आयुर्वेद औषधिका भ्रम



डा. रामदेव पंडित, आयुर्वेद चिकित्सक

आयुर्वेद मानव समुदायका लागि अत्यन्तै उपयोगी विज्ञानसम्मत विषय भएर पनि वर्तमान सन्दर्भमा अन्धविश्वास, अतिवाद र अर्धज्ञानको प्रभावले खुम्चिरहेको देखिन्छ । यसले गर्दा आयुर्वेदप्रति आमजनसमुदायमा भ्रम उत्पन्न भइरहेको छ र आयुर्वेदले दिने लाभबाट पनि वञ्चित हुनुपरिरहेको छ ।

कट्टर भौतिकवादीहरु अझसम्म पनि आयुर्वेदलाई विज्ञान मान्न तयार देखिँदैनन् । उनीहरुले आयुर्वेदलाई धार्मिक कर्मकाण्डकै रुपमा बुझ्ने गरेको देखिएको छ । यो उनीहरुको अन्धविश्वास र ज्ञानको कमी हो । यता आयुर्वेदलाई विश्व स्वास्थ्य संगठनले एउटा चिकित्सा पद्धतिको रुपमा मानेको वर्षौं भइसकेको छ । अर्कोतर्फ आयुर्वेदका शास्त्रीय पण्डितहरु आयुर्वेदलाई सैद्धान्तिक धारमा जोती–जोती परम्परागत शैलीमै अगाडि बढाउन प्रयत्नरत देखिन्छन् । यस किसिमको अतिवादी प्रवृत्तिले आयुर्वेदको सर्वाङ्गिण विकास सम्भव हुन्न ।

यस्तै आयुर्वेदलाई आधुनिक विज्ञानसँग जोड्ने र समायोजन गर्ने नाउँमा नयाँ पुस्ताका केही आयुर्वेद चिन्तकहरु आयुर्वेदको सैद्धान्तिक मौलिकता नै समाप्त हुने गरी आयुर्वेदलाई आधुनिक चिकित्सा विज्ञानकै रुपमा परिभाषित गर्न लागिरहेका छन् । यो उनीहरुको आयुर्वेदप्रतिको अर्धज्ञानको उपज हो । यसले आयुर्वेदको महत्व र मौलिकतालाई घटाएको छ ।

के आयुर्वेद अवैज्ञानिक छ ?

आयुर्वेदले परापूर्वकालदेखि नै सामान्यदेखि जीर्ण रोगहरुमा समेत सफल उपचार गरिरहेको छ । यस्तो कार्य विज्ञानको दुनियाँमा मात्र सम्भव हुन्छ । आयुर्वेद वैज्ञानिक पद्धति भएरै यसको चिकित्साले राम्रो परिणाम दिइरहेको हो । आयुर्वेदका हरेक सिद्धान्तहरुलाई आजको आधुनिक विज्ञानले पुष्टि गर्न नभ्याएको होला । तर यो अवैज्ञानिकचाहिँ होइन । आयुर्वेद चिकित्सा सिद्धान्तहरुको अर्धज्ञान वा अपूर्ण ज्ञानले आयुर्वेदलाई अन्धविश्वास वा धार्मिक परम्पराको रुपमा बुझेको र बुझाउने
गरेको पाइन्छ ।

आधुनिक विज्ञानले मानव शरीरलाई मेसिनको रुपमा बुझ्छ र सबैलाई समान तरिकाले उपचार दिन्छ, सबैमा उही परिणामको पनि अपेक्षा गर्दछ, जुन सधैँ सम्भव भइरहेको छैन । तर आयुर्वेदले हरेक व्यक्तिको शरीरलाई स्वतन्त्र एवम् सर्र्वोत्तम सृष्टिको रुपमा मान्दछ । हरेक व्यक्तिको लागि फरक–फरक चिकित्साको योजना गर्दछ ।

आयुर्वेदको यो विशिष्टतालाई अवैज्ञानिक ठान्नु कदापि ठीक नहोला । आयुर्वेदमा यो महत्वपूर्ण कुरा हो । यो आधारभूत कुरा बुझ्न जरुरी छ । आयुर्वेद र आधुनिक विज्ञानबीच आधारभूतरुपमै निकै सैद्धान्तिक भिन्नता छ । फलतः अन्य अरु कुराहरुमा पनि भिन्नता हुनु स्वाभाविक हुन जान्छ । आधुनिक विज्ञान र आयुर्वेदलाई दाँज्नु वा प्रतिस्पर्धीका रुपमा हेर्नु उचित हुन्न ।

परहेज आयुर्वेदको हुन्छ कि रोगको ?

