महामारी
शहरबजारमा व्यस्त जीवनशैली, उन्नत कमाइ, परिवारबाट टाढा रहेको स्थिति, साथीभाइको जमघट र भोजशैली, खानेपिउने गर्दै रमाउने शैलीका कारण भोजनशैली बर्बादीको दिशातिर उन्मुख भैरहेको छ । यसबाट खानपानको गडबडीका कारण हुने रोगहरु बढ्दै गइरहेका छन् ।
पाइलैपिच्छे भेटिने थरी–थरीका होटल, रेस्टुरेन्ट, फुटपाथका ठेलागाडे खानपान (स्ट्रीट फुड, चटपटे, पानीपुरी, सेकुवा, ससेज, तारेको आलु, चिया–कफी इत्यादि) रेस्टुरेन्टमा जन्मदिनलगायत अन्य दिवसहरु मनाउने, घरमै गरे पनि अस्वस्थकर खानपान गर्ने जस्ता क्रियाकलापबाट विकृत भोजनको शीघ्रतम र उच्चतम प्रयोग हुँदै आएको छ, जसबाट नसर्ने रोगको प्रकोप बढ्दो छ ।
सागपात र फलफूलको विषादी कम गर्ने तरिका
बजारबाट किनेर ल्याइएका तरकारी र फलफूलमा विषादी हुन सक्छ । यसका लागि तलका कुरामा ध्यान दिऔं ।
– तरकारीको खरिद गर्दा विष कम छरिने सागपात जस्तै– लुँडे, फर्सीको मुन्टा, स्कुसको साग आदि रोजौं । कीराले खाएको र प्वाल भएको रोजौं । सम्भव भए अर्गानिक फार्मको किनौं ।
– फल–तरकारीलाई धाराको बगिरहेको पानीमा
मिचेर पखाल्ने ।
– बोक्रासँगै तरकारीलाई पानीमा केही नून हाली आधा घण्टा जति डुबाउने ।
– तरकारीलाई केही बेर खुल्ला ठाउँमा फैलाएर राख्ने ।
– विषादी प्रयोगको शंका भए फल–तरकारीको बोक्रा ताछेर मात्र प्रयोग गर्ने ।
– फल किन्दा हरियो खालको किनेर घरमै पकाउने विधि सिक्ने । बढी पहेँलो, रातो, टल्किने नरोज्ने ।
जुन भोजनले जीवनको सुरक्षा गर्छ र मृततातिरबाट शरीरका अंगप्रत्यंगलाई जीवन्त बनाउँछ, जसमा पोषणहरु प्राकृतिकरुपमा पूर्णतः सुरक्षित हुन्छन्, आगोमा पकाइएको हुँदैन, त्यो भोजनलाई अमृत भोजन भनिन्छ । दिनहुँ खानामा अमृत भोजनको अंश हुनुपर्दछ ।
सेतो विष र रसायन कम गरौं
नून, चिनी, मैदा प्रायः दैनिक प्रयोग हुने तीन प्रमुख सेता विषहरु हुन् । भान्सामा प्रयोग हुने यस्ता विषहरुले शरीरलाई प्रत्यक्ष हानि पुर्याइरहेका हुन्छन् । यसरी नै होटल, रेस्टुरेन्टमा अत्यधिक प्रयोग गरिने रासायनिक स्वादवद्र्धक मोनोसोडियम ग्लूटामेट (अजिनोमोटो), बर्गर पिज्जामा प्रयोग हुने मायोनिज, टोमाटो केचप, कृत्रिम रंग, विदेशी रसायनयुक्त स्वादकारक विभिन्न मसलाहरु आदि सेताबाहेक बहुरंगका मन्द विषहरु हुन्, आधुनिकताका नाममा आएका भोजन तथा स्वाद विषहरुलाई न्यूनीकरण गर्नुपर्दछ । चिया तथा कफीको विकल्प रोजौं ।
काँचो सलाद कसरी खाने ?
