हुक्का नतानौं, क्यान्सर हुन्छ रे !



क्यान्सर रोग विशेषज्ञहरुको साझा संगठन नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीेको आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन हालै सम्पन्न भयो । क्यान्सर उपचारको नयाँ विधा हो इम्युनो अंकोलोजी । यस विधाअन्तर्गत औषधि प्रयोग गरेर शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाई क्यान्सरका कोषिकाहरु मारेर रोगको उपचार गरिन्छ । इम्युनो अंकोलोजी विधाले क्यान्सर उपचारमा संसारभर राम्रो प्रभाव पारिरहेकोले नेपालमा पनि यसको अभ्यास शुरु गरिएको छ ।

उक्त सम्मेलनमा क्यान्सरको उपचारको नयाँ विधि प्रयोगमा ल्याउने क्रममा नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालयलगायत सहयोगी संघसंस्थाको कार्यान्वयनको पक्षमा भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा समेत बृहत्
छलफल भएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. भोला रौनियारले क्यान्सर लाग्नेबित्तिकै बिरामीको मृत्यु हुन्छ भन्ने बिरामी र बिरामीको परिवारमा भ्रम छ, यो भ्रम तोड्नुपर्ने बताउनुभयो । उहाँले क्यान्सर लाग्नासाथ पहिचान भयो भने पूर्णरुपमा निको हुने र लामो समय भएको भए पनि अवस्थालाई स्थिर राखेर उपचार गर्न सकिने बताउनुभयो ।

सो अवसरमा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. मदन पियाले मेडिकल साइन्समा गरिएको अनुसन्धानले ५ देखि १० प्रतिशतमा वंशाणुगत कारणले क्यान्सर हुने सम्भावना देखिएकोले परिवारमा त्यस्तो देखिएमा समय–समयमा परीक्षण गराउने र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्लास्टिकको भाँडामा खाना लामो समयसम्म फ्रिजमा राखी खाना खाँदा क्यान्सर लाग्ने सम्भावना धेरै हुने भएकोले यसो नगर्न सल्लाह दिनुभयो ।

उहाँले हाल युवापुस्ताले सोखका रुपमा प्रयोग गर्ने हुक्का तथा ‘भेप’ले क्यान्सर हुने सम्भावना धेरै हुने बताउनुभयो । उहाँले एक घण्टासम्म भेप प्रयोग गर्नु १ सय खिल्ली चुरोट खाए बराबर हानि पुग्ने बताउँदै सुर्तीजन्य पदार्थ चुरोट, खैनी, गुड्खा, सुपारी आदिको निकोटिन र रसायन नै क्यान्सरको पहिलो कारण भएको बताउनुभयो । वरिष्ठ

मेडिकल अंकोलोजिस्ट डा. पुर्भिस पारिखले गाईको गउँत, जमराले क्यान्सर निको नहुने भएकोले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
यस्तै गरी वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. विष्णुदत्त पौडेलले माइक्रो ओभनमा प्लास्टिक नै गल्ने गरी खाना तताएर नखान आग्रह गर्नुभयो । कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारी, वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. बिजेशराज घिमिरे र डा. राजीव देव, वरिष्ठ रक्त क्यान्सर विशेषज्ञ डा. विषेश पौडेल र डाइटिसियन कविता महर्जनले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्