डा. प्रविन्द्र अधिकारी
दन्तविशेषज्ञ
कपटक म युनाइटेड मिसन टु नेपालसँग सहकार्य गर्दा दन्तउपचारका लागि हुम्ला पुगेको थिएँ । करिब पाँच महिना बसेर धेरै बिरामीको उपचार गरें ।
अचानक दाँत दुख्दा
अचानक दाँत दुख्दा तत्कालका लागि ब्रुफिन, पारासिटामोल आदि पेनकिलर खान सकिन्छ । र, भोलिपल्ट डाक्टरकहाँ जान सकिन्छ । यस्तो पेनकिलरले निको पार्ने होइन, दुई–तीन घण्टासम्म मात्र दुखाइ कम हुन्छ अनि फेरि दुखाइ शुरु हुन्छ । यस्तो दाँतमा कि त दाँत बचाउने गरी रुट क्यानल ट्रिटमेन्ट गरिन्छ, कि त दाँत नै निकाल्नुपर्ने स्थिति हुन्छ ।
यस क्रममा एकदिन एकजना झाँक्री पनि उपचारका लागि आए । उनी गाउँघरमा दाँतको उपचार पनि गर्ने रहेछन् । मैले उनको परीक्षण गरिसकेपछि सोधें, ‘तपाईंहरूले गाउँमा उपचार गर्दा बिरामीको दाँतबाट कीरा कसरी निकाल्नुहुन्छ ?’ उनले हाँस्दै भने, ‘कीरा ननिकालेसम्म उनीहरू विश्वास नै गर्दैनन्, साँच्चिकै कीरा त कहाँबाट निकाल्नु डा. साब ? हामीले निकाल्ने कीरा त राति गोठमा गएर गोबरबाट निकाल्ने कीरा हो । त्यही कीरालाई सिन्कामा राखेर ‘तपाईंको दाँतबाट निकालेको भन्दिने हो ।’
वास्तवमा त्यसरी सिन्काले घोचेर निकाल्ने कीरा दाँतमा हुँदैन । बिरामीलाई विश्वास पार्नका लागि बाहिरबाट कीरा लगेर बिरामीलाई देखाउने मात्र हो । तर पनि उनीहरूले कीरा निकालेको नाटक गरेपछि केही दिनलाई दाँत दुख्ने कम हुन्छ । धेरै दुखेर आएका बिरामीको दाँतमा उनीहरूले ल्वाङको तेल, सुर्तीको झोल वा यस्तै कुनै एसिड राखिदिन्छन् । यस्ता एसिडले नसालाई मार्ने वा लट्याउने काम गर्छ । यसले दुखाइ कम हुन्छ ।
कुनै कारणले दाँतको इनामेल खिइँदै जाँदा जब नसा भेटिन्छ तब दुख्ने हो । धामीझाँक्रीले एसिड राखिदिएपछि दुखाइ कम हुन्छ, तर दाँत खिइने प्रक्रियाचाहिँ रोकिँदैन । खिइँदै जाँदा माथिको क्राउन सबै निस्कन्छ र टोड्को मात्र बाँकी रहन्छ । केही वर्षपछि दाँत नै रहँदैन ।
यसलाई गाउँघरतिर दाँतमा कीरा लागेको भन्छन् । डेन्टिस्टले पनि सर्वसाधारणलाई बुझाउनका लागि बोलिचालीमा दाँतमा कीरा लागेको भन्ने गर्छन् । दाँतमा प्वाल परेको छ भन्दा बिरामीले ठूलो रूपमा लिन्छन् । के भयो, कसरी भयो ? भन्ने त्रास हुन्छ । त्यसैले पहिलेदेखि नै दाँतमा पहेँलो, कालो हुँदै मक्काएर प्वाल पार्ने स्थितिमा जाँदा दाँतमा कीरा लागेको भन्ने चलन चलेको छ ।
