‘म अस्पतालमा करिब एक वर्षको बच्चालाई सेवा दिँदै थिएँ । ऊ गम्भीर बिरामी थियो, त्यही दिन मृत्यु हुन पनि सक्ने स्थिति । बच्चाकी आमाले कसैलाई छुन नदिई छातीमा टाँसेर रोइरहेकी थिइन् । उनले बच्चालाई अक्सिजन दिन पनि दिइनन् । छातीमा टाँसेको टाँस्यै गरिन् । दोस्रो दिन उसको मृत्यु भयो । त्यस बेलाका दृश्यहरु अत्यन्तै दर्दनाक थिए । त्यति बेला आमालाई सम्झाउनुपर्ने हो तर म भावविह्वल भएर आफैं रोएँ । मेडिकल प्रविधि पर्याप्त नभएकै कारण हामीले बच्चा बचाउन सकेनौँ भन्ने लाग्यो । त्यो घटना मैले अहिलेसम्म भुल्न सकेकी छैन, सम्झँदा पनि चित्त दुख्छ ।’
नर्सिङ सेवा दिँदा नर्सले यस्ता धेरै पीडादायी घटना भोग्नुपरेको हुन्छ । लामो सेवा गर्नेले त अझ धेरै सफलता र असफलताका घटनाहरु व्यहोर्नुपरेको हुन्छ । २३ वर्षदेखि अनवरत नर्सिङ सेवामा आबद्ध भई यस्तै अनुभवहरु सँगालिरहेकी सुवास्ना श्रेष्ठ गुरुङलाई हामीले यसपटक साधनाको नर्स अफ त मन्थ स्तम्भका लागि छनौट गरेका छौँ । उहाँ काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको सहायक प्राध्यापक तथा धुलिखेल अस्पतालको सहायक मेट्रोन हुनुहुन्छ । उहाँले भारतको ब्याङ्लोरस्थित राजीव गान्धी युनिभर्सिटी एन्ड हेल्थ साइन्सबाट पीसी, बीएससी नर्सिङ, त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा र सोही विश्वविद्यालयबाट मास्टर इन नर्सिङ गर्नुभएको छ ।
हामी बिरामीको पीडा कम गर्ने, अरुको जीवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा लागेका हुन्छौं । दुवैको पेसा दुःखी नभएर सेवाभावले काम गर्ने राम्रो पेसा हो । चिकित्सा पेसामा कोही पनि दुःखी हुँदैन ।
धुलिखेलमा जन्मनुभएकी सुवास्ना सेवा–भावनाबाट प्रेरित भएर नर्सिङ पेसामा लागेको बताउनुहुन्छ । प्रस्तुत छ, उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
नर्सिङ पेसामा आफैंलाई खुशी लाग्ने कुनै घटना सम्झनुहुन्छ ?
घटना थुप्रै छन् । तीमध्ये एउटा : धुलिखेल अस्पतालमा भर्खरै सेवा शुरु गरेको अवस्थामा आईसीयु थिएन । ५ नम्बर कोठामा सेमी आईसीयु थियो, म नर्सको इन्चार्ज थिएँ । शनिबारको दिन अनुगमनको लागि उक्त कोठामा प्रवेश गर्दा त्यहाँ दुईजना स्टाफ नर्सहरु थिए । मैले पस्नासाथ एक महिला बिरामीले स्वास बढेर हिकहिक गर्दै अन्तिम अवस्थामा स्वास लिइरहेकी देखें । यो के भएको बिरामी हो भन्दै चिच्याएँ । स्टाफ नर्सलाई त्यो बिरामी असामान्य अवस्थाको हो भन्ने थाहै रहेनछ । मैले चिच्याउँदै यो लेऊ, त्यो लेऊ डाक्टर बोलाऊ, बिरामी त जान आँटिसक्यो भन्दै उपचार थालेँ ।
ती महिलाले विष सेवन गरेकी रहिछन् । त्यही बेला डा. राजेन्द्र कोजू राउन्डका लागि अचानक छिर्नुभयो । उहाँले स्वास फेर्नका लागि राखिने पाइप मुखभित्र छिराउनुभयो । सबैको प्रयासले बिरामीलाई बचाउन सकियो । त्यो त मलाई मिराकल नै भएको जस्तो लाग्छ । यो सन् २००६ तिरको कुरा हो । केको बिरामी भन्नेसमेत थाहा नपाई बिरामीको अवस्था देखेकै भरमा त्यस बेला मैले जुन–जुन स्टेप लिएँ, सही साबित भएकोमा सम्झँदा अहिले पनि खुशी लाग्छ । म त ती बिरामीलाई पनि भाग्यमानी ठान्छु ।
जिम्मेवार नर्स कस्तो हुनुपर्छ ?