सलाद खानुअघि यसलाई राम्ररी पखाल्नुहोस् र पानीलाई पिउनयोग्य बनाउन प्रयोग गरिने औषधि– पीयूष वा क्लोरिनलाई पानीमा मिसाई आधा घण्टा जति डुबाउने गर्नुपर्छ । अथवा, मःमः पकाएको जस्तो गरी १० मिनेट जति मन्द किसिमले बफाउनुपर्छ । होटल र बिहे भोजतिरको सलाद त्यति सफासँग बनाएको पाइँदैन, झन् बेफाइदा हुन सक्छ ।
मसलाको उचित प्रयोग
भान्सामा प्रयोग गरिने मसलाहरुको प्राकृतिक गुण र पोषण नष्ट नहुने गरी प्रयोग गर्नुपर्छ । धनियाँ, बेसार, अदुवा, मेथी, जीरा, लसुन, मरिच, ज्वानो, हिङ, टिमुर आदिमा रोग–प्रतिरोधात्मक र चिकित्सात्मक गुणहरु प्रशस्त मात्रामा हुने हुन्छ । त्यसलाई प्राकृतिकरुपमै खानुपर्छ । धेरै डढाएर, तेलमा फुराएर प्रयोग नगरी खाने बेलामा नै वा पकाएको अन्त्यमा मात्र राखेर खानुपर्छ ।
अमृत भोजनको प्रयोग
जुन भोजनले जीवनको सुरक्षा गर्छ र मृततातिरबाट शरीरका अंगप्रत्यंगलाई जीवन्त बनाउँछ, जसमा पोषणहरु प्राकृतिकरुपमा पूर्णतः सुरक्षित हुन्छन्, आगोमा पकाइएको हुँदैन, त्यो भोजनलाई अमृत भोजन भनिन्छ । दिनहुँ खानामा अमृत भोजनको अंश हुनुपर्दछ । अमृत भोजनलाई विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ ।
अंकुरित गेडागुडीका रुपमा :
मुंग, सानो खालको चनालाई भिजाएर आधा इन्च जति टुसा उमार्नुस् । गुलियो बनाएर खाने भए एकछिन् अघि किसमिस, छोकडा, काँचो नरिवललाई मसिनो टुक्रा बनाई काटेर मिसाउने । खाने बेलामा दही पनि मिसाउन सकिन्छ । यसरी नै नुनिलो खालको खाने भए (चटपटे जस्तो) टुसा उम्रेको काँचो गेडागुडीमा हरियो धनियाँ, सलाद (मूला, प्याज, गोलभेंडा, बन्दा, गाजर) मसिनो गरी काट्ने, गेडागुडी र सलाद बराबर मिसाउने । नून र मरिचको धूलो, कागती पनि मिसाउने र तुरुन्तै खाने ।
सलादको रुपमा :
काँचो सलाद (मूला, गोलभेंडा, बन्दा, गाजर, चुकन्दर आदि) लाई क्लोरिन र पीयूष मिसाइएको पानीमा आधा घन्टा डुबाउने र निकाली उमालेर सेलाएको पानीले पखाल्ने । अब इच्छाअनुसारको आकारमा काट्ने र राम्ररी चपाई–चपाई खानुहोस् ।
फलाहारको रुपमा :
रसिलो खालको मौसमअनुरूपको फलफूलको समूहबाट एक वा मिश्रित फलफूललाई खाजा वा खानाको रुपमा खान सकिन्छ । बिरामी व्यक्तिले रोगको प्रकृति र स्वस्थ व्यक्तिले पनि शरीरको अवस्थाअनुरुप आप्mनो शरीरलाई हानि नगर्ने किसिमले फलको छनोट र उपयोग गर्नुपर्छ ।
रसाहारको रुपमा :
कुनै पनि पाकेको रसिलो फललाई जुस बनाएर खान सकिन्छ । एकपटकमा एकथरी फलको मात्र जुस पिए राम्रो हुन्छ । फलजस्तै तरकारी (लौका) को जुस पनि खान सकिन्छ । यसरी नै गहुँ, जौ, पुदिना, धनियाँ आदिको रस निकाली पानी मिसाएर पनि पिउन सकिन्छ । दही, मही, कागती, मह आदि मिसाएर सर्बत खान पनि सकिन्छ । बेल, दूध, दही, मही, आँप आदिको कल्पको रुपमा सर्बत बनाएर रसाहार वा त्यसै पनि खाएर–पिएर बस्न सकिन्छ ।
