प्राकृतिक चिकित्सा दिवस सम्पन्न



‘स्वस्थकर दीर्घजीवनको लागि प्राकृतिक चिकित्सा’ भन्ने नाराका साथ गत असार २० गते काठमाडौंमा दोस्रो राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो । नेपालभरिका प्राकृतिक चिकित्साका संघसंस्थाहरु सदस्य रहेको राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मूल समारोह समितिले सो कार्यक्रम आयोजना गरेको थियो ।

योग तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको सभापतित्व र पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विभिन्न चिकित्सक, अभियन्ताहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल, डा. पोखरेल, पूर्वसांसद शंकरप्रसाद पाण्डे, डा. जनकबहादुर बस्नेतलगायतका व्यक्तिहरुले प्राकृतिक चिकित्साको महत्वका बारेमा प्रकाश पार्दै सरकारले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका विज्ञहरुबाट योगासन र जलनेतिको प्रदर्शन गरिनुका साथै ध्यानको अभ्यास गराइएको थियो । सो कार्यक्रम प्राकृतिक चिकित्सक डा. क्षितिज बराकोटीले सञ्चालन गरेका थिए ।

प्राकृतिक चिकित्सकहरुका अनुसार नेपाल सरकारले वि.सं. २०५८ मा प्राकृतिक चिकित्सा पद्धतिलाई मान्यता दिएर असार २० गतेकै दिन राजपत्रमा सो सूचना प्रकाशित भएकोले त्यही मितिलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्ले २ वर्षअगाडि निर्णय गरेबमोजिम प्रत्येक वर्ष असार २० गतेलाई प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउन थालिएकोे हो ।

प्रतिक्रिया दिनुहोस्