बर्सादमा चिसो पेयभन्दा तातो सूप राम्रो



प्रा. जया प्रधान (पीएचडी पोषण)

काठमाडौंमा बढेको गर्मीसँगै आकस्मिक वर्षा हुँदा दुई किशोरी साथी नजिकको रेस्टुरेन्टमा ओत लाग्न पुग्छन् । त्यहाँ उनीहरुले ओत लिने क्रममा एकजनाले कार्बोनेटयुक्त चिसो पेयपदार्थ मगाइन् भने अर्कीले हनी हालेको
तातो लेमन ।

पहिलो साथीले दोस्रोलाई मह नहाली खाली लेमन–पानी वा गर्मीमा केही राहत पाउन आफूले जस्तै चिसो पेयपदार्थ लिन सुझाव दिइन् । मह हालेको खाँदा बढी क्यालोरी पाउने र मोटाउन सक्ने हुनाले सादा लेमन वा चिसो पेयपदार्थ लिन सुझाव दिइन् ।

यस किसिमको सोच र प्रवृत्ति प्रायः किशोरावस्थाका केटाकेटीहरुमा देखिन्छ । के साँच्चै कार्बोनेटयुक्त पेयपदार्थभन्दा मह हालेर बनाएको कागती–पानीले बढी क्यालोरी दिन्छ ?
र, गर्मी–वर्षायाममा कस्तो प्रकारको पेयपदार्थ उपयुक्त हुन्छ भन्ने बारे सोच्न जरुरी हुन्छ ।

जीवनशैलीमा आएको परिवर्तन खाद्यपदार्थप्रतिको सोच तथा मौसममा आएको परिवर्तनले हामीले खाने गरेको खाद्यपर्दाथले पोषण तथा स्वास्थ्यमा के–कस्तो प्रभाव पार्न सक्छ भन्ने बारे सोच्न बाध्य बनाउँछ ।

सूप र शरीरको तौलसम्बन्धी गरिएको अध्ययनअनुसार पोषिलो सूप नियमित खानाले शरीरको तौल घटाउने कार्यमा सकारात्मक प्रभाव पर्छ ।

बर्सादले गर्मी मौसमको उकुसमुकुसलाई केही हदसम्म कम गरे पनि यस मौसममा शरीर स्वस्थ नरहने, आलस्य हुने, विभिन्न रोगव्याधीको प्रकोप बढ्ने जस्ता समस्या हुन सक्छ । यस किसिमको मौसम रोगका कीटाणुहरुको वृद्धि र विकासको लागि अनुकूल हुने भएकाले खानपान तथा सरसफाइमा ध्यान दिन नसकेमा पाचनक्रियामा गडबडी हुने, दिसा–पखाला लाग्ने, रुघाखोकी लाग्ने, आलस्य बढ्ने, शरीरको स्फूर्ति कम हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

विशेषतः गर्मीबाट राहत पाउन बजारमा सजिलै पाउन सक्ने कार्बोनेट पेयपदार्थ तथा कृत्रिम तवरले फलफूलको बासना हाली बनाएको पेयपदार्थको उपभोग गर्ने प्रवृत्ति बढ्दै छ । स्वादमा पेयपदार्थको उपभोग गर्ने प्रवृत्तिले क्षणिक आनन्द त दिन्छ तर यसबाट पोषण र स्वास्थ्यमा पार्ने असरबाट अनभिज्ञ छन् ।

हामीले पिउने यस प्रकारका कार्बोनेट पेयपदार्थको बोतलमा लेखिएको न्यूट्रिसन फ्याक्ट एकपटक पढौं त ? जसमा लेखिएको हुन्छ, १०० मिग्राले १४ ग्राम कार्बोहाइड्रेट र ५६ क्यालोरी दिन्छ । त्यसबाहेक अन्य पैष्टिक तत्वको मात्रा शून्य हुन्छ । यस प्रकारको पेयपदार्थलाई इम्टी क्यालोरी (भ्mउतथ ऋबयिचष्भ) अर्थात् शतप्रतिशत क्यालोरी मात्र दिने खाद्यपर्दाथको रुपमा लिइन्छ ।

यदि एक व्यक्तिको दैनिक क्यालोरी १४ सय छ भने उसले प्यास मेटाउन ५ सय मि.लि.को कार्बोनेट चिसो पेयपदार्थ पिउँदा उसले झन्डै २ सय ८० क्यालोरी प्राप्त गर्दछ । जुन उसको दैनिक क्यालोरीको झन्डै २० प्रतिशत यसै पेयपदार्थबाट पूर्ति हुन्छ । यसबाट उसको २० प्रतिशत दैनिक क्यालोरी पूर्ति भए तापनि अन्य पैष्टिक तत्वको पूर्ति शून्य हुन्छ ।

बर्सादमा पाचनक्रिया सक्रिय नहुने भएकाले मौसमअनुसारको साग–तरकारीको मिश्रणबाट बनाएको सूप खाँदा शरीरको लागि लाभदायक नै हुन्छ ।

दैनिक खानामा यस प्रकारको खाद्यपदार्थले बढी प्रश्रय पाउँदा एकातिर शरीरले असन्तुलित रुपमा क्यालोरी प्राप्त गर्छ भने अर्कोतिर आवश्यक पौष्टिक तत्वहरुको कमीबाट कुपोषणको सिकार हुन सक्छ ।