पकाएको आहार :
पकाएको स्वस्थकर प्राकृतिक भोजनले पनि शरीरलाई स्वस्थ बनाउन सघाउँछ । विकृत र अप्राकृतिक त्यागेर यस्ता भोजन प्रयोग गर्नाले निकै फाइदा हुन्छ । यहाँ केही उदाहरण दिइन्छ :
गहुँको च्याँख्ला (दलिया) बनाउने तरिका:
भाँडा तताएर गहुँको च्याँख्लालाई सुख्खा भुट्ने र केही रातो बनाउने अनि पानी हाली ४–५ सिटी लाग्ने गरी प्रेसरकुकरमा खोलेजस्तो पकाउने । यसलाई खल्लो वा गुलियो खान सकिन्छ । खल्लो खाने भए दूध र दही वा दाल–तरकारीसित खाने । गुलियो खाने भए पकाउँदा नै किसमिस र चिनीको सट्टा सख्खर (भेली) मिसाएर पकाउने र खाने ।
लौका, साग, घिउसिमी, ब्रोकाउली, बन्दा वा अन्य मौसमी हरियो तरकारी आदिमध्ये कुनै एक वा मिश्रित गरी पखाल्ने, काट्ने र पानीमा केही मात्रामा नून हाली उसिन्ने र पाक्ने बेलामा बेसार, जीरा–धनियाँको धूलो, हरियो धनियाँ र इच्छाअनुसार काटेको मसिनो गोलभेंडा आदि हाली एकैछिन् छोपेर राख्ने र खाने ।
तातो पेयको समूहबाट :
कुनै जडीबुटी चिया वा ग्रीन टी वा सोझै पानी पकाएर गुलियोको लागि मह वा सख्खर (भेली) मिसाएर र कागती हालेर पिउने । घर र अफिसमा चिया खाने चलन कम गरी तुलसीको पात, पुदिना, दालचिनीको धूलो आदिलाई तातोपानीमा हाली पिउन सकिन्छ । चिनी राखेर खानेहरुले सकेसम्म सानो कपमा दिनको एक–दुई कपभन्दा बढी पिउने गर्नुहुँदैन र पिउनुअघि दुगुना पानी पिउने गर्नुपर्छ । अथवा चिनीविनाको फिका चिया वा कडा नगरी चिनीविनाको हल्का कफी दूध नहालीकन पिउन पनि सकिन्छ ।
भोजनका केही नियमहरु :
– खाँदा पेटको भाग टमक्क हुने गरी खानुहुँदैन, पेटलाई चार भाग मानेर त्यसमा एक भाग दाल–हरियो तरकारीले, एकभाग सलादले, एकभाग अन्न–पानीले भर्नुपर्छ र बाँकी एकभाग हावाको लागि छोड्नुपर्छ । यसो गर्दा रोग लाग्ने जोखिम कम हुन्छ ।
– खाना खाँदा बोल्नु, टेलिभिजन हेर्नु, मोबाइल वा कुनै इलेक्ट्रोनिक डिभाइस चलाउनुहुँदैन ।
– खाना खाँदा राम्ररी चपाएर निल्नुपर्छ । जस्तो कि ठोसलाई चपाउँदा चपाउँदै तरल होस् ।
– खाना खानासाथ सुत्नु, नुहाउनुहुँदैन । सुत्नै परे २ घण्टापछि मात्र सुत्नुहोस् । खाएपछि लगत्तै वज्रासनमा १५ मिनेट जति बस्ने बानी बसाल्नुहोस् ।
– तपाईं मोटो हुनुहुन्छ भने तौल घटाउनको लागि केही दिन बेलुकाको खाना आधा गर्ने, खाजामा १०० ग्राम जति फल लिने, बिहानको खाजा नखाने र बिहानको खाना हल्का गर्नुस् । १५ दिनपछि १००० क्यालोरीको खानामा रहनुस् । त्यसपछि हप्तामा २–३ दिन ५०० क्यालोरीमा रहनुस् वा हप्तामा १ दिन पानी मात्र पिएर रसोपवास वा पूर्ण उपवास गर्नुहोस् ।