अहिले आधुनिक दन्तविज्ञानका दृष्टिले हेर्ने हो भने दाँतमा कीरा लाग्ने भनेको माइक्रो अर्गानिजम्स भएको (क्याबिटिज) भन्ने बुझिन्छ । यसको अर्थ दाँतको इनामेल खिइँदै गएर खाल्डो–खाल्डो भएर प्वाल पर्दै जाने अवस्था हो । कतिपय दाँतचाहिँ पहिले उम्रेको अवस्थामा नै क्याल्सियम, फस्फोरसको कमी भएर चपाउने क्रममा फुटेको हुन्छ र प्वाल पर्छ ।
दाँत प्वाल पर्ने कारण
दाँतमा खाल्डो हुनु वा प्वाल पर्नुको सबैभन्दा पहिलो कारण दाँतको बनावट नै हो । दाँतको इनामेल नै राम्रो छैन भने दाँत ठाउँ–ठाउँमा प्वाल परिरहेको हुन्छ ।
दाँत राम्रो भईकन पनि दाँतमा खाना अड्किने हुन्छ । ब्रस गरिएन, कुल्ला गरिएन, डेन्टल फ्लस पनि प्रयोग गरिएन भने साग कुहिएर गुन्द्रुक भएजस्तै दाँतको चेपमा अड्किएको खाना केही घण्टापछि कुहिन्छ र त्यसबाट तरल पदार्थ निस्कन्छ, जुन एसिडिक हुन्छ ।
यो एसिडले दाँत खियाउँदै लान्छ र दाँत प्वाल पर्छ । उपचार नगर्दा प्वालमा अझै खाना थपिँदै जान्छ र एसिड निस्कने क्रम जारी रहन्छ । त्यसमा माइक्रो अर्गानिजम अर्थात् ब्याक्टेरिया बढ्दै जान्छ । यसले गर्दा दाँतको प्वाल अझ ठूलो हुँदै जान्छ । यसलाई दाँतमा कीरा लागेको भन्ने गरिन्छ ।
कसरी बचाउने ?
दाँतलाई बचाउने कुरा डाइटको संरचनामा पनि भर पर्छ । खाना कसरी कति समयसम्म खाइरहेको छ, बिहान, बेलुका खानापछि ब्रस गरेको छ कि छैन, डेन्टल फ्लस प्रयोग गरेको छ कि छैन । यसमा दाँतको स्वस्थता निर्भर रहेको हुन्छ । बिहान खाजा वा खाना खाएपछि ब्रस गर्नुपर्छ । साथै ६–६ महिनामा डाक्टरकहाँ दन्तपरीक्षण गराउनुपर्छ ।
दाँतमा प्वाल पर्ने कार्य शुरुमै हुने होइन । एसिडले भित्र–बाहिर बिस्तारै दाँत गलाउँदै लगेको हुन्छ । बाहिर ठीकै देखिए पनि भित्रभित्रै प्वाल पारिसकेको पनि हुन्छ । यसको माथिदेखि नै काटेर भर्नुपर्ने हुन्छ ।
दाँतमा कीरा लागेको अर्थात् क्याबिटिजबाट दाँतलाई बचाउनचाहिँ सकिन्छ । बेलुका खाना खाइसकेपछि ब्रस गर्नुपर्छ र अर्को बिहान उठेर ब्रस गर्नेभन्दा पनि खाजा, खाना खाएर बाहिर जाने बेलामा ब्रस गर्दा हुन्छ ।
क्याबिटिज (दाँतमा कीरा लाग्ने) ले दाँत दुखेका बेला धामीझाँक्रीले केही क्षण लट्टिने औषधि दिएका हुन्छन् । त्यसले केही समय आराम दिए पनि पूर्ण आराम दिँदैन । डाक्टरकहाँ गएर आरसीटी गरेमा दाँत रहिरहन सक्छ । हामी नसालाई लट्याएर दुखाइ कम गर्ने र आरसीटी पनि गरेर कम्प्लिट प्याकेजमा काम गर्छौं । उनीहरूले लट्याउने काम गर्छन् र बाँकी अरु त्यसै छोड्छन् । पछि त्यो प्वाल बढ्दै जान्छ र सबै दाँत सडेर जान्छ ।