एकातिर पोषणसम्बन्धी ज्ञानको अभाव तथा नक्कल गर्ने प्रवृत्तिले गर्दा कार्बोनेट तथा कृत्रिम पेयपदार्थको उपभोग गर्ने प्रवृत्ति बढ्दै छ भने अर्कोतिर खाद्यपदार्थ र त्यसमा पाइने पौष्टिक तत्वप्रतिको गलत धारणाले गर्दा कम क्यालोरीको लागि तथा गर्मी–बर्सादको याममा मह नहाली कागतीको रस लिन वा कार्बोनेट चिसो पेयपदार्थ लिन सुझाव दिन्छन् । जबकि कागतीमा भिटामिन ‘सी’ पाइन्छ भने महमा क्यालोरीको साथै केही मात्रामा पोटासियम, फोस्फरस, क्याल्सियम पाइन्छ ।

साधारणतया जाडो मौसममा भन्दा गर्मी मौसममा झोल खाद्यपदार्थ तथा पानी बढी आवश्यक हुन्छ । यसै गरी गर्मी तथा बर्सादमा पाचनक्रियामा व्यक्ति उति सक्रिय नहुने भएकाले कस्तो प्रकारको झोल खाना छनोट गर्दा शारीरिक क्रिया सहज हुनुको साथै आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सक्छ भन्ने कुरा पनि जान्न जरुरी हुन्छ । लगातार पानी पर्दा हावा चिसो हुने भएकाले यस समयमा चिसो पेयपदार्थभन्दा तातो वा मनतातो पेयपदार्थ जस्तै– सूप, तरकारी, चिल्लोरहित मासुको रस बढी उपयुक्त हुन्छ ।

सूप एउटा यस्तो परिकार हो, जुन कुनै पनि समयमा, कुनै पनि ठाउँमा, कम समयमा उपलब्ध हुने झन्डै ९० प्रतिशत पानीको मात्रा भएको खाद्य परिकार हो । यसको पौष्टिक गुण कति छ भन्ने कुरा यो तयार गर्दा हाल्ने खाद्यपदार्थमा भर पर्दछ । मौसमअनुसारको विभिन्न ताजा साग–तरकारीको समिश्रण गरी पकाएको सूपमा प्रशस्त झोल अर्थात् पानीको साथै भिटामिन, खानिज पदार्थ र फाइबर पाउन सकिन्छ । यसै गरी ताजा साग–तरकारी तथा चिल्लोरहित मासु, गेडागुडी मिलाएर बनाएको सूप छ भने यसबाट थप प्रोटिन प्राप्त हुन्छ । त्यसकारण पौष्टिकताले भरिपूर्ण सूप तयार गर्न यसमा प्रयोग गरिने खाद्यपदार्थ पनि पौष्टिकरुपले उपयुक्त हुनुपर्छ ।

सूप एउटा यस्तो खाद्यपरिकार हो, जुन हेर्दा धेरै परिमाणमा देखे पनि तुलनात्मकरुपमा यसमा क्यालोरीको मात्रा कम हुन्छ । त्यसकारण यो खाद्यपरिकार तौल घटाउनको लागि पनि सिफारिस गरिन्छ । एकातिर सूपको परिमाण धेरै हुने भएकाले यो खाँदा लामो समय भोक नलाग्ने हुन्छ भने अर्कोतिर सूप खाएर २० देखि ३० मिनेटपछाडि मुख्य खाना खाँदा खानाको परिमाण कम गर्ने हुनाले क्यालोरीको परिमाण नियन्त्रण गरी शरीरको तौल घटाउन मद्दत पुर्याउँछ । यसै गरी ताजा साग–तरकारी, गेडागुडी, मासु, अण्डा आदिबाट तयार गरिएको सूप खानाले कम क्यालोरी तर भिटामिन, खनिज पदार्थ, प्रेटिन तथा फाइबर प्राप्त हुन्छ ।

साग–तरकारी मिलाएर बनाएको सूप पौष्टिकरुपले उत्तम हुनुको साथै लामो समयसम्म पेट भरिएको अनुभूति हुने, शरीरको मेटाबोलिजम क्रिया बढाउने हुनाले शक्ति खर्च गर्न पनि मद्दत पुर्याउँछ ।

सूप र शरीरको तौलसम्बन्धी गरिएको अध्ययनअनुसार पोषिलो सूप नियमित खानाले शरीरको तौल घटाउने कार्यमा सकारात्मक प्रभाव पर्छ । यसै गरी मुख्य खाना खानु २०–२५ मिनेटअगाडि सूप खानाले पेटमा पाचन रस उत्पादनमा सहयोग गर्ने हुनाले पाचनक्रियामा पनि मद्दत पुग्ने हुँदा यो खद्यपरिकारको स्वास्थ्य तथा पौष्टिक दृष्टिकोणले महत्व रहेको छ । माथि उल्लेख गरिएअनुसार गर्मी तथा बर्सादमा पाचनक्रिया सक्रिय नहुने भएकाले मौसमअनुसारको साग–तरकारीको मिश्रणबाट बनाएको सूप खाँदा शरीरको लागि लाभदायक नै हुन्छ । यसबाट पेट हलुका हुनुको साथै पौष्टिक तत्व तथा फाइबर प्राप्त गर्न सकिन्छ ।

त्यसकारण क्षणिकरुपमा गर्मीबाट राहत पाउन कार्बोनेट चिसो पेयपदार्थ लिनुभन्दा मनतातो मह मिलाएको कागती–पानी, विभिन्न प्रकारका सूप लिँदा शरीरलाई आराम पनि मिल्ने, पौष्टिक आवश्यकता पनि पूरा हुने र शरीरको तौल पनि ठीक राख्न मद्दत पुग्ने हुन्छ ।

प्याकेटको पाउडरबाट बनाइएको तयारी सूपमा सोडियम, क्यालोरीको मात्रा बढी हुने तर फाइबरको परिमाण कम हुने भएकाले ताजा खाद्यपदार्थबाट तयार गरिने सूपलाई प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्