नर्स २४ घन्टै बिरामीसँग खटिने व्यक्ति भएकाले बढी नै जिम्मेवार हुनुपर्छ । नर्सले सबैलाई समान व्यवहार गर्नुपर्छ । आफन्त र धनी बिरामी आउँदा बढी स्याहार गर्ने र गरिब–असहाय आउँदा वास्ता नगर्ने गर्नुहुँदैन । अस्पतालमा आएका हरेक बिरामी डाक्टर र नर्सका लागि समान हुन्छन् । आफ्नो जीवनजस्तै अरुको जीवन पनि महत्वपूर्ण छ भन्ने भावना राख्नुपर्छ । नर्सको दायित्व सिमप्याथिक हैन इमप्याथिक हुनुपर्छ । बिरामीको भावना बुझेर व्यवहार गर्न सक्ने क्षमता नर्समा हुनुपर्छ ।
नर्सले काम गर्दा भुल्नै नहुने कुरा के–के हुन् भन्ने ठान्नुहुन्छ ?
नर्सले पढाइ र सिकाइलाई आधार मानेर काम गर्नुपर्छ । संयमता हुनुपर्छ, बिरामीसँग संवाद गर्ने क्षमता हुनुपर्छ । बिरामी, बिरामीको कुरुवा, मेडिकल टिमसँग कसरी व्यवहार गर्ने भन्ने कुरा कहिल्यै बिर्सनुहुन्न । अस्पतालमा बिरामी र बिरामीको कुरुवा दुखी भैरहेका हुन्छन् । उनीहरुको मनस्थिति र भावनालाई राम्ररी आत्मसात् गर्न नसक्दा नर्स र बिरामी तथा आफन्तबीच झगडा हुने गर्छ । यस्तो अवस्थामा नर्सले संयमताका साथ बिरामी र आफन्तसँग कुरा गर्नुपर्छ ।
नर्सले रिसलाई दबाउन सक्नुपर्छ र राम्ररी सञ्चार गर्न सक्नुपर्छ । साथै उनीहरुमा व्यावहारिक ज्ञान हुनुपर्छ । नजानेको विषयमा बिरामीको शरीरमा प्राक्टिस गर्नुहुन्न । नर्स आफैंले इमानदार हुनै पर्छ र जिम्मेवारी लिनै पर्छ । कहिलेकाहीँ औषधि फरक पर्ने, दोहोरो पर्ने भएको छ भने आफैंले गल्ती स्वीकारेर इमानदारिता देखाउनुपर्छ र भूलसुधार गर्नुपर्छ ।
डाक्टर र नर्समध्ये कसलाई बढी दुःखी सम्झनुहुन्छ ?
डाक्टर र नर्स दुवैले बढी खट्नुपर्ने र मेहनत गर्नुपर्ने हुन्छ । कम र बढी भन्ने हुँदैन । हामी बिरामीको पीडा कम गर्ने, अरुको जीवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा लागेका हुन्छौं । दुवैको पेसा दुःखी नभएर सेवाभावले काम गर्ने राम्रो पेसा हो । चिकित्सा पेसामा कोही पनि दुःखी हुँदैन ।
नर्सिङ पेसामा तपाईंलाई कति बेला साह्रै दुःख लाग्छ र कति बेला सन्तुष्टि मिल्छ ?
सेवा नै गर्छु भनेर आएकोले दुःखको लेखाजोखा गरिएन । तर पनि उपचार गर्दागर्दै बिरामीको मृत्यु भयो भने साह्रै दुःख लाग्छ । बिरामी उपचारपछि निको भएर स्वास्थ्य सेवाबाट सन्तुष्ट भई धन्यवाद व्यक्त गर्दा अत्यन्तै खुशी लाग्छ । बिरामीले कतिपय अवस्थामा बोलाएर या कार्डमार्फत पनि धन्यवाद व्यक्त गर्छन् । यो नै पेसाबाट प्राप्त हुने खुशीको क्षण हो ।
सेवा दिँदादिँदै बिरामीको मृत्यु हुँदा आफूलाई कसरी सम्हाल्नुहुन्छ ?
