मेकअप गरेर मात्र सौन्दर्य बढ्छ भन्ने मान्दिनँ : केकी



केकी अधिकारीलाई नेपाली फिल्म क्षेत्रमा सुन्दरी अभिनेत्रीका साथै बौद्धिक अभिनेत्रीका रुपमा लिइन्छ । म्युजिक भिडियोमा मोडलिङ र अभिनयपश्चात् फिल्म नगरीमा प्रवेश गरेकी केकीलाई कुनै बेला म्युजिक भिडियो क्विनको नामले पनि चिनिन्थ्यो । फिल्म ‘स्वर’बाट रजतपटमा डेब्यु गरेपश्चात् उनले हाउ फन्नी, घामपानी, ऐश्वर्या, मसान, रज्जा रानी जस्ता दर्जनको हाराहारी फिल्ममा अभिनय गरिन् भने कोहलपुर एक्सप्रेसमार्फत फिल्म निर्माणमा पनि हात हालिन् ।

पुराना फिल्म निर्देशक बद्री अधिकारी–पुत्री केकी फिल्म क्षेत्रमा मात्र नभई पढाइलाई पनि सँगसँगै लौजाने अभिनेत्री हुन् । जसरी फिल्म क्षेत्रमा मेहनत गरिन्, त्यसरी नै पढाइमा पनि मेहनत गर्दै व्यवस्थापनमा मास्टरसम्मको पढाइ पूरा गरेकी उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागिरहेको कमेडी च्याम्पियन नामक शोको निर्मात्री पनि हुन् ।

भर्खरै छ माया छपक्कैको काम सकेर कमेडी च्याम्पियनको काममा व्यस्त केकीले कमेडी शोको सोच धेरै अगाडि आए पनि यसको लागि सही समय भने अहिले भएकोले निर्माणमा जुटेको बताइन् । ‘यसरी ग्रयान्ड रुपमा स्ट्यान्ड अप कमेडी शो गर्दा दर्शकले रुचाउनुहुन्छ कि हुन्न भन्ने कुरामा द्विविधा थियो । माहोल हेर्दा राइट टाइम यही हो भन्ने लागेर यो शोको शुरुवात गर्न लागिरहेको हो’, उनले भनिन् ।

केकीको लागि स्वास्थ्य बढी र सौन्दर्य कम महत्वपूर्ण विषय हो । ‘हरेक मानिसका लागि स्वास्थ्य महत्वपूर्ण कुरा हुन्छ । स्वास्थ्य नै धन हो भन्ने भनाइ पनि छ नि ∕ स्वास्थ्य रह्यो भने धन–सम्पत्ति र सफलता प्राप्त गर्न सकिन्छ’, केकी सुनाउँछिन्– ‘म स्वस्थ रहनका लागि खानपान र निद्रामा विशेष ध्यान दिन्छु । जतिसुकै व्यस्तता भए पनि दैनिक ६/७ घण्टा सुत्ने गर्छु । निद्रा पुगेन भने जति प्रयास गरे पनि फ्रेस रहन सकिँदैन । निद्रा नपुगेको भन्ने कुरा मानिसको अनुहारमै देखिन्छ ।’

आफूले सिकेको कुरा व्यवहारमा लागू गर्न सकिएन भने त्यो ब्युटीको पनि काम हुँदैन र ब्रेनको पनि काम हुँदैन । ब्युटी भनेको सही समयमा ब्रेनको व्यावहारिक प्रयोग गर्नु हो ।

मेकअपमा विश्वास नगर्ने केकी पर्दामा बाहेक अरु बेला विनामेकअप नै हिँड्ने गर्छिन् । ‘कलाकार भएपछि सौन्दर्यमा पनि ध्यान दिनुपर्छ तर मेकअप गरेर मात्र सौन्दर्य बढ्छ र राम्री भइन्छ भन्ने कुरा म मान्दिन । मानिसमा सकारात्मक सोच हुनुपर्छ । कसैलई समस्या पर्दा उसको लागि मद्दत गर्न सक्नुपर्छ । आफैंलाई कुनै समस्या पर्दा नआत्तिईकन हल गर्न सक्नुपर्छ । यसले गर्दा अनुहारमा आफैं सौन्दर्य भल्किन्छ’, केकीको अनुभव छ ।