दाँतलाई बचाउनका लागि कोक, पेप्सी, फेन्टा, डेउ, पाकेटबन्द जुसजस्ता रसायनयुक्त पेय सेवन गर्नुहुँदैन । यी धेरै एसिड राखिने वस्तु हुन् । सोडा भएका यी वस्तुले दाँतलाई एकदमै छिटो हानि गर्छन् । अझ केही क्षण मुखमा राखेर बिस्तारै खाने हो भने त यसले अझ छिटो दाँतलाई नोक्सान पुर्याउँछ ।
कोकलगायतका यस्ता वस्तु धेरै खाने मानिसको दाँतको इनामेल खिइएर सिरिङ्ग हुने, दाँत खिइँदै जानेजस्ता समस्या शुरु हुन्छ । इनामेल खिइन थालेपछि भित्रको तह देखा पर्छ । त्यसपछि त दाँत कमजोर हुन्छ । प्राकृतिकरूपमा आएको इनामेल एकपटक गएपछि सधैँका लागि गएको बुझे हुन्छ । कृत्रिम फिलिङहरू राखेर माथि छोपछाप पार्ने मात्र हो । यदि एउटा कपमा कोक राखेर मानिसको दाँत एक महिनासम्म राख्ने हो भने मानिसको दाँत बिलाएर जान्छ । यो प्रमाणित कुरा हो ।
दाँतको लागि क्यान जुसहरू पनि त्यत्तिकै खतरनाक हुन्छन् । सबैभन्दा डर लाग्दो अंगुरको जुस हो । त्यसपछि दाँतका लागि कागती र सुन्तलाको जुस खतरनाक हुन्छ । ताजा फलको जुस बनाएर खाएमा केही फरक पर्दैन तर क्यानमा राखेका जुस दाँतको लागि दुश्मन नै हो । जुसमा प्रिजरभेटिभ्स राखेर जब कार्बोनेटेड जुस बनाइन्छ, त्यसपछि दाँतका लागि हानिकारक हुन्छ ।
अहिले खासगरी किशोरीहरू जीउ स्लिम गर्ने भनेर लेमन जुस खाने गर्छन् । फ्रेस लेमन विथ हनी भनेर खान्छन् । दाँतको लागि यो घातक हो । यसमा साइट्रिक एसिड धेरै हुन्छ । तुरुन्त खाएर सक्यो भने त ठीकै छ, तर बिस्तारै खाने गर्छन् । एक घण्टासम्म जिम गर्दै खाँदै गर्ने पनि हुन्छ । एक घण्टासम्म मुख एसिडिक भएमा दाँतको लागि हानिकारक हुन्छ ।
यसका साथै चकलेट, बिस्कुुट, केक आदि बेकरी आइटम्सहरू, चुइङ्गम, चिजबल आदि पाकेटबन्द खानाहरू सबै दाँतका लागि हानिकरक हुन् । यिनीहरू सबै दाँतमा अड्किन्छन् । यसका साथै चुरोट–बिँडीको धुवाँ, सुपारीले दाँतलाई धेरै हानि गर्छ ।
सुपारीबाट निस्कने रसले दाँत फुटाइदिने नै गर्छ । मानिसले सुपारी लामो समय राखेर चुसिरहेका हुन्छन् । यसले दाँतलाई मात्र होइन, गिजालाई पनि हानि गर्छ । यसले क्यान्सर पनि भएको पाइएको छ । सुपारीले श्वासनली बाक्लो पारी श्वासप्रश्वासमा अवरोध भएर मानिसको अचानक मृत्यु नै पनि हुन्छ । अझ सुर्तीसमेत मिसाएर सुपारी खाँदा धेरै हानि हुन्छ ।