यस्ता घटनाले निकै बेर खिन्न बनाउँछ तर खिन्न मानेर बस्ने कुरा भएन । अझ राम्रो कसरी गर्ने भनेर सोचविचार आउँछ । राम्रो गर्दागर्दै बिरामी कसरी बित्यो ? कुनै कमजोरी त भएन ? भनेर पुनः केस फाइल निकालेर अध्ययन गर्छौं । कमजोरी भएको रहेछ भने सुधारका लागि थप प्रयत्न गर्छौं । यसले आत्मविश्वास बढाउँछ र आफूलाई सम्हाल्न पनि सहज हुन्छ ।
नर्सले बिरामीसँग लामो समय बिताउनुपर्छ र कहिलेकाहीँ उनीहरुको गाली पनि खानुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंको व्यवहार कस्तो हुन्छ ?
कस्तो समस्या भएको बिरामीलाई प्राथमिकता दिने भन्ने कुरा हामीले पढाइकै क्रममा सिकेका हुन्छौं । सबै बिरामीलाई समान व्यवहार गरिने भए पनि गम्भीर बिरामीलाई प्राथमिकता दिएका हुन्छौं । तर अरु बिरामी र बिरामीका आफन्तलाई आफूलाई महत्व नदिएजस्तो लाग्छ । राम्रोसँग बुझाएको खण्डमा सहज हुन्छ । कुनै बिरामीका आफन्त बुझेर पनि झगडा गर्ने खालका हुन्छन् ।
यस्तो बेला साथीहरु र सिनियरहरुको सहयोग लिन्छौं । मान्छेको स्वभाव कोही थोरै पाउँदा पनि खुशी हुन्छ, कोही जति पाए पनि असन्तोषी । त्यही कारणले यस्तो भएको होला भनेर चित्त बुझाउँछु र सकेसम्म सबैलाई खुशी पार्ने प्रयत्न गर्छु ।
बिरामी र उनीहरुका आफन्तले नर्ससँग कस्तो व्यवहार गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
कुनै पनि डाक्टर–नर्सले बिरामीलाई दुःख दिन हैन, राम्रै गर्ने सोचले काम गरेको हुन्छ । यसमा बिरामी र कुरुवाहरु समझदार भैदिनुपर्छ । प्रत्येक बिरामीलाई एउटा नर्स र एउटा डाक्टर विश्वको कुनै पनि अस्पतालमा सम्भव छैन । त्यसैले बिरामीको अवस्थाअनुसार डाक्टर, नर्सले कुन बिरामीलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा तय गरेर काम गरेका हुन्छन् । त्यसैले यस कुरालाई बिरामी र आफन्तहरुले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।
अस्पताल प्रशासनको व्यवहारले तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
धुलिखेल अस्पतालमा योग्यताको पूर्ण सम्मान गरिन्छ । प्रशासनले डाक्टर, नर्सलाई अत्यन्तै विश्वास गर्छ र नयाँ काम गर्न प्रोत्साहित गर्छ । यो अस्पतालमा स्टाफ नर्स र ब्याचलर गरेकालाई फरक–फरक जिम्मेवारी दिइन्छ । यो राम्रो पक्ष हो । धुलिखेल अस्पतालमा काम गर्न पाएकोमा म आफूलाई भाग्यमानी छु जस्तो लाग्छ ।
नयाँ आउने नर्स र अस्पताल व्यवस्थापनलाई के सुझाव दिनुहुन्छ ?
भित्रदेखि नै स्वास्थ्य सेवा गर्ने भावना छ भने नर्सिङ पेसामा आउनुस् । अरुको लहैलहैमा लागेर पैसा कमाउने उद्देश्य लिनुभएको छ भने यो पेसामा नआउनुस् । बिरामीलाई नै छुन घिनाउने, लजाउने हो भने यतातिर प्रवेश नै नगर्दा राम्रो । नेपालका अस्पतालमा नर्स भर्ना गर्दा प्राप्त अंकलाई मात्र योग्यताको आधार मानिन्छ । यसलाई मात्र नहेरी व्यवहार र सेवा भावनालाई पनि कदर गर्न अस्पताल व्यवस्थापनसँग आग्रह गर्दछु ।
अन्त्यमा, नर्स पेसा सम्मानजनक पेसा हो । यसलाई यही रुपमा बुझिदिन सबैमा आग्रह गर्दछु । नर्स भएर बिरामीको सेवामा संलग्न हुन पाएकोमा म आफूलाई गौरवान्वित ठान्दछु ।