आयुर्वेदमा परहेजलाई विशेष प्राथमिकता दिइएको पाइन्छ । वस्तुतः परहेज आयुर्वेदको हुन्न, परहेज त रोगको हुन्छ । मधुमेहको बिरामीलाई चिनीबाट पर राख्नु के गलत भयो ? शरीरमा स्टोन भएको व्यक्तिलाई क्याल्सियमवाला खानाहरु कम प्रयोग गर्न भन्नु अवैज्ञानिक हो ?

पाइल्सले पीडित व्यक्तिलाई मासु खान रोक लगाउनु कसरी अनुचित हुन्छ ? आयुर्वेदको यो व्यावहारिक चिन्तनलाई अवैज्ञानिक मान्नु मूर्खताबाहेक केही होइन ।

आहार कसरी औषधि बन्छ ?

स्वस्थ व्यक्ति एवं रोगी दुवैले आहार र औषधिको भेद जान्नु जरुरी हुन्छ । जब त्यो कुनै निश्चित विधि, मात्रा, काल र संयोगको ख्याल गरी सेवन गरिन्छ त्यस वेला आहार नै औषधि हुन्छ । तर त्यही कुरा कुनै नियमविना केवल ऊर्जा एवं सन्तुष्टिको लागि प्रयोग गरिन्छ भने त्यो आहार मानिन्छ । आयुर्वेदले खानालाई औषधि मान्दछ ।

मानव शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु हावा, खाना र पानीबाट आपूर्ति हुन्छ । कुनै तत्वको कमीले लागेको रोगलाई त्यो तत्व विशेषरुपमा पाइने खानाको अधिक प्रयोगले वा त्यस तत्वको क्षय गराउने तत्व खान छोड्नाले उक्त रोगको निवारण गर्न सकिन्छ । जसलाई आयुर्वेद शास्त्रमा शमन चिकित्सा भनिएको छ । अतः आयुर्वेदमा खानालाई पनि औषधि नै मानिन्छ ।

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ ?

बहुराष्ट्रिय कम्पनीहरुले आयुर्वेदका औषधिहरुले ढिलो काम गर्छ भन्ने भ्रम फैलाएको पाइन्छ । यो सरासर गलत हो । आयुर्वेदका औषधिहरुले तत्कालै काम गर्दछ । उदाहरणका लागि एलोपेथी औषधिको उत्पादन गर्ने एउटा कम्पनी छ जीएसके । यसले ‘इनो पाउडर’ बनाएको छ, जसको सम्पूर्ण घटक द्रव्य आयुर्वेदिक रहेको छ । त्यसको सेवन गरेको ६ सेकेन्डपछि असर देखिन्छ ।

यसरी एलोपेथीको एउटा कम्पनीले आयुर्वेदको औषधि बनाउँछ र उसले यो भ्रम फैलाउँछ कि आयुर्वेदिक औषधिले ढिलो असर गर्दछ । अतः आयुर्वेदका औषधिहरुले बिस्तारै काम गर्छ भन्नु भ्रामक प्रचार मात्र हो । आयुर्वेदका औषधिहरुको सही तरिकाले प्रयोग गरिए निशंकोच त्यसले तत्कालै कार्य गर्दछ । यदि तत्काल प्रभाव देखिएन भने प्रयोग गरिएको औषधि वा चिकित्सा विधि नै गलत थियो भन्ने निष्कर्षमा पुग्नुपर्छ ।

आयुर्वेदका औषधिहरुको एक्सपाइरी डेट हुँदैन भन्ने भ्रम पनि छ तर त्यो गलत हो । आचार्य चरकका अनुसार पाउडरको ६ महिना, क्याप्सुल, ट्याब्लेट र तेलहरुको ३ सालसम्मको एक्सपाइरी डेट हुन्छ । तर भष्म, आसव, अरिष्ट आदिको एक्सपाइरी डेट भने हुन्न

आयुर्वेद औषधिको साइड इफेक्ट

आयुर्वेद औषधिहरु साइड इफेक्ट हुँदैन भन्ने समाजमा व्यापक भ्रम पाइन्छ । यस्तो कदापि हुन्न । व्यक्तिले केवल भात मात्रै पनि धरै खायो भने त्यसको नकारात्मक असर पर्दछ । दाल मात्रै अधिक खान थाल्यो भने पेटमा ग्यास बन्न थाल्छ । अतः आवश्यकताभन्दा बढी मात्रा खाइयो वा सही तरिकाले आयुर्वेदको प्रयोग गरिएन भने अवश्य पनि साइड इफेक्ट हुन्छ ।