दैनिकजसो सुटिङको काम हुने भएकाले केकी फेसियलमा बढी खर्च गर्छिन् । ‘मेकअप गर्दा अनुहारमा विभिन्न प्रकारका केमिकल परेको हुन्छ । यसलाई लामो समय राख्दा अनुहारलाई नै असर गर्छ । मुख धुँदा मात्र त्यस्ता केमिकलहरु नजाने भएकाले फ्रुट मसाज र फेसियलमा केही खर्च गर्छु’, केकीले सुनाइन् । सौन्दर्य प्रसाधन रोज्दा उनी निकै सजग हुन्छिन् । ‘बाहिरको सामान अथेन्टिक हुने भएकाले कार्यक्रमको लागि विदेश गएको बेला आवश्यक मेकअपका सामग्री उतैबाट खरिद गर्छु । सौन्दर्य साधनकै लागि भनेर खासै खर्च गर्ने बानी भने छैन’, केकीले भनिन् ।

सुन्दरी र बौद्धिक मानिएकी केकीको विचारमा ‘ब्युटी विथ ब्रेन’ भन्ने भनाइ सामान्य हो । ‘ब्युटी विथ ब्रेनबारे मेरो विचार फरक छ । जरुरी परेको बेला अरुको मद्दतका लागि तत्पर रहनुपर्छ । परेको बेला सही ठाउँमा आफ्नो ब्रेनको प्रयोग गर्न सक्नुपर्छ । सही समयमा सही डिसिजन लिन सक्नुपर्छ । आफूले सिकेको कुरा व्यवहारमा लागू गर्न सकिएन भने त्यो ब्युटीको पनि काम हुँदैन र ब्रेनको पनि काम हुँदैन । ब्युटी भनेको सही समयमा ब्रेनको व्यावहारिक प्रयोग गर्नु हो’, उनी भन्छिन् ।

केकी भन्छिन्, ‘पढेर मात्र हुँदैन, व्यवहारमा लागू गर्न पनि सक्नुपर्छ । पढाइ आवश्यक छ तर व्यवहारमा लागू गर्न सकिएन भने त्यो पढाइको के काम ? मैले व्यवस्थापन पढेको छु तर आफ्नो दैनिक जीवनको व्यवस्थापन गर्न सकिन भने पढाइको के अर्थ ? आफूसँग भएको ज्ञान जीवनमा प्रयोग गर्न सकिएमा मात्र पढाइको अर्थ रहन्छ ।’

केकी सामान्यतया अफर आएका सबै फिल्ममा काम गर्दिनन् । फिल्मको कथावस्तु हेरेर मात्र काम गर्ने वा नगर्ने निधो गर्छिन् । उनी
भन्छिन्, ‘फिल्ममा अभिनय गर्दा स्क्रिप्टलाई ध्यान दिन्छु । चाहे त्यो हरर फिल्म होस् या आर्ट अथवा व्यावसायिक फिल्म ।’

फुर्सदको समय किताब पढेर तथा फिल्म हेरेर सदुपयोग गर्ने केकी आफ्नो बलियो र कमजोर दुवै पक्ष समय व्यवस्थापनलाई मान्छिन् । आफूले काम गरेका क्षेत्रका महत्वपूर्ण सबै व्यक्तिलाई उनी रोल मोडल मान्छिन् । आगामी प्रोजेक्टको रुपमा कमेडी च्याम्पियन र आफ्नै निर्माणमा बन्ने फिल्म कन्या कुमारी रहेकोे केकीले बताइन् ।

प्रस्तुति : रश्मी थापा

प्रतिक्रिया दिनुहोस्