मासु खाने मानिसहरूले हड्डी चपाउने, छुर्पी चपाउने, सुपारी चपाउने गर्दा दाँतलाई धेरै हानि पुग्छ । मकै, भटमास शरीरका लागि राम्रो हो तर धेरै चपाउँदा दाँतलाई नोक्सानी पुग्छ । नरम बनाएर खानुपर्छ । दाँतमा अड्किएको सागपातभन्दा मासुले छिटो हानि गर्ने हुन्छ । त्यसैले मासु दाँतमा अड्किन दिनै हुँदैन । मासु कुहिएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसबाट नै रसायन उत्पन्न हुन्छ अनि दाँतलाई खियाउँछ ।
उपचार
दाँत के कारणले बिग्रिएको हो, त्यसका आधारमा उपचार गरेर दाँतलाई फेरि पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । दाँत कालो भएको, भित्रभित्रै वा बाहिरदेखि नै कालो भएर प्वाल परेको दाँतलाई मिलाउन सकिन्छ । पचास प्रतिशतसम्म बिग्रिसकेको दाँतलाई पहिलेकै अवस्थामा ल्याउन कोशिश गर्न सकिन्छ ।
कुनै मानिस दाँतलाई राम्रो बनाउने भनेर धेरै कन्सियस हुन्छन् र दाँतलाई ब्रसले धेरै घोट्छन् । ब्रस घोट्नुहुँदैन ।
मानिसहरू प्रायः दाँत नदुखेसम्म डाक्टरकहाँ किन जाने भन्ने भावना राख्ने गर्छन् । दुख्दा पनि केही दिन पेनकिलर खाएर बस्छन् । जब खप्न नसक्ने अवस्था हुन्छ अनि डाक्टरकहाँ दगुर्छन् । यस्तो अवस्थामा दाँतलाई बचाउन नसकिने र बचाए पनि रुट क्यानल ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ । साधारण फिलिङ गरेर नपुग्ने अवस्था भइसकेको हुन्छ । यसो गर्दा महँगो पर्न जान्छ ।
जनचेतना
धेरै मानिस मुख स्वास्थ्यसम्बन्धमा अनभिज्ञ भएकाले यससम्बन्धमा जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ । डेन्टल एसोसिएसनले बेला–बेलामा विभिन्न ठाउँमा कयाम्पहरू सञ्चालन गर्ने, जनचेतनामूलक सामग्री प्रकाशन, प्रसारण गर्ने गर्छ ।
सरकारले यस क्षेत्रमा धेरै कार्य गर्नुपर्ने देखिन्छ । साथै गैरचिकित्सकका क्लिनिकहरू सरकाले बन्द गर्नुपर्छ । यसले पनि सर्वसाधारणको स्वास्थ्य खतरामा परिरहेको छ । चिकित्सकको नाममा केही गैरचिकित्सकले भ्रम पारेर उपचार गराइरहेका छन् ।
मुख स्वास्थ्यसम्बन्धी सामग्री उत्पादकहरूले पनि जनचेतनामा सहयोग गर्न आवश्यक छ । संसारमै यस्ता उत्पादकहरूले निश्चित बजेट मुख स्वास्थ्यमा जनचेतना जगाउने भनेर छुट्याएका हुन्छन् तर नेपालमा छैन । उनीहरू आफ्नो उत्पादनको प्रचार गर्ने र सामान बेच्ने मात्र गरिरहेका छन् ।
(डा. प्रविन्द्र अधिकारीसँग साधना प्रतिनिधि लक्ष्मण अधिकारीले गरेको कुराकानीमा आधारित । उहाँ नेपाल डेन्टल एसोसिएसनको अध्यक्षसमेत हुनुहुन्छ ।)