क्रिफला मात्रै पनि असमय र मात्रा नमिलाई खाइयो भने झाडापखाला लाग्न सक्छ । यसर्थ मनोमानी ढङ्गबाट औषधि पसलबाट औषधि खरिद गरी सेवन गर्नु हरेक किसिमले घातक हुन सक्छ । चिकित्सको सल्लाहविना कुनै पनि औषधि आफूखुसी सेवन गर्नुहुन्न । त्यसले दीर्घकालीन समस्या ल्याउन सक्छ वा मृत्युको मुखमा पनि पुर्याउन सक्छ ।

आयुर्वेद औषधि र किड्नी फेल

बजारमा हिजोआज आयुर्वेदको औषधिको सेवनले किड्नी खराब हुन्छ भनेर भ्रम फैलाइएको छ । समाजमा तपाईं–हामीले आयुर्वेदको औषधि खाएर किड्नी खराब भएको बिरामी प्रायः भेट्दैनौँ । तर एलोपेथीको पेनकिलर औषधिले थुप्रै बिरामीको किड्नी खराब गरिरहेको अनुसन्धान प्रतिवेदनहरुमा पाइन्छ । यसम्बन्धी समाचारहरु पनि थुप्रै भेटिन्छन् ।

आयुर्वेदमा प्रयोग गरिने हैभी मेटललाई किड्नी फेल गराउने तत्वको रुपमा परिभाषित गरिएको छ । खासमा त्यो हुन्न । औषधिमा प्रयोग गरिने हैभी मेटलको अति विशेष विधिद्वारा शोधन गरिन्छ । हैभी मेटलहरुको गलत तरिका र गलत स्ट्यान्डर्डाइजेसनले प्रयोग गरियो भने त्यसले केही हदसम्म मानव अंगहरुमा नकारात्मक असर पर्न सक्छ । तर ती असरहरु पनि एलोपेथिक पेनकिलरहरुको नकारात्मक असरहरुभन्दा कम नै हुन्छ ।

आयुर्वेद औषधिहरुको एक्सपाइरी डेट

आयुर्वेदका औषधिहरुको एक्सपाइरी डेट हुँदैन भन्ने भ्रम पनि छ तर त्यो गलत हो । आचार्य चरकका अनुसार पाउडरको ६ महिना, क्याप्सुल, ट्याब्लेट र तेलहरुको ३ सालसम्मको एक्सपाइरी डेट हुन्छ । तर भष्म, आसव, अरिष्ट आदिको एक्सपाइरी डेट भने हुन्न । त्यो जति पुरानो हुन्छ त्यति नै राम्रो मानिन्छ ।

आयुर्वेद औषधिमा स्टेरोइड

स्टेरोइड २ प्रकारकोे हुन्छ । एउटा हुन्छ फाइटोस्टेरोइड (प्राकृतिक वा वनस्पतीय स्टेरोइड) र अर्को कृत्रिम स्टेरोइड (बिटा मिथासोन, डेक्स्टा मिथासोन आदि) । प्राकृतिक स्टेरोइड मानव शरीरको लागि फाइदाकारक हुन्छ र कृत्रिम स्टेरोइड हानिकारक मानिन्छ । आयुर्वेद औषधिहरुमा प्राकृतिक वा फाइटोस्टेरोइड हुन्छ । स्टेरोइड रिङ्ग टेस्टमा गर्दा आयुर्वेदका औषधिहरुमा स्टेरोइड रहेको देखाउँछ तर त्यो कुन प्रकारको स्टेरोइड हो भन्ने कुरा स्टेरोइड रिङ्ग टेस्टले बताउँदैन ।

त्यसको स्पष्टताका लागि अझ विशेष टेस्टहरु गर्नुपर्ने हुन्छ । तर त्यसो नगरीकनै आयुर्वेदलाई बदनाम गर्ने उद्देश्यले आयुर्वेद औषधिहरुमा स्टेरोइड हुन्छ भन्ने भ्रम फैलाइएको छ, जुन गलत हो । अतः आयुर्वेद औषधिहरुमा फाइदाकारक स्टेरोइड हुन्छ, हानिकारक स्टेरोइड होइन ।

प्रतिक्रिया दिनुहोस्